बारामा तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दुई नम्बर पुलनजिकै तीन वटा मोटरसाइकल आपसमा ठोक्किएको हो। उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो छ भने चार जना घाइते भएका छन्।
पथलैयाबाट हेटौंडा जाँदै गरेको प्रदेश २–०३–००१ प १४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट आउँदै गरेको ना ४२ प ६३६३ नम्बर र ना ३४ प ४१३१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो।
दुर्घटनापछि मोटरसाइकलमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए।
घाइतेहरूको उपचारका लागि अल्पाइन अस्पताल, सिमरामा भर्ना गरिएको थियो।
उपचारको क्रममा प्रदेश २–०३–००१ प १४३८ नम्बरको मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका-२ का १९ वर्षीय उज्वल थापाको मृत्यु भएको मिश्रले बताए।
जितपुर सिमरा- २ की २१ वर्षीया अनिशा पौडेल, पृथ्वी पाख्रीन,वरुण केसी र गोपाल पौडेल गम्भीर घाइते छन्। उनीहरूको थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा पठाइएको बारा प्रहरीले जनाएको छ।