अमूल्य रत्न हात पर्दा जसरी जौहरीका आँखा चम्कन्छन्, मोहनप्रसाद खनाल त्यसरी नै पुलकित भएको हुनुपर्छ।
आखिर उनको हात लागेको थियो, नेपाली साहित्यका एक महान् कविको दुर्लभ सामग्री। त्यो पनि अमेरिकाको एक निर्जन गाउँको एकान्त घरमा, जहाँ उनी संयोगले पुगेका थिए।
अमेरिका घुम्दै हिँड्दा एक अपरिचित महिलासँग मोहनको भेट हुन्छ। उनी तिनै महिलालाई पछ्याउँदै घरसम्मै पुग्छन्। अनि हात पर्छ त्यो सामग्री, जसको महत्व उनले जिन्दगीभरि खोजबिन गर्दै आएको लिच्छवि वा मल्लकालीन अभिलेखभन्दा बढ्ता नहोला, कम पनि छैन।
त्यति बेला उनी कति खुसी र कति उत्साहित थिए होलान् भन्ने म अनुमान लगाउन सक्छु, किनभने बत्तीस वर्षपछि पनि घटना विस्तार लगाउँदा उनको गला अवरुद्ध सुनिन्थ्यो।
त्यो सामग्रीबारे चर्चा गर्नुअघि मोहनप्रसाद खनालकै बारेमा कुरा गरौं।
चौहत्तर वर्षीय मोहनले जिन्दगीको साढे पाँच दशक इतिहास र पुरातत्वमा बिताए। अहिले पनि ललितपुर, सुनाकोठीको शान्त घरमा फुर्सत काटिरहेका छैनन्, बरू मल्लकालीन ताडपत्र, इस्ट–इन्डिया कम्पनीसँगका पत्राचार लगायत ऐतिहासिक सामग्री उधिन्दै छन्।
तिहारअघि हामी जुन दिन मोहनलाई भेट्न उनको घर जाँदै थियौं, स्थानीयले सुनाकोठीको बाटो बन्द गरेका रहेछन्। यहाँको बाटो विवाद पुरानै हो। कान्ति राजपथमा पर्ने बाटो सुनाकोठी छिचोल्ने बेला ‘कुखुराको घाँटी’ जस्तो साँघुरो हुन्छ। यही साँघुरो बाटोलाई राजपथको ढाँचामा ढाल्न खोज्दा सिंगो बस्ती अचानोमा परेको छ। अचानोको चोट खुकुरीले जान्दैन! राज्यले पनि बाटोको नक्सा कोर्दा बस्तीको नापनक्सा विचार गरिदिएन।
यो बस्तीको नापनक्सा त लिच्छविकालसँग जोडिएको छ। यहाँको भृंगारेश्वर महादेवलाई पशुपतिनाथभन्दा पुरानो मानिन्छ। भगवान नै त्यति पुरानो भएपछि मान्छेका पुस्ता कति पुराना होलान् हँ?
त्यसो त भगवानले मान्छे बनाए कि मान्छेले भगवान, कसलाई थाहा?
यो त इतिहासविद्हरूको पनि बूताबाहिरको प्रश्न। इतिहास लेख्ने र पढ्ने भनेको पुराना शिलालेख र अवशेषका आधारमा हो। सुनाकोठीमा पाइने शिलालेखले यहाँको सभ्यता र संस्कृतिको धागो कम्तिमा पन्ध्र सय वर्षदेखि कातिँदै आएको प्रमाण दिन्छ।
आज मोहनप्रसादसँग भेट्दा यसबारे पनि सोध्नुपर्ला। बरू भेट्ने पो कसरी? बाटो त बन्द छ!
जसलाई गल्लीको भेउ हुँदैन, ऊ रैथाने स्वादबाट भुत्तै रहन्छ। यो कुरा इतिहासविद्लाई भन्दा बढ्ता कसलाई थाहा!
करिब सात वर्षदेखि सुनाकोठी सिभिल होम्समा बस्दै आएका मोहनप्रसाद पनि गाउँको रग–रगसँग वाकिफ भइसके। उनलाई यहाँ बर्सेनि हुने जात्रापर्वदेखि गाउँ छिचोल्ने गल्लीहरू कन्ठै छन्। हामीले ‘बाटो बन्द छ, कसरी आउने’ भनेर फोन गर्दा उनैले नागदह हुँदै घुमेर आउन सुझाए। त्यो बाटो सुनाकोठी मिसिनुभन्दा अलिकति अगाडि अजंग पिपलको रूख आउँछ। रूखबाट दाहिनेतिरको गोरेटो पस्यो भने घुमिफिरी सिभिल होम्सको मूलढोका पुगिँदो रहेछ।
उनले चिनाएको बाटो आँखा चिम्लेर जाँदा एक इन्च फरक खाएन।
घरको आँगन दुबोले हरियो थियो। तिहारको सयपत्रीले गमलाहरू पहेँलपुर थिए। काठमाडौं उपत्यकाको यो दक्षिणी उचाइमा दिउँसै पनि सिरसिर हावाले सिउसिउ पार्दो रहेछ। हामी पुग्दा हावा पूरै जोरमा थियो। तै पनि कोरोना कहरमा सुइँसुइँ घरको ढोका खोल्नुभन्दा हावा चल्ने खुला ठाउँमै भेटेको बेस!
मोहनले इतिहासका घटनाक्रमजस्तै रंगीविरंगी आँगनमा कुर्सी लगाए।
हुन त हामी अमेरिकामा फेला परेको दुर्लभ सामग्रीबारे कुरा गर्न आएका थियौं, तर भर्खरै जुन प्राचीन गाउँ छिचोल्नुको सट्टा छलेर आउनुपर्यो, त्यसबारे मनमा उठेका जिज्ञासा मेट्ने मौका किन छाड्नु?
अमेरिकाको प्रसंग एकछिनलाई सस्पेन्स, हामी अलि पछि त्यसमा फर्कौंला है।
मोहनले कुराकानीको सिलसिला चलाए, ‘यो गाउँको नाउँमै अलमल छ।’
किन र? सुनै सुनको जलपदार घर थियो होला! त्यही भएर त सुनाकोठी नाउँ रह्यो होला!
‘त्यै त गल्ती गर्छन् मान्छे, न नाउँ थाहा न इतिहास,’ लामो समय प्राध्यापन गरेका उनले विद्यार्थीलाई झैं सम्झाए, ‘केही बुझ्दै नबुझी गाउँ मास्ने बाटोको नक्सा कोर्छन्।’
त्यसो भए के त?
