लकडाउनयता सुनसान बनेको टोलमा एक्कासि चहलपहल भित्रिएको थियो। त्यो चहलपहल भित्र्याउने तन्नेरी थिए, प्रकाश गन्धर्व।
एकातिर काँधमा आरबाजा र अर्कोतिर सारंगी बोकेका उनले चोकमा बसेर केही चल्तीका लोकगीत र कर्खा सुनाए। थोरै स्रोताहरू उनको छेउछाउ पुगे। धेरैले आ–आफ्ना झ्याल, छत र बार्दलीबाटै आनन्द लिए।
त्यसपछि जिज्ञासा बढ्यो। उनी पनि नजिकै आइदिए।
भलाकुसारीको सुरूआतमै उनले आफूलाई नब्बे लाखभन्दा बढी नेपालीले चिन्ने जानकारी दिए।
'नब्बे लाख?'
'हो,' उनले भने, 'एक जना पत्रकारले नै मेराबारे सर्भे गरेर बताउनुभएको हो।'
त्योसँगै उनले अर्को जानकारी पनि दिए।
'तर, यत्राविधि नेपालीले चिन्ने मेरो परिचय प्रकाश गन्धर्व होइन,' उनले भने, 'सबैले चिन्ने मेरो परिचय हो दिलु गन्धर्व।'
सन् २००७ तिरबाट उतिबेलाको बिबिसी वर्ल्ड सर्भिस ट्रस्ट र पछि बिबिसी मिडिया एक्सनले चलाएको एउटा लोकप्रिय रेडियो नाटक थियो, 'कथा मिठो सारंगीको'।
त्यस नाटकका सुत्रधारदेखि पात्र हुँदै सारंगीमा गीतसमेत गाएर रमाइलो बनाइदिने उनै दिलु गन्धर्व थिए, जसको नामै त्यही नाटकका निम्ति बिबिसीले फेरिदिएको थियो।
झन्डै सात वर्षसम्म लगातार बिबिसी र नेपालभरका दुई सय बढी रेडियोमा त्यो नाटक बजेको थियो। त्यसले दिलु गन्धर्वको परिचय कति जनासँग गराएको रहेछ भन्दै अंग्रेजी अखबार 'द काठमान्डु पोस्ट'का संवाददाता अनुप ओझाले दस वर्षअघि खोजबिन नै गरेका रहेछन्।
त्यसैबाट निस्केको नतिजा रहेछ– नब्बे लाख।
बिबिसीबाट त्यो कार्यक्रम बज्न छाडेको झन्डै छ वर्ष भयो। त्यसपछि भने दिलु उर्फ प्रकाशको कार्यक्षेत्र राजधानीमै रहेर नाटक र सिनेमाको संसार बनेको थियो। पछिल्लो समय यी सब पनि ठप्प भइदिए।
यसरी कुनै बेलाका यी ३२ वर्षे 'स्टार'लाई महामारीको लामो चपेटाले अप्ठ्यारोमा पारिदिएछ।
'कोठाभित्र थुनिएर बस्न सकिनँ,' उनले भने, 'त्यसैले बाजा बोकेर घर घर डुल्न सुरू गरेको हुँ।'
प्रकाशका अनुसार उनी बिबिसीमा काम गरिरहँदा थिएटरतिरका मानिस पनि प्रशस्तै आइरहन्थे। त्यसले गर्दा विशेषगरी गुरुकुलमा राम्रो सम्पर्क भयो।
'कमलमणि नेपाल, दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की...' उनले चिनिएका नामको फेहरिस्त खोले।
'त्योताक उहाँहरू पनि बिबिसीमै नाटक गर्न आउनुहुन्थ्यो,' थपे, 'त्यतिबेलै घुलमिल भयौं।'
यसरी संगत विकास भएपछि आफूले पनि अहिलेसम्म झन्डै १२ वटा नाटकमा काम गरेको उनले सम्झना गरे। उनलाई सबभन्दा प्रिय चाहिँ कुन लाग्यो?
'जम्पिङ फ्रग।'
मण्डला थिएटरमा झन्डै डेढ महिना देखाइएको त्यो नाटकमा प्रकाशले एउटा सारंगी रेट्दै हिँड्ने कछुवाको भूमिका निर्वाह गरेका थिए।
'कछुवाले बजाउँदा सारंगी ठूलो देखिनुपर्ने भएकाले मैले त्यतिबेला ठूलो आकारको सारंगी आफैं तयार पारेको थिएँ,' उनले भने, 'मञ्चमा मैले बजाएको त्यो सारंगी अहिले पनि जोगाएर राखेको छु।'
प्रकाशले त्यसबाहेक रेडियोमा चौतारी नाटकदेखि थुप्रै साना-ठूला नाटक गरे।
'नाटक गरेपछि सिनेमामा पनि काम पाउन थालेँ,' उनले लगालग केही फिल्मका नाम लिए, 'नाका, हरि, प्रसाद, सेल्फी किङ।'
यतिबेला भने उनी 'तीन जन्तु' फिल्ममा काम गरिरहेका रहेछन्।
यसरी नाटक र सिनेमामा जमिसकेका यी कलाकारले किन फेरि घरघरै बजाउँदै, माग्दै हिँड्ने बाटो रोजे?
'म पहिले पनि यसैगरी घरघरै बजाउँदै हिँड्ने मानिस हुँ,' उनले भने, 'यसरी हिँड्दा नै हाम्रो सीप पनि माझिने हो।'
उनी आफैंले गाउँदै आएका कति गीत योबीचको छ-सात महिनामा बिर्सेका रहेछन्। अहिले गाउँदै हिँड्दा फेरि सम्झन थालेको जानकारी दिए।
'यसरी समाजमा आउँदा मानिसहरू देख्छु। मानिस देख्नु भनेको भोगाइहरू देख्नु हो। चरित्रहरू देखिनु हो। रङरङका पात्र र तिनका गतिविधि देखिनु हो। त्यो सब मलाई निखार्ने कुरा हुन्। अनि यसरी गाउँदै हिँड्दा मेरो आफ्नै संस्कृति पनि जोगिने भयो,' उनले भने।
तर, अहिलेका बेलामा यसरी घरघरै आउनेलाई सबैले राम्रो नमान्दा पनि रहेछन्।
'आज एउटा घरमा भित्र पस्न खोज्दा हप्की नै खानुपरेको थियो,' उनले पनि स्वीकारे, 'यो बेलै त्यस्तो छ।'
आफूले यसरी गाएर–बजाएर सुनाउँदा धेरैले भने रमाइलो मान्ने उनले बताए।
'महिनौंदेखि कोठाभित्रै बस्नु भएका कति जनालाई मेरो आवाजले आनन्द दिइरहेको देख्छु,' उनले भने, 'त्यतिबेला असाध्यै सन्तुष्ट हुन्छु।'
कोरोना सुरू भएपछिको पहिलो तीन महिना प्रकाश कोटेश्वरस्थित डेराबाट बाहिरै निस्केनछन्।
'असाध्यै डर लाग्यो,' उनले भने, 'त्यसैले बाहिर घरबेटीकै किराना पसलबाट उधारोमा सामान ल्याउँदै, खाँदै बाँचे।'
यसैबीच एउटा भयावह घटना भइदियो। बहिनीसँग बसिरहेका उनका कान्छा भाइले बिराटनगरमा आत्महत्या गरेको समाचार आइपुग्यो।
'हामी कतातिर डराइरहेका हुन्छौं,' उनी भन्दै गए, 'मृत्यु कतातिर छ भन्ने पत्तै नहुने।'
ती भाइलाई आत्महत्याभन्दा केहीअगाडि उनैले काठमाडौं ल्याएर आफूसँगै राखेका थिए। लकडाउनको केही दिनअघि मात्र उनलाई सिनेमा सुटिङका लागि काठमाडौंबाहिर जानुपरेको थियो।
'त्यतिबेलै भाइलाई बहिनीकहाँ पठाएको थिएँ,' उनले भने, 'लकडाउनको तीन महिनामै निराश भएर प्राण त्याग्यो।'
यो अप्रत्याशित घटनापछि उनलाई पोखरा घर जानुपर्ने भयो। त्यसपछि सारा भय त्यागे, बन्द कोठाबाट बाहिर निस्के र पोखरा पुगे। उता पुगे पनि खर्च थिएन। जोगाएको पैसा सबै सकिएको थियो।
'मैले त्यतिबेलै पोखरामा ज्यामी काम पाएँ,' उनले भने, 'त्यहीँ मजदुरी गर्न थालेँ।'
पोखरामै एकठाउँमा गुम्बा रहेछ। त्यसैको परिसरमा तिब्बतीहरूले तीनवटा घर बनाइरहेका थिए।
'सुरूमा त कोरोना डरले नयाँ मानिस लिन मानेनन्,' उनले भने, 'तर, त्यतै मजदुरी गरिरहेका चिनेकाहरूले भरोसा दिलाइदिएपछि तीन महिनासम्म त्यहीँ खाने–बस्ने हिसाबले काम पाएँ।'
ज्यामी गर्दागर्दै आफूले मिस्त्रीका काम सिकेको उनको भनाइ छ। त्यो गुम्बाका मानिसले नै फेरि लुम्बिनीमा अर्को गुम्बा बनाउने काम पाएका रहेछन्, 'मलाई लुम्बिनी बोलाएको बोलायै छन्।'
पोखरामै मजदुरी गर्दागर्दै उनलाई नायक सौगात मल्लले काठमाडौं बोलाए। उनीहरूले साथै काम गरिरहेको पछिल्लो सिनेमा 'तीन जन्तु' को डबिङ सुरू भएको रहेछ। निम्तो पाउनेबित्तिकै उनी सरासर काठमाडौं आए।
'एउटा कलाकारले जीवनको जति धेरै अनुभव लियो, त्यति खारिँदै जान्छ,' उनले ज्यामी बन्दाको आनन्द सुनाउँदै अर्को रोचक खुलासा पनि गरे, 'म जीवनमा एकपटक जेल पनि परेको छु।'
कुरो एक वर्षअगाडिको रहेछ। उनीसँगै डेरामा एकजना साथी बस्थे। उनीहरूले साझेदारीमा रेस्टुरेन्ट चलाएका थिए। साथी गाँजा अम्मली रहेछन्।
'लेनदेनकै विषयमा विवाद भएर ती साथीसँग झगडा परेको थियो,' उनले भने, 'त्यसलगत्तै मेरो घरमा प्रहरी आएर छानबिन गर्यो।'
प्रहरीले छानबिन गर्दा तिनै साथीले डस्टबिनमा फालेर गएको पोकामा गाँजाको धूलो भेटिएको उनले बताए।
'त्यो घटना पूर्णतया जालसाजी थियो,' उनी दाबीसाथ भन्छन्, 'मलाई फसाइयो।'
त्यसपछि प्रहरीले लगेर उनलाई थुनिदिए।
'जे होस्, यसरी पक्राउ परेपछि मैले जेल देखेँ,' उनले हाँस्दै नै सुनाए, 'कैदमा बस्दाका वास्तविकता जानेँ।'
त्यसको प्रभाव कस्तो भइदियो भने हिजोआज फिल्ममा देखाइने जेलका दृश्य हेर्दा उनलाई हाँसो उठ्छ। पूरै बनावटी लाग्छन्। फिल्मतिर प्रायः खोरमा सरक्क एक जना थुनिएको देखाइन्छ। उनी भन्छन्, 'जबकि त्यहाँ त खुट्टा पनि आपसमा खप्टेर सुत्नुपर्ने गरी मान्छे कोचिएका हुन्छन्।'
त्यसरी थुनिँदा जुम्रा पर्नेदेखि उडुस र उपियाँका असाध्यै समस्या हुने उनले बताए। गन्हाउने पनि उत्तिकै। यस्ता यथार्थ सिनेमामा देखाइँदैन, 'सिनेमा बनाउने र अभिनय गर्नेले त्यो भोगेकै हुँदैनन्।'
उनलाई यी सब अनुभवले थप पोख्त बनाउँदै लगेको महसुस हुन थालेको छ।
'मेरैजस्तो भोगाइ नभए पनि यो कला क्षेत्रमा धेरै मानिस दुःख गरेर आएका छन्,' उनले सुनाए, 'कतिपय पैसाकै आडमा आएका छन्।'
पैसाका साथै कुनै विशिष्ट गुण पनि भइदिए बेग्लै कुरा, नत्र पैसाले जति पेले पनि त्यसले कला नदिने उनी ठोकुवा गर्छन्।
डबिङका लागि बोलाइएपछि उनी ज्यामी काम छाडेर पोखराबाट काठमाडौं फर्किए। यहाँ आएपछि बितेको एक महिनामा सबै काम सिध्याएको उनी बताउँछन्। त्यसपछि लुम्बिनी गएर फेरि मजदुरी गर्ने कि यसरी गाउँदै हिँड्ने भनेर सोच्दा पछिल्लो विकल्पमा चलेका हुन्।
उनका अनुसार बिबिसीले सात वर्षसम्म उनलाई नाम मात्र होइन, टन्नै पैसा पनि दिएको थियो। त्यो काम बन्द हुनेबित्तिकै एक्कासि बत्ती निभेजस्तो भयो।
'सिनेमाले अलिअलि पैसा दिन्छ,' उनले सत्य खोले, 'प्रोजेक्टको होइन भने थिएटरबाट चाहिँ पटक्कै पैसा आउँदैन।'
अभिनयबाहेक उनी गीतहरू बनाउँछन् र गाउँछन्। रेडियोको चौतारी कार्यक्रमका लागि एउटा गीत बनाएका छन्। त्यसबाहेक अरू पनि छन्। गाउँदै हिँडेका बेला चाहिँ उनले अरूका लोकप्रिय गीत पनि सुनाउँदा रहेछन्।
आरबाजा निकालेर एउटा चर्चित गीत सुनाए–
'तिम्रो नै मया लाग्दछ साहिँली, सम्झन्छु छिनछिन
तिमीले मया नगरे पनि गर्छु म दिनदिन'
गीत सुनाएसँगै उनले एउटा बिडम्बनाको कुरा गरे।
'मैले यो गीत गाएर सुनाएपछि प्रायः श्रोताले 'यो अर्को मुखर्जीको गीत तपाईंले पनि कति राम्ररी गाउनुभयो भन्छन्,' उनी हाँस्न थाले, 'भन्नुस् त, यो अर्को मुखर्जीको गीत हो? होइन नि।'
यो गीत निकै अगाडि झलकमान गन्धर्वले बनाएका हुन्। पछिल्लो समय प्रयोगधर्मी बंगाली गायक अर्को मुखर्जीले यसलाई परिमार्जनसहित गाइदिँदा युट्युबमा चर्चित भएको छ।
'यो गीत म आफैंले पनि दस-बाह्र वर्ष पहिले रेकर्ड गरेको थिएँ,' प्रकाश भन्छन्, 'तर, मलाई पनि राम्रो लाग्ने बंगाली गायक मुखर्जीले यसमा पूर्वदेखि पश्चिम नेपालसम्मका भाका मिसाएर बेग्लै बनाइदिए।'
प्रकाशले आरबाजाको टुनटुन आवाजसँगै मुखर्जीले गाएका लाइन सुनाए।
'हामी गन्धर्वले चाहिँ त्यसरी एउटै गीतमा पूर्व र पश्चिमका भाका मिसाउँदैनौं,' उनले भने, 'चाहे जतिसुकै मिठो सुनियोस्।'
यस्ता कुराले पनि गन्धर्वहरूले अहिले बेहोरिरहेको अवस्था दर्शाउने प्रकाशको ठहर छ। प्रकाशको कुरो चाखलाग्दो हुँदै गएपछि मैले उनको पुर्ख्यौली जरा समात्ने कोशिस गरेँ। तर, त्यो प्रयासले अर्को नमिठो यथार्थ खुलासा गरिदियो।
'म खासमा गन्धर्व बाबुको छोरा होइन,' प्रकाशले भने, 'मेरा बा खड्का, क्षत्री हुनुहुन्छ।'
अघिसम्म उनी 'दिलु' होइनन् भन्ने मात्र थाहा पाइरहेका बेला अब 'गन्धर्व' पनि होइनन् भन्दा चकित पारिदियो। अर्थात्, केवल 'प्रकाश' रहेछन्।
उनका पिता भारतीय सेनामा जागिरे रहेछन्। बिदामा घर आउँदा भर्खर १६ वर्षकी गन्धर्व केटीसँग सम्पर्क भएछ। गुल्मी जिल्लाको उत्तरी मुसकोट गाउँमा अविवाहित किशोरी गर्भवती भएपछि गाउँभर हल्लीखल्ली मच्चियो। सन्तानसमेत भएका विवाहित क्षत्रीको गर्भ एक गन्धर्व किशोरीले बोकेकी थिइन्।
'गाउँमा जतिसुकै हल्लीखल्ली भए पनि चेपुवामा हामी नै परेछौं,' प्रकाशले भने, 'मैले थाहा पाएसम्म त्यतिबेला मेरी आमालाई सुत्केरी खर्च तिर्न लगाएर यो मामिला सल्टाइएको थियो।'
तिनै गन्धर्व किशोरीबाट प्रकाशको जन्म भयो। तर, उनी र उनको आमाको जीवनमा पुरुषको कहिल्यै कुनै भूमिका भएन।
'मैले जीवनमा केवल एकपटक मेरा बालाई देखेको छु,' प्रकाशले भने, 'चार वर्षको उमेरमा, परैबाट।'
यता प्रकाश एक वर्षको छँदै उनकी आमाले अर्का एक गन्धर्वसँगै बिहेवारी गरेर पोखरातिर गइन्। एक वर्षे बच्चा हुर्काउने एक्लो जिम्मेवारी मावली हजुरआमाले निर्वाह गरिन्।
'म हुर्किएकै हजुरआमासँग हो,' उनले थपे, 'अभिभावक भन्ने चिज देखेकै त्यही एक जनामा हो।'
प्रकाश चार वर्ष पुगेपछि उनकी हजुरआमाले पनि उनलाई बोकेर गुल्मी छाडिन्। त्यसपछि उनीहरू कास्कीको लेखनाथचोक आइपुगे। उता प्रकाशकी आमाले अर्का श्रीमानबाट तीन छोरी र दुई छोरा पाइन्। तिनैमध्ये कान्छो भाइले आत्महत्या गरेका हुन्।
'बाउकै गुणले होला मलाई खासमा सेनामा जाने साह्रै इच्छा थियो,' उनले भने, 'तर, निकै पछिसम्म नागरिकता नपाएकाले म त्यो अवसरबाट बञ्चित भएँ,' संकटकालताका उनले धेरै सैनिक भेटेर मनको इच्छा पोखेका रहेछन्। ती सबैले 'तिमी केबल नागरिकता लिएर आऊ, जागिर पक्का हुन्छ' भनेका थिए।
'मैले जति प्रयास गरे पनि त्यो बेला नागरिकता पाउन सकिनँ,' प्रकाशले भने, 'अहिले त नागरिकता बनिसकेको छ।'
यतिन्जेल परिस्थितिले उनलाई तानेर अर्कैतिर लगिसकेको थियो। अर्कैतिर अर्थात् आमातिर।
'सन्तान जन्माएर पनि नाम नदिने क्षत्री पिताभन्दा बरू गन्धर्व पिता पाएकै भए म भाग्यमानी हुन्थेँ,' उनले भने, 'कमसेकम यसै क्षेत्रमा मैले पैतृक चिनारी त खोज्ने ठाउँ हुन्थ्यो।'
कास्की आएपछि नौ वर्ष उमेरबाटै उनले सारंगी बोकेर पोखराका सडकमा गीत सुनाउँदै हिँड्न थाले। लेकसाइड गएर बजाउँदा विदेशीहरूले राम्रै पैसा दिन्थे रे। उनले भने, 'बिहानै निस्केर दिउँसो फर्कँदा घरखर्च जुटिसकेको हुन्थ्यो।'
उनी करिब बाह्र वर्षका हुँदा हजुरआमाको पनि मृत्यु भयो।
'त्यस दिनदेखि मेरो पारिवारिक जीवन समाप्त भयो,' उनले सुनाए, 'आफ्नै किसिमले एक्लै बाँच्दैछु।'
उनी नौडाँडा र वरपर भौंतारिएरै हिँडिरहेका थिए। त्यसै क्रममा १३ वर्षअघि बिबिसी टोली उनीजस्तै कुनै पात्र खोज्दै उतै पुगेको थियो। धम्पुसतिरका होटलवालाले प्रकाशको भेट बिबिसी टोलीसँग गराइदिए।
'उहाँहरूले धेरै कुरा सोध्नुभयो र गीत पनि सुनाउन लगाउनु भयो,' उनले भने, 'त्यतिबेला मैले बनाएको सद्दाम हुसेनको हत्या र गाउँमा बाउले छोरालाई मारेको घटनाबारेको गीत उहाँहरूलाई मनपरेछ।'
त्यसपछि प्रकाशको यात्रा काठमाडौंको भयो। नाम फेरिएर दिलु बन्यो। जागिर भयो बिबिसीमा।
'बिबिसीमा कमाएको पैसाले नौडाँडामै एउटा घर बनाएको छु,' उनले भने, 'मसँग भएको सम्पत्ति त्यत्ति हो।'
बिबिसीमा रहँदै एघार वर्षअघि उनले 'एक्टर्स स्टुडियो' बाट दिइने कलाकार तालिम पनि दुईपटक लिए। त्यसले नाटक निर्देशक अनुप बरालसँग उनलाई नजिक्यायो। उनलाई अहिले पनि 'अनुप दाइ' प्रिय लाग्छन्।
यसरी सारंगी र गायनले बिबिसीसँग जोड्यो। बिबिसीले काठमाडौंमा बसालिदियो। काठमाडौंको संगतले अभिनयतर्फ लगाइदियो। जसोतसो जीवन चल्दै थियो। पछिल्लो समय कोरोनाले त्यो अभिनयबाट जुट्दै आएको खर्चपर्चको बाटो बन्द गरिदियो।
'अहिलेलाई मसँग दुइटा विकल्प मात्र थियो,' उनले भने, 'या लुम्बिनी गएर गुम्बामा ज्यामी काम गर्ने, नभए यसैगरी गाउँदै हिँड्ने। लुम्बिनी जानेबारे पनि सोचिरहेकै छु। तर, अहिलेलाई यसरी गाउँदै हिँड्ने निधोमा पुगेको हुँ।'
यसरी बजाएर हिँड्दा सन्तुष्टि मिल्नुबाहेक आफ्नो खर्च पनि चलिरहेको उनले सुनाए।
'सबभन्दा मुख्य कुरा मैले कोठाभित्र कुण्ठित भएर बसिरहनु परेको छैन। बरु, उल्टो टोलटोल-चोकचोक पुगेर गाउँदा र बजाउँदा कोठाभित्रै थुनिएर बसिरहेका धेरैलाई रमाइलो दिइरहेको छु। मलाई पनि त्यसमै रमाइलो लागिरहेको छ,' उनले आरबाजा र सारंगी दुईतिरको कुममा भिरेर हिँड्नुअघि भने, 'कोरोना भनेको आउँछ जान्छ, हामी थामिनु हुँदैन।'
सबै तस्बिरः गिरीश गिरी/सेतोपाटी