झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नम्बर-३ भुटानी शरणार्थी शिविरको सेक्टर डि फोर हट नम्बर ३२५ का देशमान राईको आगलागीमा जलेर मृत्यु भएको हो।
आगलागी हुँदा उनी छाप्राभित्र थिए। एकैचोटि आगो उठेपछि छाप्राभित्र सुतेका उनलाई कसैले उद्धार गर्न नसकेको स्थानीयबासीको भनाइ उदृत गर्दै दमक प्रहरीले जनाएको छ।
राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय र दमक नगरपालिकाको बारुण यन्त्रले ४५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो।
‘अहिले प्रहरीको टोली खटिएको छ। मृतक अपाङ्ग थिए भन्ने खुलेको छ। जसकारण भाग्न सक्नुभएन,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले भने, ‘उहाँको परिवार सम्पर्कमा पनि आएका छैनन्।’
उनका अनुसार आगलागीको पनि कारण खुलिसकेको छैन। आगलागी स्थानीय, प्रहरी, र दमक नगरपालिकाको दमकलको सहयोगमा सवा आठ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।