इच्छाकामना गाउँपालिकाको मयाटारस्थित राष्ट्रिय आधारभूत विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउन थालेको ५ वर्ष बढी भयो। यो विषयमा उत्तीर्ण हुँदै सयौं विद्यार्थीले निम्न माध्यामिक तह पार गरे। तर उनीहरू कसैले पनि कम्प्युटर भने कहिल्यै देख्न पाएनन्।
आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले निम्न माध्यामिक तहका लागि ९ वटा विषय तय गरेको छ। तीमध्ये ८ वटा विषय अनिवार्य र एउटा ऐच्छिक छन्। पाठ्यक्रमको ढाँचामा साधारण शिक्षाअन्तर्गत मातृभाषा, स्थानीय विषय, संस्कृत वा अन्य विषयलाई ऐच्छिक भनिएको छ।
उक्त ऐच्छिक विषयअन्तर्गत चितवनका अधिकांश विद्यालयले कम्प्युटर विषय पढाउँदै आएका छन्। आधारभूत विद्यालय मायाटारजस्ता दर्जनौं विद्यालय चितवनमा छन् जहाँ अध्ययनरत् विद्यार्थीले कम्प्युटर देख्न पनि नपाई तीन वर्षको कक्षा पुरा गरे।
अझ अनौठो त उनीहरूले १०० पूर्णाङ्कमा ५० अङ्कको प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे।
विद्यालयका प्रधानाध्यापक पदमबहादुर प्रजाले ऐच्छिक विषय भए पनि माथिबाटै यही पढाऊ भनेर पाठ्यपुस्तक पठाइएका कारण पढाउँदै आएको बताए।
‘पढाउन थालेको पाँच वर्षभन्दा बढी भयो विद्यार्थीलाई आजसम्म कम्प्युटर देखाउन सकेको छैन,’ उनले अवस्था सुनाए, ‘कम्प्युटर कस्तो हुन्छ भनेर सोध्नेलाई टिभीजस्तै हुन्छ भन्ने गरेका छौं।’
ग्रामीण क्षेत्रका धेरै विद्यालयमा विद्युत् पुगेको छैन। केहीले सोलार जडान गरेका छन् तर कम्प्युटर छैन।
‘विद्यार्थीलाई कम्तिमा पनि कम्प्युटर देखाउन पाए हुन्थ्यो भनेर गाउँपालिकादेखि अन्य निकायमा जानकारी गराउने गरेका छौं,’ उनले भने, ‘तर आफैंले स्रोत जुटाएर किन भन्ने जवाफ आउँछ, हामीसँग स्रोत नै छैन कसरी किन्ने?’
उनले प्रयोगात्मक परीक्षा कम्प्युटरको फोटो बनाउन लगाएर, कम्प्युटरबारे पढेका कुराहरू सोधेर गर्ने गरेको बताए।
गत वर्ष विद्युत लाइन पुगेको सोही गाउँपालिकाको राष्ट्रिय मावि हात्तीबाङको अवस्था पनि उस्तै छ। यहाँ विज्ञान पढाउन नियुक्त गरिएका शिक्षकले कम्प्युटर पनि पढाउँछन्।
यस विद्यालयमा अध्ययनरत सुमी चेपाङ २९ जना साथीलाई पछि पार्दै प्रथम भएर कक्षा ७ मा पुगिन्। कक्षा ७ को पनि आधा पढाइ सकिएको छ तर उनले कम्प्युटर देखेकी छैनन्।
‘किताबमा भएका चित्र र सरले भनेका कुरा सुनेर कल्पना गर्ने हो, कम्पयुटर आजसम्म देखेकी छैन,’ उनले भनिन्, ‘चलाएरै पढ्न पाए छिटो सिकिन्थ्यो होला, कल्पना गरेर पढ्दा गाह्रो भइरहेको छ।’
उक्त कक्षामा अध्ययनरत् ३० जना विद्यार्थीमा १८ जनाले अहिलेसम्म कम्प्युटर देखेका छैनन्। बाँकी १२ जनाले अन्यत्र जाँदा कम्प्युटर देखेका छन् तर छुने अवसर पाएका छैनन्।
‘चेपाङ बालबालिकाको बाहुल्यता रहेको ग्रामीण क्षेत्रमा ४५ प्रतिशत बढी बालबालिकाको घरमा सामान्य रेडियो सेटको समेत प्रयोग हुँदैन भने उनीहरूका लागि कम्प्युटर त धेरै परको कुरा भयो,’ विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले भने, ‘विद्यालयसँग समेत कम्प्युटर नहुँदा उनीहरूलाई देखाउनसमेत सकिएको छैन।’
उनले केही वर्ष अघि इ-लाइब्रेरीका लागि प्राप्त भएको कम्प्युटर विद्युत् नहुँदा प्रयोग नभएको बताए।
‘गत वर्ष विद्युत् आए पनि विद्यालयमा वेयरिङ गरिएको छैन,’ उनले भने, ‘वर्षौंअघि पाएको कम्प्युटर विद्यार्थीका लागि प्रयोगमा छैन।’
उनले कम्प्युटर विषय पढाउनै पर्ने भएपछि यसको ल्याब पनि आवश्यक पर्ने भए पनि विद्यार्थीका लागि भनेर कम्प्युटर कतैबाट नआएको बताए।
गाउँपालिकाकी शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले कम्तीमा पनि एक विद्यालय एक कम्प्युटर आवश्यक पर्न भए पनि त्यो व्यवस्था गर्न नसकिएको बताइन्।
‘केन्द्रबाट कम्प्युटरका लागि भनेर बजेट आउँदैन, गाउँपालिकासँग बजेट छैन,’ उनले भनिन्, ‘जे छ त्यसैको उपयोग गरी पठनपाठन सञ्चालन गर्नु भनेका छौं।’
ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीले त भौगोलिक अवस्था, विद्युत्, स्रोतलगायतका कारण कम्प्युटर देख्न पाएका छैनन्, सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत कम्प्युटर प्रयोग गरेर पढ्ने अवसर पाएका छैनन्।
जिल्ला सदरमुकाम भरतपुरकै अधिकांश सरकारी विद्यालयमा कम्प्युटर ल्याब छैन। विद्यालयमा प्रशासनिक प्रयोग तथा इ–लाइब्रेरीका लागि कम्प्युटर भए पनि विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि कम्प्युटरको व्यवस्था छैन।
जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले तत्कालै सबै विद्यालयका विद्यार्थीले कम्प्युटरको प्रयोग गर्न नपाएपनि बिस्तारै पहुँच बढ्दै जाने बताउँछन्। कम्प्युटर र उक्त विषयको शिक्षकको व्यवस्था गर्नुपर्ने भएपनि नसकिएको उनले बताए।
‘निमावि र मावि तहका लागि कम्तीमा एक कम्प्युटरको व्यवस्था गर्नुपर्छ, विद्युत् अभावका कारण प्रयोग गर्न नसके पनि कम्प्युटर देखाएर सिकाउने अवस्था ल्याउनुपर्छ भन्नेमा हामी सचेत छौं,’ उनले भने, ‘हामी आगामी दिनमा सक्दो कोसिस गर्छौं।’
उनले सूचना, प्रविधिको पहुँच नहुँदा ग्रामीण क्षेत्रमा वैकल्पिक कक्षासमेत सम्भव नभएको भन्दै यसलाई सुधार गर्दै जाने बताए।