चाबहिल सडकखण्ड धमाधम कालोपत्रे हुँदैछ। लामो समय धूलाम्मे, हिलाम्मे, खाल्डाखुल्डी सडकको सास्ती खेपेका स्थानीयले सडक कालोपत्रे हुन थालेसँगै राहत अनुभव गरेका छन्।
सडकको दुवैतर्फ पूरै कालोपत्रे सकिएको छैन। तै पनि काम सुरू भएपछि यो बाटो ओहोरदोहोर गर्नेहरूले सास्ती कम भएको महसुस गरेका छन्।
यसबारे हामीले केही व्यक्तिसँग कुराकानी गरेका छौं।
स्थानीय किराना सामान बिक्रेता नरेश श्रेष्ठले आफ्नै घरमा पसल खोलेर बसेको १५ वर्ष भयो। पछिल्ला केही वर्षमा सडककै कारण निकै समस्या भोगे। ग्राहक संख्या घटेर व्यापार कम हुँदै गयो।
अब सडक कालोपत्रे भएसँगै ग्राहक फर्केर आउलान् भन्ने आशा उनलाई पलाएको छ।
'निक्कै दुःख पाइयो यो बाटोका कारण। झरीमा बाटो हिलैहिलो, जताततै फोहोर। सुक्खामा धूलैधूलो,' नरेशले भने, 'हरेक सामानमा सधैं धूलो हुने। घरमा पनि झ्याल खोल्नै नपाउने भएको थियो।'
उनका अनुसार परिवारमा बढी उमेरका सदस्यलाई दम नै देखियो। बाटो नराम्रो भएकै कारण कति ग्राहक यो बाटो हिँड्न छोडिदिए। धूलेमैलो पसलमा जान कसलाई मन हुन्छ र!
.jpg)
'हामी स्थानीय तहबाट पनि बारम्बार वडामा गएर दबाब दिइरहेका हुन्थ्यौं। स्थानीय तहबाट हामी पहल गर्छौं भनिरहे पनि काम भएको थिएन। अहिले बल्ल पिच भयो,' उनले उज्यालो अनुहार बनाएर भने, 'अब झ्याल खोलेर बस्न सकिएला।'
व्यापारी मात्र होइन, यो सडक सहज भए सवारी चालकलाई पनि धेरै राहत हुने ट्याक्सी चालक रामबहादुर तामाङ बताउँछन्। उनले यो बाटोमा ट्याक्सी चलाएकै झन्डै दस वर्ष हुन लाग्यो।
उनका अनुसार सुरूमा राम्रै कमाइ भए पनि केही वर्षदेखि यो बाटोको खराब अवस्थाले आम्दानी खुम्चिएको छ।
'कमाइभन्दा बढी यही ट्याक्सी मर्मतमा खर्च हुन्थ्यो। दिक्क लाग्थ्यो,' रामबहादुरले सुनाए, 'यात्रुहरू राम्ररी चलाउनुस् न भन्दै जहिल्यै किचकिच गर्थे। राम्रै चलाएको हो, बाटै बिग्रेकाले घत्र्याकघुत्रुक्क भइरहने।'
ट्याक्सीमा पाका, बिरामी र केटाकेटी चढेका बेला झन् समस्या हुन्थ्यो। कुन बेला झ्वाम्म खाल्डामा चक्का पर्थ्यो, अनि यात्रुलाई सास्ती। यो सास्तीको आक्रोश आफूहरूले नै खाने उनले बताए।
'कहिलेकाहीँ त यो बाटो नै नचलाऊँ कि भन्ने लाग्थ्यो। तर बसाइ यतै भएकाले बाध्यता भयो,' उनी भन्छन्, 'अब पिच भएको छ। अब ट्याक्सीमा धेरै खर्च नलाग्ला कि? यात्रुको गाली नखाइएला कि?'
रामबहादुरलाई भन्दा बढी सास्ती छ यो बाटोकी नियमित पैदलयात्रु सुप्रिया ताम्राकारलाई। आउजाउ गर्दा खुट्टादेखि, लुगासम्म हेरिनसक्नु हुन्थ्यो।
.jpg)
'धूलो, हिलो, बाटोमा गुड्ने सवारीले पानी छ्याप्ने, खाल्डामा खुट्टा पर्नेदेखि अनेक सास्ती खेपियो यो बाटोमा,' उनले भनिन्, 'अहिले कोरोनाका कारण मास्क लगाउनु भनेका छन्, हामी त मास्क बिना यो बाटो हिँड्न सक्थेनौं। कहाँ पुग्न पर्ने मान्छे, यो बाटो छिचोलिसक्दा पूरै फोहोरी भएर पुगिन्थ्यो।'
सडक कालोपत्रे हुँदै गरे पनि फुटपाथ बनिसकेको छैन। तर उनलाई आश छ, अब धूलोहिलो कम हुन्छ। अनि फुटपाथ पनि चाँडै राम्रो बन्नेछ।
यो सडक कालोपत्रे हुँदै गर्दा सबभन्दा उज्यालो अनुहार देखिएको छ ट्राफिक प्रहरी सुशील कार्कीको। उनले यो सडकमा ड्युटी गर्न थालेको दुई वर्ष भयो।
यो सडकमा गाडीको चाप उस्तै, त्यहाँमाथि धूलोले ढपक्कै। दिनभर ड्युटीमा खटिने उनका आँखा-नाक पोल्थ्यो। फोक्सोले धेरै धूलो खाएर होला, सास फेर्न मुश्किल हुन्थ्यो।
'गाडीको चापभन्दा पनि धूलोले गर्दा दुःख लाग्थ्यो। यहाँ बस्दाबस्दै स्वास्थ्यमा पनि समस्या आइरहेको छ। मास्क लगाए श्वासप्रश्वासमा समस्या देखिरहन्छ,' प्रहरी जवान सुशीलले भने, 'अब पिच भएपछि समस्या नदेखिएला।'
त्यस्तै सुशीलका अनुसार पहिला खाल्डाखुल्डीका कारण थुप्रै दुर्घटना हुन्थे। अब यी कम हुनेमा उनी आशावादी छन्।
'यो बाटो बन्न धेरै समय लाग्यो, तर अहिले बन्दैछ, निक्कै खुसी लागिरहेको छ,' उनले भने।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)