‘सानथ्य गोष्ठी,’ उनले ठेट नाउँ बताए, ‘मर्दापर्दा दाहसंस्कारको चाँजो मिलाउने मान्छेहरूको गुठी भएको ठाउँ।’
पहिले पहिले सनां गुथि भनिँदो रहेछ। विस्तारै जनजिब्रो बटारियो, गाउँको पहिचान लरबरिँदै गयो। सनां गुथिबाट सुनागुथि, सुनागुठी हुँदै अहिले धेरैले सोनाकोठी वा सुनाकोठी भनेर चिन्छन्।
लिच्छविकालमै फर्कने हो भने त तत्कालीन शिलालेखहरूमा ‘भृंगार ग्रामपाञ्चालीका’ भनिएको छ। तर, यो लोकको बोली नहुन सक्छ। तत्कालीन शासकले भृंगारेश्वर महादेवकै नाउँमा प्रशासनिक नामकरण गरेका हुन सक्छन्।
भृंगारेश्वरमा रहेको एउटा शिलालेख लिच्छवि राजा भीमार्जुन देव र उनलाई कजाएर राजपाठको कमान सम्हालेका विष्णुगुप्त पालाको हो। विक्रम सम्बत् ६९८ को यो अभिलेखमा यहाँका बासिन्दाको परिश्रमबाट प्रसन्न भई स्वायत्त शासनको अधिकार दिइएको छ।
त्यति बेला बुढानिलकण्ठमा जलाशयन नारायण मूर्ति बनाउन ठूलो ढुंगा चाहिएको थियो। यहाँका बासिन्दाले त्यस्तो ढुंगा तानेर ल्याइदिन मद्दत गरेकाले तत्कालीन शासकले यो शिलापत्र राखेको इतिहासकार धनवज्र बज्राचार्यले आफ्नो किताब ‘लिच्छविकालका अभिलेख’ मा वर्णन गरेका छन्।
भृंगारेश्वरकै अर्को शिलालेख विक्रम सम्बत् ७५४ को हो। त्यति बेला लिच्छवि राजा शिवदेवको शासन थियो। पोखरी, कुलो आदिको बन्दोबस्त मिलाई यो अभिलेख राखिएको धनवज्रको किताबमा छ। भृंगारेश्वर भेगको रेखदेखका लागि शिवदेवबाट ‘क्षेमजीवि’ भन्ने अधिकारी नियुक्त गरिएको उनले लेखेका छन्।
यो ठाउँको प्राचीनता झल्काउने अरू दस्तावेज पनि छन्।
‘गोपाल राजवंशावलीमा पशुपतिनाथभन्दा पहिले भृंगारेश्वर महादेव स्थापना भएको उल्लेख छ,’ मोहनले भने, ‘पुरानो भए पनि मध्यकालतिर आइपुग्दा झन्डै दुई सय वर्ष यो मन्दिर जनताको स्मरणबाट हरायो।’
सिंगो मन्दिर नै स्मरणबाट कसरी हराउन सक्छ हँ?
जवाफमा मोहन झन्डै सात सय वर्षपछाडि फर्के।
चौधौं शताब्दीदेखि पन्ध्रौं शताब्दीको सुरूसम्म काठमाडौं उपत्यका राजपरिवारको सत्ता कलहले अत्यन्तै कमजोर थियो। यही मौकाको फाइदा उठाउँदै कहिले खसहरूले हमला गरे त कहिले तिरहुते सेना घुसे।
विक्रम सम्बत् १४०६ मा बंगालका सुल्तान शमसुद्दीनबाट भएको आक्रमण सबभन्दा भयंकर थियो। उनले यहाँका कयौं मठ–मन्दिर, चैत्य र घरहरूमा आगो झोसे, लुटपाट मच्चाए। पशुपतिनाथ नै तीन टुक्रा पारेको र स्वयम्भू चैत्य भत्काएर गर्भमा रहेका सुन, चाँदी र अन्य गरगहना लुटेको गोपाल राजवंशावलीमा वर्णन छ।
त्यही बेला भृंगारेश्वर पनि शमसुद्दीन सेनाको लपेटमा पर्यो, मोहनले विस्तार लगाए, ‘शमसुद्दीनको हमलापछि धेरै समय उपत्यकाको जनजीवन उक्सिन सकेन। विद्याको स्तर गिर्यो। मान्छेले लिच्छवि लिपि पढ्न जानेनन्। भत्केका कयौं मन्दिर र चैत्यको दसौं वर्ष पुनर्निर्माण हुन सकेन भने भृंगारेश्वरको त नाउँधरि मान्छेले बिर्से।’
दुई सय वर्षपछि विक्रम सम्बत् १६१० मा ललितपुरका शासक विष्णु सिंहले मन्दिरनजिकै कुवा खनाउँदा तामाको घडा फेला पर्यो, जसमा ‘श्री भृंगारेश्वर महादेव’ लेखिएको थियो।
‘यही पढेर भृंगारेश्वरको पुनर्जन्म भयो,’ मोहनले भने, त्यसै वर्ष विष्णु सिंहले यहाँ भव्य मन्दिर बनाउन लगाए, जुन अहिले पनि छँदैछ।
उनले भृंगारेश्वर महादेवको उत्पत्ति कथा पनि सुनाए।
एउटा गाईले सधैं एकैठाउँ दूध दिँदो रहेछ। गाउँलेहरूले अचम्म मान्दै खनेर हेरेछन्। अलिकति खन्नेबित्तिकै असंख्य भमरा भुइँभुइँ उड्न थाले। भमराको झुन्डबीच महादेवको ज्योतिर्लिंग फेला पर्यो।
भमराले पहरा दिएका महादेव भएर पो भृंगारेश्वर भनिएको रहेछ है!
‘यो गाउँ प्राचीन सभ्यताको जीवन्त संग्रहालय हो, कसैगरी मास्नुहुन्न,’ उनले भने, ‘बाटो घुमाएर भए पनि बस्ती जोगाउनुपर्छ, बरू अलिकति बढी पैसा किन नलागोस्!’
ए हौ! हामी यतै अलमलिएर बस्ने कि अमेरिकातिर पनि जाने!
तपाईंलाई यस्तै लागेको हो भने अझै एकछिन धैर्य गर्नुस् है! अहिलेसम्म त हामीले मोहन बस्ने ठाउँको कुरा गर्यौं, यतिले उनको परिचय कहाँ खुल्छ!
उनलाई चिन्न त हामी उपत्यकाको अर्को प्राचीन बस्ती डुमाखाल पुग्नुपर्छ, जहाँ उनको जन्म भयो।
अचेल धेरैले मूलपानी भनेर चिन्ने डुमाखाल यस्तो गाउँ हो, जहाँ ढुंगेयुगको मानव बस्तीका अवशेष फेला परेका छन्। त्यो भनेको काठमाडौं खाल्डोमा जमेको पानी सुक्नुभन्दा हजारौं हजार वर्ष अगाडिका हुन्।
भूगर्भविद्हरूले काठमाडौं तालको अन्तिम अवशेष करिब दस हजार वर्षअघि चोभार गल्छीबाट निकास भएको पुष्टि गरेका छन्। तर, पानी सुक्नुभन्दा अगाडि पनि उपत्यका वरिपरिका डाँडामा मानव बसोबास सुरू भएको पुरातात्विक अध्ययनले देखाएको छ। त्यसैमध्ये उत्तरी भेगको डुमाखाल एक हो।
‘सबै मान्छेलाई उसको जन्मले कर्मतिर डोर्याउँदैन, तर मेरो जिन्दगीको कर्म मेरो जन्मसँग जोडिएको छ,’ मोहन यति भनेर आफ्नो बाल्यकालतिर फर्के।
उनी सानो छँदा डुमाखालमा ऐतिहासिक सामग्रीहरू प्रशस्त फेला पर्थे। खेतबारी खन्दा कहिले माटोका भाँडा, पुराना मूर्ति, पैसा र ढुंगे हतियारहरू भेटिन्थे, कहिले पुराना इँटा र ढुंगाको रास निस्कन्थ्यो। कतिले त तिनै इँटा र ढुंगाले आफ्नो घरधरि ठड्याए।
एकचोटि तामाको सानो घल्चा भेटिएछ। त्यसभित्र पुरानो जमानाका पैसाको थुप्रो थियो। गाउँलेहरूले ‘देउताको पैसा’ भन्दै मुठीका मुठी लगे। छ–सात वर्ष उमेरका मोहनले आफूभन्दा ६० वर्ष जेठा बुवासँग सोधेछन्, ‘बुवा, देउताको पैसा हुन्छ र?’
राणाकालका बडाहाकिम उनका बुवाले जवाफ दिएछन्, ‘देउताको पैसा भन्नाले धेरै अगाडिको पैसा भनेको। यो पुराना राजाका पालाको पैसा हो बाबु।’
मोहनले पछि थाहा पाए, त्यो त लिच्छवि राजा मानदेवको ‘मानांक’ मुद्रा रहेछ। त्यसको केही अंश अहिले पनि उनीसँग सुरक्षित छ।
‘बुवाले गाउँलेहरूका कुरामा सही थापेर देउताकै पैसा हो भन्दिनुभएको भए इतिहास खोजबिनमा मेरो रूचि जाग्दैन थियो कि!’ उनले भने।
त्यसपछि त जब–जब पुराना वस्तु फेला पर्थ्यो, उनी हुलाक टिकटझैं संकलन गर्थे। तिनै वस्तुसँग खेल्दै उनी हुर्के–बढे।
इतिहासमा यस्तो टक बसेको मान्छेले स्कुल सकिनासाथ इतिहास नै पढे होलान् भन्ने मलाई लागेको थियो। होइन रहेछ। उनी त कमर्सतिर पो गएछन्। कसले बहकायो हँ!
‘त्यो बेला त्यस्तै भयो,’ उनले हाँस्दै भने, ‘दुई वर्ष कमर्स पढ्दा नै मैले बुझिसकेको थिएँ, यो हिसाबकिताबको काम मबाट पार लाग्नेवाला छैन।’
हुन पनि उनलाई वाणिज्यका किताबभन्दा वंशावली, लालमोहर, ताम्रपत्र, ताडपत्र, शिलापत्रका प्रतिलिपि संकलन र अध्ययनमा बढ्ता रूचि थियो। उनी नाफा–घाटाको खानतलासीभन्दा पुराना चिजबिजको खोजबिनमै बढ्ता रमाउँथे।
जो मान्छेलाई आफू के गर्दा रमाउँछु भन्ने प्रस्ट हुन्छ, उसलाई रमाउन कसले पो रोकोस्!
मोहनले प्रमाणपत्र तह सकिनेबित्तिकै कमर्सलाई बाईबाई गरे र पूर्णकालीन इतिहास–पुरातत्वतिर लागे।
यहाँनिर आइपुग्दा उनी एउटा घटनालाई आफ्नो जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ मान्छन्।
इतिहास र पुरातत्व अध्ययनमा लाग्ने निधो गरेपछि उनी तीन जना इतिहासकार बाबुराम आचार्य, नयराज पन्त र सूर्यविक्रम ज्ञवालीसँग सिक्न गएका रहेछन्। यी दिग्गजहरूसँगको भेट, कुराकानी र बेलामौका वाद–प्रतिवादले आफ्नो ज्ञान तिखार्न मद्दत गरेको उनको भनाइ छ।
त्यसमध्ये पनि बाबुराम आचार्यबाट पाएको ‘गुरूमन्त्र’ उनले आजसम्म भुलेका छैनन्।
आचार्यले सोधेछन्, ‘तिम्रो घरबाट चाँगुनारायण कति टाढा पर्छ बाबु?’
‘एक घन्टा जान लाग्छ, आउँदा त आधा घन्टामै आइन्छ,’ उनले जवाफ दिए।
‘त्यसो भए तिमी भोलिबाट हरेक दिन चाँगुनारायण जाऊ,’ आचार्यले भने, ‘त्यहाँ मानदेवको शिलालेख छ। त्यो लिच्छविकालको पुरानो शिलालेख हो। तिमी त्यसको सुरूदेखि अन्त्यसम्म एक–एक अक्षर कापीमा सार र पढ। ‘क’ कसरी लेखिएको छ, ‘ख’ कसरी लेखिएको छ, अक्षरहरू कसरी जोडिएका छन्, अंक कस्ता हुन्छन् सब राम्ररी पर्गेल।’
‘इतिहास पढ्ने रहर त गर्यौ, तर रहर गरेर मात्र इतिहासको गुत्थी सुल्झाउन सकिन्न बाबु,’ उनले त्यसपछि मोहनलाई दुइटा गुरूमन्त्र दिए, ‘इतिहास पढ्ने हो भने लिच्छवि लिपिको ज्ञान हुनुपर्छ, अनि संस्कृत भाषा जान्नुपर्छ। बल्ल तिमी पुराना लिपि र भाषाको मर्मसम्म पुग्न सक्छौ।’
‘अनि तपाईं जानुभयो त चाँगु?’
‘किन नजानु!’ उनले उत्साहित हुँदै सुनाए, ‘त्यसको भोलिपल्टदेखि नै म हरेक बिहान चाँगु जान थालेँ र त्यहाँ भएको शिलालेख जस्ताको तस्तै सार्न थालेँ।’
यो सिकाइ मोहनको दिमागमा यस्तरी गढ्यो, उनले लिच्छवि, ब्राह्मीदेखि नेपाल भाषाको रञ्जना लिपिसमेत लेख्न–पढ्न सिके। भारतको स्कुल अफ आर्कियोलोजी र अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा पढ्न जाँदा पनि लिपिको छुट्टै कोर्स गरे।
‘लिच्छवि लिपि भनेको ब्राह्मीकै शाखा हो। मिल्दोजुल्दो त हुन्छ, तर एकनास हुँदैन। समयक्रममा फेरिएको हो। अहिले हामी जस्तो ‘क’ लेख्छौं, त्यो लिच्छवि लिपिकै ‘क’ को नयाँ रूप हो,’ उनले भने।
उनले यो पनि भने, ‘यी दुइटा लिपि राम्ररी जानेको मान्छेले लिच्छविकालका धेरै शिलालेख खुट्टयाउन सक्छ। मल्लकालका शिलालेख, ताम्रपत्र र ताडपत्रहरू पढ्न चाहिँ नेपाल भाषाको ज्ञान हुनुपर्छ।’
तपाईंहरूलाई चाँगुको उक्त शिलालेखबारे ज्ञान छ?
राजा मानदेवले चाँगुनारायण मन्दिरको पश्चिमपट्टि विशाल प्रस्तर स्तम्भमा गरुडका रूपमा आफ्नै प्रतिमूर्ति र शिलास्तम्भ स्थापना गराएका थिए। त्यसमा अंकित अभिलेखले राजा वृषदेवदेखि मानदेवसम्मको वर्णन गर्छ। तत्कालीन राजनीतिक इतिहास र सामाजिक स्थिति बुझ्न यो शिलालेखलाई महत्वपूर्ण मानिँदै आएको छ।
इतिहासकारहरू बाबुराम आचार्य, नयराज पन्त, धनवज्र बज्राचार्य लगायतले यो शिलालेख व्याख्या गरिसकेका छन्। मोहनप्रसादले पनि ‘चाँगुनारायणका ऐतिहासिक सामग्री’ भन्ने किताब प्रकाशित गरेका छन्, जसमा उक्त ‘शिलालेख व्याख्या गर्दा विगतमा भएका त्रुटि सच्याएको’ उनी बताउँछन्।
‘इतिहास भनेको अकाट्य हुँदैन। एउटाले गरेको काममा अर्कोले नयाँ तथ्य र प्रमाणसहित सच्याउँदै जाने हो,’ उनको भनाइ छ, ‘मेरो काम पनि अकाट्य छ भन्ने होइन। कसैले तथ्य र प्रमाण दिएर सच्यायो भने म सहर्ष स्वीकार गर्छु।’
ऐतिहासिक घटनाक्रम वर्णनमा भएका त्रुटि सच्याउँदै थुप्रै लेख प्रकाशित गरेका मोहनलाई कतिपय समीक्षक ‘इतिहास संशोधनका संशोधक’ पनि भन्छन्।
एक दशकअघि प्रकाशित उनको चर्चित किताब ‘नेपाली भाषाका हजार वर्ष’ एक किसिमले इतिहास संशोधन नै हो।
विगतमा नेपाली भाषा र लिपिको इतिहास करिब सात सय वर्ष पुरानो भनिएको थियो। योगी नरहरिनाथले फेला पारेको विक्रम सम्बत् १३९४ को पुण्य मल्लको ताम्रपत्रलाई सबभन्दा पुरानो नमूना मानिन्थ्यो। मोहनप्रसादले त्यसलाई गलत सावित गर्दै नेपाली भाषाको इतिहासलाई तन्काएर हजार वर्ष पछाडि धकेले।
उनले आफ्नो किताबमा दैलेखको दुल्लुस्थित भुसागाउँमा फेला परेको नेपाली लिपिको स्तम्भ प्रकाशित गरेका छन्। यो बिक्रम सम्बत् ११५१ मा राखिएको वामु (वामदेव) खँड्काको कीर्तिस्तम्भ हो। तत्कालीन समयका प्रेक्षक (रेखदेख गर्ने वा दौडाहा गर्ने अधिकारी) खँड्काले ‘पछिसम्म कीर्ति रहोस्’ भनी उक्त स्तम्भ गाडेको खुलेको छ। यो अहिलेसम्म प्राप्त नेपाली लिपिको सबभन्दा पुरानो अभिलेख हो।
‘कसरी फेला पार्नुभयो त?’ मैले सोधेँ।
उनले लामो कथा छोटोमा सुनाए।
२०२९ सालतिर उनी लार्के हिमालको रि गाउँ पुगेका रहेछन्। त्यहाँको ताजगाइँ गुम्बा भ्रमण गर्दा खसराजा आदित्य मल्ल र पुण्य मल्लका प्रशासनिक ताम्रपत्रहरू प्राप्त गरे। विक्रम सम्बत् १३७८ र १३९१ का ती अभिलेख २०३० सालमा प्रकाशित ‘मध्यकालीन अभिलेख’ मा समेटिएका छन्।
‘त्यसपछि मलाई खसराज्यका ऐतिहासिक सामग्री खोजबिन गर्ने इच्छा झनै बढ्यो,’ उनले भने, ‘मैले सेती, कर्णाली र महाकाली अञ्चलका विभिन्न क्षेत्रमा पटक–पटक गरेर लगभग दुई वर्ष बिताएँ। त्यही क्रममा दुल्लुको अभिलेख फेला पर्यो।’
अभिलेख हजार वर्ष पुरानो भए पनि यसलाई नेपाली भाषाको प्रारम्भिक काल मान्न नमिल्ने उनी बताउँछन्।
‘यसमा विभक्ति र क्रियापदको प्रयोग छ। यो भनेको भाषा जीवन्त भइसकेको संकेत हो। यस्तो जीवन्त भाषाले बोलीचाली मात्र होइन, साहित्य सिर्जनाको ल्याकत राख्छ,’ उनले भने, ‘दुई–तीन सय वर्षभन्दा कम समयमा भाषा यति समृद्ध हुनै सक्दैन।’
त्यसो भए त नेपाली भाषाको इतिहास पन्ध्र सय वर्ष अगाडिसम्म जान सक्छ!
मेरो जिज्ञासामा उनले सही थापे, ‘खोजबिन चाहिँ हुनुपर्छ।’
खोजबिन त मोहनले मनग्गे गरे। इतिहासका विभिन्न क्षेत्रमा उनका दुई दर्जनभन्दा बढी किताब प्रकाशित छन्। उनले सेन राज्यको इतिहासदेखि सिमरौनगढको इतिहाससम्म लेखे। लिच्छविकालीन अभिलेखदेखि मध्यकालीन अभिलेखसम्म संकलन गरे। प्राचीनदेखि उत्तर–मध्यकालसम्मको मूर्तिकला विवेचना गरेर सांस्कृतिक इतिहासमा पनि हात हाले। ललितपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव रातो मच्छिन्द्रनाथका पुराना घटनावली प्रकाशोन्मुख छ।
मोहनप्रसादको अर्को खुबी पुरातात्विक उत्खनन् हो।
कम्तिमा दुई हजार वर्ष पुरानो जीवित सम्पदा र संस्कृतिले धनी काठमाडौं उपत्यका पुरातात्विक अन्वेषणमा निकै पछाडि छ। यहाँ अहिलेसम्म भएका ठूला पुरातात्विक अन्वेषणहरू गन्दा आधा दर्जन पनि पुग्दैन।
यसको सुरूआत सन् १९६० दशकमा भएको हो। सबभन्दा पहिला भारतीय प्राध्यापक एसपी देवले टंगालको मानेश्वरी मन्दिरमा उत्खनन् गरेका थिए। त्यसको करिब बीस वर्षपछि पुरातत्व विभाग र इटालियन अन्वेषकहरूको टोलीले हाँडीगाउँको सत्यनारायण मन्दिरनिर उत्खनन् गरेको थियो, जसमा प्राचीन पोखरीका भग्नावशेष र केही पुराना संरचना फेला परे। २०७२ को भुइँचालोपछि काष्ठमण्डपमा गरिएको जग उत्खननले यो स्मारक सातौं शताब्दीमै बनेको प्रमाणित गरेको छ।
पुरातात्विक अनुसन्धानको सूचीमा सन् १९८४ देखि १९८५ र १९८८ देखि १९८९ गरी दुई चरणमा भएको डुमाखाल उत्खननलाई महत्वपूर्ण मानिन्छ।
डुमाखाल त्यही ठाउँ हो, जहाँ पाइने प्राचीन वस्तुहरूसँग खेल्दै मोहनप्रसाद हुर्के–बढे। यहाँ पुरातात्विक उत्खनन् गर्ने उनै थिए। यसमा सहकार्य गरेका थिए, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक टेड रिकार्डीले। यो उत्खनन् त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र र कोलम्बिया विश्वविद्यालयको साउथ एसियन स्टडिजबाट भएको थियो।
‘तपाईंले डुमाखाल नै किन छान्नुभयो?’
