तीन वर्षअघि केही जापानीहरू मध्यपुर थिमी भ्रमणमा आएका थिए।
मेयर मदनसुन्दर श्रेष्ठसँग उनीहरू विभिन्न ठाउँ घुमे। एक घाँसे मैदान पुगेपछि मदनसुन्दर टक्क अडिए र भने, 'यो विष्णुकुण्ड हो। यहाँ पहिले पोखरी थियो। सानोमा मैले यहीँ पौडी सिकेको हुँ।'
जापानीहरूले पत्याएनन्। उल्टै उनको कुरा सुनेर हाँसे।
उनीहरूको हाँसो मदनसुन्दरलाई बिझायो। युवाहरू परिचालन गरेर ६ महिनामै उनले पोखरी ब्युँताए। उद्घाटनक्रममा पौडी पनि खेले र सानो बेलाको सम्झना ताजा गरे।
यो पोखरीसँगै नगरपालिकाले ५ वटा पोखरी, ९ वटा मन्दिर, २० ढुंगेधारा, २५ पाटीपौवा पुनर्निर्माण र दुइटा पार्क बनाइसकेको जनाएको छ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण र संरक्षण गरेवापत नगरपालिकाले भखरै युएन–ह्याबिट्याटबाट प्रदान गरिने 'एसियन टाउनस्केप अवार्ड' पाएको छ। विभिन्न देशका विकास गतिविधि हेर्दै १३ वर्षदेखि दिइँदै आएको यो अवार्ड पहिलो पटक नेपालबाट मध्यपुर थिमीले पाएको हो।
मध्यपुरले गरेका कामको विस्तृत जानकारी र आगामी दिनका योजनाहरूबारे हामीले मेयर मदनसुन्दरसँग कुराकानी गरेका छौं।
पोखरीबाटै सुरू गरौं।
नगरपालिकाले बनाएका पोखरीहरू कस्ता–कस्ता छन् त?
विष्णुकुण्ड झैं अवस्था थियो 'निगु पुखु' भनेर चिनिने दुई पोखरीको। पानी सुकेर मैदान बनेको यहाँ पहिला खेलकुद प्रतियोगिता र राजनीतिक भाषणहरू हुन्थे। नगरपालिकाले पोखरी बनाउन सुरू गरेको ८ महिनामै काम सकेर उद्घाटन गरिसकेको छ। दुई पोखरीमध्ये एउटामा अझै काम भइरहेको छ।
बोडेमा रहेको कुमारी पार्कमा पनि सानो पोखरी थियो। त्यहाँ पनि ४५ दिनमै पोखरी ब्युँताउने काम भयो। करिब २५ रोपनी जग्गा रहेको यो ठाउँमा जिब्रो छेड्ने र ५ वटा खटको जात्रा हुन्छ। बाँकी समय भने धेरैको ध्यान रहन्न। त्यहाँ मान्छेहरूले हासँ पालेर, फोहोर फालेर डम्पिङ साइट नै बनाएका थिए। अहिले त्यहाँ बस्न मिल्ने पार्क देख्न सकिन्छ।
पार्कभन्दा अलिमाथि कैकुटा पुखु छ। घाँसले छोपिएको यो दलदल पोखरी पनि अहिले सुन्दर भइसकेको छ।
पाँचौं पोखरी भुलुखेलको हो। फोहोर फालेर डम्पिङ साइटजस्तै भएको ठाउँलाई नगरपालिकाले ब्युँताएको छ।
कुमारी पार्क नजिकै छ पलेस्वाः पुखु अर्थात कमलपोखरी। नगरपालिकाका अनुसार भूमाफियाहरूले यो पोखरी सुकेपछि जग्गा बेचिसकेका थिए। मुद्दा लडेर त्यसलाई अहिले पोखरी नै बनाउने निर्णय भएको छ।
त्यसमा पानी भर्न नसके पनि काम सुरू हुन लागेको छ। पानीको मुहान पनि संरक्षण गरेर ढुंगेधारामा झार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।
नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको अध्ययन गर्न मिल्नेगरी मध्यपुरले दुई वर्षअघि नै भवन बनाएको थियो। केही महिनाअघि काठमाडौंका मेयरले यहाँ शिलान्यास गरेका थिए। त्यसको नजिकै शंखधर पार्क पनि दुई नगरपालिका मिलेर बनाएका छन्। भिरालो भागमा रहेको यो पार्कमा ०५८ सालतिर पहिरो आएको थियो। नगरपालिकाले पार्क बनाएर अहिले घुम्न लायक ठाउँ बनाएको छ।
०७२ को भुइँचालोले मध्यपुरको सम्पदामा क्षति अन्य ठाउँको तुलनामा कमै भएको थियो। त्यसैले पनि सम्पदा संरक्षणमा काम गर्न सजिलो भएको बताउँदै मदनसुन्दरले भने, 'पूरै ढलेको मन्दिर भनेको विष्णुवीर मन्दिर थियो। त्यसलाई हामीले ६ महिनामै निर्माण गर्यौं। केही ढल्केका र छाना बिग्रेका सम्पदालाई भने जीर्णोद्धार गरेका छौं।'
६–७ सय वर्ष पुरानो मानिने कीर्तिमहाविहार र दथु विहार पनि नगरपालिकाले पुनर्निर्माण गरेको छ। त्योबाहेक बालकुमारी मन्दिर, सिद्धीगणेश मन्दिर, महालक्ष्मी मन्दिर, लायकुको तहाः द्य पुनर्निर्माण भइसकेको र लायकु दरबार पुनर्निर्माण क्रममा छ। अहिलेसम्म करिब २५ वटा पाटी–पौवा पनि पुनर्निर्माण र जीर्णोद्धार गरेको मेयर मदनसुन्दर बताउँछन्।
'मैले सानामा देखेका केही पाटी पछि आधुनिक शैलीमा बनेका थिए,' वडा नम्बर ४ का दुई ढलान पाटीको उदाहरण दिँदै उनले भने, 'त्यसलाई अहिले पुरानै शैली दिएर निर्माण गरेका छौं। अन्य केहीमा भने नयाँ काठ र सेतो सिमेन्ट प्रयोग गरेका छौं तर त्यसको मौलिकता बिगारेका छैनौं।'
सम्पदा निर्माणमा नगरपालिकाले के–के ध्यान पुर्याएको छ त?
'मुख्य संरचनालाई पुरातात्विक रूपमा र नयाँमा पुरानो स्वरूप आउने गरी बलियो बनाएका छौं,' मेयर मदनसुन्दरले भने, 'तर पुरातात्विक सम्पदा छ भने परम्परागत सामग्रीहरू, सुर्खी र चुना नै प्रयोग गरेर बनाउँछौं।'
अहिले नगरपालिकाका सबै काम उपभोक्ता समितिमार्फत हुन्छ। जे जति पूर्वाधार निर्माण भइरहेको छ, ती नगरपालिकाको आन्तरिक कोषबाटै बनिरहेको मदनसुन्दर बताउँछन्।
सम्पदा निर्माणक्रममा पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभागबाट पनि बजेट आउँछ। उनीहरूको लागतमा निर्माण गर्दा टेन्डरमा ठेकेदारमार्फत काम गर्नुपर्ने र विभिन्न शर्तहरू मान्नुपर्ने बताउँदै उनले भने, 'सम्पदा संरक्षण ठेकेदारले गर्दा बिग्रेको धेरै नजिरहरू छन्। त्यसैले, हामी सम्पदा निर्माणको काम ठेकेदारलाई छुनै दिन्नौं भनेर त्यहाँको बजेट फिर्ता गरेर आफ्नै कोषबाट काम गरिरहेका छौं। पैसा थोरै अनि ढिला होस् तर राम्रो होस् भनेर त्यो नीतिअनुसार काम गरिरहेका छौं।'
उनले अगाडि भने, 'विदेशबाट पनि अहिलेसम्म सम्पदामा सहयोग आएको छैन। अस्पताल र शैक्षिक संस्थाहरूका लागि भने आएको छ। बरू शंखधर पार्क निर्माणक्रममा काठमाडौं नगरपालिकाले पोहोर एक करोड बजेट दिएको थियो।'
अमूर्त कला जोगाउन नगरपालिकाले के–कस्ता काम गर्यो?
