चितवनको माडी भैरवपुरका विष्णु थापा मगरले वसन्तपुरमा सुविधासम्पन्न सैलुन चलाउन थालेको तीन वर्ष भयो। साढे ४ वर्ष खाडी मुलुकमा काम गरेका विष्णुले ६ महिने तालिम र २ वर्षे जागिरपछि आफ्नो व्यवसाय सुरू गरेका थिए। अहिले उनको कमाइ वैदेशिक रोजगारीमा हुँदाभन्दा बढी छ।
साउदी अरबमा बर्गर किङ्ग्समा क्यासियर र मलेसियामा सुपरमार्केटमा काम गर्न पुगेका विष्णुलाई त्यहाँको कमाइ सोचेजस्तो लागेन र फर्किए। देशमै केही गरौं भन्ने हुटहुटीले डुल्दै गर्दा भरतपुरको चौबिसकोठीमा पपुलर युनिसेक्स सैलुन चलाउने श्रीराम सिग्देलसँग भेट भयो।
सिग्देल पनि खाडीको रोजगारी छाडेर फर्किएका थिए।
‘विदेशमा अर्को काम गरेर फर्किएका सिग्देलले यसरी व्यवसाय नै चलाएर बसेका छन् भने म पनि यसैगरी जम्न किन नसक्ने?' विष्णुलाई लाग्यो।
विष्णुले सिग्देलसँग ६ महिनाको तालिम लिए।

सैलुनमा श्रीराम सिग्देल। तस्बिर: राजेश घिमिरे/सेतोपाटी।
त्यसपछिका दुई वर्ष सिग्देलकै सैलुनमा काम गरे। त्यसपछि उनले करिब ३ लाख रुपैयाँ लगानी गरेर आफ्नै ठाउँमा ‘गिर्वाणी सैलुन' चलाइरहेका छन्। भारत, मधेसबाट आएकादेखि स्थानीय थारू समुदायसम्मले सैलुन चलाइरहेको सो क्षेत्रमा विष्णु पहाडी समुदायको पहिलो सैलुन व्यवसायी बनेका छन्।
सिग्देलसँगै एक वर्ष तालिम लिएर दुई वर्षदेखि सैलुन व्यवसाय चलाउँदै आएका अर्का युवा हुन् किशोर थापा।
भरतपुर-५ स्थित चोकबजारका २९ वर्षीय किशोरले आफ्नै ठाउँमा सैलुन चलाएका छन्। दुई वर्ष दुबईमा सेल्समेनको काम गरेका उनी अहिले अन्य युवालाई पनि आफूजस्तै स्वरोजगार बन्न प्रेरित गर्दैछन्।

किशोर थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी।
‘विदेश गएर दुःख भोगियो, कुरा बुझियो, सानो कामको पनि इज्जत हुन्छ भन्ने जानियो,’ उनी भन्छन्, ‘अहिले मलाई त्यतिखेरको वैदेशिक रोजगारीको भन्दा राम्रो कमाइ यहीँ भइरहेको छ।’
उनले गरेको कामलाई देखेर अहिले आफन्त, साथीभाइले राम्रो गरिस् भन्छन्।
‘यो हामीले गर्ने पेशा होइन भन्ने थियो तर आफैंले सुरू नगर्दासम्म यो सोचमा परिवर्तन हुन्थेन,’ किशोर भन्छन्, ‘त्यसैले अरु कुरा केही नसोची काम सिक्न थालें।’
किशोरले अहिलेसम्म १० जनालाई तालिम दिइसकेका छन्। उनीहरू मध्येका २६ वर्षीय मनोज गुरूङले आफ्नो गाउँ शिवनगरमा व्यवसाय सुरू गर्ने तयारी गरेका छन्।
‘इन्टरनेटको काम गर्थें तर त्योभन्दा यो काम ठीक हो कि जस्तो लागेर सिक्दैछु,’ मनोज भन्छन्, ‘सीपमूलक तालिम लिएर व्यवहारमा उतार्न सक्यो भने हामीजस्ता युवालाई पढाइ सक्दा नसक्दै विदेशिने हतारो हुँदैन जस्तो लाग्छ।’
