कालिकोटको नरहरीनाथ गाउँपालिका-४ रुप्साकी मंगला सहकारीलाई असोज २२ गते दिउँसो सुत्केरी व्यथा सुरू भयो। घरका अरु सबै सदस्य बिहानै काममा निस्किएका थिए।
छिमेकीसमेत घरमा नभएकाले उनले कसैसँग सहयोग माग्ने भेउ पाइनन्। एक्लै स्वास्थ्यचौकी जाने सुर कसिन्।
स्वास्थ्य चौकी जान उनलाई कम्तीमा पनि दुई घण्टा लाग्थ्यो। तर, मंगलाले आधा घण्टा हिँडेपछि बाटोमै छोरी जन्माइन्।
दिउँसो साढे १ बजेबीच बाटोमा सुत्केरी भएकी उनलाई ओहोरदोहोर गर्नेहरूले देखे। बच्चाको सालनालसँगै मंगलालाई उनी जान थालेको अस्पताल लैजाने योजना बनाए।
उनीहरूले आसपासका गाउँमा स्टेचरको खोजी गरे। तर, पाएनन्। त्यो गाउँमा भएका दुई वटा स्टेचर बिग्रिएका थिए। अन्ततः मंगलालाई नजिकै भएको काफलको रुखको हाँगो काटे र कम्बल बाँधे, त्यसभित्र झुण्ड्याएर स्वास्थ्य संस्थातर्फ लगे।
‘हामीले बाटोमा छोरी जन्माएको अवस्थामा उहाँलाई भेट्यौं, स्वास्थ्य संस्था लैजानका लागि बोक्ने स्टेचर खोजी गर्दा पाएनौं,’ मंगलालाई अस्पताल लिन सहयोग गरेका स्थानीय संघर्ष बोगटीले भने, ‘गाउँमा भएको दुई वटा स्टेचर बिग्रिएर फालिएका रहेछन्, अन्तिममा काफलको एउटा डालो काटेर कम्बल बाँध्यौं र त्यसैमा उहाँलाई हालेर अस्पताल पुर्यायौं।’
उनलाई कम्बलमा झुण्ड्याएर लैजाने सल्लाह पनि नजिकैका वीरेन्द्र सहकारीले दिएका हुन्। उनले पनि पहिले आफ्नी श्रीमतीलाई त्यसैगरी स्वास्थ्यचौकी पुर्याएका रहेछन्।
‘नजिकै यसैगरी उद्धार गरेका मानिसहरू पनि हुनुहुँदो रहेछ, त्यसमध्येका एक जनाले यसरी लिनुपर्छ भन्नुभयो,’ बोगटीले भने, ‘उहाँले पनि त्यसअघि आफ्नी श्रीमतीको उद्धार यसरी नै गर्नुभएको रहेछ।’
कम्बलमा राखेर नरहरीनाथ-५ मा रहेको ताक्रा स्वास्थ्य चौकीमा उनलाई पुर्याइयो। त्यहाँ उपचारपछि पनि मंगलालाई त्यसैगरी कम्बलमा झुण्डाएर घर ल्याउनु परेको बोगटीले बताए। ‘स्वास्थ्य संस्थामा समेत स्टेचर रहेनछ, पछि घर पनि त्यसैगरी लगियो,’ उनले भने।
भौगोलिक विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पुर्याउनु पर्ने भए पनि गाउँमा सहजताका लागि आवश्यक सामग्री नहुँदा समस्या हुने गरेको छ। मंगलालाई जस्तै उक्त गाउँका अधिकांश मानिसलाई यही विधिबाट उद्धार गर्ने गरिएको बोगटीले बताए।
नरहरीनाथ गाउँपालिका-४ का वडा अध्यक्ष नरबहादुर बोगटीले गाउँपालिकाले दिएका स्टेचर समान रुपमा वितरण नहुँदा गाउँमा समस्या भएको बताए। यसअघि वडाले दिएका स्टेचर बिग्रिएपछि पुनः वडा कार्यालयबाट स्टेचर किनेर टोलमा वितरण गर्न लागेको उनले बताए।
‘साबिकका ५ वटा वडा यो गाउँमा पर्छन्, पहिले साबिकका प्रत्येक वडामा हामीले एक-एक वटा स्टेचर दिएका थियौं,’ अध्यक्ष बोगटीले भने, ‘ती स्टेचर बिग्रिएका रहेछन्, बस्ती पनि टाढा–टाढा भएकाले सबै स्टेचर पुग्दैनन्।’