सम्पदाहरू मूर्त कला भए। त्यो बाहेक नाचगान, बाजागाजा लगायत अमूर्त कला संरक्षणमा पनि नगरपालिकाले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको मेयर बताउँछन्।
उनका अनुसार आफ्नो कार्यकालको सुरूआती वर्षमा नगरपालिकाले अमूर्त कला संरक्षणमा बढी जोड दिएको थियो। ४५ वर्षदेखि प्रदर्शनमा नआएको लायकु भैलः नाच ०७२ सालमा नगरपालिकाले प्रदर्शनीमा ल्यायो। कोरोनाका कारण यो वर्ष भने त्यो नाच हुन सकेन। यो नाचमा चार दिन, चार नाच हुन्छ।
गाईजात्राको भोलिबाट महाकाली नाच हुन्छ। २३ वर्षदेखि प्रदर्शनमा आउन नसकेको यो नाच पनि पुनः प्रदर्शनमा आएको छ। १९ वर्षदेखि लोप भएको अष्टमात्रिका नाच, सलचा घोडाको नाच, १३ वर्षदेखि हुन नसकेको मयुर नाच र भष्मासुर प्याँख पनि मेयर मदनसुन्दरकै कार्यकालमा पुनः प्रदर्शनमा आए।
'अझै दुइटा, ज्यापुज्यापुनी नाच र तान बुन्ने नाच संरक्षण गर्ने कोशिस गरिरहेका छौं,' मदनसुन्दरले भने, 'ती नाच पहिला थिए भन्ने सुनेको तर देख्न पाएका छैनौं। त्यो विषयमा खोजअनुसन्धान गरेर पुनः सुरू गर्ने प्रयास छ।'
त्यस्तै लोपन्मुख नौ बाजा, नगरा, भैसिंको सिंगको बाजा लगायत पनि संरक्षण गरिएको छ। नेपाल भाषामा लायकु सा अर्थात तोरी पिनेर तेल निकाल्ने ठाउँलाई पनि उनीहरूले संग्रहालयका रुपमा संरक्षण गरेका छन्। लायकु दरबार नजिकैको आदर्श माध्यमिक विद्यालयसँगै भवन बनाएका छन्। त्यहाँ पुराना सामग्रीहरू संग्रहालयका रूपमा संरक्षण गरेर राखिएको छ।
सरकारले पर्यटन वर्ष-२०२० घोषणा गरेसँगै मध्यपुर थिमी नगरपालिकाले पनि 'थिमी महोत्सव' को तयारी थालेको थियो। त्यही बेला आएको कोरोना महामारीका भ्रमण वर्ष रोकियो, महोत्सव पनि हुन सकेन। अहिले नगरपालिकाले 'गन्तव्य मध्यपुर थिमी' अभियान सुरू गरेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका दरबार स्क्वायर क्षेत्रहरू पहिल्यैदेखि गन्तव्यका रूपमा परिचित छन्। भक्तपुर भित्रैको थिमीमा धेरै घुम्न लायक ठाउँ भए पनि प्रचारमा छैन। सम्पदा यात्रा गरेर, पर्यटकका लागि पर्चा बाँडेर र सांस्कृतिक गतिविधि सञ्चालन गर्दै यो अभियान सफल बनाउने नगरपालिकाको योजना छ।