चितवनमा करिब २ हजार वटा सैलुन सञ्चालनमा छन्। तिनको सञ्चलन गर्नेमा भारतीय मूलकै मानिसहरूको बाहुल्यता छ। नेपालको तराई क्षेत्रका नागरिकको पनि सैलुन व्यवसायमा राम्रै उपस्थिति देखिन्छ। आम्दानी राम्रो हुँदाहुँदै पनि हेयको दृष्टिले हेरिदै आएको यस पेसामा पछिल्लो समयमा युवाको लगाव बढ्दो क्रममा छ।

सैलुनमा कपाल काट्दै बिष्णु थापा मगर। तस्बिर: राजेश घिमिरे/सेतोपाटी।
विदेशबाट फर्किएका श्रीराम, विष्णु, किशोरजस्ता दर्जनौं युवाले ठूलो लगानीमा यस व्यवसायमा हात हालेका छन्। हाल भरतपुरको सिजी ल्याण्डमार्कमा पपुलर युनिसेक्स सैलुन एण्ड ट्रेनिङ सेन्टर चलाइरहेका सिग्देलले ७ वर्षको अवधिमा ६ सय बढीलाई तालिम दिएको बताए। तीमध्ये २२ जनाले चितवन र नवलपुरका विभिन्न स्थानमा व्यवसाय सुरू गरेको उनी बताउँछन्।
‘आफूले सिकाएका भाइ, बहिनीहरू आफ्नै सैलुन खोलेर स्वरोजगार भएको देख्दा खुसी लाग्छ,’ उनी भन्छन्, ‘स्वदेशमै बसेर धेरै राम्रो गरें जस्तो लाग्छ।’
भरतपुर महानगरपालिका-२१ घर भएका श्रीराम सिग्देललाई प्रायःले ‘सुलभ’ नामले चिन्छन्। उनी बिहानको नौ बजेदेखि साँझसम्मै सैलुनमा खट्छन्। उनको सैलुनमा पुरुष तथा महिलाको कपाल काट्नेदेखि कपाल मिलाउनेलगायतका सेवा छन्। सिक्न चाहनेका लागि हरेक दिन दिउँसोको समयमा तालिम दिने गर्छन्।
सुलभलाई लाग्छ यो पेशामा अझै पनि युवाको आकर्षण निकै कम छ।
‘तालिम लिएका प्रायः त विदेश जाने गरेका छन्,’ उनी भन्छन्, ‘केहीले काम थालिहाले पनि अन्य काम पाएपछि पेशाबाटै पलायन हुने अवस्था पनि देखिएको छ।’
वैदेशिक रोजगारीमा गएर कुनै पनि काम सानो हुने रहेनछ भन्ने जानेर फर्कनेहरू भने सैलुन व्यवसायमा जम्न थालेको बताउँछन् उनी।
सुलभ यस्ता युवा हुन् जसले कपाल काटेरै आफ्नो जीवन चलाएका मात्रै छैनन्, सानले हिँडिरहेका छन्। उनी आफ्नो कारमा चढेर सैलुनमा आउँछन्। दर्जन बढीलाई काम लगाउँछन्। आफू पनि खट्छन्।
सफा र चिटिक्क परेको सैलुनमा कपाल काट्नेको सन्तुष्टि पनि भिन्दै छ।
उनी भन्छन्, ‘मान्छेलाई सहज तरिकाले सेवा चाहिएको छ, स्तरीय र सफा ठाउँ पनि चाहिएको छ। यसमा ध्यान दिएकै कारण व्यवसायमा सफलता मिल्दै गएको छ।’
ल्याण्डमार्कका सुविधासम्पन्न होटल, फिल्म हलदेखि दर्जनौं व्यवसायिक प्रतिष्ठानमा पुग्नेहरूको ध्यान एक पटक उनको सैलुनमा अवश्य पुग्छ।
‘चितवनमै पनि यति सुविधायुक्त सैलुन रहेछ है भन्छन्,’ सुलभ भन्छन्, ‘एक पटक आएकाहरू पटक-पटक आउने वातावरण हामीले बनाएका छौं।’
