फोटोग्राफर सञ्जय श्रेष्ठ एक बिहान क्यामरा लिएर मनोहरा खोलातिर डुल्दै थिए। उनीसँग साथीहरू पनि थिए जो विभिन्न चराका फोटा खिच्न व्यस्त थिए।
सञ्जयको ध्यान भने एउटा अनौठो देखिने चराले तान्यो- हेर्दा भँगेरा जस्तो, तर केही फरक।
उनले त्यो चराको फोटा–भिडिओहरू खिचे। पछि बर्ड्स कन्जर्भेसन नेपाल (बिसिएन) का साथीहरूलाई देखाए।
पहिले कहिल्यै नदेखेको चरा देख्दा उनीहरू एकछिन अलमल परे। पछि खोज्दै जाँदा त्यो चरा नेपालमा दुलर्भ मानिने 'कमन रीड बन्टिङ' भन्ने पक्कापक्की भयो।
अझ यो चरा भेटिनु नेपालकै लागि दोस्रो रेकर्ड भन्ने कुरा आयो।
पहिलोपटक चरा चराविज्ञ टिम इन्सकिपले सन् १९७०, डिसेम्बर २० मा फेला पारेको रेकर्ड थियो। त्यो समयमा उनले फोटो नभइ चराको स्केच बनाएका थिए। पोखरास्थित, बेगनास तालमा त्यो चरा फेला पारेको भन्ने रेकर्डमा थियो।
सञ्जयले सन् २०२०, डिसेम्बर ६ मा चराको भिडिओ र फोटो खिचेका थिए। जब चराविज्ञ टिमले सञ्जयले खिचेको उक्त चराको फोटो देखे, उनले आफ्नो रेकर्ड फिर्ता लिए। भनेछन्, 'ए, मैले देखेको चरा त यो होइन। सायद त्यो बेला मैले देखेको चरा अरू नै थियो होला।'
गत डिसेम्बर १४ मा टिमले आफ्नो रेकर्ड फिर्ता लिएका हुन्।
बिसिएनका चराविज्ञहरू हेमसागर बराल, गोपी श्रेष्ठ, मनशान्त घिमिरे, सजिव आचार्य, शंकर तिवारी र चुंग्बा शेर्पाले सञ्जयले खिचेको चरालाई हेरेर कमन रिड बन्टिङ नै भएको बताएका छन्। यस आधारमा पहिलोपटक यो चरा खिच्नुको रेकर्ड सञ्जयलाई जान्छ। नेपाल रेयर बर्ड (दुर्लभ पन्छी) कमिटीले भने यो रेकर्ड पुष्टि गर्न बाँकी छ।
'हामीले पुरानो रेकर्ड हेर्न खोज्दा टिम सरले स्केच बनाउनुभएको फेला पार्यौं। त्यो समयमा उपकरण अभावमा स्केचलाई नै आधार मानिन्थ्यो,' चराविद हेमसागर बरालले भने, 'अब उहाँले नै आफ्नो रेकर्ड हेरेर, होइन भनेर फिर्ता लिनुभएपछि सञ्जयले खिचेको नै पहिलो हुने पक्कापक्की जस्तै छ।'
बरालका अनुसार भँगेराजस्तै देखिने कमन रीड बन्टिङलाई बगेडी पनि भनिन्छ। यसलाई मारेर अवैध रूपमा मासु पनि बेचबिखन हुन्छ।
कमन रीड बन्टिङ संसारमै दुर्लभ चरा होइन। नामैले भन्छ यो 'कमन' अर्थात साधारण छ। नेपालमा भने विरलै पाइने भएकाले दुर्लभै मानिन्छ। अर्कातिर चराबारे अध्ययन–अनुसन्धान पनि कम भएकाले पनि यसको रेकर्ड बन्नु ठूलो कुरा भएको बराल बताउँछन्।
'पहिला विदेशीको साहायता लिनु पर्थ्यो। अहिले हाम्रै फोटोग्राफरहरू चरामा सक्रिय रूपमा लाग्नुभएकाले अध्ययन अनुसन्धान गर्न सजिलो भएको छ,' उनले भने।
स्विडेनको प्रकृतिविद कार्ल लिन्नियसले सन् १९५८ मा यो चरालाई आफ्नो किताब 'सिस्टम नेचर' को दसौं संस्करणमा उल्लेख गरेका थिए। भाले चराको कालो टाउको र घाँटी हुन्छ भने पोथीको खैरो टाउको र घाँटी हुन्छ। युरोप, मंगोलिया, साइबेरिया, चीन, जापान लगायत ठाउँमा यी चरा पाइन्छ।
कीरा र बिउबिजनमा भर पर्ने यो चरा नर्वे, स्विडेन र जर्मनीमा भने हराउँदै जान थालेका छन्। नेपालमा त यसबारे धेरै अध्ययन गर्नै बाँकी छ।
सञ्जय र उनका साथीहरू लकडाउनयता मनोहरातिर दैनिकजसो जान थालेका हुन्। खोलाको छेउ, सिमसार जस्ता ठाउँमा चरा पनि धेरै आउँथे। त्यहीक्रममा कमन रीड बन्टिङ फेला परेको हो।
'लकडाउनमा मान्छेको चहलपहल कम भएपछि चराहरू देखिन थाले। हामी पनि खोलाकिनारमा दिनभर जसो बस्न थाल्यौं,' सञ्जयले भने।
३८ वर्षिय सञ्जय फोटोग्राफीमा लागेको करिब ६ वर्ष भयो। चरामा उनलाई सानैदेखि लगाव थियो। घरमा परेवाहरू पालेका थिए। त्यसमाथि उनले सोखका रूपमा क्यामरा चलाउँथे। पछि त्यसैलाई व्यवसाय बनाए।
उनी वाइल्ड लाइफ फोटोग्राफर हुन्, चरामा विशेष रूची छ। फोटो खिच्न उनी कोशी टप्पू, बर्दिया, चितवन, इलाम, सुक्लाफाटा, गोसाइकुण्ड लगायत ठाउँ पुगेका छन्। कोशी टप्पूमा 'बर्ड वाचिङ क्याम्प' भनेर रिजोर्ट पनि खोलेका छन्।
पाँच वर्षयता उनी मनोहरा धाइरहेका हुन्। यहाँ नेपालमा दुर्लभ मानिने चरा पनि पाइन थालेको उनको अनुभव छ। यहाँ साधारण जाडो मौसममा पाइने चरादेखि तराईबाट नर्कट घाँसे चरी लगायत चरा पनि आउन थालेका छन्।
'३०५ मिटर तल त्यति ठूलो उचाइ नाघेर यहाँसम्म घाँसे चरी आइपुग्नु भनेको ठूलै कुरा हो,' चराविद् बराल बताउँछन्।
धेरै चराहरू देखिन थालेपछि सञ्जय र उनका साथीले यो ठाउँलाई 'दोस्रो कोशी टप्पू' पनि भन्न थालेका छन्।
'खोला आफ्नै मनमानीले चल्छ। आफ्नै गतिमा बग्दै जाँदा बीचमा टापूजस्तो छाडेको हामीले पायौं। त्यही भएर हामीले दोस्रो कोशी टप्पू भन्न थाल्यौं,' उनले भने, 'कोशी टप्पू चराहरूको राजधानी जस्तै हो। मनोहराको यो टप्पूलाई पनि संरक्षण गर्ने हाम्रो योजना छ।'
कोशी टप्पूमै दुर्लभ मानिने 'सेतो पेटे रानी चरा' पनि अघिल्लो वर्ष सञ्जयले आफ्नो क्यामरामा कैद गरेका थिए।