यहाँ कसरी घुम्न सकिन्छ भनेर नगरपालिकाले पर्चासँगै 'म्याप' पनि बनाएको छ।
नक्साअनुसार यात्रा शंखधर चोकदेखि बोडेको कुमारी पार्कसम्म हुन्छ।
शंखधर हुँदै बालकुमारी मन्दिरतिर आउने। मन्दिर अवलोकन गरेर निगु पोखरी डुल्ने। नजिकैका पसलमा चिया–कफी खाँदै बस्दा पनि भयो। त्यहाँबाट विष्णुकुण्डल घुमेर सिद्धीकाली जाने। पोटरी स्क्वायरका रूपमा चपाचोका गल्ली छन्। त्यहाँ अचम्मको बस्ती छ। प्रत्यक गल्लीबाट अर्को चोक, चोकबाट अर्को गल्ली छ।
कुमहा ननीबाट नास ननीसम्म पुग्दा त्यहाँ करिब १० वटा बस्ती भेटिन्छन्। त्यो एक हिसाबले जीवित संग्रहालय जस्तै छ। त्यो घुमेर फरकफरक विहारहरू घुम्न सकिन्छ र त्यहाँबाट बोडेको कुमारी पार्क र निलबाराहीसम्म जान सकिन्छ। सम्पदा, जीवनशैली, मठमन्दिर हेर्दै पार्कमा गएर रमाएर समय बिताए भयो।
अंग्रेजी नयाँ वर्ष अवसर पारेर बागमती प्रदेशका सभामुख, पर्यटन बोर्ड र ट्राभल एजेन्सीको उपस्थितिमा सम्पदा पदयात्रा सम्पन्न भएको छ।
'पहिला साथीहरू आउँदा ५–१० मिनेट समय कहाँ बिताउने भन्न आफैंलाई अलमल हुन्थ्यो। अहिले हामीले तीन घण्टा त मजाले घुम्ने ठाउँ बनाएका छौं,' मदनसुन्दरले भने, 'हामीले जुन सम्पदा संरक्षण गरेका छौं, त्यही घुम्ने राम्रा स्थल हुन्। हामीले पर्यटन बोर्ड र ट्राभल एजेन्सीसँग पनि समन्वय गरेर काम गरिरहेका छौं। भक्तपुर जाने पर्यटक मध्यपुर थिमी हुँदै जाऊन् भन्ने हाम्रो चाहना हो।'
कोरोनाको समयमा सम्पदा निर्माणका काम सुस्त भएको थियो। त्यही समयमा नगरपालिकाले कुमारी पार्क र पोखरी बनाउन भ्यायो। केही महिना काम रोकिए पनि सुरक्षा सावधानी अपनाउँदै काम गरेको बताउँदै उनले भने, 'गाउँबाट आएका मजदुरलाई पिसिआर गराएर छुट्टै ठाउँमा राख्ने व्यवस्था गरेका थियौं।'
नगरपालिकाले तयारी गरिरहेका अरू काम के–के हुन्?
