झापामा एक महिलाको मृत अवस्थामा फेला परेकी छन्।
आइतबार बिहान ८ बजे विर्तामोड नगरपालिका-२ चैतुबारीकी ४२ वर्षीया दिनो राजवंशीको शव फेला परेको हो।
उनको शव घरबाट तीन सय मिटर पश्चिममा रहेको मोहन मगरको खेतमा फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले बताए।
दिनो राजवंशीका श्रीमान् जगत राजवंशीले खेत लिजमा लिई तीन वर्षदेखि कुखुरा फर्म चलाँउदै आएका थिए।
शनिबार साँझ ६ बजे दिनो राजवंशी खाना पुर्याउन घरबाट निस्किएकी थिइन्। तर, उनी त्यँहा पुगिनन्।
राति अबेरसम्म पनि उनी नफर्किएको प्रहरीले जनाएको छ।
नफर्किएपछि खोजतलास गर्ने क्रममा उनका छोराले बिहान शव फेला पारेका हुन्। उनको नाक र मुखबाट सामान्य रगत बगेको र उत्तानो परेको अवस्थामा फेला परेको डिएसपी थापाले बताए।
उनका अनुसार दिनो शनिबार राति देखि नै बेपत्ता रहे पनि प्रहरीलाई शव फेला परेपछि मात्रै खबर भएको हो।
‘हाम्रो टोली खटिएको छ। यो हत्या नै हो कि भन्ने आशंका छ,’ उनले भने, ‘अहिले सम्म कोही पक्राउ परिसकेका छैनन्, अनुसन्धान गरिरहेका छौं।'
इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक समेतको टोली खटिएको छ।
संघीय इकाइ प्रहरी कार्यालय धरान, सुनसरीबाट तालिम प्राप्त कुकुर समेतको टोली आउँदै गरेको प्रहरीले जनाएको छ।