‘हामीले उत्खनन् गर्नुभन्दा करिब दस वर्षअघि जापानी अन्वेषकहरूको टोलीले यही ठाउँमा खनेको थियो। उनीहरूले ईशापूर्व ३६ हजार आसपासतिरका केही काठका हतियार फेला पारे। त्योभन्दा धेरै अगाडि झन्डै एक लाख वर्ष पुरानो ढुंगे हतियार पनि फेला परेको थियो। यी घटनाले काठमाडौं खाल्डोको पानी सुक्नुभन्दा हजारौं वर्षअघिदेखि वरिपरिका डाँडामा मानव बस्ती थियो भन्ने संकेत गर्छन्।’
यिनै सामग्रीका आधारमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालय टोलीले डुमाखालमा बृहत् पुरातात्विक उत्खननको खाँचो छ भन्ने रिपोर्ट दिएको थियो, उनले अगाडि भने, ‘म डुमाखालमै हुर्के–बढेँ। त्यहाँ अलिकति बारी खोस्रिँदा डुंगुरका डुंगुर पुराना वस्तु फेला परेको बच्चैदेखि देख्दै आएको थिएँ। विज्ञहरूको रिपोर्टले पनि प्रमाणित गरेपछि मेरो कौतूहल झनै बढ्यो।’
नभन्दै ईशापूर्व दोस्रो शताब्दीदेखि मध्यकालसम्मका थुप्रै पुरातात्विक सामग्री र संरचनाका अवशेष फेला परेको उनी बताउँछन्। यसमा माटोका भाँडा, मूर्ति, मुद्रा, टेराकोटाका वस्तु, ढुंगा र काठका वस्तु प्रमुख छन्। कुनै पुरानो संरचनाको अवशेषझैं देखिने ढुंगाको गारोसमेत फेला परेको थियो।
डुमाखालको यो अन्वेषणबारे हार्वर्ड विश्वविद्यालयबाट ‘आर्कियोलोजिकल एक्जाभेसन इन द काठमाडौं भ्याली’ नामक किताब प्रकाशित छ।
‘इतिहास भनेको ज्ञान हो, पुरातत्व भनेको विज्ञान। ज्ञानलाई विज्ञानले पुष्टि गर्छ। ऐतिहासिक तथ्यलाई वैज्ञानिक रूपले पुष्टि गर्ने पुरातत्वले हो,’ मोहनको तर्क छ।
उपत्यकामा पुरातात्विक खोजको समय घर्कंदैछ। लिच्छविकालीन दरबार भनिएका मानगृह, कैलाशकूट, दक्षिण राजकूल, भद्राधिवास लगायत संरचनाको वृत्तान्त अभिलेखमा मात्र सीमित छ। यी संरचनाका अवशेष कुन ठाउँमा पुरिएर बसेका छन् भन्ने अत्तोपत्तो छैन।
हाँडीगाउँ, बुंगमती, काठमाडौं, ललितपुर र भक्तपुरका मध्य–सहर, बलम्बू, थानकोट लगायत प्राचीन बस्तीमा अब उत्खनन् गाह्रो छ। उपत्यका सेरोफेरोका कतिपय गाउँ भने अझै उत्खनन् योग्य रहेको मोहन बताउँछन्।
अहिले त नयाँ–नयाँ प्रविधिले जमिन खन्नु पनि पर्दैन। जिपिएस राडार, हवाई फोटोग्राफी लगायत थुप्रै तकनिक छन्, जसले जमिनमुनि निकै तलसम्मको तस्बिर छर्लंग निकाल्छ।
‘इतिहासको खोज र पुरातात्विक उत्खनन् गर्नु भनेको हामीले आफ्नै जरा पहिल्याउनु हो। हामी कहाँबाट आयौं, हाम्रो सभ्यता विकास कसरी भयो थाहा पाउन यो जरूरी छ। यो देशको पहिचानसँग पनि जोडिन्छ,’ उनले भने।
डुमाखाल उत्खनन् क्रममा अमेरिकी प्राध्यापक टेड रिकार्डीसँग मोहन निकै घनिष्ठ भएका थिए। उनीहरूको पारिवारिक र मित्रवत् सम्बन्ध थियो। लामो समय पार्किन्सन रोगले थलिएका टेडको केही महिनाअघि न्यूयोर्कमा निधन भयो।
त्यति बेला मोहन अमेरिकामै थिए। मृत्यु हुनु एक दिनअघि मात्र उनीहरूको फोनमा कुराकानी भएको थियो। टेडले भनेका थिए, ‘मोहन, मलाई धेरै गाह्रो भएको छ। तर, तिमी चिन्ता नगर।’
‘मसँग कुरा गरेको भोलिपल्टै निधनको खबर आयो,’ मोहनले भने, ‘उनको अन्तिम विदाइमा सरिक हुन पाएँ, मलाई त्यसमा सन्तोष छ।’
मोहनले नेपालभित्र र बाहिरका धेरै अध्ययन–अनुसन्धानमा टेडको साथ पाएका छन्। टेड उनीसँग अमेरिकाको त्यो यात्रामा पनि थिए, जब नेपालका एक महान् कविको दुर्लभ सामग्री उनको हात लागेको थियो।
अब चाहिँ हामी त्यसैको चर्चा गरौं, जसलाई मैले अहिलेसम्म सस्पेन्स राखेँ।
कुरा सन् १९८८ को हो। मोहन एक छात्रवृत्ति कार्यक्रमअन्तर्गत अमेरिकाका विभिन्न राज्यको भ्रमणमा थिए। उनी र टेड ठाउँ–ठाउँका संग्रहालय घुम्दै–फिर्दै लास भेगासबाट क्यालिफोर्निया ड्राइभ गर्दै थिए।
राजमार्ग सुनसान थियो। गाडीहरू फाट्टफुट्ट मात्र भेटिन्थे। अहिलेजस्तो जिपिएस सुविधा थिएन। सही दिशा खुट्टयाउन कहिले मोहन नक्सा हेर्थे, टेड गाडी हाँक्थे। कहिले टेड नक्सा हेर्थे, मोहन गाडी हाँक्थे।
झ्यालबाट छिर्ने सिरसिर हावाको झोँकाले कागजी नक्सा फिरफिर पार्दा उनीहरू कति फन्किए होलान्!
नक्सा हेर्न फन्किने मस्तिष्ककै उपज त होला अहिलेको जिपिएस!
‘मोहन, मलाई दुई दिन छुट्टी देऊ है,’ टेडबाट अकस्मात् यस्तो सुनेपछि उलटफेर नक्सातिर घोत्लिएका मोहनले पुलुक्क नजर उठाए।
‘मेरी छोरी क्यालिफोर्नियाकै सान्टा क्रूज काउन्टीमा बस्छे, म्युजिकमा मास्टर्स गर्दैछे,’ टेडले आफ्नो योजना सुनाए, ‘म दुई दिन छोरीसँग बिताउन चाहन्छु।’
छोरीसँग समय बिताउने प्राध्यापकको इच्छामा मोहनले नाइँनास्ती किन गरून्!
