अपाङ्गता भएकी भोजपुरकी १४ वर्षीया किशोरी आफ्नै छिमेकीबाट बलात्कृत भइन्।
ती किशोरी झापाको सुस्त मनस्थिति बालगृहमा छिन्। उनको गर्भमा ८ महिनाको शिशु छ। एक नम्बर प्रदेशको सामाजिक मन्त्रालयको आग्रहमा उनलाई बालगृहमा ल्याइएको हो।
केन्द्रमा उनी दुई महिनाअघि मात्र आएकी हुन्। आफन्तले किशोरी बलात्कृत भएको घटना जतिबेला थाहा पाए, त्यतिबेला छ महिनाको गर्भ उनको पेटभित्र हुर्किरहेको थियो। किशोरीलाई बलात्कार गर्ने छिमेकी हाल जेलमा छन्।
उदयपुरकी अर्की युवती पनि आफन्तबाटै बलात्कृत भइन्। उनको पनि सो बालगृहले पुनर्स्थापना गर्ने बताएको छ। तर, उनको विराटनगरको एक स्वास्थ्य संस्थामा गर्भपतन गरिएको छ। ती बालिकाको गर्भपतन गरिएपछि आफन्त र समाजको अवहेलना गरे। उनलाई बालगृहमा ल्याउने तयारी र प्रक्रिया अघि बढेको छ।
कानुनले हाडनाताबाट रहन गएको १८ हप्ता सम्मको गर्भपतन गर्ने अधिकार दिएको छ। त्यसैकारण उनको गर्भपतन गरिएको हो।
यी दुई वटा त १ नम्बर प्रदेशका प्रतिनिधि घटना मात्र हुन्। शारीरिक अपाङ्गता भएका किशोरी र युवतीहरू आफ्नै घर परिवारका सदस्य र नजिकैका छिमेकीबाट असुरक्षित रहेको जानकारले बताएका छन्।
किशोरी र युवती, हाडनाता पर्ने पुरुष र नजिकैका छिमेकीबाट यौन शोषणमा पर्ने गरेको खुलेको हो। महिला बालबालिका र अपाङ्गता भएका बालबालिकाको पक्षमा काम गर्ने अधिकारकर्मीले यस्तो खुलासा गरे।
झापाको कनकाई नगरपालिका वडा नम्बर १ मा रहेको सुस्त मनस्थिति सरोकार समाजमा आफन्त र छिमेकीको बलात्कारको सिकार भएर जन्मिएका १० जना बालबालिका छन्। ती सबै परिवारको तिरस्कारपछि सडकमा आएका बालबालिका हुन्।
आफ्ना बाबु-आमाको पहिचान उनीहरूसँग छैन। घर परिवारबाट अवहेलना भएर सडकमा आएका बालबालिकालाई प्रहरीले फेला पारेर यस्ता पुनर्स्थापना केन्द्रमा राख्ने गरेको छ। सुस्त मनस्थिति सरोकार समाजकी अध्यक्ष भगिरथा चापागाईले १ नम्बर प्रदेश सरकारको आग्रहमा सडक बालबालिकाको यहाँ पुनर्स्थापना हुने गरेको बताइन्। कतिपय स्थानीय तहको सिफारिसमा पनि बालगृहमा बालबालिका ल्याइने गरिएको छ।
हाडनाता करणी तथा कतिपय स्थानमा छिमेकीको बलात्कारबाट जन्मिएका बालबालिका भने केन्द्रमा नआउने गरेको चापागाईंले बताएकी छन्। कतिपय यस्ता घटनालाई घरमै सुटुक्क मेलमिलाप गर्ने भएकाले अपराधका यस्ता घटना बाहिर नआएको पनि अध्यक्ष चापागाईंले बताइन्।
हेरचाह गर्ने व्यक्ति, दिनैपिच्छेको हिमचिम र उत्तेजनात्मक क्रियाकलापका कारण सुस्त मनस्थिति, अपाङ्गता भएका बालबालिका, किशोरी र युवती बलात्कृत हुने गरेको चापागाईंले बताइन्।
चापागाईं आवद्ध बालगृहमा रहेकामध्ये बाबु–आमाको पहिचान नभएका ९ जना बालबालिका छन्। तर, ती बालबालिकाको स्याहार सुसार, रेखदेख र खानपान कसरी चलिरहेको छ भनेर सरकारले खासै चासो दिएको छैन। १ नम्बर प्रदेशको सामाजिक बिकास मन्त्रालयले वार्षिक दुई लाख ५० हजार र स्थानीय कनकाई नगरले केही रकम दिएकोले जसोतसो बालगृहका बालबालिकाको गुजारा चल्ने गरेको अध्यक्ष चापागाईंले बताइन्। उनले भनिन्, ‘मासिक ६० हजार खर्च आउँछ, कसरी धान्नु?’
गर्भावस्थामा उनीहरूको स्वास्थ्यमा उचित हेरचाह नहुँदा कतिपयले ज्यानै गुमाउनु परेको छ। शारीरिक अवस्था नै कमजोर भएका बालिका तथा किशोरीहरू गर्भवती भएर सुत्केरी हुँदा आमा र बच्चा दुवैको अवस्था जटिल बन्ने गरेको चिकित्सकहरूले बताएका छन्।
बाबुको पहिचान नभएका बालबालिकाको जन्मदर्ता र नागरिकतामा भने बाबुको नाम नरहँदा चुनौती रहेको बालगृहकी अध्यक्ष चापागाईंले बताइन्। बाबुको पहिचान नभएका बालबालिकाको जन्मदर्ता गर्दा स्थानीय तहका प्रमुख सूचक र केन्द्रकी अध्यक्ष संरक्षक रहने प्रावधान बनाइएको छ। यसरी नै नागरिकता पनि बन्ने गरेको उनले बताइन्।
झापामा १० वर्ष यता ६ जना बौद्धिक अपाङ्गता, शारीरिक अपाङ्गता र बहुअपाङ्गता भएका किशोरी र युवती बलात्कारको सिकार भएका छन्। कतिपय गर्भवती युवती पनि बालगृहमा रहेका छन्। केन्द्रकी अध्यक्ष चापागाईंका अनुसार सबै जना आफन्त र छिमेकीबाट बलात्कारको सिकार भएका हुन्। उनीहरूमध्ये चार वटा घटनाका पीडकले कानुनी कारबाही अनुरुप जेल सजाय भोगिरहेका छन् भने दुई वटा घटनाका आरोपित फेला परेका छैनन्।
फेला पर्न नसक्नुको कारण बौद्धिक अपाङ्गता भएका बालबालिका बलात्कारको शिकार भएकै कारण हो, जसले बोल्न र आँखा देख्न सक्दैनन्।
यसैबीच, बहुअपाङ्गता भएकी बाह्रदशीकी एक गर्भवती युवतीको पुनर्स्थापना कनकाई नगरपालिका वडा नम्बर– १ को सुस्त मनस्थिति सरोकार समाज नेपालले गर्ने पक्का भएको छ।
संस्थाकी अध्यक्ष चापागाईंले बाह्रदशीमा १५ वर्षदेखि ओछ्यानमा रहेकी युवतीको बलात्कारपछि गर्भमा हुर्कंदै गरेको बच्चाको पुनर्स्थापना गर्ने बताइन्। १ नम्बर प्रदेशको सामाजिक मन्त्रालय र अपाङ्गता भएका व्यक्तिको पक्षमा काम गर्ने हाम्रो बाह्रदशी अपाङ्गता अभियानको आग्रहमा संस्थाकी अध्यक्ष चापागाईंले बाह्रदशीस्थित युवतीको घरमा पुगेर उनको शारीरिक अवस्था बुझेकी थिइन्।
उनले भनिन्, ‘जीवनको यो अवस्थासम्म आउँदा यस्तो कहालीलाग्दो अवस्थाको घटना देखेको त के सुनेकी पनि थिइनँ।’
सरकारले किशोरी तथा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। तर, त्यस्तो प्रभावकारिता देखिएको छैन। हरेक विद्यालय तहमै यौन शिक्षाको विषयमा जानकारी दिने र सुस्त मनस्थिति भएका बालिका तथा किशोरीको सुरक्षामा सरकारले ध्यान दिन आवश्यक रहेको अधिकारकर्मी नारायणप्रसाद भट्टराईले बताए।