सोमबार राति जब जनता गहिरो निद्रामा सुतेका थिए वा सुत्ने तर्खर गर्दै थिए, कमलपोखरीमा भने डोजर हुलेर माटो खन्ने काम हुँदै थियो।
पुरातत्व विभागले सोमबार दिउँसो मात्र काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो। चिठी प्राप्त भएकै रात डोजरले माटो खनेर ओसार्न थालेपछि संरक्षण अभियन्ताहरू रातारात संगठित भए र बचाउमा लागे।
यसरी रातको अँध्यारोमा गुपचुप माटो ओसारेको पहिलो सुइँको पाएका थिए, अभियन्ता नरेन्द्र मानन्धरले।
उनी सोमबार राति साढे आठ बजेतिर अफिसबाट घर फर्कने क्रममा कमलपोखरी पुगेका थिए। त्यहाँ डोजरले धमाधम माटो खन्दै गरेको देखेपछि उनी चनाखो भए। तत्काल फोटो खिचेर कमलपोखरी संरक्षणमा लागेका अभियन्ताहरूलाई पठाए।
त्यो समय धेरै अभियन्ता आ-आफ्नो घरमा सुत्ने तर्खर गर्दै थिए। एकाएक कमलपोखरीमा अनधिकृत रूपले डोजर घुसेर विनाशलीला मच्चाइरहेको थाहा पाएपछि उनीहरू सतर्क भए।
‘पुरातत्वले कमलपोखरीको स्वरूप नबिगार्नू भनेर महानगरलाई चिठी पठाएको थियो, तर त्यहाँ धमाधम माटो निकाल्ने काम हुँदै थियो,’ अभियन्ता मानन्धरले भने, ‘मैले तत्काल फोटो खिचेर साथीहरूलाई पठाएँ।’
अभियन्ता आलोकसिद्धि तुलाधरले मानन्धरबाट प्राप्त तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरे र पोखरीमाथि भइरहेको विनाश रोक्न आह्वान गरे। उनले लेखे, 'भूमाफियाले गरिरहेको सम्पदाको विनाश हामी कदापि सहन सक्दैनौं। यो दोहन रोक्न फिल्डमा ओर्लन्छौं। अहिले, तुरून्तै। साथ दिनुहोला।'
उनले अन्य अभियन्ताहरूसँग टेलिफोन सम्पर्क गरी सम्भव भए तुरून्तै कमलपोखरी पुगेर डोजर रोक्न आग्रह गरे। लगत्तै पाँच जना अभियन्ता कमलपोखरी पुगे। त्यति बेलासम्म लगभग मध्यरात भइसकेको थियो।
अभियन्ता विनोद देउजाले कमलपोखरीमा भइरहेको गतिविधि नियाल्दै भने, ‘रानीपोखरीमा त्यति विवाद भइसकेपछि पनि यहाँ रातारात डोजर चलाउनु भनेको महानगरको नियत खराब हुनु हो। हामीले खोजेको विकास कस्तो हो?’
