बुद्धिरत्न तुलाधर असनका ‘घ्यू साहु’ हुन्। उनको परिवारले सात पुस्तादेखि घ्यू–तेल बेच्दै आएको छ।
बहत्तर वर्षअघि बुद्धिरत्न जन्मँदा असन र काठमाडौं दुवै अहिलेजस्तो थिएन। असनको गल्लीमा भीड कम हुन्थ्यो, काठमाडौंको बागमतीमा धेरै पानी बग्थ्यो। पानी सुक्दै गयो, भीड फुक्दै गयो। अहिले असनको भीड छिचोल्न मुश्किल छ, बागमतीको पानी पिउन सकिन्न।
बुद्धिरत्न आफैं पनि पुर्खाको थात छाडेर छोरा–नातिको पुस्ता पछ्याउँदै म्हेपी सरेको बाह्र वर्ष बितिसक्यो। यो बाह्र वर्षमा पछिल्लो कोरोना याम छाड्ने हो भने सायदै कुनै दिन होला, जब बुद्धिरत्नले असनमा पाइला टेकेनन्।
असनसँग बुद्धिरत्नको नाभी जोडिएको छ। त्यहाँको हावामा उनलाई पुर्खाको सम्झना बसाउँछ। दिनको एकचोटि असन पुगेर आफूलाई चिन्ने मान्छेहरूसँग गफिन पाएनन् भने उनी बास हराएको पन्छीजस्तो फड्फडाउँछन्।
अचेल त असनमा उनलाई चिन्ने मान्छे निकै कम भइसके। पुराना परिचितहरू आ–आफ्नो घर बहालमा लगाएर उनीजस्तै लाखापाखा लागेको धेरै भइसक्यो। तै असनले उनलाई तानेकै छ। केही दिनअघि उनी मसँग भन्दै थिए, ‘असनका गल्ली चहार्दा मलाई गज्जबको आनन्द आउँछ बाबु। यहाँबाट बसाइँ सरे पनि मेरो आत्मा यहीँ बसेको छ।’
उनले यो कुरा जति भावुक हुँदै सुनाए, त्यति नै भावुक सुनिए अर्को एउटा सम्झनाले, जुन उनको पैतृक परम्परासँग जोडिएको छ।
नेपाल सम्बत् क्यालेन्डरअनुसार श्रीघः पुन्हीको दिन बौद्धमार्गी नेवारहरू आ–आफ्नो कुलको चैत्यमा पूजा गर्न जान्छन्। कोजाग्रत पूर्णिमाको अघिल्लो दिन पर्ने यो वार्षिक पूजाले समुदायमा ठूलो महत्व राख्छ, किनभने यो पुर्खाले बनाएको चैत्यको वार्षिकोत्सव समारोह हो। त्यस दिन चैत्य फेरो मार्दा पितृहरूलाई नै फेरो मारे बराबर हुन्छ भन्ने विश्वास गरिन्छ।
यस्तै पूजा निम्ति बुद्धिरत्न र उनको परिवार ठमेलको ‘अशोक चैत्य’ जान्थे। छत्रपाटी र ज्याठाबाट ठमेलतिर सोझिने बाटो जुन चोकमा आएर जोडिन्छ, त्यहाँबाट अलिकति अगाडि बढ्दा दाहिनेतिर पर्छ यो चैत्य।
श्रीघः पुन्हीको दिन कुलका सबै यहाँ भेला हुन्थे, पूजापाठ गर्थे, समयबजी खान्थे। जन्मदिन, बिहे–ब्रतबन्ध, इहीः र बारा (गुफा) राख्दा पनि यही चैत्यमा पूजा लिएर जानुपर्थ्यो। बुद्धिरत्नले थाहा पाएदेखि यो रित टुटेको थिएन।
समयक्रममा ठमेल पनि असनजस्तै खुम्चिँदै गयो। बजारमा चहलपहल बढ्यो, चैत्य भने चकमन्न भयो।
वरिपरि घरहरू ठडिए, पर्खाल बने। तिनै पर्खालले घेरिएर चैत्य छिर्ने बाटो छेकियो। पूजा गर्न जाँदा पर्खाल नाघ्नुपर्ने नौबत आयो। हुँदाहुँदा चैत्यको आँगनमै फोहोरको डुंगुर लाग्न थालेपछि त लश्करै बसेर समयबजी खाने भुइँधरि भएन।
दिक्क भएर एकदिन उनीहरूले वार्षिक पूजामै पूर्णविराम लगाइदिए।
