शिवसताक्षी-१० की ८१ वर्षीया झुमादेवी सुवेदीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको ११ वर्ष भयो। नेपाल सरकारले उनलाई मासिक तीन हजार दिँदै आएको छ।
चौमासिकमा एकै पटक थाप्दा १२ हजार हुन्छ।
उनले भनिन्, ‘१२ हजार रुपैयाँ नगदै थाप्दा मनमा अलिकति पनि सुखद् अनुभूति भएको थिएन। तर, कारोनासँग लड्न सक्ने क्षमताका लागि एक पोको आयुर्वेदिक औषधी नि:शुल्क पाउँदा अझै गोडा दुई एक वर्ष बाच्न सकिने अनुभूति भएको छ।’
उनको जस्तै अनुभूति ७७ वर्षीय निलकण्ठ निरौलाले पनि गरेका छन्। कोरोना भाइरसले लैजान्छ कि भन्ने डर उनलाई छ। घरमा कोही नयाँ मान्छे आयो भने निरौला मास्कबिना घरमा पस्नै दिदैँनन्। घरमा सेनिटाइजर पनि उनले राखेका छन्।
जीवनको उत्तरार्द्धसम्म आउँदा कुनै रोगले नछोएको उनले बताए। वृद्ध उमेरका मानिसलाई कोरोना भाइरसको संक्रमण लाग्यो भने मरिन्छ भन्ने भ्रम उनलाई छ।
आइतबार रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी थापेपछि खुसीले गदगद हुँदै उनले भने ‘अब, कोरोना-सोरोना लागेकै भए पनि यही औषधीले भगाइ दिइहाल्छ नि!’
गोमादेवी बराल पनि उमेरले पल्लोछेउ पुगेकी छन्। ९० वर्ष टेकेकी बराल राम्ररी कान नसुन्ने र आँखा नदेख्ने समस्याबाट पीडित छन्।
उनले भनिन् ‘संसार हेर्न अझै मन थियो। तर, आँखाले काम दिन छाड्यो।’
उनको आँखाले पर हेर्दा मधुरो देखिन्छ। ‘आँखा देख्ने र कान सुन्न मद्दत पुग्ने दबाई भए सबैले बोलेका कुरा सुनेर र पर-परसम्म हेरेर आनन्द लिने थिएँ,’ उनले भनिन्।
तराईमा चिसो बढ्न थालेपछि शिवसताक्षी नगरले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी नि:शुल्क प्रदान गर्न थालेको छ।
आइतबार शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ५५ जना वृद्धवृद्धाले दुधे आयुर्वेद औषधालयले वितरण गर्ने औषधी आफ्नै गाउँमा पाए।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले प्रत्येक वडामा यो कार्यक्रम लैजाने जानकारी दिएका छन्।
‘जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम नगरमा सञ्चालन भइरहेको छ,’ नगर प्रमुख शेर्माले भने, ‘वृद्ध अवस्थामा मानव शरीरमा आउने परिवर्तनसँगै उत्पन्न हुने शारीरिक तथा मानसिक रोगहरूलाई हटाउन शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधी सक्षम छ।’
दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोख्रेलले आर्थिक रुपमा विपन्न, वृद्धाश्रममा रहेका, अशक्त तथा पिछडिएका जेष्ठ नागरिकलाई यो कार्यक्रमले प्राथमिकतामा राखेको बताए।
वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूलाई रसायनजन्य अश्वगन्धा चुर्ण, अमृता चुर्ण र आमलकी चुर्ण गरी तीन प्रकारका आयुर्वेदिक औषधी वितरण गरिएको कविराज पोखेलले बताए।
अश्वगन्धा र अमृता चुर्ण राम्ररी तातेको दुधसँग र आमलकी चुर्ण मनतातो पानीसँग सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने आयुर्वेद औषधालयले बताएको छ।
परीक्षण गरिएकामध्ये ७५ प्रतिशत वृद्धवृद्धामा उच्च रक्तचाप, सुगर, हाडजोर्नी तथा नशा र बाथ सम्बन्धी रोग देखिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ।