काठमाडौंको चुच्चेपाटीस्थित निर्माणधीन अस्पतालको पाँचौं तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो सवा १२ बजे काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीस्थित निर्माणधीन स्तूपा अस्पतालमा काम गर्दै गरेकी महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुली घर भइ कपन बस्ने ३५ वर्षीय निरूता तामाङ छिन्।
उनको उपचारको लागि चाबाहिलस्थित मेडिकेयर अस्पतालमा पुर्याउँदा १ बजे चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए।
सो अस्पताल निर्माणको ठेक्का लामा एन्ड ब्रदर्स कन्स्ट्रक्सन प्रा.लि.ले लिएको थियो।
‘अस्पतालको बाहिर प्लास्टरको काम हुँदै थियो। माथिल्लो तलामा बनाइरहेको खत सार्ने क्रममा डोरी फुकालियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले भने, ‘फुकाल्दा आफैँले टेकेको डोरी चाँहि फुकालिएछ।’
त्यसपछि उनी खतसहित तल खसेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
खसेपछि तामाङको खुट्टा पिल्लरको रडमा परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
‘खुट्टामा परेपछि धेरै रगत बग्यो। अस्पताल पुर्याउँदा मृत घोषणा गरे,’ उनले भने।
शव पोष्टमर्टमको लागि शवलाई त्रिवि शिक्षण अस्पताल लैजान लागिएको उनले बताए।