जीवित सुनगोहोरो तथा चितुवाको टाउकोसहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले मंगलबार टोखा नगरपालिका-२ चण्डेश्वरीबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका-१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्राथुम लालीगुँरास नगरपालिका-४ का ४६ वर्षीय डिल्लीमान पौडेल छन्।
सिआइबीको टोलीले वन्यजन्तुको आखेटोपहार एवं जीवित सुनगोहोरोको अवैध ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएको थियो।
सोही सूचनाको आधारमा खटिएको टोलीले घस्रने जातका आठ वटा जीवित सुनगोहोरोको उद्धार गरेको हो।
त्यस्तै, एउटा चितुवाको टाउको (आखेटोपहार) पनि बरामद गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, बुढानिलकण्ठमा बुझाएको छ।