‘भइहाल्छ नि टेड,’ उनले सम्मति जनाए, ‘तपाईं मलाई कुनै सानो अमेरिकी सहरमा छाड्दिनुस्। म दुई दिन त्यतै बिताउँछु।’
नजिकै त्यस्तो सहर कुन होला भन्ने टेडलाई पनि थाहा थिएन। उनले ग्यास स्टेसनमा तेल भर्न रोकिँदा सोधखोज गरे।
उनीहरू जुन बाटो आएका थिए, त्यहाँबाट अलिकति पछाडि ‘गोल्डेन हिल’ भन्ने सहर रहेछ। धेरैअघि युरोपबाट आएका डचहरूले बसालेको सानो बस्ती।
‘त्यहाँ तिमीले अमेरिकाको रैथाने स्वाद पाउँछौ होला,’ टेडले यति भनेर गाडी फनक्क घुमाए।
लास भेगासबाट गुडेको करिब साढे तीन घन्टामा उनीहरू गोल्डेन हिल पुगे। दिउँसोको खाना सँगसँगै खाए। छुट्टिने बेला टेडले भने, ‘यहाँबाट मेरी छोरीकहाँ पुग्न चार घन्टाजति लाग्छ।’
उनले घडी हेरे, ‘अहिले दुई बज्यो, म छ बजेतिर पुग्छु होला। त्यसपछि मलाई फोन गरेर होटलको नाउँ र नम्बर टिपाउनू।’
टेड आफ्नो बाटो लागे, मोहन दुई रातको बन्दोबस्ततिर।
उनी त्यहीँको एउटा होटलमा छिरे। रिसेप्सनमा २८–३० वर्षकी युवती थिइन्। बुकिङ फारम भर्न उनले मोहनसँग सामान्य सोधपुछ गरिन्।
‘कहाँ जाने?’
‘सियाटल’
‘कहाँबाट आएको?’
‘नेपाल’
रिसेप्सनिस्टले पुलुक्क मोहनतिर हेरिन्। उनको पासपोर्ट ओल्टाइपल्टाइ पारिन्।
के मोहनले मंगल, बुध, शुक्रजस्ता कुनै ग्रहको नाउँ लिएका थिए र! आफ्नै देश त भनेका थिए, जुन यही पृथ्वीको भू–भाग हो, अमेरिकाजस्तै। कि ती युवतीले मोहनको उच्चारण बुझेनन्!
कुरा अर्कै रहेछ।
‘के नेपाल इटालीमा पर्छ?’ उनले सोधिन्।
‘त्यो त नेपल्स हो,’ मोहनले मुसुक्क हाँस्दै भने, ‘मैले भनेको नेपाल। तपाईंलाई थाहा छैन?’
युवतीको अलमल आँखाभरि झल्किएको थियो।
‘नेपाल भनेको इन्डिया र चाइनाको बीचमा पर्ने हिमाली देश हो।’
युवतीले अझै मेसो पाइनन्।
‘खोइ, सुनेजस्तो त लाग्छ, तर ठ्याक्कै चिन्न सकिनँ।’
‘एकछिन बस्दै गर्नुस् है,’ मोहनलाई रिसेप्सनमै उभ्याएर उनी भित्र छिरिन्।
फर्कंदा उनको हातमा पुरानो ‘एटलस’ थियो– विश्व मानचित्र।
‘ल आफ्नो देश चिनाउनुस् त।’
मान्छेले पृथ्वीको नापनक्सालाई किन यस्तरी नक्सामा खुम्च्याएको हँ! के भूगोल नक्साको नाप हेरेर बनेको हो र! के सभ्यताको विकासलाई नक्साले नापेको थियो र! संसारका महामानवहरू नक्सा हेरेर जन्मेका त होइनन् नि!
विश्वविद्यालयको कक्षाकोठामा भइदिएका भए मोहन यस्तै प्रश्न सोधेर प्राध्यापकलाई हायलकायल पार्थे होलान्। तर, त्यति बेला आफूलाई केरकार गर्ने युवतीलाई केही भन्न सकेनन्। कागजी नक्सा ओल्टाइपल्टाइ पारेर चीन र भारतको विशाल भू–भागबीच लुपुक्क बसेको सानो इँटाजत्रो आफ्नो भूमि सुरुक्क देखाइदिए।
अमेरिकाको अजंग नक्सा हेर्ने बानी परेका युवतीका आँखा नेपालको आकार देखेर खिस्स परे होलान्! नक्सा देखाउँदा सायद मोहन भन्न चाहन्थे, आकारमा नजानुस्, हाम्रो सभ्यताको इतिहास धेरै पुरानो छ। त्यसको कति हिस्सा त उनी आफैंले उधिनिसके।
तर, उनी चुप्पै लागे।
युवतीलाई भने आकारभन्दा दुरीले आश्चर्यमा पारेछ। भनिन्, ‘त्यत्ति टाढाबाट आएको! यो त पृथ्वीको अर्कै कुना पो रहेछ!’
सायद उनले अमेरिकाभन्दा त्यति टाढा बस्ने पहिलो मान्छे भेटेकी थिइन्! उनले पहिलोपटक थाहा पाइन् होला, नक्सामा मात्र देखेका टाढाटाढाका भू–भागमा पनि मान्छे बस्दा रहेछन्!
खुसी र खिसी मिश्रित भावमा उनले मोहनको निम्ति निःशुल्क डिनर अफर गरिन्। मोहनलाई पनि किन ठूलो पल्टिनु थियो र! उनले अफर सहर्ष स्वीकार गरे।
त्यसपछि उनी होटलमा झोलातुम्ला छाडेर घुमफिरमा निस्के। बेलुकी सात बजेतिर टेडलाई फोन गरे। टेड भर्खरै छोरीको घर पुगेका रहेछन्। भन्दै थिए, ‘म त भर्खर नुहाएर निस्केको मोहन। तिमीले राम्रो होटल पायौ नि?’
मोहनले नेपाल र नेपल्सको अलमल टेडलाई सुनाए। दुवै मरीमरी हाँसे।
बेलुकी निःशुल्क डिनरले अघाएर जसै उनी झप्प निदाउन आँटेका थिए, टेलिफोनको घन्टी बज्यो। टेडलाई केही भयो कि भनेर उनी झसंग भए।
हडबडाउँदै फोन उठाउँदा उही रिसेप्सनकी युवती रहिछन्।
‘तपाईंलाई डिस्टर्ब गरेँ, माइन्ड नगर्नू है’
अब माइन्ड गरेर के गर्नु, निद्रा त बिथोलिसक्यो!
मोहनले केही बोल्न नपाउँदै उनले अगाडि भनिन्, ‘मेरो एक जना साथी तपाईंलाई भेट्न चाहन्छिन्।’
‘किन होला?’
‘त्यो त थाहा छैन। मैले तपाईंको बारेमा कुरा गरेको थिएँ। तपाईं नेपालबाट आएको सुन्नेबित्तिकै खुसी भइन्। अहिले नै भेटुँ भन्दै छिन्।’
‘ओहो, अहिले त रात परिसक्यो,’ मोहनले अप्ठ्यारो माने, ‘म थाकेको पनि छु।’
‘उसो भए भोलि’
‘भोलि बिहानै ब्रेकफास्टमा है त’
‘हुन्छ’
‘ठिक छ, म बिहानै बोलाउँछु’
घटना निद्रा काट्ने खालको त थिएन, तै मोहनलाई कौतूहल भइरह्यो। को होलिन्? किन भेट्न खोजेकी होलिन्? मनमा नानावली तर्कना उठे।
बिहान नास्ता खान रेस्टुरेन्टमा जाँदा रिसेप्सनकी युवती ४०–४५ वर्षकी एक महिलासँग गफिँदै थिइन्। उनको नाउँ क्याथरिन रहेछ।
‘ओहो, तपाईं नेपालबाट आउनुभएको!’ क्याथरिनको अनुहार खुसीले हिमालझैं टलक्क टल्क्यो।
मोहनलाई चाहिँ तुलबुल भइरह्यो– कोही नेपालै नचिन्ने, कोही नेपाल भन्दा खुसीले नारिन आउने! किन होला हँ!