पहिलो त इतिहास अध्ययन।
थिमीको पुरानो नाम थिब्रिङ हो जुन किरातकालीन हो। गुणकृति महाविहारमा दन्डपानी बज्राचार्यको शालिक पनि छ। तिब्बती भन्तेहरू काठमाडौं भ्रमणमा आउँदा महाविहारमा बसेको भन्ने भनाइ छ।
बाखाछे टोलमा भेटिएको शिलालेख ने.स ५३१ अर्थात करिब ६ सय वर्ष पुरानो शिवालयको मन्दिरमा भेटिएको छ। त्योभन्दा पुरानो बालकुमारी मन्दिर नै छ। किरातकालीन नाम र भेटिएका पुराना सामग्रीका आधारमा अहिले अध्ययन अनुसन्धानका लागि भनेर नगरपालिकाले बजेट छुट्याएको छ।
सम्पदाबाहेकका काम भनेको बस्ती निर्माणको हो। नयाँ बस्ती व्यवस्थित बनाउने र तिनमा फराकिला बाटा पुर्याउने भनेर नगरपालिकाले काम गरिरहेको छ।
'बस्ती बीचबाट गाडी गुडाउन नपरोस् भनेर योजना बनाइरहेका छौं। सम्पदा क्षेत्रबाहिरका चौडा बाटा अरनिको राजमार्गसम्म जोड्ने हाम्रो लक्ष्य छ,' उनले भने।
त्यसका लागि 'ल्यान्ड पुलिङ' अर्थात जग्गा एकीकरण गरेर घर–बस्ती बनाउने नगरपालिकाको योजना छ। प्लटिङ गरेर जग्गा बेच्ने र मान्छेले घर बनाउँदै जादा बस्तीको संरचना बिग्रिँदै गएका कारण ६ वटा यस्ता आयोजनामा नगरपालिकाले काम गर्न लागेको हो।
राम्रा काम गर्दा ताली र नराम्रो काम गर्दा गाली खानु सामान्य हो। नगरपालिकाले यी र यस्तै काम गर्दा धेरै पटक आलोचना पनि खेप्नु परेको छ।
मदनसुन्दर पनि यो कुरालाई स्वीकार्दै भन्छन्, 'काम गरेपछि नै आलोचना हुने रहेछ। कामै नगरेपछि त काम गरेन भन्ने मात्र हुन्छ। यो मेयर त कसैले भनेको सुन्दैन भन्नेहरू पनि छन्। काम गर्दा बाधा आउँदा कसैलाई सम्झाएर त कसैलाई बल नै प्रयोग गरेर पनि गर्नुपर्छ।'
उनको अनुभवमा जेसुकै गर्दा पनि सानातिना विरोध भइनै रहन्छन्। कुमारी पार्क होस् वा शंखधर भवन वा हस्पिटल बनाउँदा, विवाद र आलोचना उनलाई सामान्य जस्तै भइसके।
भन्छन्, 'अख्तियार, अदालत, पुरातत्व, वन लगायत गन्दा अहिलेसम्म ३७ वटा त मुद्दा नै खेपिरहेको रहेछु। फेरि मुद्दाबाट डरायो भने त कामै नहुने रहेछ। आफूले गरेको काममा पक्का भयो र आफ्नो गल्ती भए सच्चायो। यति गरे ती कुरा सामान्य हुन्।'
उनी अगाडि भन्छन्, 'म आफैं फिल्डमा खट्ने भएकाले पनि अलि बढी आलोचना हुन्छ। तर पहिले आलोचना गर्नेहरू अहिले काम त गरेको रहेछ नि भनेर सकारात्मक हुनुभएको छ।'
फिल्डमा आफैं खटिँदाको फाइदा पनि छ। उनी इन्जिनियर र कानुनका विद्यार्थी हुन्। यसैले कहिलेकाहीँ डिजाइन नमिलेको, ठाउँको अवस्था नमिल्दा आफैं फित्ता नापेर परिवर्तन गरिदिन्छन्। काममा आउने अवरोध ठाउँका ठाउँ सच्चाइदिन सक्ने बताउँदै भन्छन्, 'इन्जिनियर भएकाले काम गर्न धेरै सजिलो हुने रहेछ। एउटा अवरोधले पूरै काम रोकिने त भएन।'
अहिले पाएको 'एसियन टाउनस्केप अवार्ड' मा कतै न कतै यिनै कुराको पनि भूमिका रहेजस्तो उनलाई लाग्छ। यो अवार्डले आफूमा उत्साहसँगै जिम्मेवारी थपिएको उनले महसुस गरेका छन्।
भन्छन्, 'बाँकी काम पनि त्यसको साख जोगाउने गरी गर्नुपर्छ। जिम्मेवारी बोधका साथ थप काम गर्छौं भनेर हामी लागेका छौं।'