मरेका माछा, चिरा परेका माटो र निर्माणाधीन कंक्रिट पर्खाल— कमलपोखरीको अवस्था ठ्याक्कै पुनर्निर्माणअघिको रानीपोखरीजस्तै छ।
काठमाडौं महानगरपालिकाले रानीपोखरीको इतिहास नामेट पार्दै 'स्विमिङ पुल' को स्वरूप दिन आँटेको थियो। अभियन्ताहरूले दबाब दिएर काम रोकाए। विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाए। अनि बल्ल रानीपोखरीले आफ्नो पुरानो स्वरूप पायो।
के कमलपोखरीमा महानगरले त्यही गल्ती दोहोर्याउँदैछ?
महानगरले 'हाम्रो काठमाडौं आफैं बनाऔं' नाराका साथ गत वर्ष असारमा कमलपोखरी पुनर्निर्माण थालेको हो। मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले पुनर्निर्माण शिलान्यास गरेका थिए। नौ करोड ४७ लाख रूपैयाँ बजेटमा सबै काम सक्ने गरी जय धनञ्जय (कँडेल निर्माण सेवा) लाई ठेक्का लगाइएको छ।
महानगरले पारित गरेको डिजाइनअनुसार पोखरी परिसरमा खुला व्यायाम क्षेत्रका साथै ब्याडमिन्टन र बास्केटबल कोर्ट रहनेछ। केटाकेटी खेल्न खुला पार्क बनाइनेछ। साँझपख पार्कमा चहलपहल होस् भनेर बिजुलीबत्ती जडान गरिनेछ। पोखरी वरिपरि ढुंगाको सिँढी बनाउनुका साथै पार्कको सम्पूर्ण भागमा ठूला आकारका ढुंगा छापिनेछन्।
यति मात्र होइन, पोखरीको बीच भागसम्म जान मिल्ने गरी सानो पुल बनाउने योजना छ, रानीपोखरीजस्तै। चारै कुनामा कमलका फूलसहित स-साना पोखरी र बीचमा फोहोरा निर्माण गर्ने योजना रहेको वडाध्यक्ष भरतलाल बताउँछन्।
कमलपोखरी परिसरमा रहेको राधेराधे भवन (सत्संग केन्द्र) र प्रहरी चौकी हटाएर पार्क बनाउने योजनासमेत छ।
कमलपोखरीको क्षेत्रफल २२ रोपनी छ। पहिले योभन्दा निकै ठूलो थियो। कहिले बाटो, कहिले स्पोर्टस् क्लब त कहिले प्रहरी चौकीका नाममा अतिक्रमण भएर पोखरी खुम्चिएको छ।
स्थानीय घनश्याम राजकर्णिकार यी सबैका भुक्तमान हुन्।
कृष्ण पाउरोटीका सञ्चालक ७९ वर्षीय राजकर्णिकार आफूले देख्दादेख्दै पोखरी खुम्चिएको बताउँछन्। उनी ५-६ वर्षको हुँदा यहाँ सतहभरि कमलको फूल फुलेको देखिन्थ्यो। उनीहरू माछा मार्न जान्थे।
'वरिपरि धेरै रूखबिरूवा थिए, जहाँ विभिन्न चराहरू आउँथे। पानीहाँस पाइने भएकाले राजदरबारका मान्छे पनि हाँस मार्न आउँथे,' उनले भने, 'सबै व्यवस्थित थियो, विस्तारै अतिक्रमणमा पर्दै गयो।'
महानगरपालिकाको पोखरी पुनर्निर्माण योजनासँग उनी सकारात्मक छन्। ठूलो पार्क र आकर्षक पोखरी बनाउने योजनाले स्थानीय खुसी भएको उनको भनाइ छ।
सम्पदाविद्हरू भने पुनर्निर्माणका नाममा जथाभाबी पोखरी सुकाउनु, वरिपरि कंक्रिट पर्खाल हाल्नु वातावरणीय र ऐतिहासिक महत्वका हिसाबले गलत भएको टिप्पणी गर्छन्।
'पुनर्निर्माण गर्न पोखरी सुकाउनै पर्थ्यो र?' हाम्रो यो प्रश्नमा वडाध्यक्ष भरतलालले भने, 'बीचमा कमलको फूल आकारको फोहोरा बनाउन पानीले बाधा पार्ने भएकाले पोखरी सुकाइएको हो।'
माछाको जिम्मा भने नजिकैको स्पोर्टस् क्लबलाई दिएकाले आफूलाई जानकारी नभएको उनले बताए। सिमेन्ट र आधुनिक सामग्री प्रयोगबारे उनी भन्छन्, 'यो पोखरी त्यति पुरातात्विक होइन, ८०-९० वर्ष मात्र पुरानो हो। त्यसैले आधुनिक सामग्री प्रयोग गर्दा खासै फरक नपर्ला। रानीपोखरीजस्तो विवाद गर्नुपर्ने ठाउँ छैन।'
उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता तथा इन्जिनियर पद्मसुन्दर जोशी भने यसमा सहमत छैनन्। यो पोखरी पनि एकदमै पुरानो भएको उनको अनुमान छ।
'लिच्छविहरूले विशालनगरमा राजधानी बसालेका थिए, जसलाई अहिले हाँडीगाउँ भनिन्छ। कमलपोखरी त्यति बेलै बनेको हुनुपर्छ,' उनले भने, 'यही पोखरीको दक्षिण-पूर्व भएर बग्ने कुलोले कुमारी हलभन्दा मुनिको हिति (ढुंगेधारा) सम्म पानी आपूर्ति गर्थ्यो। त्यही भएर पहिले-पहिले त्यो ठाउँमा लुगा धुने धोबीहरू बस्थे।'
हात्तिसारमा हालै फेला परेको लिच्छविकालीन हिति, नन्दकेशर बहाल नजिकैको हिति र वरिपरिका अन्य हितिमा पनि कमलपोखरीकै पानी पुग्ने उनी बताउँछन्।
'यति फराकिलो सञ्जाल भएको पोखरी ८०–९० वर्ष मात्र पुरानो हो र यसको पुरातात्विक महत्व छैन भन्नेमा म कुनै तुक देख्दिनँ,' उनले भने।
उनले अगाडि भने, 'शाहकालीन पोखरी नै हो भने वीरपोखरी, त्रिचन्द्र पोखरी लगायत नामले दस्तावेज गर्ने चलन सुरू भइसकेको थियो, यसलाई कमलपोखरी भनिन्नथ्यो होला।'
इतिहास जे-जस्तो भए पनि यति महत्वपूर्ण पोखरीलाई परम्परागत शैलीमा बनाउन महानगरले कञ्जुस्याइँ गर्नु नपर्ने सम्पदाविद्हरूको तर्क छ।
'पछिल्लो समय पाटन र भक्तपुरले धेरै पोखरी परम्परागत शैलीमा बनाएर देखाइसकेका छन्। रानीपोखरीकै उदाहरण हामीसामु छ। यस्तोमा कमलपोखरीलाई परम्परागत स्वरूप दिन किन गाह्रो?' सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरको प्रश्न छ।
भक्तपुरका भाजुपोखरी र रानीपोखरी, ललितपुरको न्हू पोखरी र काठमाडौंको रानीपोखरीको सन्दर्भ जोड्दै उनले भने, 'हामीले कति उदाहरण दिएपछि महानगरपालिकाले पोखरीको मौलिकता जोगाउनुपर्छ र पुरानै शैलीबाट बनाउनुपर्छ भनेर सिक्ने हो?'
परम्परागत शैलीमा पोखरीको पिँध र डिलमा कालो माटो भर्नुको वैज्ञानिक कारण छ। यसले माटोमा पानी आवागमन हुन पाउँछ। कालो माटोले पोखरीको पानी चुहिनबाट रोक्छ। आवश्यकताअनुसार पानी रसाएर जाने बाटो पनि दिन्छ। ढलान गरेपछि भने न बाहिरको पानी भित्र छिर्छ, न भित्रको पानी रसाएर बाहिर जान्छ।
'पोखरीमा कंक्रिट संरचना प्रयोग गर्दा पानीको प्राकृतिक आवागमन बिथोलिन्छ,' पोखरी विशेषज्ञ जोशीले भने, 'यसले पोखरीको पर्यावरण पनि ध्वस्त हुन्छ। बिरुवा, माछा र अन्य जीवहरू हुर्कन पाउँदैनन्।'
कानुनले पनि पर्यावरणलाई असर पुग्ने गरी विकास गतिविधि गर्न रोक लगाएको वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा बताउँछन्।
'कमलपोखरीजस्तो सिमसार क्षेत्रलाई फेरि फेरि पुनर्निर्माण गर्न नसकिने भएकाले यसको मौलिक संरचना बिगार्नु ठूलो भूल हो,' उनले भने।
उनले अगाडि भने, 'संविधानको धारा ३० ले पनि यस्ता परम्परागत पोखरी मास्न दिँदैन। स्वच्छ वातावरणमा बाँच्न पाउने सबैको हक छ भन्छ। जलचर संरक्षण ऐनले पानीमा रहने जीवहरूले पनि स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्छ। हामीले महानगरलाई यिनै कुरा बुझाउँदै पत्र लेखेका छौं।'