ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको अनियमितता प्रकरणमा तीन जना तत्कालीन शाखा प्रबन्धक पक्राउ परेका छन्।
बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान अघि बढाएको थियो। रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो।
सोही अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तीन जना तत्कालीन शाखा प्रबन्धक रहेको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ गौशालाकी ४२ वर्षीया स्मृती राना, पोखरा महानगर-९ घर भइ चन्द्रगिरी-११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर-११ बस्ने ३७ वर्षीय अनिससिंह सिंजापती छन्।
प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।
'पक्राउ परेकाहरु विभिन्न समयका शाखा प्रबन्धक हुन्,' प्रहरी उपरीक्षक पाण्डेले भने,'अरू अनुसन्धान भइरहेको छ।'
यसअघि खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो। उनीहरू दुबै जना ललितपुरका सुन व्यवासायी हुन्।
उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए। उनी ललितपुर-१४ विशालचोका हुन्।
राईद्वयले २०७४ सालयता पटक-पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएका थिए।
याे पनि हेर्नुस् - कर्मचारीकै मिलेमतोमा यसरी भयो महालक्ष्मी बैंक कुमारीपाटीको सात करोड ४२ लाख घोटाला