‘पुस्तौं पुस्तादेखि चल्दै आएको कुलको परम्परा टुट्यो,’ बुद्धिरत्नले दुःखमनाउ गरे, ‘पच्चीस वर्ष भयो, हामीले आफ्नै चैत्यमा पूजा गर्न पाएका छैनौं।’
आज म तपाईंहरूलाई ठमेलको त्यही चैत्यमा लिएर जाँदैछु। रमाइलो त के भने, म पनि तपाईंहरूजस्तै पहिलोपटक जान लागेको। बुद्धिरत्नको मुखबाट धेरै कुरा सुने पनि मैले यो चैत्य देखेकै थिइनँ।
यात्रामा हामीसँग छन्, आलोकसिद्धि तुलाधर। तपाईं सम्पदा र संस्कृतिसम्बन्धी मेरा लेखहरू पढ्नुहुन्छ भने आलोकलाई राम्ररी चिन्नुहुन्छ होला। पढ्नुहुन्न भने पनि म चित्त दुखाउन्न।
सम्पदा र संस्कृति संरक्षणमा काम गर्ने आलोक मेरा काठमाडौं गाइड हुन्। हामीले धेरैचोटि यहाँका गल्ली र चोक एकसाथ नापेका छौं। अघिल्लो शनिबार पनि असनको चापाचाप भीड छिचोलेर ज्याठा हुँदै हामी ठमेल पुगेका थियौं।
आलोक सरासर ‘मित्र क्याफे’ छिरे। क्याफेको आँगनमा गाडीको ब्रेक दाबेजस्तो पैतालाले थिचेर हत्केलामा स्यानिटाइजर झर्ने यन्त्र थियो। त्यही यन्त्रबाट हामीले पालैपालो हात स्यानिटाइज गर्यौं। कडा गन्ध नाकमा ह्वास्स ठोक्कियो। गन्ध जति कडा, भाइरसमाथि उति चर्को प्रहार हुने हो र!
आलोक दुवै हात माड्दै फटाफट क्याफेको कौसीतिर बढे। उनले मलाई चैत्य घुमाउन ल्याएका थिए, यो क्याफेको कौसीबाट चैत्य कसरी पुगिएला हँ?
म उनलाई यही प्रश्न सोध्न चाहन्थेँ। तर, कुनै आश्चर्यको आसमा चुपचाप पछ्याइरहेँ।
नभन्दै त्यस्तै भयो। एक तल्लामाथि पुगेपछि जसै मेरा आँखा देब्रेतिर मोडिए, म हेरेको हेर्यै भएँ।
मेरो अगाडि एउटा विशाल बौद्ध चैत्य थियो, जसको ढाँचा मैले काठमाडौंमा विरलै देखेको थिएँ। बुद्धिरत्नको वर्णन सुनेर मैले आफ्नो दिमागमा जस्तो आकृति बनाएको थिएँ, त्योभन्दा बिल्कुलै फरक, त्योभन्दा निकै भव्य।
लामो समय गुमनाम यो चैत्यले समुदायको प्रयासमा नयाँ जीवन पाएछ। यसको हालत अब त्यस्तो छैन, जस्तो मलाई बुद्धिरत्नले सुनाएका थिए। एकापट्टि गल्लीमा ढुंगा ओछ्याएर बाटो खोलिएको छ, जहाँ मोटरसाइकललाई समेत प्रवेश निषेध छ। केही अटेरी भने जबर्जस्ती छिर्दा रहेछन्। स्थानीयले त्यो गल्लीलाई नयाँ नाम दिएका छन्– अशोक गल्ली।
यो ठाउँ फोहोरमैलाले दुर्गन्धित छैन, झाडी फाँडेर हरियो दुबो रोप्न भने बाँकी छ। छेउमा एउटा परम्परागत फल्चा (पाटी) बनाइएको छ, तर सँधियारसँग किचलो सल्टाउन बाँकी नै छ। मूल चैत्य जीर्णोद्धारका साथै वरिपरि विभिन्न देव–देवीका मूर्ति प्रतिस्थापन गरिएका रहेछन्, तर बुद्धिरत्न र उनको कुलबाट श्रीघः पुन्हीको वार्षिक पूजा आरम्भ गराउन बाँकी नै छ।
आलोक भन्दै थिए, ‘जीर्णोद्धारअघि धेरैलाई यहाँ यस्तो चैत्य छ भन्ने थाहै थिएन।’
मैले त बल्ल थाहा पाएँ, तपाईंलाई थाहा थियो?
यसरी धेरैलाई अत्तोपत्तो नभएको र गुठियारहरूले नै माया मारिसकेको यो चैत्य कसरी कायाकल्प भयो त?
यही कथा सुन्न मैले स्थानीय सञ्जीव श्रेष्ठ र राष्ट्रमान तुलाधरसँग कुरा गरेँ। यी दुई जनाकै सक्रियता र अगुवाइमा अशोक चैत्यले पुनर्जीवन पाएको हो।
चैत्य जीर्णोद्धारको कथा करिब सात वर्षअघिबाट सुरू हुन्छ।
त्यो बेला चैत्य परिसर बुद्धिरत्नले भनेझैं फोहोरले दुर्गन्धित थियो। सडक बालबालिकाहरू फोहोरमै लुटुपुटु आश्रय लिन्थे। कति त लुकिछिपी लागुपदार्थको नशामा लठ्ठ भएर बस्थे। बेला–बेला यो ठाउँ अनैतिक कामको अखडा बन्थ्यो। भौतिक रूपले पनि चैत्य खिइँदै, भत्कँदै गएको थियो। मुसाले ठाउँ–ठाउँ प्वाल पारेर जीर्ण हालत बनाएको थियो।
यति मात्र होइन, चैत्यले चर्चेको जग्गा हडप्न केही व्यक्ति लागिपरेका थिए। ठमेलजस्तो ठाउँमा बेवारिसे चैत्य हटाउन पाए व्यावसायिक प्रयोजन निम्ति ‘बहुमूल्य’ जग्गा तयार हुन्थ्यो। यही लोभले चारैतिरबाट घेर्दै, मिच्दै लैजाने क्रम सुरू भयो।
आफ्नै टोलको परम्परागत सम्पदा आँखैअगाडि मासिँदै गएको देखेपछि सञ्जीव, राष्ट्रमानसहित सूर्य जोशी, रमेशलाल प्रधान लगायत स्थानीय जुर्मुराए। उनीहरूले आफूजस्तै जुझारूहरूको समूह बनाएर सरसफाइको काम थाले।
सरसफाइले मात्र चैत्यको रूप फेरिनेवाला थिएन। त्यसनिम्ति भौतिक जीर्णोद्धारको खाँचो थियो। जीर्णोद्धार गर्न पैसा चाहिन्थ्यो। उनीहरू वडा कार्यालय धाए, महानगर गुहारे। कहीँबाट कसैले चासो देखाएनन्। पैसाको अभावमा कसरी काम थाल्ने भनेर उनीहरू अलमलिए।
त्यही बेला एउटा यस्तो घटना भयो, जसले उनीहरूको संरक्षण अभियानलाई नयाँ दिशा र नयाँ गति दियो।
काठमाडौं भ्रमणमा आएका एक तिब्बती भिक्षु घुम्दै–फिर्दै ठमेल आइपुगेका रहेछन्। उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग अशोक चैत्यबारे सोधिखोजी गरेछन्। तिनै व्यक्तिले सञ्जीव, राष्ट्रमान लगायत टोलीसँग ती भिक्षुको सम्पर्क गराइदिए।
भिक्षुले चैत्यको जीर्ण अवस्थाप्रति उदेक मान्दै भने, ‘यो चानचुने चैत्य होइन। पाँचौं शताब्दीमा बनेको शक्तिशाली तीर्थस्थल हो। यसको शक्ति टाढाटाढासम्म फैलिएको छ। हामीले तिब्बती गुम्बामा पढ्ने धर्मग्रन्थमा समेत यसबारे चर्चा गरिएको हुन्छ। तपाईंहरूले यति महत्वपूर्ण चैत्यलाई किन यस्तरी अलपत्र छाड्नुभएको?’