‘तपाईंलाई नेपालको बारेमा थाहा छ?’ उनले सुस्तरी सोधे।
‘किन थाहा नहुनु!’ क्याथरिनले भनिन्, ‘मेरो बुवा जानुभएको थियो। उहाँले धेरै कुरा गर्नुहुन्थ्यो।’
‘के कुरा गर्नुहुन्थ्यो?’ मोहन सुन्न उत्सुक भए।
‘धेरै नै, खासगरी एक जना कविको बारेमा।’
‘को कवि?’
‘डाकोट,’ उनले भनिन्, ‘तपाईंको देशमा डाकोट भन्ने एक जना महान् कवि रैछन् नि।’
डाकोट!
मोहन अलमलिए। उनले यस्तो नाउँ सुनेकै थिएनन्।
‘त्यस्तो नाउँको त कोही कवि छैन हामीकहाँ।’
‘पक्कै छ,’ क्याथरिनले ढिपी कसिन्, ‘तपाईंलाई थाहा नभएको होला।’
मोहनलाई लाग्यो, त्यस्ता नेपाली कवि त को होलान् र, जसलाई अमेरिकीले चिन्ने, नेपालीले नै नचिन्ने!
त्यसमाथि उनी त इतिहास र पुरातत्व सँगसँगै साहित्यमा पनि हात हालेको मान्छे। एक महाकाव्य, एक खण्डकाव्य र एउटा कविता संग्रह प्रकाशन गरिसके। नेपालका प्रायः साहित्यकारलाई व्यक्तिगत रूपमै चिन्छन्।
‘तपाईंले नाउँ झुक्किनुभयो कि?’
‘सानैदेखि सुन्दै आएको नाउँ म कसरी झुक्किन्छु,’ क्याथरिनले भनिन्, ‘डाकोट नै हो।’
मोहन केही बोलेनन्। उनले त्यस्तो नाउँको नेपाली कवि सम्झनै सकेका थिएनन्।
क्याथरिनले उपाय झिकिन्, ‘तपाईंले उसको फोटो देख्नुभयो भने चिन्नुहुन्छ?’
‘पक्कै चिन्छु,’ मोहन दंग परे।
‘त्यसो भए मेरो घर जाउँ,’ उनले भनिन्, ‘म तपाईंलाई फेरि यहीँ ल्याएर छाड्दिन्छु।’
‘कति समय लाग्छ?’
‘यस्तै पौने घन्टा’
मोहन तयार भए।
क्याथरिनको घर बजारभन्दा अलि टाढा निर्जन ठाउँमा रहेछ। मान्छेको आउजाउ खासै नदेखिने। घरहरू पनि गुजमुज्ज होइन, पर–परसम्म फाट्टिएका। एउटाबाट अर्को घर पत्तै नपाइने।
क्याथरिनले मोहनलाई सरासर आफ्नो एकान्त घरमा लगिन्। बैठकमा बसालिन्। र, आफू मूलघर छेउको ग्यारेजजस्तो कोठा सफा गर्न थालिन्।
पाँच–दस मिनेटपछि उनी मोहनलाई लिन आइन्।
मोहन उनलाई पछ्याउँदै त्यही ग्यारेजजस्तो कोठामा छिरे। ढोकाबाट भित्र पस्नासाथ जसै उनका आँखा दराजमाथिको तस्बिरमा परे, उनी त एकछिन हेरेका हेर्यै भए।
खुसी र उत्साहले उनको गला अवरुद्ध भयो। आँखाभरि आँशु टिलपिलाए।
उनलाई मृगझैं बुरुकबुरुक उफ्रुँझैं भयो। क्याथरिनको हात समातेर खुसीले नाचुँ–नाचुँ लाग्यो।
दराजमाथिको तस्बिर महाकवि लक्ष्मीप्रसाद देवकोटाको थियो।
क्याथरिनले ‘डाकोट’ भनेर चिनाएका कवि ‘देवकोटा’ पो रहेछन्!
सात समुद्रपारि अमेरिकाको निर्जन गाउँमा महाकविको तस्बिरसँग साक्षात्कार हुँदा मोहन भावविभोर भए।
क्याथरिनले दराज खोलेर त्यहाँ संकलित कृति र कापीहरू देखाइन्। राणा प्रधानमन्त्री पद्मशमशेरको तस्बिर भएका पुराना कापीहरू थिए, जसमा थुप्रै नेपाली साहित्यकारका हस्तलिखित सामग्रीको संकलन थियो। देवकोटासहित भिमनिधि तिवारी, बालकृष्ण सम, लेखनाथ पौड्याल लगायतका कृति पनि थिए।
‘यी सबै सामग्री मेरो बुवाले संकलन गर्नुभएको,’ क्याथरिनले भनिन्, ‘अहिले बुवाको निधन भइसक्यो। म उहाँको एक मात्र सन्तान, उहाँले यी सबै मेरो जिम्मा छाडेर जानुभयो।’
क्याथरिनका बुवा पूर्वी र पश्चिमी साहित्यका अध्येता रहेछन्। अध्ययन क्रममै उनले ती सामग्री संकलन गरेका रहेछन्। देवकोटासँग चाहिँ खास लगाव थियो भन्ने उनको संकलित सामग्री र फ्रेम गरेर राखिएको तस्बिरबाट थाहा हुन्थ्यो।
मोहन दराज खोतलखातल पार्दै थिए, क्याथरिनले आफ्नो कुरा सुनाइन्, ‘मेरो श्रीमान दक्षिण अफ्रिकामा काम गर्थे। अहिले सिकागो आएका छन्। म पनि यहाँको सब बेचबिखन गरेर सिकागो सर्दैछु। बुवाको नासो के गर्ने भइरहेको छ। सँगै लिएर हिँडे हराउन सक्छ। सिकागो जानुअघि नै यी सामान कसैलाई जिम्मा लगाएर मुक्त हुन चाहन्छु।’
उनले अगाडि थपिन्, ‘हिजो मेरो साथीले तपाईं नेपालबाट आएको कुरा सुनाउँदा मलाई त देउतै भेटेजस्तो भयो। के तपाईं मलाई मद्दत गर्नुहुन्छ?’
मोहनलाई के भनुँ, कसो भनुँ भयो। क्याथरिनले व्यक्ति–विशेषको भर गर्न चाहिनन्। नभए ती सबै सामग्री जिम्मा लिन उनी तयारै थिए। अमेरिकामा नेपाली साहित्यकारका रचनामा चासो देखाउने र जतन गरेर राख्ने संस्था कुन होला भनेर उनी सोचमग्न भए।
उनलाई टेडको याद आयो। यो समस्याको हल टेडले निकाल्न सक्लान् भनेर उनले क्याथरिनकै घरबाट फोन घुमाए। सबै कुरा बताए।
टेडले गतिलो उपाय सुझाए, जुन मोहनले सोचेकै थिएनन्।
‘यदि त्यो नेपाली साहित्यकारका कृति र हस्तलिखित सामग्रीहरूको संकलन हो भने कोलम्बिया विश्वविद्यालयलाई नै किन जिम्मा नलगाउने?’
