प्रहरीले धातुमा सुनको जलप लगाइ सुन व्यवसायीलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ।
धादिङ थाक्रे गाउँपालिका-११ घर भई ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय रवि क्षेत्री भन्ने राज सापकोटा(सुनार)लाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको संयुक्त टोलीले उनलाई बिहीबार साँझ सतुंगलबाट पक्राउ गरेको हो।
उनीबाट सुनजस्तो देखिने ब्रासलेट, सिक्री र उक्त गहनाका बिलहरू समेत बरामद गरेको थियो।
सापकोटा गत असोज ६ गते चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित एक सुन चाँदी गहना पसलमा पुगेका थिए। त्यहाँ बिलसहित 'सुन'को ब्रासलेट बोकेर बेच्न गएका थिए।
महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठका अनुसार उनले सो ब्रासलेट बेचेर एक लाख ८० हजार लिएका थिए।
ब्रासलेट हेर्दा सुनकै जस्तो देखिन्थ्यो। तर पछि हेर्दा भित्र अर्कै धातु र बाहिरी भागमात्रै सुन भेटिएको डिएसपी श्रेष्ठले बताए।
आफू ठगिएको थाहा पाएपछि ती व्यवसायीले प्रहरीमा उजुरी दिएका थिए।
त्यसैगरी गुर्जुधारास्थित एक गहना पसलमा पनि उनले सोही तरिका अपनाएर ठगी गरेका छन्।
पुस १७ गते शुक्रबार सापकोटा बिलसहित सुन जस्तो देखिने बाला लिएर सो पसलमा पुगेका थिए।
उनले बिल देखाएर सो बाला २ लाख ८० हजार रुपैयाँ लिएर गए। तर त्यो बाला पनि बाहिरी भागमात्रै सुन भएको र भित्र अरू नै धातु भेटिएको डिएसपी श्रेष्ठले बताए।
'बाहिर चाहिँ सुन नै कोटिङ गर्ने भित्र चाहिँ अरू पित्तल, फलाम लगायतका धातु राख्ने,'श्रेष्ठले भने,'व्यवसायीले बाहिरबाटै हेर्यो अलि अलिमात्रै घोटेर हेर्यो भने सुनकै हो भन्ने सोच्छन्। तर काटेर हेर्यो भने अरू नै धातु भेटिन्छ।'
यसरी ठगी गर्ने काममा अरूको पनि संलग्नता हुन सक्ने उनले बताए।
उनीबाट बरामद भएका गहनाहरू पनि त्यसरी नै ठगी गर्न लागेको हुन सक्ने उनले बताए।
'बिल बनाउने, धातुमा सुन कोट गर्नमा अरूको पनि संलग्नता हुन सक्छ। हामीले अनुसन्धान गरिरहेका छौं,'श्रेष्ठले भने।
उनले अरू व्यक्तिहरूलाई पनि ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले ठगिएको भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सापकोटा गत वर्ष असोजमा पनि पक्राउ परेका थिए। उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले पक्राउ गरेको थियो।
आठ किलो चाँदी जस्तो देखिने धातु बेचेर ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।
त्यतिबेला उनी एक लाख धरौटी बुझाएर छुटेका थिए।