भिक्षुको मुखबाट चैत्यको वर्णन सुनेर सञ्जीव र राष्ट्रमानहरू चित खाए।
उनीहरूलाई चैत्य पुरानो हो भन्ने त थाहा थियो, तर पाँचौं शताब्दीमा बनेको होला भन्ने कल्पनै थिएन।
उनीहरूले जवाफ दिए, ‘हामी जीर्णोद्धारको प्रयासमा छौं। तपाईंले यसको महत्व बताइदिएर हामीलाई ठूलो गुन लगाउनुभयो।’
यति सुन्नासाथ ती भिक्षुले तुरून्तै आफ्नो झोलाबाट तीन लाख रूपैयाँ निकालेर दिए र भने, ‘मेरो तर्फबाट यो पैसा जीर्णोद्धारमा लगाउनुस्।’
एक अपरिचित धर्मगुरूले कुरैकुरामा तीन लाख झिकेर दिएपछि उनीहरूलाई के गर्ने, कसो गर्ने भयो। हचुवा भरमा कसरी पैसा लिने भनेर उनीहरू हच्किए। नाम र सम्पर्क नम्बर टिपेर बकाइदा कागज गराउन खोजे। भिक्षु भने कागज गर्न तयार थिएनन्। उनको भनाइ थियो, ‘पुण्य काममा सहयोग गर्दा आफ्नो नामको विज्ञापन गर्नु हुन्न, पुण्यको फल खेर जान्छ।’
उनले अगाडि भने, ‘म यो चैत्य संरक्षण होस्, पुरानै स्वरूपमा फर्कोस् भन्ने चाहन्छु। तर, यसमा आफ्नो नाम जोडेर पुण्य खेर फाल्न चाहन्न। मेरो नाम नआए पनि चैत्य बन्यो भने त्यसको फल त मलाई प्राप्त हुने नै छ।’
सञ्जीव र राष्ट्रमानहरू भने उनको जवाफबाट सन्तुष्ट हुन सकेनन्।
‘हामीलाई तपाईंको बारेमा केही थाहै छैन, नामसमेत थाहा नपाई यत्रो रकम कसरी लिने?’ उनीहरूले मनको तुलबुल जाहेर गरे र ज्याठा–ठमेल पर्यटन विकास परिषदको रोहवरमा पैसा जिम्मा लिने उपाय सुझाए।
भिक्षु तयार भए।
नाम लेखाउन भने तै पनि मानेनन्, ‘तपाईंहरू यो पैसाले काम सुरू गर्नुस्। अरू बन्दोबस्त विस्तारै हुँदै जाला। चैत्य बनेपछि मेरो नाम भने कसैगरी नआओस् है।’
‘त्यति बेला तपाईंलाई निम्तो गर्न सम्पर्क ठेगाना वा नम्बर त दिनुस् न,’ सञ्जीवले भने।
भिक्षुले जवाफ दिए, ‘तपाईंहरूले डाक्नै पर्दैन, निर्माण पूरा भएपछि मलाई त्यसै थाहा हुनेछ, म आफैं हेर्न आउँछु।’
निकै कर गरेपछि बल्ल ती भिक्षुले कसैलाई नभन्ने सर्तमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर कागजमा टिपाएर गए।
शून्यबाट थालेको जीर्णोद्धार अघि बढाउन अब उनीहरूसँग तीन लाख रूपैयाँको बीउ रकम थियो। सँगसँगै, पाँचौं शताब्दीमा बनेको भन्ने सूचना, जसले उनीहरू हौसिएका थिए।
पैसा हात परेपछि पनि काम सहजै अघि बढेन। त्यही बेला २०७२ को भुइँचालो दुर्भाग्य बनेर आइदियो।
