सशस्त्र प्रहरी बलले गत असोज २८ र ३० गते दुई चरणमा लत्ताकपडा, ज्याकेट, बुटलगायत १४ प्रकारका सामग्री किन्न बोलपत्र खोलेको थियो।
आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत बजेटबाट जाडोका सामग्री किन्न करिब ४० करोड रुपैयाँ छुट्याइएको छ।
विशेषगरी भारत र चीनसँग जोडिएका सीमामा स्थापना गरिएका बोर्डर अब्जरभेसन पोस्ट (बिओपी)मा खटिने सशस्त्र प्रहरीका लागि भनेर यी सामग्री खरिद गर्न खोजिएको थियो।
नेपाल-भारत र चीनसँग जोडिएका सीमा नाकामा २२१ वटा बिओपी स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न सशस्त्रलाई गृह मन्त्रालयको निर्देशन छ। सोही अनुसार सशस्त्र प्रहरीले बिओपी बढाइरहेको छ।
हाल १९७ ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना भइसकेका छन्।
ती बिओपीमा खटिने जनशक्तिलाई लक्षित गरेर किन्न खोजिएका सामग्रीमा बुट, कटन सर्ट, कटन पाइन्ट, उलन सर्ट, उलन पाइन्ट, स्नोपार्कर ज्याकेट, स्नो स्लिपिङ ब्याग, स्नो बुट, झुल, स्लिपिङ ब्याग, पार्क ज्याकेट, अण्डर ट्राउजर, विस्केल झोला र ब्लाङ्केट थिए।
अहिले देशमा उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर सशस्त्र प्रहरीलाई गस्ती र तैनाथी बढाउन सरकारको निर्देशन छ।
तराईमा शितलहर, उच्च पहाडमा ठिही र हिमाली भेगमा हिमपात सुरू हुँदा सीमामा खटिएका सशस्त्र प्रहरीले भने न्यानो कपडा लाउन पाएका छैनन्।
सशस्त्र प्रहरी मुख्यालयले यी १४ खाले सामग्री किनेर आफ्ना जवानलाई दिन सकेको छैन। ठेक्कामा जारी प्रतिस्पर्धा किनारा लाग्न नसक्दा यसपालिको जाडोमा सशस्त्रका सिपाही-हवल्दारले न्यानो कपडा नपाउने लगभग निश्चितै छ।
किनकी दुई चरणमा थालिएका यी सामग्री खरिदको प्रारम्भिक चरण नै सशस्त्र प्रहरी मुख्यालयले टुंग्याउन सकेको छैन।
साधारणत: बोलपत्र खोलेको ९० दिनभित्र बोलपत्रदाताको फारम स्वीकृत गरिसक्नुपर्ने हुन्छ। अहिलेसम्मद दुईमध्ये एउटा ठेक्का पनि स्वीकृत हुन सकेका छैनन्। बोलपत्र स्वीकृतिको म्याद अब २० दिन बाँकी छ। यो बीस दिनमा टुंगो लगाउँदा पुस लगभग सकिनेछ।
त्यसपछि खरिदकर्तालाई आपूर्तिका लागि १२० दिनको समय दिइन्छ। १२० दिनको समयभित्र उसले सामान ल्याउँदा यो सिजनको जाडो सकिन्छ। अर्थात्, जेठमा आइपुग्ने जाडोका सामान सशस्त्र प्रहरीले अर्को वर्षमात्रै लगाउन पाउनेछन्।
यसपालिको जाडोमा सशस्त्र प्रहरी लुगलुग काँपेरै बस्नुपर्ने भएको छ। अघिल्लो वर्षको कपडा नफाटेको भए त्यसैले टार्नु पर्ने छ।
यी सबै सामग्रीका लागि विभिन्न कम्पनी ठेक्का प्रतिस्पर्धामा सहभागी भएका छन्। तीमध्येबाट सशस्त्र प्रहरीले आफूनिकट कम्पनी छनोट गर्न खोज्दा जाडोको कपडा जाडोमै नआउने पक्का भएको सशस्त्र प्रहरी बल मुख्यालय स्रोत बताउँछ।
१४ मध्ये सशस्त्र प्रहरीले यो आर्थिक वर्षका लागि ३५ हजार जोर बुट, ६० हजार मिटर कटन सर्ट, ४१ हजार मिटर कटन पाइन्ट किन्न खोजेको छ। यी सामग्री जाडोबाहेकमा पनि प्रयोग गर्न सकिन्छ।
तर, उलन सर्ट, उलन पाइन्ट (२८ हजार मिटर) जाडोकै लागि हो। जाडोलाई लक्षित गरी खरिद गर्न खोजिएका स्नो पार्कर ज्याकेट (दुई हजार थान), स्नो स्लिपिङ ब्याग (दुई हजार थान), स्नो बुट (दुई हजार थान), स्लिपिङ ब्याग (पाँच हजार थान) उच्च पहाडी र हिमाली जिल्लाका बिओपीका लागि खरिद गर्न खोजिएको हो।
असोज ३० मा दोस्रो चरणमा पार्कर ज्याकेट (पाँच हजार थान), अण्डर ट्राउजर (३५ हजार सेट), विस्केल झोला (२५ सय थान) र ब्लाङकेट (पाँच हजार थान) खरिद गर्नको लागि बोलपत्र खोलिएको थियो। यी पनि बिओपीकै लागि हुन्।
