श्रीमानको अवसान भएपछि शिवसताक्षी–११ दूधेकी भीमाकुमारी चौधरी (राई) अलपत्र भएकी छिन्।
२०५९ सालमा गाउँकै रामबहादुर राईसँग अन्तरजातीय प्रेम विवाह गरेकी भीमाका श्रीमानको सडक दुर्घटनामा परेर मृत्यु भएपछि उनको जीवन कष्टकर बनेको हो।
धन-सम्पत्ति नभए पनि श्रीमान् हुँदा दुःख साटासाट हुन्थ्यो। त्यो बेला पीडा भुलेर पनि मन प्रफुल्ल हुन्थ्यो।
गाउँघरमा मेलापात जाँदा रामबहादुरसँग भीमाको माया पिरती बसेको थियो। दुबै जनाले परिवारको इच्छाविपरीत भागेर विवाह गरेका थिए।
आफन्त र गाउँलेले थाहा पाउँछन् कि भनेर भीमाकुमारी रामबहादुरसँग भारतको दिल्ली गइन्। घरगाउँबाट भागेपछि त केही न केही काम त पाइहालिन्छ नि भनेर उनीहरू दिल्ली पुगेका थिए।
दिल्लीमा एउटा होटलमा मासिक दुई हजारका दरले रामबहादुरले काम पाए। होटलमा काम पाउनुअघि उनीहरूको बास दिल्लीको सडक किनारमा हुन्थ्यो।
रामबहादुरले होटलमा काम गर्न थालेपछि उनीहरू कोठा भाडामा लिएर बस्न थाले। श्रीमानको दुई हजार कमाइले कोठा भाडा ९ सय र बचेको ११ सयले बिहान बेलुकाको लागि अन्नपात किनेर खानुपर्ने अवस्था थियो।
एक दुई महिना त यसरी नै दैनिकी चल्यो। तर, दुई हजारले कति खाने र बाँकी जीवनका लागि कति बचाउने?
यतिकैमा भीमा गर्भवती पनि भइन्। दिल्लीमा सुत्केरी हुँदा चाहिएको बेला पैसा नहुने भएपछि उनीहरू नेपाल फर्किए। नेपाल आउँदा उनीहरूको जाने ठाउँ कतै थिएन।
आफ्ना बाबु-आमालाई छक्याएर भागी विवाह गरेका उनीहरू भीमाकै माइतीघरमा आए। ‘बाबुआमाको मन त हो। छोरीज्वाइँ बस्ने घर नभएपछि कहाँ जाउन त,’ भीमाका बुबा नटु चौधरीले भने।
भीमाले माइतीघरमा छोरी जन्माइन्। सुत्केरी भएपछि उनका श्रीमान् गाउँघरतिरै मेलापात गर्थे। काम गरेर ल्याएको रुपैयाँले सुत्केरी श्रीमतीको स्याहारसुसार गर्थे।
६ महिनाकी छोरी माइतमा छाडेर राई दम्पत्ति फेरि दिल्ली पुरानै होटलमा काम गर्न गए। पहिलोपटक दुई हजार तलब पाएका रामबहादुरले दोस्रोपटक दिल्ली जाँदा मासिक ८ हजार पाए। त्यही तलबले राई दम्पत्तिले दिल्लीमा जीवन गुजार्दै थिए।
२०६३ सालमा भीमाले फेरि छोरा जन्माइन्। रोजन तीन महिनाको भएपछि राई दम्पत्ति फेरि नेपाल आए।
आउने ठाउँ उही माइतीघर नै थियो। नेपाल आएपछि रामबहादुरलाई ससुराली घरमा बस्न असहज भयो।
उनले कुमार लिङ्गदेन समूहको तत्कालीन लिम्बूवान राज्य परिषदको झापा जिल्ला पार्टी कार्यालयमा कार्यालय सचिवको जिम्मेवारी पाए। एकदिन कार्यालय जाने क्रममा रामबहादुर मोटरसाइकल दुर्घटनामा परे। उनको मृत्यु भयो।
काखमा छोरा, हुर्कंदै गरेकी छोरी भएका बखत भीमाकुमारीले श्रीमान् गुमाइन्। अनि फेरि माइतीघरको बसाइ सुरू भयो।
न जग्गा, न घर। सम्पत्तिका नाममा आङमा भएका एक सरो लुगा मात्र थिए।
लामो समय माइतीघर बसिरहेकी उनलाई यसबेला त्यहाँ बस्न उपयुक्त लागेको छैन। ‘बुबाले माया त गर्नुहुन्छ। कहाँ जान्छेस्, नातिनातिना लिएर भन्नुहुन्छ। मेरो पनि जाने अन्य ठाउँ कहीँ छैन,’ उनले भनिन्, ‘जग्गा भएको भए पनि जनमन गरेर भए पनि मेरा छोराछोरी आफ्नै घरमा राखेर पढाउथें।’
भीमाकुमारीको गर्भाशयमा पत्थरी छ। घाँटीमा पनि समस्या छ। पैसा नभएर औषधि उपचारसमेत गर्न सकेकी छैनन्। मामा सन्तोष र प्रकाशले भीमाकुमारीका छोराछोरीको शिक्षा र स्वास्थ्यमा सघाइरहेका छन्।