भुइँचालोले चैत्य भत्केर भग्नावशेषमा परिणत भयो, जसलाई वास्तविक स्वरूपमा फर्काउन सजिलो थिएन। त्यसमाथि पुरातत्व विभागलाई सामेल नगराई प्राचीन सम्पदामा हात हाल्नु गैरकानुनी हुन्थ्यो।
उनीहरू पुरातत्व गए, सञ्जीवले भने, ‘भुइँचालोले उपत्यकाभरि अनगिन्ती सम्पदा विनाश गरेका बेला विभागको ध्यान छरिएको थियो। उनीहरूले खासै चासाे देखाएनन्। हामीलाई त त्यो पैसा निल्नु न ओकल्नु भयो।’
आखिरमा हरेश खाएर उनीहरू तिब्बती भिक्षुले दिएको पैसा उनैलाई फिर्ता गर्ने निष्कर्षमा पुगे।
‘हामीले पैसा फिर्ता गर्न भिक्षुलाई सम्पर्क गर्न खोज्यौं। उनले टिपाएको नम्बरमा दसौंचोटि फोन गर्यौं, तर सम्पर्क भएन,’ राष्ट्रमानले भने, ‘उनी त हाम्रो उद्धार गर्न ईश्वरजस्तो प्रकट भए र ईश्वरजस्तै अलप भए। कहाँबाट आएका थिए, कहाँ गए हामीलाई अत्तोपत्तो छैन।’
भिक्षु सम्पर्कविहीन भएपछि उनीहरूलाई फेरि दोधार भयो। काम गरूँ कसरी गर्ने? नगरूँ पैसा कसलाई जिम्मा लगाउने?
कहिलेकाहीँ जिम्मेवारी पन्छाउने बाटो नभएपछि मान्छेमा त्यो जिम्मेवारी पूरा गर्ने आँट पहाडजत्रो अजंग भएर आउँछ।
सञ्जीव र राष्ट्रमानको समूहलाई त्यस्तै भयो। उनीहरू जसरी हुन्छ काम फच्चे गर्ने निर्णयमा पुगे। अगाडि जे होला, देखा जाएगा!
त्यसपछि उनीहरूले सम्पदा संरक्षणमा काम गरिरहेको काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका कार्यक्रम निर्देशक रोहित रञ्जितकार, संरक्षण आर्किटेक्ट रवि झोछेँ, पुरातत्व विभागका लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी लगायत विज्ञहरूलाई चैत्य निरीक्षण गर्न डाके। ती सबैले ढाँचा र बनोट हेरेर ‘लिच्छविकालीन चैत्य’ भएको पुष्टि गरे।
यही आधारमा उनीहरू फेरि काठमाडौं महानगरसँग बजेट माग्न गए। यसपटक महानगरले चैत्य जीर्णोद्धार गर्न साढे आठ लाख रूपैयाँ स्वीकृत गर्यो। बौद्धको चैत्य पुनर्निर्माणमा सहयोग गरेको चिनियाँ समूहबाट पनि साढे एघार लाख प्राप्त भयो। ज्याठा उपसमिति, चिःबहाल परिवार लगायत केही स्थानीय होटल व्यवसायी र व्यक्तिहरूले सहयोगको हात बढाए।
बजेटको बन्दोबस्तपछि भक्तपुरबाट विशेषज्ञ कालिगढ झिकाएर जीर्णोद्धारको काम सुरू गरियो। प्राचीन चैत्य भएकाले मौलिक स्वरूप नखल्बलियोस् भन्नेमा उनीहरू सतर्क थिए। त्यही भएर लिच्छविकालीन ढाँचाको परम्परागत इँटा प्रयोग गरियो। चैत्य वरिपरि २४ देवदेवीका मूर्ति प्रतिस्थापन गरियो। ती मूर्ति १४ इन्चदेखि साढे तीन फिट उचाइका छन्। चैत्यको मौलिक झलक दिन ५२ वटा माने पनि राखिएका छन्।
