काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली हटेसँगै दुर्घटना बढ्न थालेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विशेषगरी कोटेश्वरदेखि कलंकीसम्मको सडकखण्डमा दुर्घटना हुने गरेको छ। त्यस क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी रबर कोण राखेको छ।
ललितपुर क्षेत्रमा पर्ने सडकखण्ड, बालकुमारीदेखि बल्खुसम्मका स्थानमा १४ वटा रबर कोणसहित छेकबार लगाएको हो।
यसलाई दुर्घटना न्यूनीकरण गर्ने उपायको रूपमा प्रयोग गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
'राति ६ बजेदेखि उता पैदलयात्रुहरूलाई गाडीले हान्ने क्रम बढ्यो। सडकबत्ती नहुँदा, डिभाइडर नहुँदा, पैदलयात्रीले जथाभावी बाटो काट्नाले दुर्घटना हुन्छ,'उनले भने,'हामीले मान्छेहरू बढी बाटो काट्न सक्ने ठाउँहरू पहिचान गरेर टल्किने रबरको कोणमा बार लगाएका हौं।'
'रातको समयमा टल्किएको देखेपछि सवारीसाधनको गति पनि कम हुने भयो। बाटो काट्ने मानिसहरूलाई पनि सहज होस् भनेर हामीले त्यस्तो राखेका हौं,'उनले भने।
दुर्घटना न्यूनीकरण गर्न यत्तिले मात्रै नपुग्ने उनले बताए।
दुर्घटना हुनुमा सडकबत्ती नहुनु पनि प्रमुख कारण भएको उनले बताए।
'हामीले सडकमा बत्ती हालिदिन भनेर आग्रह गरिरहेका छौं। तर नहालेपछि म आफैंले मागेर हाल्न सुरू गरिसकेको छु,'एसएसपी भट्टराईले भने,'स्टार अस्पताललाई भनेर अस्पताल अगाडिको बाटोमा बत्ती हालेका छौं।'
त्यसैगरी ग्वार्कोस्थित बिएन्डबी अस्पतालअघि पनि बत्ती राख्ने तयारी गरेको उनले बताए।