भक्तपुरमा आइतबार राति साढे ११ बजे टहरामा आगलागी भएको छ।
सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ५५ वर्षीय रामकृष्ण चौगुठीको एक तले कच्ची टहरामा आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।
उक्त टहरामा भोजबहादुर घिसिङले मासु पसल सञ्चालन गर्दै आएका थिए। मासु पसलमा अचानक आगलागी भइ अन्य पसलहरूमा समेत आगो सल्किएको थियो।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जगातीबाट प्रहरी निरीक्षक विष्णुहरी फुँयालको टोली खटिएको थियो।
स्थानीय, प्रहरी, दमकलको सहायतामा सवा १२ बजे आगो नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।
गिरीका अनुसार अचानक बिजुलीको तार सर्ट भएर आगो सल्किएको थियो। आगलागीबाट १२ लाख ६० हजार बराबरको धनमाल क्षति भएको उनले बताए।
चौगुठीले त्यस टहरामा सञ्चालन गर्दै आएको फर्निचर पसलका दराज, टेबुल, एक मोटरसाइकल समेतमा आगलागी हुँदा जम्मा ६ लाख बराबरको क्षति पुगेको छ।
घिसिङको मासु पसलका २५ वटा बोइलर कुखुरा, मासु र एक फ्रिज गरी दुई लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
डिएसपी गिरीका अनुसार सोही ठाउँ बस्ने बिमल घिमिरेको फेन्सी पसल, नरेश कर्माचार्यको कोठा गरी जम्मा १२ लाख ६० हजार बराबरको क्षति पुगेको हो।