‘हामीले मासिन आँटेको चैत्य पुरानै स्वरूपमा त फर्कायौं, तर अझै थुप्रै काम बाँकी छन्,’ सञ्जीवले भने, ‘झाडी सफा गरेर यसलाई खुला स्थलका रूपमा विकास गर्नुछ। छेउमा परम्परागत शैलीको फल्चा बनाएका छौं, तर जग्गाको किचलोले प्रयोगमा ल्याउन पाएका छैनौं।’
उनले अगाडि भने, ‘चैत्यकै छेउमा एउटा पुरानो इनार छ। स्थानीय बूढापाकाको भनाइमा यो चैत्यकै इनार हो, तर अहिले व्यक्तिगत जग्गामा परेको छ। त्यसलाई चैत्यको स्वामित्वमा ल्याउन हाम्रो कानुनी लडाइँ जारी छ।’
‘यहाँसम्म त आइपुग्यौं भने बाँकी लडाइँ कसो नजितिएला!’ सञ्जीव र राष्ट्रमानको हौसला हलक्कै बढेको छ।
यो त भयो चैत्य पुनर्निर्माणको कुरा, अब हामी यसको निर्माणबारे चर्चा गरौं।
यो चैत्यको गजुरमा ढुंगाको अर्को सानो चैत्य छ। त्यसको फेदमा केही अक्षर कुँदिएका छन्। गजुरको बनोट र अक्षरका आधारमा लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी सातौं शताब्दीमा बनेको अनुमान गर्छन्।
‘गजुरको शिलापत्र लामो समयदेखि खिइँदै गएको र जीर्णोद्धार गर्दा अक्षरहरू बिग्रेकाले राम्ररी पढ्न सकिन्न। तै पनि केही अक्षर खुट्टयाएका छौं,’ हाल पुरातत्व विभागबाट सेवानिवृत्त राजवंशीले भने, ‘त्यसमा बौद्ध श्लोक लेखिएजस्तो बुझिन्छ। लिपि हेर्दा सातौं शताब्दीमा बनेको हुनसक्छ।’
काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका रोहित रञ्जितकारले पनि गजुरकै आधारमा लिच्छविकालीन भएको ठहर गरे।
‘तलको संरचना भत्किएर पछि पुनर्निर्माण गरिएको हुन सक्छ, तर गजुर लिच्छविकालीन नै हो। त्यसमा कुनै दुबिधा छैन,’ उनले भने।
सम्पदाविद् तथा आर्किटेक्ट सुदर्शनराज तिवारीले चैत्यको बनोट र इतिहासबारे हामीसँग लामो व्याख्या गरेका छन्।
उनका अनुसार ‘अशोक चैत्य’ भनिए पनि यसको वास्तविक नाम ‘मंगलबहुद्वार चैत्य’ हो। यसलाई तिब्बतीहरू ‘तासी गोमाङ’ भन्छन्। यस्तै चैत्य स्वयम्भूको दक्षिण–पश्चिम र चाबहिल चैत्यको दक्षिणपूर्वी कुनामा पनि छ।
स्वयम्भूको मंगलबहुद्वार चैत्य २०७२ को भुइँचालोमा भत्किएको थियो। पुनर्निर्माण क्रममा त्यसको गर्भबाट माटोका एक लाखभन्दा बढी स–साना चैत्य पाइएका थिए। स्वदेशी तथा विदेशी मुद्रा, शालिग्राम, पत्थर, सुनका वस्तु, काँस र तामाका स–साना चैत्य, टेराकोटा, ढुंगा र धातुका मूर्ति पनि फेला परेका थिए।