मोहनलाई चित्त बुझ्यो।
क्याथरिन पनि आफ्नो बुवाको नासो अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयलाई जिम्मा लगाउने कुराले सन्तुष्ट भइन्।
‘उसो भए तपाईंहरू सबै सामान प्याकिङ गर्नुस्। म आएपछि विश्वविद्यालयका नाममा कुरियर गरेर पठाउँला,’ टेडले भने।
उनीहरूले बजारबाट आधा दर्जनजति साना–ठूला कार्टन किनेर ल्याए। क्याथरिनले दराजबाट सामान झिक्दै गइन्, मोहनले सूची बनाउँदै कार्टनमा प्याक गरे।
यही क्रममा किताब–कापीको खातबाट एउटा पुरानो डिस्क फेला पर्यो। राख्नेले कति जतनसँग राखेका रहेछन् भने, त्यसमा कहीँ कतै कोरिएको थिएन। छिसिक्क दागधरि थिएन।
‘तपाईंसँग यो डिस्क बजाउने प्लेयर छ?’
क्याथरिनले कोठाबाट प्लेयर लिएर आइन्।
मोहनले डिस्क बजाए।
नेपालीमा बोलेको मसिनो स्वर सुनियो, तर त्यसले सिधै मोहनको मुटु छेँड्यो।
त्यो लक्ष्मीप्रसाद देवकोटाको स्वर थियो।
एकछिनअघि जुन व्यक्तित्वको तस्बिर देखेर मोहन भावविभोर भएका थिए, उनकै आवाज सुन्दा सुरूमा त सपना हो कि विपनाजस्तो भयो। अघि आँशु टिलपिलाएका मात्र थिए, यसपालि हर्षले थाम्न नसकेर तुरुक्कै चुहिए।
सर्सती डिस्क सुनेपछि मोहनले थाहा पाए, त्यो रेकर्डिङ २०१६ सालको रहेछ। देवकोटाको निधन त्यसै वर्ष भएको थियो। उनले जिन्दगीका अन्तिम दिनमा नेपाली साहित्यका स्वनामधन्यहरूसँग गरेका कुराकानीको रेकर्डिङ थियो त्यो। कुन दिन कोसँग कुरा गरेको भन्ने पनि रेकर्ड गर्नेले आफ्नै स्वरमा टिपेका थिए।
उपचारमा संलग्न डाक्टरसँग क्याथरिनका बुवाको राम्रो चिनजान रहेछ। त्यही आधारमा उनले अन्तिम समयमा देवकोटासँग भेट्न, कुराकानी गर्न पाएका रहेछन्।
करिब साढे दुई घन्टाको रेकर्डिङबाट जीवन र जगतबारे देवकोटाको अन्तिम मनस्थिति खुलस्त हुन्थ्यो। उनले आफ्ना समवयी कविहरूका बारेमा, साथीहरूका बारेमा, इष्टमित्र र पत्नीका बारेमा समेत मन फुकाएर कुरा गरेका थिए। जीवन र मृत्युबारे उनको गहिरो विचार त्यसमा प्रकट भएको थियो।
मोहनले सोचे, यो त महाकविको जीवनसँग जोडिएको दुर्लभ सामग्री हो। यसलाई कोलम्बिया विश्वविद्यालयको जिम्मा लगाएर केही फाइदा छैन। यो त नेपाल लैजानुपर्छ र सबैलाई सुनाउनुपर्छ। यसको महत्व विश्वविद्यालयको पुस्तकालयलाई होइन, देवकोटाबारे जान्न चाहने नयाँ नेपाली पुस्तालाई बढी छ।
यस्तो विचार मनमा लिएर त्यो दिन उनी चुपचाप होटल फर्के।
अर्को दिन टेड उनलाई लिन आइपुगे। उनीहरू क्याथरिनको घर गए। कागजका बाकसमा सिलबन्दी गरेर राखिएका सामग्री विश्वविद्यालय कुरियर गर्ने बेला मोहनले क्याथरिन र टेड दुवैका अगाडि भने, ‘अरू सबै त विश्वविद्यालयलाई दिए हुन्छ, देवकोटाको अन्तिम वार्ता रेकर्ड गरिएको डिस्क चाहिँ के म नेपाल लैजान सक्छु?’
उनले अगाडि भने, ‘म कुनै दिन सबै वार्ता उतारेर सार्वजनिक गर्नेछु।’
क्याथरिनले नाइँनास्ती गरिनन्। टेडले त गर्ने कुरै आएन।
दुवैको मञ्जुरीमा मोहनले त्यो डिस्क आफ्नो झोलामा घुुसारे।
हो, त्यही बेला मोहनका आँखा चमक्क चम्केका थिए, जसरी अमूल्य रत्न हात पर्दा जौहरीका आँखा चम्कन्छन्।
उनले यति कथा सुनाएर कोठाबाट आफ्नो म्याकबुक बोकेर ल्याए र रेकर्डिङका केही अंश हामीलाई सुनाए।
रेकर्ड गरिएको तिथिमिति, स्थान र वार्तामा संलग्न व्यक्तिहरूको नामसहित देवकोटाको मसिनो स्वर गुञ्जियो। उनले धेरैजसो नेपाली भाषामै बोलेका छन् भने बेला–बेला अंग्रेजीमा बोलेको पनि सुनिन्छ। उनले अंग्रेजीमा लेखेका केही कविता पनि सुनाएका छन्। मोहनले यी सबै वार्ता उतार्न बाँकी नै छ।
‘यो सबैले थाहा पाउनुपर्ने कुरा हो। मैले धेरै अगाडि नै यो रेकर्डिङ सार्वजनिक गर्नुपर्ने थियो। केही वर्षअघि प्रयास गरेको थिएँ, तर सबै उतारेर सार्वजनिक गर्ने मौका मिलेन,’ उनले भने, ‘अंग्रेजीमा लेखिएका कवितालाई नेपालीमा उल्था गर्न दुवै भाषामा पकड भएका र साहित्यको परख भएका व्यक्तिसँग सहकार्य गर्न खोज्दैछु।’
जिन्दगीका साढे पाँच दशक इतिहास र पुरातत्वमा बिताएका मोहनप्रसाद खनाल यतिबेला सुनाकोठी उर्फ सनां गुथिको शान्त घरमा बसेर तीनवटा काम गर्दै छन्–
एक, नेपाल सम्बत् सुरू भएदेखि पृथ्वीनारायण शाहको काठमाडौं विजयसम्मका मल्लकालीन ताडपत्रहरूको व्याख्या।
दुई, नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएका पत्राचारको वर्णन।
तीन, महाकवि देवकोटाको अन्तिम संवादको विस्तार।
‘यो उमेरसम्म नथाकीकन काम गरिरहेको छु। अहिले चाहिँ अलि थकाइ लाग्न थालेको छ, तर यी तीनवटा काम नसकी थकाइ मार्दिनँ,’ यसो भन्दा उनका आँखा त्यसरी नै चम्केका थिए।
जब मोहनले महाकविको त्यो अन्तिम रेकर्डिङका शब्द–शब्द केलाएर सार्वजनिक गर्लान्, त्यो सुनेर वा पढेर हाम्रा आँखा पनि त्यसैगरी चम्किएलान्। चमक्क!
सेतोपाटीले मोहनप्रसाद खनालसँगको सहकार्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको उक्त अडियो रेकर्डिङको संवाद चाँडै प्रकाशन गर्नेछ।