सेवाको शुल्क अन्यत्र भन्दा महँगो छ तर स्तरीय र आरामदायी सेवाका कारण ग्राहकको कमी नभएको उनी बताउँछन्।
सुलभलाई पपुलरले साँच्चै ‘पपुलर’ बनाएको छ। त्यसैले त उनको सैलुनमा चर्चित सेलिब्रेटीसम्मको उपस्थिति हुने गर्दछ। उनले आफ्नो सैलुनमार्फत नेपालका चर्चित कलाकार, व्यवसायीदेखि राजनीतिज्ञहरुको सेवा गरेका छन्। उनको सैलुनमा चर्चित व्यवसायी विनोद चौधरीदेखि गायक रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’, पुजा शर्मा, पल्पसा डंगोललगायतले सेवा लिइसकेका छन्।
उनलाई श्रीमती सुष्मिता सुग्देलले साथ दिन्छिन्। सुष्मिता महिलाको कपाल काट्ने, कलर गर्ने र फेसियलदेखि बेहुला र बेहुली श्रृंगारपटारसम्मका काम गर्छिन्। ब्युटिसियन तालिम लिएर यस क्षेत्रमा होमिएकी उनी श्रीमानसँगै दिनभर काममा खटिन्छिन्। २०७० सालदेखि यो पेशामा सक्रिय सिग्देल दम्पत्तीले सैलुनसँगै विभिन्न तालिम कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका हुन्छन्।
कुनै बेला घरको आर्थिक अवस्थाले गर्दा उनी कतार पनि पुगे। दुई वर्ष तातो हावा खाएपछि उनी निरास भएर फर्किए।
फर्किएपछि सोच्न थाले, ‘अब के गरेर अघि बढ्ने होला?’ उनले तुरून्तै नगद आउने काम सोच्न थाले।
‘हातमा सीप भए केही गर्न सकिन्छ’ उनलाई लाग्यो।
उनी सैलुनसम्बन्धी तालिम लिन काठमाडौं गए। ६ महिना उतै बसेर तालिम लिए। अनेक दुःख गरेर सीप सिके।
अन्ततः उनले भरतपुरमा सैलुन खोलिछाडे। चौबीसकोठीमा सैलुन सुरू गर्दैगर्दा चिनजानका धेरैले उनलाई खिसीटिउरी गर्थे। तैपनि उनी डगमगाएनन्।
भन्छन्, ‘कपाल र दारी-जुँगा काट्नेजस्तो सजिलो पेसा अरू हुँदैन, सानो लगानीबाट नियमित रूपमा धेरै आम्दानी गर्न सकिन्छ।’
अहिले उनको मासिक आय दुई लाख रुपैयाँभन्दा बढी छ। पसलको भाडा नै मासिक एक लाख तिर्छन्।
‘सैलुन व्यवसायबाट नेपालमै परिवारसँग रमाएर दैनिक पाँच-सात हजार रुपैयाँ आरामले कमाउन सकिन्छ, मासिक ३०-४० हजार कमाउनका लागि विदेश जानु आवश्यक नै छैन,’ उनी भन्छन्।
चौबीसकोठीको सैलुन सफल भएपछि उनले सिजी ल्याण्डमार्क भित्र पनि सेवा बिस्तार गरेका हुन्।
सफल हुँदै गएपछि उनलाई यही व्यवसायका लागि जापानदेखि अमेरिकासम्म जाने अफर पनि आयो।
‘तर मलाई जान मन लागेन,’ उनले सुनाए, ‘आफ्नै देशमा बसेर यति गर्न सकिन्छ भने अर्काको देशमा किन श्रम बेच्ने?’
उनको योजना निकट भविष्यमा चितवनको राप्ती, नवलपुरको कावासोती हुँदै देशभर शाखा खोल्ने छ।