शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने तयारी सुरू भएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए।
‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभूत अस्पताल’ नामाकरण गरिएको वडा अध्यक्ष खुलालले जानकारी दिए।
शिवसताक्षी नगरपालिकाले बिहीबार शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा एक कार्यक्रमको आयोजना गरी अस्पतालको शिलान्यास नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले गरेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार हुने भएको छ।
अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन भएको छ।
विनियोजितमध्ये ३ करोड २३ लाख रुपैयाँ चालू वर्षमा खर्च हुने गरी निकासा भएको वडा अध्यक्ष खुलालले बताए।
आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन हुने शिवसताक्षी नगरपालिकाका प्रमुख शेर्माले बताए।
नगरप्रमुख शेर्माले भने, ‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर अस्पतालबाट प्रदान गरिने सेवा यहीँबाट सुरू हुन्छ।’
बिरामीको अन्यत्र जानुपर्ने बाध्यता समेत हट्ने नगर प्रमुख शेर्माले बताए।
शिवगञ्ज आधारभूत अस्पतालमा ३ जना मेडिकल अधिकृतसहित २७ जनाको दरबन्दी हुनेछ।
शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले यसअघि सर्वसाधारणलाई अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको थियो।
छ महिनाअघि स्वास्थ्य केन्द्रमा कार्यरत एमबिबिएस डाक्टरको सरूवा भएपछि सेवा प्रभावित हुँदै आएको छ।
अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ विगाहा जग्गा शिवगञ्ज आधारभूत अस्पताललाई प्रदान गरेपछि शिवगञ्जमा १५ शैयाको आधारभूत अस्पताल बनाउन सुरू गरिएको वडा अध्यक्ष खुलालले बताए।
प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा अध्यक्ष खुलालले शिवसताक्षी नगरमा आफ्नो अथक प्रयासपछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गराउन सफल भएको सुनाए।
‘शिवसताक्षी नगरमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्यका क्षेत्रमा नगरवासीको पहुँच पुर्याउन सबैको रचनात्मक सहयोग छ,’ उनले भने।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा प्रदान हुने भएपछि स्थानीयवासी हर्षित छन्।
गाउँमै अस्पताल निर्माण भएपछि उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ।
शिवगञ्जमा आधारभूत अस्पताल स्थापना भएपछि शिवसताक्षी नगरपालिकाको सबै वडासहित झापा गाउँपालिका, गौरिगञ्ज गाउँपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको केही वडाका स्थानीय लाभान्वित हुने भएका छन्।
‘प्राथमिक स्वास्थ्य केन्द्रबाट शिवगञ्ज आधारभूत अस्पतालमा स्तरोन्नति हुँदा सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स जस्ता रोगको शल्यक्रिया सेवा दिन सकिन्छ’, शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय ठकुरीले भने,‘आवश्यकतानुसार तालिम प्रदान गर्ने तथा दक्ष जनशक्तिद्वारा गुणस्तरीय सेवाका साथै यसअघि प्रदान भइरहेका सेवालाई थप व्यवस्थित गर्दै अस्पतालको सबै सेवाको स्तरलाई पनि बढाउँदै जानेछौं।’
उनका अनुसार २ वर्षभित्रमा अस्पतालको भवन निर्माण हुनेछ।