एक पटक कोरोना भाइरस लागिसकेपछि शरीरमा भाइरससँग लड्ने एन्टिबडी बनेको हुन्छ।
केही अनुसन्धानले एन्टिबडी केही समयमा घटेर जान्छ भनेको छन्। तर शरीरको रोगसँग लड्ने सिस्टममा एक किसिमको तालिम प्राप्त कोषहरू शरीरको विभिन्न स्थानमा सञ्चित भएर बसेका हुन्छन्।
भाइरसले अर्को पटक आक्रमण गर्यो भने ती कोष सक्रिय भएर भाइरसलाई आक्रमण गर्न जान्छन्। उनीहरूमध्ये एकथरीले एन्टिबडी बनाउँछन्, अरूले सिधै भाइरसलाई आक्रमण गर्छन्। त्यसैले एक पटक संक्रमण भइसकेपछि फेरि संक्रमण हुने सम्भावना असाध्यै कम हुन्छ।
एक पटक कोरोना संक्रमण भएको व्यक्तिलाई दोहोरिने सम्भावना कति हुन्छ?, दोहोर्याएर पिसिआर गर्नुपर्छ कि पर्दैन? नेपालमा खोपको उपलब्धता कहिलेसम्म होला? सिटी भ्यालु थोरै र धेरै हुनुले के अर्थ राख्छ लगायत विषयमा केन्द्रित रहेर ह्याम्स अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश यस्ता छन्:
- एक पटक संक्रमण भएपछि फेरि हुने सम्भावना निकै कम हुन्छ। संक्रमित भएर सिकिस्त हुने सम्भावना झनै कम हुन्छ।
- आफू सिकिस्त नभए पनि अर्को मान्छेलाई सार्ने खतरा भने हुन्छ। एक पटक निको भए भन्दैमा मास्क लगाउन छाड्ने, दुरी कायम गर्न छाड्न हुँदैन।
- आफू संक्रमित भएकाले आफ्ना लागिभन्दा पनि परिवार र समाजका लागि बढी सचेत हुनुपर्छ। विश्वमा कोरोना निकै कम मात्रामा दोहोरिएको छ।
- नेपालमा कोरोना भाइरस दोहोरिएको हो कि होइन भनेर परीक्षण गर्ने प्रविधि पनि छैन।
- कोरोना भाइरसको लक्षण सुरू भएको १० दिनपछि पुन: पिसिआर नगरी बाहिर निस्किन सकिन्छ। त्यस्तै, सिटामोल नखाइकन ज्वरो घटेको ३ दिन भएको हुनुपर्छ। यस्तो अवस्थामा अरूलाई असर गर्न सक्दैन।
- अक्सिजनको कमी भएर उपचार गरेकालाई हामीले १४ दिन भन्ने गरेका छौं।
- भाइरस जीवित नभए पनि महिनौंसम्म पिसिआर पोजेटिभ देखिन सक्छ। त्यसैले दोस्रो पटक पिसिआर नगराएकै राम्रो हो।
- युरोप, अमेरिका, अस्ट्रेलिया कहीँ पनि पुन: परीक्षण गरिँदैन। नेपाल र भारतमा मात्रै हो।
- कुनै पनि घरबेटी र अफिसले नेगेटिभ रिपोर्ट लिएर आइज भन्नु विज्ञानविरोधी र अमानवीय हो।
- होम आइसोलेसनमा बसेकाले विभिन्न खालका औषधि खाइरहेका छन्। त्यो गलत हो। जथाभावी भिटामिन र एन्टिबायोटिक खाने गरिएको छ। यो गर्नु हुँदैन। कोरोना भाइरसका लागि कुनै भिटामिन र औषधि बनेको छैन। यो जथाभावी खाएमा यसले अरू असर गर्न सक्छ।
- घरमा आइसोलेसन बस्दा ज्वरो आयो भने प्यारासिटामोल, आइबुप्रोफन लगायत औषधि खान सकिन्छ। खोकी लाग्दा कफसिरप खान सकिन्छ। झोलिलो पदार्थ खाने हो, अरू खान पर्दैन।
- सिटी भ्यालुको व्यवहारमा खासै ठूलो अर्थ हुँदैन। सैद्धान्तिक कुरा जेसुकै भए पनि यो यति संख्याभन्दा बढी वा कम भए बिरामीलाई सजिलो पार्ने र अप्ठ्यारो पार्ने भन्ने होइन। सिटी भ्यालु जति भए पनि पोजेटिभ पोजेटिभ नै हो, नेगेटिभ नेगेटिभ नै हो। यसको नम्बर हेरेर केही अनुमान गर्न मिल्दैन।
- खोपको जसरी विकास भइरहेको छ, यो एकदमै आशाप्रद छ। तर हाम्रो देशमा कहिले आइपुग्छ भनेर अहिले नै भन्न सकिँदैन। नेपालले गर्ने पहल र विश्व स्वास्थ्य संगठनले लिने नीतिमा भर पर्छ। तर सर्वसुलभ हुन अझै एक-डेढ वर्ष लाग्न सक्छ।
संक्रामक रोग विशेषज्ञ डा सुवेदीसँग सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानीको पूर्ण अंश यहाँ हेर्नुस्: