रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिरा केसी नगरपालिकाको काम सकेर थोरै फुर्सद मिल्यो कि कृषि फार्ममा पुगिहाल्छन्। फराकिलो खेतका ड्याङमाथि फलेका राता फल हेरेर उनी आनन्दित हुन्छन्।
खेतमा साना-साना बोटमा स्ट्रबेरीका राता र हरिया फल फलिरहेका छन् भने कतै खेत सम्याउने र तरकारी लगाउने काम भइरहेको छ।
किसान परिवारमा जन्मिएका केसी आफू पनि सानैदेखि राजनीतिसँगै दुग्ध व्यवसायमा लागे। २०६८ सालमा केसीले सुरू गरेको शिवगंगा डेरी उद्योग देवदहमा अहिले पनि सञ्चालनमा छ। उक्त डेरी उद्योगबाट दैनिक १० हजार लिटरभन्दा बढी दूध बिक्री हुन्छ।
गाउँघरमा किसानले उत्पादन गरेको दूधलाई संकलन गरी डेरीमार्फत् वितरणका लागि स्थानीय युवाहरूलाई रोजगारीसमेत दिएका छन्। ‘मेरो बुवाले पशुपालन गर्नुहुन्थ्यो, गाई-भैंसीको दूध, घिउ र गोबरसँगै हुर्किएको मैले पनि दुग्ध व्यवसाय सुरू गरेँ,’ उनी भन्छन्।
सामूहिक कृषि फर्म सञ्चालन गर्ने योजना भने उनले लकडाउनका बेला बनाएका हुन्। गत वर्ष कोरोना महामारीपछिको लकडाउनमा अधिकांश पेशा व्यवसाय प्रभावित बने।
दैनिक उपभोग्य वस्तुका पसलबाहेक अरू पसल व्यवसाय चार-पाँच महिना बन्द नै भए। करोडौं लगानी गरेका उद्योग व्यवसाय बन्द हुँदा युवाहरूमा उनी छटपटी देख्थे। लकडाउनपछि बाहिरबाट आयातित वस्तुको उपभोगभन्दा नेपालका ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको सेवनमा उपभोक्ताको आकर्षण बढ्न थाल्यो।
तरकारी, फलफूल लगायतका वस्तुसमेत बाहिरबाट ल्याउन बन्द गरिएपछि नेपाली किसानले उत्पादन गरेका तरकारी र फलफूलको माग र उपभोग बढ्यो। नगरपालिकाको प्रमुख भइसकेपछि केसीले किसानहरूका समस्या र कृषि क्षेत्रको सम्भावनाबारे अझै नजिकबाट बुझ्ने मौका पाएका थिए।
देवदहले दुग्ध उत्पादनलाई बाहिर निर्यात गर्ने अवस्थामा पुगे पनि कृषि उत्पादनमा भने बाहिर निर्यात गर्ने अवस्थामा पुगिसकेको छैन। देवदहमा लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक तरकारी खेतीमा किसानहरूको आकर्षण बढ्दै छ।
नगरपालिकाले पनि कृषिको लागि विभिन्न अनुदान सहयोगका कार्यक्रम सञ्चालन गरे पनि ठूलो क्षेत्र र सामूहिक लगानीमा व्यावसायिक कृषि फर्म हुन सकेको थिएन। त्यसको सुरुवात गर्ने अगुवाइ पनि केसीले नै गरेका छन्।
अहिले केसीको योजना र समन्वयमा देवदह-३ सिसपुरमा देवदह ग्रीन एग्रो रिसर्च एण्ड रिसोर्स प्रालिले व्यावसायिक फलफूल र तरकारी खेती सुरू गरेको छ। डिल्लीराज मरासिनी अध्यक्ष रहेको प्रालिमा केसी वरिष्ठ सल्लाहकार छन्।
प्रालिमा सहभागी ५२ जना युवा पनि सबै देवदहकै छन्। देवदहमै स्थायी घर भए पनि विभिन्न पेशा व्यवसायका कारण बुटवल, भैरहवा, काठमाडौं तथा वैदेशिक रोजगारीमा रहेका युवाहरू पनि प्रालिमा आवद्ध रहेको केसीले बताए।
कात्तिकदेखि खेती गरेको प्रालिले अहिले स्ट्रबेरी उत्पादन सुरू गरेको छ। चार महिनाअघिसम्म साना-साना गह्राका खेतमा परम्परागत खेती हुँदै आएको क्षेत्रमा व्यावसायिक अर्ग्यानिक कृषि फार्म सञ्चालन गरिएपछि कृषिमा चासो लिनेहरू फार्म हेर्नकै लागि पनि पुग्ने गरेका छन्।
परम्परागत रूपमा धान, तोरी र मकै लगाउने स्थानीय किसानहरूको पाँच बिगाहा जग्गा लिएर व्यावसायिक खेती सुरू गरेको प्रालिले स्ट्रबेरी र तरकारी खेती गरेको छ। डेढ बिगाहा जग्गामा अमेरिकन स्वीट स्ट्रबेरीको ३३ हजार बिरुवा लगाइएको छ। नेपालमा नयाँ खेती भएकोले प्रतिगोटा ४० रुपैयाँको दरले बिरुवासमेत अमेरिकाबाटै ल्याइएको प्रालिका सचिव राजेन्द्र न्यौपानेले बताए।
