थापाथली चेस पार्क पुग्दा केही अधवैंसे पुरुषहरू चेसको चाल मार्दै थिए। छेवैमा चिया पसल छ। कोही चियाको चुस्की लिँदै खेलको आनन्द उठाइरहेका भेटिए।
यो नेपालको एक मात्र सार्वजनिक पार्क हो जहाँ चेस खेलिन्छ।
कहाँ होला यो पार्क भनेर अझै अलमलमा हुनुहुन्छ?
थापाथली मुख्य चोकबाट त्रिपुरेश्वर घुम्ती मोडैमा छ, बागमती खोला किनार नजिकै।
पार्कमा मान्छे मात्र होइन कुकुर, बाँदर, परेवा लगायत चराजन्तु पनि विचरण गर्न आइरहेका हुन्छन्। बूढापाकाको विश्राम गर्ने र जाडोमा घाम सेकाउने ठाउँ पनि हो। दिनभरको थकान मेट्न र गफिएर समय काट्ने यो ठाउँ अचेल चेस खेल्ने स्थानको रूपमा चिनिन थालेको छ।
सन्यासी अखडामा पाँच रोपनीमा फैलिएको यो पार्क कालमोचन घाट गुठीको स्वामित्वमा छ। चेस-चिया पसल सञ्चालन गर्न गुठीले नै अनुमति दिएको हो।
राजधानीमा अन्य चेस क्लब नभएका भने होइनन्। नमूना बौद्ध, मख्खन चोस क्लब र बंगलामुखी चेस क्लब पनि छन्। सार्वजनिक पार्क नै चेस क्लबका रूपमा रहेको क्लब भने यही मात्र हो।
क्लब गठन २०७६, साउन ४ मा गरिएको हो। खेलाडीको अभ्यासको इतिहास भने अझै पुरानो छ। यहाँ चेस खेल्न आउनेमा स्थानीय त छन् नै, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका प्रसिद्ध खेलाडी पनि छन्।
नेपाल च्याम्पियनहरू बद्री नेपाली, पुरुषोतम चौलागाईं, मदनकृष्ण कायस्थदेखि महिला नेपाल च्याम्पियनमा सुजना लोहनी, सिन्दिरा जोशी लगायत पनि खेल र अभ्यासका लागि यहाँ आउँछन्।
यहाँ टाढादेखि खेलाडी आइरहेका छन्। नेपाली सेनाका भूपु कर्नेल इन्द्रबहादुर कार्की बालाजुबाट आउँछन्। नेपालको २०७६ का नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं गौशालाबाट धाउँछन्। उनी वर्तमान गृहमन्त्रीका सुरक्षा सल्लाहकारका रूपमा पनि कार्यरत छन्।
हामी त्यहाँ पुग्दा श्याम लामा चेस खेल्दै गरेका भेटिए। यो पार्क नेपालकै उत्कृष्ट रहेको बताउँदै उनले भने, 'नेपाल सरकारका सेवा निवृत्त पूर्व सैनिकदेखि स्थानीयवासी समेत क्लबका खेलाडी छन्।'
क्लबका कोषाध्यक्षसमेत रहेका लामाले महिनामा कम्तिमा एक प्रतियोगिता हुने बताए।
क्लबले खेलाडी संख्या बढाउन आफ्नै हाताभित्र प्रतियोगिता गर्छ। आफ्ना खेलाडीलाई विदेश पनि पठाउँछ। महिला खेलाडी भने कमै मात्र पार्कमा खेल्न आउँछन्। कोरोना महामारीका कारण त पुरुषकै संख्या पनि कम भएको छ।
काठमाडौं महानगरपालिका, पर्यटन मन्त्रालय, थापाथली चेस पार्क समिति यहाँको संरक्षणमा जुटेका छन्। अघिल्लो वर्ष मात्रै महानगरले पार्क संरक्षणका लागि बजेट छुट्याएको थियो। शौचालय, खानेपानी व्यवस्था, पार्क संरक्षण लगायत हुने भनिए पनि कार्यान्वयन छैन।
क्लबका सदस्यबाटै प्राप्त हुने सहयोगले त्यहाँ आवश्यक सामग्री जुटाउन सहयोग पुगेको छ। यसअघि पार्क निर्माणमा जापान सरकार र ढुंगा छाप्न एसियाली विकास बैंकले सहयोग गरेको छ।
पार्क सरसफाई र सार्वजनिक शौचालय व्यवस्था, पार्क सुधारको पहिलो सर्तका रूपमा देखिन्छ। शौचालय त बनिसकेको थियो तर महानगरले गर्ने उद्घाटन रोकिएकाले आगन्तुकले पार्कको एक कुनालाई शौचालयका रूपमा उपभोग गरेको देख्न सकिन्छ।
खेलाडीहरू पनि क्लब व्यवस्थापन मुख्य मान्छन्। त्यहाँ प्रयोग गर्ने चेस बोर्ड नेपालमा पाइँदैन। खेलाडीहरू भारतमा खेल्न जाँदा आफूसँगै लिएर आउँछन्। रबरले बनेका हुनाले धुन मिल्ने र लामो समय टिक्ने यसको विशेषता हो। सामग्रीको जतन र सुरक्षा उत्तिकै चुनौतीर्पूण विषय रहेको कोषाध्यक्ष लामा बताउँछन्।
'पानी पर्दा भिजेर चेस खेल्नुपर्ने बाध्यात्मक परिस्थिति छ,' लामाले भने, 'यो पार्क बाग्मती सभ्यता जोगिने हिसाबमा व्यवस्थापन हुनसके उत्तम हुनेछ।'