अस्वस्थ प्रतिस्पर्धा नहुने हो भने यी सामग्री खरिदका लागि दुई तीन साताभित्रै एउटा कम्पनी छनौट गर्न सकिन्थ्यो। सशस्त्र प्रहरीले कुनै पनि कम्पनी छनौट गर्न नसक्नुको पछाडि ठेक्काको अस्वस्थ प्रतिस्पर्धा नै मुख्य कारण रहेको मुख्यालय स्रोत बताउँछ।
उलन सर्टका लागि सशस्त्रले ६१५ प्रतिमिटर दर तोकेको छ। ५६७ प्रतिमिटरमा दिने भनी क्राउन टेक्सटाइलले बोलपत्र भरेको छ।
उलन पाइन्टमा सशस्त्रको दर ९९५ प्रतिमिटर हो। त्यसमा सोही टेक्सटाइलले ९७२ रुपैयाँ प्रतिमिटरमा फारम भरेको छ।
स्नोपार्कर ज्याकेटका लागि १३ हजार ५०० प्रतिथान तोकिएकोमा क्रोनवाल बिजनेशले १० हजार ९९५, समृद्धि एण्ड सम्पदाले १२ हजार ५९५ मा उपलब्ध गराउने भनी फारम भरेका छन्।
स्नो स्लिपिङ ब्यागका लागि प्रवेश ट्रेडर्सले ९०००, जय सलिना कम्पनीले ११ हजार १०० र समृद्धि एन्ड सम्पदाले १२ हजार ६०० रुपैयाँमा टेन्डर भरेका छन्। सशस्त्र प्रहरीले यसको ११ हजार ५०० तोकेको छ।
स्नो बुटका लागि क्यालु फ्ल्याग नेपाल कम्पनीले ५२ सय रुपैयाँमा टेन्डर भरेको छ। स्लिपिङ ब्यागका लागि आयुषा ब्याग, एभरेष्ट टेन्ट, क्यालु फ्ल्याग र न्यु नेहा इन्टरप्राइजेजले टेन्डर भरेका छन्।
कटन सर्टका लागि श्यामबाबा र न्यु नेहा इन्टरप्राइजेज क्राउन टेक्सटाइल र क्रोन वाल कम्पनीलले टेन्डर भरेका छन्। कटन पाइन्टका लागि न्यु नेहा इन्टरप्राइजेज एक्लैले फारम भरेको छ।
बुटका लागि डिएमएस बुट, होराइजन ट्रेडर्स, जय सलिना, स्काई ट्रेडर्स र क्राउन टेक्सटाइलले टेन्डर भरेका छन्। यीमध्ये सबैभन्दा कममा बुट उपलब्ध गराउने प्रतिबद्धता डिएमएस बुटको छ।
सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७७ स्वीकृति भई कार्यान्वयनमा आइसकेको छ। जसअनुसार तराई, पहाड र हिमालमा सशस्त्र प्रहरीको प्रभावकारी परिचालन गर्ने र (बिओपी) स्थापना गर्दै जाने लक्ष्य छ।
सशस्त्र प्रहरी प्रबन्ध शाखाका अनुसार खटिने जनशक्तिको प्रभावकारी परिचालनका लागि यी १४ प्रकारका सामान अपरिहार्य छन्। गत आर्थिक वर्षमा खरिद सम्झौता भएर आपूर्ति हुनुपर्ने कतिपय सामान आपूर्तिकर्ताले कोरोना र लकडाउनका कारण भन्दै ढिलो आपूर्ति भएका थिए।
जसका कारण सशस्त्रको अपरेसन क्षमतामा प्रभाव परिरहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएका सशस्त्र प्रहरीका इकाइहरूमा जाडोयामका लागि स्नो आइटमहरू वितरण गर्नुपर्ने अवस्था छ। अघिल्लो वर्ष उच्च पहाडी र हिमाली भेगमा सशस्त्र प्रहरीको परिचालन थिएन, त्यसैले स्नो आइटमहरू खरिद गरिएको थिएन।
यो प्रक्रिया थाल्दा प्रबन्ध शाखामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रकुमार खत्री थिए। उनी रिटायर्ड भइसकेका छन्। उनको ठाउँमा अहिले सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र शाह छन्।
उनले ठेक्काबारे आफूले प्रतिक्रिया दिन नमिल्ने बताए। उनी भन्छन्, ‘हाम्रो संगठनको नीतिअनुसार प्रवक्ताले नै सबै कुरा भन्ने भएकाले मैले यससम्बन्धी कुनै कुरा भन्न पाइएन।’
सशस्त्र प्रहरी प्रवक्ता (डिआइजी) राजु अर्यालले यो खरिदबारे आफूले पनि प्रबन्ध शाखासँग बुझेर मात्र भन्न सक्ने बताए।
‘असोजमा लागेको ठेक्काको सामान अहिले नै आउन त ढिलो होला, तर के भएको हो भन्नेबारे मैले पनि प्रबन्ध शाखासँग बुझ्नुपर्ने हुन्छ,’ अर्यालले भने।
कोरोना भाइरसको महामारी, लकडाउनको कारण देखाउँदै सशस्त्र प्रहरीले सशस्त्र प्रहरीको लत्ताकपडालगायत सामग्री प्रक्रिया नै ढिलो गरेको थियो। त्यसमाथि अस्वस्थ प्रतिस्पर्धा भएपछि प्रक्रिया झनै लम्बिँदा सशस्त्र प्रहरीका जवानहरू जाडोमा पीडित हुनुपरेको छ।