गत कात्तिक २२ गतेदेखि २६ गतेसम्म लगाइएको स्ट्रबेरीले माघको पहिलो सातादेखि फल दिन सुरू गरिसकेको उनले बताए। अहिले हरेक बोटमा एक-दुई फल गरी दैनिक ८-१० किलोसम्म स्ट्रबेरी बजार जाने गरेको छ।
बोटमा फलेका फलको आधारमा फागुनको पहिलो सातादेखि चैत्र महिनाभरि दैनिक ५०-६० किलो स्ट्रबेरी बजार पठाउन सकिने न्यौपानेले बताए। बजारमा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने स्ट्रबेरीको एउटा बोटबाट आधा किलोदेखि एक किलोसम्म उत्पादन लिन सकिने उनीहरूको अपेक्षा छ।
प्रालिले साढे तीन बिगाहा जग्गामा फर्सी, टमाटर, काँक्रा, करेला, घिरौंला, लौका, खरबुजालगायत तरकारी र फलफूल लगाएको छ। स्ट्रबेरी चिसो मौसममा मात्र उत्पादन हुने भएकोले वर्षामा उक्त जग्गामा पनि बेमौसमी तरकारी खेती गर्ने केसीले बताए।
पहिलो चरणमा तीन करोड रुपैयाँ लगानी गरेको र क्रमश: आसपासका जग्गासमेत लिजमा लिएर लगानी थप्दै जाने योजना उनीहरूको छ। मौसमी तरकारी खेती अधिकांश किसानले गरे पनि बेमौसमी खेती गरि बजारमा पठाउने योजनामा रहेको केसीले बताए। त्यसको लागि १० वटा आधुनिक टनेल निर्माण गरिने छ।
एउटै टनेललाई १४-१५ लाख रुपैयाँ लाग्ने भएकोले झण्डै डेढ करोड लगानी टनेल निर्माणमै लाग्ने केसीले बताए।
‘एउटै टनेल ३ सय ८४ वर्गफिटको हुन्छ, त्यस्ता १० वटा टनेल बनाउने योजना छ, कमसल बिऊबाट राम्रो उत्पादन लिन नसकिने भएकोले तरकारीका बिऊ पनि उन्नत जातको प्रयोग गरिएको छ,’ केसीले भने।
साना-साना गह्रामा रहेको खेतलाई सम्याउने, तारबार गर्ने, थोपा सिँचाइ र मर्चिङको व्यवस्थापनको लागि पनि धेरै खर्च भइसकेको उनले बताए। त्यसको साथै यहाँ उत्पादित तरकारी तथा फलफूल सबै अर्ग्यानिक हुनेछन्।
गाउँमा पशुपालन गरेका किसानको गोठबाट किनेको गोबर मललाई प्रशोधन गरी खेतीमा प्रयोग गरिएको छ भने रोग-किराको लागि जैविक विषादी नै प्रयोग गर्ने गरिएको केसीले बताए। कृषि विज्ञ राजेन्द्र देवकोटा पनि प्रालिको सदस्य रहेकाले माटो परीक्षण, रोग किराको नियन्त्रण लगायतको प्राविधिक सहयोगमा सघाउ पुगेको छ।
पहिलेका पुस्ताले आफ्नो इच्छाले खेती गर्दै आएकोमा अब शिक्षाले खेती गर्नुपर्छ भन्ने बुझाउन प्रालिले कृषि उत्पादन मात्र नगरी अनुसन्धानको कामसमेत गर्ने केसी बताउँछन्।
‘हाम्रा बुवाआमाले इच्छाले खेती गर्नुभयो, त्यसैले परिवारलाई पुग्ने मात्र उत्पादन गर्नुभयो, अब आफूलाई पुग्ने मात्र नभई बजारलाई पुग्ने गरी उत्पादनका लागि इच्छाले नभई शिक्षाले खेती गर्नुपर्छ,’ उनी भन्छन्।
सरकारले किसानलाई नभेट्ने र किसानले सरकारलाई नभेट्ने समस्याको अन्त्य गर्न सके रोजगारीको लागि विदेसिएका युवाहरूलाई स्वदेशमै रोक्न सकिने उनको भनाइ छ।
‘व्यावसायिक कृषि उत्पादन राष्ट्रको अर्थतन्त्रको लागि मात्र नभई रोजगार सिर्जनामा पनि महत्वपूर्ण छ, तर व्यावसायिक उत्पादन, भण्डारण, बजारीकरण, लागत प्रतिफल लगायतका समस्याका कारण युवाहरू आफ्नो जमिन बाँझो छोडेर विदेसिएका छन्। हामी त्यो अवस्था तोड्न चाहन्छौं,’ केसीले भने।
एग्रोले सामूहिक कृषि उत्पादनसँगै किसानलाई यान्त्रिकिकरण र बजारिकरणमा सहयोग गर्नुको साथै कृषि अनुसन्धानको काम पनि गर्ने योजना बनाएको छ।