उत्खनन् क्रममा पाइएको अभिलेखमा यो चैत्यको नाम ‘मंगल चैत्य’ भनिएको छ। सन् १८७५ मा हर्षरत्न ताम्राकार भन्ने व्यक्तिले आफ्ना बाबु धर्म सिंहका नाममा अस्थि–अवशेष राखेर चैत्य निर्माण गरेको खुलेको छ। यति मात्र होइन, जीर्णोद्धार गर्नुपरे पुरानै स्वरूपमा यथावत् गर्नुपर्ने र स्वरूप बिगारे महापाप लाग्ने अभिलेखमा उल्लेख छ।
स्वयम्भूको मंगलद्वार चैत्य उन्नाइसौं शताब्दीमा बनेको भए पनि चाबहिलको भने लिच्छविकालीन रहेको तिवारी बताउँछन्। ठमेलको चैत्य पनि गजुरको बनोट हेर्दा लिच्छविकालीन नै हुनसक्ने उनको भनाइ छ।
‘नेपाली शैलीका यस्ता चैत्य तिब्बतमा थुप्रै भेटिन्छन्,’ उनले तिब्बतको ग्यानत्से चैत्यको उदाहरण दिँदै भने, ‘कतिपय त निकै ठूला हुन्छन्। त्यसभित्र फराकिलो ठाउँ हुन्छ। एकभन्दा बढी तल्ला हुन्छन्। ती तल्लामा माथि–माथिसम्म चढ्न मिल्छ। नेपालमा भेटिएका लिच्छविकालीन मंगलबहुद्वार चैत्यहरू त्यसकै सानो प्रतिरूप हुनसक्छ।’
उनका अनुसार, यस्ता चैत्यमा थुप्रै ढोका हुन्छन्। साँच्चिकै ढोका नभएको मंगलद्वार चैत्यमा भने स–साना खोपा हुन्छन्, जसले बहुद्वारको संकेत गर्छ। कतिपयमा एक सय आठ वा त्योभन्दा बढी ढोकासमेत भएको पाइएको छ। मण्डप शैलीमा निर्माण गरिने मंगलद्वार चैत्यका द्वारले गौतम बुद्धका उपदेश टाढा–टाढासम्म फैलियोस् भन्ने सन्देश दिन्छ।
‘ठमेलको चैत्य हेर्दा लिच्छविकालमा ठूल्ठूलो संरचनाको मंगलद्वार चैत्य बनाइँदो रहेछ भन्ने थाहा हुन्छ। काठमाडौं उपत्यकामा अरू पनि यस्ता प्राचीन चैत्य हुनुपर्ने हो। ती कहाँ हराए, कसरी हराए खोजबिन हुनुपर्छ,’ उनले भने।
विज्ञहरूका भनाइबाट एउटा कुरा प्रस्ट छ, यो चैत्य तिब्बती भिक्षुले भनेजस्तो पाँचौं शताब्दीमा बनेको प्रमाणित नभए पनि लिच्छविकालमा बनेको पक्कै हो। श्यामसुन्दर राजवंशी र तिब्बती भिक्षु दुवैको भनाइका आधारमा यो पन्ध्र सयदेखि तेह्र सय वर्ष पुरानो हुनुपर्छ।
‘मध्य–सहरको बीचमा गुमनाम रहेको प्राचीन चैत्य चिनाउने र त्यसको महत्व बुझाउने श्रेय हामीले तिनै तिब्बती भिक्षुलाई दिनुपर्छ, जो हामीलाई बाटो देखाएर आफैं अलप भए,’ हामीलाई चैत्य परिसर घुमाउँदै राष्ट्रमान तुलाधरले भने, 'हामी उहाँलाई निम्तो गरेर चैत्य देखाउन चाहन्छौं, तर सम्पर्कको कुनै उपाय छैन।'
त्यसो त ती भिक्षुले भनेकै थिए, निर्माण पूरा भएको उनलाई आफैं थाहा हुनेछ। उनी आफैं हेर्न आउनेछन्।
आउँदै पो छन् कि! कि गुपचुप आएर गुपचुप गइसके!
यता बुद्धिरत्न तुलाधर भने चैत्य जीर्णोद्धारको खबर सुनेर दंग छन्। सञ्जीवले यसैपालि श्रीघः पुन्हीमा पूजा गर्न डाकेका रहेछन्। तर, कोरोना महामारीको डरले उनी गएनन्।
‘चैत्य पहिलेजस्तै राम्रो बनेछ। बाटो पनि खुलेछ। उहाँहरूले पूजा गर्न आउनुस् भन्नुभएको थियो। साँचो नै जिम्मा लगाउँछु भन्नुभएको थियो। तर, हामीले यसपालि नजाने सल्लाह गर्यौं,’ बुद्धिरत्नले भने।
अर्को वर्ष श्रीघः पुन्हीकै दिन क्षमापूजा र नियमित वार्षिक पूजा गर्ने उनको योजना छ। तपाईंहरू पनि श्रीघः पुन्हीमा यहाँ आउनुभयो भने बुद्धिरत्नको परिवारबाट वार्षिक पूजा भइरहेको देख्नुहोला।
त्योभन्दा अगाडि नै लिच्छविकालीन चैत्य हेर्ने मन भए छत्रपाटी र ज्याठाबाट ठमेलतिर जाने बाटो जुन चोकमा आएर जोडिन्छ, त्योभन्दा अलिकति अगाडि दाहिनेतिर हेर्दै हिँड्नुस्। त्यहाँ रातो पृष्ठभूमिमा पहेँलो अक्षरले ‘अशोक गल्ली’ लेखिएको साइनबोर्ड देखिन्छ। त्यही साइनबोर्ड मुनिबाट सरासर गल्लीभित्र छिरे कम्तिमा तेह्र सय वर्ष पुरानो लिच्छविकालीन सम्पदासँग तपाईंको साक्षात्कार हुनेछ।
आलोकसिद्धि तुलाधरले जसरी मलाई यसको ‘एरियल भ्यू’ देखाएका थिए, तपाईंहरू त्यस्तै दृश्य हेर्न चाहनुहुन्छ भने छेवैमा ‘मित्र क्याफे’ त छँदैछ। यहाँको कफी वा अरू खानेकुराको जिम्मा म लिन्नँ, तर अशोक चैत्यको जुन स्वरूप यहाँबाट देखिन्छ, त्यसले एकछिन त तपाईंलाई एकटक पार्नेछ।
क्याफेबाट फर्कंदा म सरासर बाहिर निस्केछु। आलोक दौडिँदै आए।
‘चैत्य देखेर चित खानुभयो कि क्या हो! स्यानिटाइजर दल्नुपर्दैन,’ उनले आफ्नो हातैले तीर्थस्थलको जल बाँडेजस्तो मेरो हातमा स्यानिटाइजर घसिदिए।
यसरी एकअर्काको नांगो हत्केलाबाट स्यानिटाइजर घस्नु ठिक हो कि होइन थाहा छैन, म चाहिँ चैत्य देखेरै चित खाएकाले हात माड्दै चुपचाप अघि बढेँ।
हाम्रा पाइला ज्याठा, किलागल हुँदै असनको भीडमा मिसिए।
काठमाडौंमा अब धेरै थोक पहिलेजस्तो छैन। असनको गल्लीमा भीड बढ्यो, बागमतीमा थोरै पानी बग्न थाल्यो। केही चिजले भने हामीलाई पन्ध्र सय वर्ष पुरानो वा त्योभन्दा प्राचीन समयको झझल्को दिइरहेकै छ।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी