हामीले जीवित देवी कुमारीबारे त सुनेका/देखेका छौं। येँया अर्थात इन्द्रजात्रामा कुमारीसँगै जीवित देव गणेश र भैरवको रथ यात्रा पनि हुन्छ। इन्दजात्राका क्रममा पहिलो र दोस्रो रथमा हुनेहरू गणेश र भैरव हुन्।
उनीहरूको भने कुमारीजस्तो खासै चर्चा हुँदैन। जात्रामा एकैपटकमा देख्नेहरू त को कुमारी, को गणेश र भैरव भनेर अलमल पनि पर्छन्। उनीहरूको श्रृंगार उस्तै जो हुन्छ।
रथ यात्रामा सामेल हुने तिनै गणेश शुक्रबार परिवर्तन भए। शनिबार श्री भैरव परिवर्तन हुँदैछन्।
नरदेवीका साढे ४ वर्षीय रोदिन शाक्य गणेशका रूपमा छानिएका छन्। उनी छाउनीस्थित मैत्री स्कुलमा युकेजीमा अध्ययनरत छन्। जैसिदेवलका साढे तीन वर्षका कर्शनब शाक्यको भने शनिबार पूजाविधि साथ प्रतिस्थापन हुँदैछ।
अब अवकाश नपाएसम्म उनीहरू पनि कुमारी झैं जात्रापर्वमा देवता भेषमा बस्नुपर्छ। नियम र पूजाविधिहरू मान्नुपर्छ। फरक यत्ति हो, कुमारी स्थायी रूपमा कुमारी घरमा बस्छिन्, खास समयमा मात्र बाहिर निस्किन्छिन्। तर गणेश र भैरवको भने स्थायी वासस्थान नभएकाले घरै बस्छन्। उनीहरूलाई सार्वजनिक रूपमा हिँड्न पनि छुट छ।
पछिल्ला गणेश समवेग शाक्य र भैरव रूजन शाक्य दुवै १४ वर्षका भइसकेका छन्। उनीहरू उमेरसँगै ठूला भएकाले अहिले परिवर्तन गरिएको हो। समवेगको न्यूरोडस्थित घरमा क्षमा पूजा गरेर नयाँ गणेशका लागि पूजा लगिएको थियो। समवेग शाक्यलाई अझै तीन दिन श्री गणेशकै रूपमा पूजा गरिनेछ। तीन दिनपछि उनी सामान्य जीवनमा फर्किन सक्नेछन्।
ओमबहालस्थित मञ्जुश्री नक महाविहारमा बस्दै आएका श्री भैरव रूजन पनि नयाँ भैरवको घरमा पूजा लगेको तीन दिनपछि सामान्य जीवनमा फर्किन पाउनेछन्।
नयाँ गणेश–भैरव परिवर्तन गर्ने समय सामान्यतया दसैतिर हो। अघिल्लो पटक दसैंमा पनि उनीहरूलाई परिवर्तन गरिन्छ भनेर हल्ला चलेको थियो। तर विशेष परिस्थितिका कारण अहिलेको समयमा साइत निकालेर परिवर्तन गरिएको बताइएको छ।
गणेश रोदिनका बुवा दिनेश शाक्यका अनुसार शाक्य महाविहार संघमा उनले छनोटका लागि आफ्नो छोराका लागि नाम टिपाएका थिए। त्यहीँबाट उनलाई छानिएको हो। ३ देखि ५ वर्षका बालकलाई गणेश र भैरव बनाउन इच्छुक परिवारले निवेदन दिएपछि सिफारिसमा परेका बालक छनोट गरिन्छ।
कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाए पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन्।
कुमारी, गणेश र भैरवको रथयात्रा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको हुन्। त्यतिबेला गणेश र भैरवको रथलाई अगाडि पारेर राजा जयप्रकाश स्वयं कुमारीको रथमा बसी यात्रा गर्थे भन्ने भनाइ छ।
कुमारी जस्तो महत्व नदेखिए पनि गणेश र भैरव बन्नेले कडा नियम पालना गर्नुपर्छ। गणेश–भैरव बन्ने बालकको बुबाआमा काठमाडौंकै शाक्य हुनुपर्छ। काठमाडौंको पनि १८ शाक्य महाविहारमध्येको परिवारबाट हुनुपर्छ। ती विहार बाहिरका शाक्य परिवारले यसमा सहभागी हुन पाउँदैनन्। काठमाडौं बाहिरका शाक्यसँग बिहे भई जन्मेको छोरा भए ऊ गणेश वा भैरव बन्न पाउँदैन। बालकमा कुनै रोग, चोट वा खोट पनि हुन हुँदैन।
टिपाइएका नाममा ज्योतिषले नाम सिफारिस गर्दा एक मात्र गरे उनी स्वतः पदका लागि छनोट हुन्छन्। धेरै भएका आपसी सल्लाह अनुसार गरिन्छ।
आफ्नो छोरा भगवान गणेश बनेपछिको खुसी साट्दै दिनेशले भने, 'अलिअलि नियममा बस्दा गाह्रो होला तर विस्तारै सबै सामान्य हुँदै जाला।'
भोलि प्रतिस्थापन गरिने भैरवका बुवा ज्ञानुप पनि तयार छन्।
भन्छन्, 'म घरमा त्यति भिडभाड नगरी गर्ने सोचमा छु। हेरौं कस्तो हुन्छ।'
हेर्नुस् काठमाडौंका नयाँ गणेश रोदिन शाक्यका नारायण महर्जनले खिचेका तस्बिरहरू।