अर्का अभियन्ता गणपतिलाल श्रेष्ठ पनि फेसबुकमा तस्बिर देख्नेबित्तिकै कमलपोखरी पुगेका थिए। उनले त्यहाँको भिडिओ फेसबुकमा सार्वजनिक गरेका छन्।
उनका अनुसार कमलपोखरीको माटो खनेर बुढानिलकण्ठ लैजान लागिएको थियो। 'एक ट्रक माटो लगिसकेका रहेछन्, हामी पुगेपछि डोजर चालकहरूलाई सम्झाइबुझाइ आजको काम बन्द गरायौं,' उनले भने।
उनले अगाडि भने, 'स्थानीय सरकार र सम्बन्धित निकायले हाम्रो अनुरोध नस्विकारे पनि डोजर चालकहरूले स्विकार्नुभएको छ। आज राति मात्र भए पनि डोजर नचलाइदिनू भनेर हामीले गरेको अनुरोध उहाँहरूले मान्नुभयो। भोलि हामी महानगर र सम्बन्धित निकायसँग पुरातत्वले चिठी लेख्दालेख्दै के आधारमा रातारात डोजर चलाइयो भनी प्रश्न गर्नेछौं।'
'महानगरले पोखरीको मर्म बुझेन भनेर अभियन्ताहरूले आवाज उठाइरहेका बेला रानीपोखरीमा जस्तै कमलपोखरीबाट पनि माटो निकाल्ने र लैजाने दुष्प्रयास गरियो,' उनले भने।
उनले भुइँचालोपछिको रानीपोखरी सम्झिए। भुइँचालोले पोखरीलाई कुनै असर नपारेको भए पनि पुनर्निर्माणका नाममा पानी सुकाइएको थियो। पछि महानगरले कंक्रिटको ‘स्विमिङ पुल’ जस्तो बनाउने तयारी थाल्यो। गणपतिजस्ता अभियन्ताकै सक्रियतामा त्यो काम रोकियो। अहिले रानीपोखरीले आफ्नो मौलिक स्वरूप पाएको छ।
‘रानीपोखरी कुन अवस्थाबाट कहाँसम्म पुग्यो हामी मनन् गर्न सक्छौं,’ श्रेष्ठले भने, ‘पोखरीमा सच्याउनुपर्ने कुरा हामीले बारम्बार उजागर गरिराख्दा कमलपोखरीमा अर्को विनाशलीला चल्दैछ। यसबाटै हामी बुझ्न सक्छौं, हाम्रो सरकारी निकायको नियतमै खोट छ।’
उनले यो पनि भने, ‘हामीले एउटा नजिर स्थापना गर्न खोज्यौं, रानीपोखरी सन्देश हुनसक्छ भन्ठान्यौं। पाठ सिक्नु त परको कुरा, उहाँहरूको मनस्थितिमा कुनै परिवर्तन भएको देखिएन।’
व्यापारिक सोच राखेर सम्पदा पुनर्निर्माण गर्दा मौलिक पहिचान नै मेटिने उनको भनाइ छ। सम्बन्धित निकायहरूले यसमा ध्यान दिन उनले आग्रह गरे, ‘यसको मौलिकता संरक्षण हुने गरी जिर्णोद्धार गरिनुपर्छ। विज्ञहरूले यसबारे त्यति धेरै बोेलिरहनुभएको छ। तै पनि रातारात यस्तो काम गर्नुले सरकार सम्पदाको मर्म बुझ्दैन भन्ने छर्लंग हुन्छ। कमलपोखरी हाम्रो सम्पदा–पहिचान भएकाले यस्तो विनाशलीला रोकियोस्।’
अभियन्ता तुलाधरले रातारात डोजर चलाउनुलाई 'भू-माफिया शैली' को संज्ञा दिएका छन्।
'पुरातत्वले पठाएको चिठी महानगरपालिकाले पाइसक्दा पनि बेवास्ता गरेर डोजर चलाइयो,' तुलाधरले भने, 'यो एकदमै अवैध हो। पुरातत्वसँग समन्वय गरेर काम गर्नुपर्नेमा डोजर चलाउनु भनेको भूमाफिया शैली भयो।'
ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पर्ने गरी महानगरपालिकाले निर्माण अघि बढाएकाले पुरातत्वले काम रोक्न आदेश दिएको हो। 'मौलिकतालाई असर नपर्ने गरी पोखरी संरक्षण गर्न अनुरोध छ,' विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले पत्रमा लेखेका छन्, 'पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन विभागीय निर्णयअनुसार अनुरोध गर्दछु।'
महानगरले कमलपोखरी निर्माणका लागि करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको छ। निर्माण क्रममा पोखरी सुकाइएको छ भने वरिपरि कंक्रिट संरचना र बीचमा कंक्रिटकै कमलको फूल बनाउने योजना छ।
पोखरीको ऐतिहासिकता र मौलिकता कायम राख्दै परम्परागत शैलीमै बनाइयोस् भनेर अभियन्ता जुर्मुराइरहेका छन्। रानीपोखरीबाट पाठ नसिकेकाले आफूहरू लज्जित भएको भन्दै उनीहरूले गत शुक्रबार आफ्नै अनुहारमा कमलपोखरीको माटो दलेर प्रदर्शन गरेका थिए।
यो पनि हेर्नुहोस्:
यस्तो छ पुरातत्वको चिठी: