एकाबिहानै सहरका चोकचोकका परीक्षा केन्द्रमा कक्षा १२ का विद्यार्थीको लश्कर देखिन्थ्यो।
कोरोनाका कारण लामो समय शैक्षिक संस्थाहरू खुलेका थिएनन्। एकाएक केन्द्रमै परीक्षा हुने खबर आयो। महामारी जोखिमबीच कसरी परीक्षा भयो होला?
यिनै जिज्ञासा लिएर हामी कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३, भद्रवास पुग्यौं।
त्यहाँको सरकारी विद्यालय ‘श्री आदर्श माध्यमिक विद्यालय’ मा परीक्षाको पूर्वतयारी सुरू भइसकेको थियो।
विद्यालयको प्रांगणमा स्यानिटाइजर, मास्क र ज्वरो नाप्ने डिजिटल यन्त्र थियो। त्यो प्रयोग गर्न विद्यार्थीलाई सहयोगका लागि 'हेल्प डेस्क' मा एक जना तैनाथ थिए।
कक्षाकोठाभित्र पस्दा अर्कै हतारो। शिक्षकहरू कक्षाकोठामा सिट मिलाउँदै थिए। सबै टेबल-कुर्सी केही दुरीमा थिए। सिम्बल नम्बर पनि दुई कुर्सीको अन्तरमा टाँसिदै थियो।
भित्र परीक्षाको तयारी हुँदै गर्दा विद्यार्थीहरू भने विद्यालयको ढोका बाहिर उभिरहेका थिए। कोभिड-१९ महामारीबीच उनीहरू मास्क, पन्जा, र कलम बोकेर परीक्षा दिन तयार देखिन्थे।
कलेजको ड्रेस अनिवार्य नभएकाले सबै न्यानो लुगामा ढपक्कै देखिन्थे। सबैजना महिनौंपछि आ-आफ्ना साथी भेट्न पाएकोमा दंग पनि थिए। कोही किताब-कापी पल्टाएर अन्तिम पटक रट्टा मार्दै थिए। कोही भने निसंकोच हल्ला-ठट्टा गर्दै परीक्षा सुरू हुने घण्टीको पर्खाइमा थिए।
हामीले बाहिर उभिरहेका केही विद्यार्थीसँग परीक्षाको पूर्वतयारीको बारे सोध्यौं। उत्तर गहन र गम्भीर पायौं। विद्यार्थीहरूले १२ को परीक्षा बारेमा के-कस्ता कुरा-टिप्पणी गरे, सुन्न भिडिओ हेर्नुहोस्।