विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट एक वर्षमा २६ हजार क्यान्सरका विरामीले ओपीडी सेवा लिएका छन्।
सन् २०२० को शुरुवातसँगै अस्पतालले आफ्नो सेवा शुरु गरेको थियो। प्रदेश १ का क्यान्सर बिरामीलाई लक्षीत गरी सञ्चालनमा आएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै वर्षभरि गरेका सेवाको बारेमा जानकारी गराएको हो।
दिनप्रतिदिन क्यान्सरका विरामी बढिरहेका बेला झापामै अत्याधुनिक, सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए।
उनले ३०० शैय्या क्षमताको पूर्वाञ्चल क्यान्सर अस्पताल दक्षिण पूर्वी एशियाकै नमूना भएको दाबी गरे। क्यान्सर पीडितले उपचारका लागि भारतका विभिन्न शहर पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालमै अस्पताल सञ्चालनमा ल्याएको प्रसाईंले बताए।
आफूले तीन हजार जनालाई रोजगारी दिएको भन्दै वार्षिक १० करोड रूपैयाँ तलब भुक्तानी गरेको बताए।
आफू आवद्ध कम्पनीहरुबाट १० अर्ब रुपैयाँ सरकारलाई कर तिरेको बताउँदै कार्यकारी निर्देशक प्रसाईंले सरकारले पनि अस्पताललाई सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले एक वर्षको अवधिमा अस्पतालले दुई हजार सात सय जना नयाँ क्यान्सरका बिरामीलाई सेवा दिएको जानकारी दिए। उनले यस अवधिमा चार सय १३ जनाले रेडिएसन, पाँच सय २५ जनाले सर्जरी सेवा लिएको जानकारी दिए।
उनले अस्पतालले नयाँ प्रविधिको मेसिन ‘टू बिम लिनियर एक्सेलेरेटर’ मार्फत क्यान्सरका बिरामीलाई एक मिनेटमै रेडिएसन दिनसक्ने प्रविधि, क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिनबाट सेवा दिइरहेको बताए।