यसै पनि आर्थिक रूपले कमजोर चेपाङ समुदाय, त्यसमाथि कोरोना महामारी, लकडाउन, निषेधाज्ञालगायतले थप कमजोर अवस्थामा छ।
उनीहरू बस्ने कतिपय ठाउँमा त राज्यको उपस्थितिसम्म छैन। विकास, निर्माण, शिक्षा, रोजगारी त धेरै परका कुरा भए, पेटभरी खानु नै सबैभन्दा ठूलो उपलब्धी छ उनीहरूको लागि।
२०७७ कात्तिक ५ गते बुधबार दसैंको पूर्वसन्ध्यामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले चेपाङ गाउँमा राहत वितरण गर्न लागेको खबर आयो। राहत बाँडिदै थियो, राप्ती नगरपालिकाको गाउँ कोराकमा। जुन गाउँ कुनै समय गैंडा सिकारीको गाउँका रूपमा परिचित थियो।
प्रकृतिको संरक्षणमा काम गर्ने संस्थाले देशको गहनाका रूपमा चिनिएको गैंडाको सिकारीले भरिएको भनिने गाउँमा राहत वितरण गर्दै गरेको दृष्य यसै पनि नौलो हुने भयो। त्यसमाथि तस्करको अभियोगमा कैद भोग्दै गरेकाका परिवारदेखि कैद भुक्तान गरेर फर्किएका व्यक्तिको जीवनशैलीलाई नियाल्नु पनि थियो। त्यसैले म पनि त्यहाँ पुगें।
२०५८ सालताका चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करको आतंक थियो। वर्षमा ३५ भन्दा बढी गैंडा सिकारीले मारेका थिए। गैंडाको खाग महंगोमा बिक्री हुने भएकाले तस्करले गैंडा मार्न सञ्जाल नै बनाएका थिए। त्यहीताका तस्करीमा कुख्यात थिए यही गाउँका युवक, राजकुमार चेपाङ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीको रेकर्ड नै बनाएका थिए राजकुमारले। जो अहिले वीरगञ्ज कारागारमा जेल जीवन बिताइरहेका छन्। उनी यस्ता व्यक्ति हुन् जसलाई नेपालको इतिहासमै पहिलो पटक वन्यजन्तु अपराधमा संलग्न नेपाली नागरिकलाई समाउन रेड कर्नर नोटिस जारी गरिएको थियो।
चेपाङ समुदायमा गरिबी छ। विपन्न वर्गका सीमान्तकृत चेपाङलाई अझै पनि सोझा वा लप्पनछप्पन नजान्ने समुदाय मान्निछ। तर यही समुदायका एक जना युवक कसरी कुख्यात तस्कर बने भन्ने विषयले त्यतिखेर संसारलाई चकित बनाएको थियो।
पूर्वीचितवनको पर्सामा पढ्न बसेका राजकुमारलाई भिनाजु रामचन्द्र प्रजाको संगतले गैंडा तस्करीका फाइदा सिकायो।
भिनाजुको पछि लागेर हिँड्दाहिँड्दै उनले सबै तरिका जाने। पछि गुरूभन्दा चर्को बनेर निस्किए।
चितवन राष्ट्रिय निकुञ्जले २०६० सालको चैत १२ गते राजकुमार चेपाङविरुद्ध पहिलो पटक मुद्दा दर्ता गरेको थियो। उनी विरुद्ध २१ गैंडा मारेको अभियोग थियो। तर उनलाई नियन्त्रणमा लिन एक दशकभन्दा बढी समय लाग्यो। यो अवधिमा तीन पटक उनी प्रशासनको सामुन्नेबाटै उम्किएका थिए।
नेपालमा रहँदा पोखरा, धरान, काठमाडौंमा लुकेर बसेका उनले भागेर विदेश जाने निधो गरे।
‘मस्ट वान्टेड’को सूचीमा रहेका उनलाई जहाज चढेर विदेश जान सहज थिएन। राजकुमारले आफ्नो नाम, ठेगाना नै परिवर्तन गरे। चितवनको कोराकामा जन्मिएका उनले २०६७ जेठ १० गते गोरखाबाट भक्तराज गिरी नामको नागरिकता तयार पारे। सोही महिनाको २० गते काठमाडौं पुगेर परराष्ट्र मन्त्रालयबाट राहदानी निकाले। आफूलाई खोजिरहेको प्रशासनलाई जिल खुवाउँदै उनी असोज २६ गते मलेसिया उडे।
मलेसिया पुगेको चार वर्ष पछि इन्टरपोलमार्फत मलेसियन प्रहरीले वाङतिङ सहरबाट राजकुमारलाई समातेको थियो।
२०७१ माघ १६ गते मलेसियामा समातिएका राजकुमारलाई १० दिनपछि निकुञ्जको हेडक्वाटर कसरा ल्याइएको थियो।
चितवन जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरको इजलासले २०७३ साल असार १४ गते राजकुमारलाई १५ वर्ष कैदको फैसला सुनाएको थियो। २१ गैंडा मारेको दाबीसहित उनीविरुद्ध १९ वटा मुद्दा चलाइएको थियो।
त्यतिखेर राजकुमारले पत्रकारसामु उभिएर भनेका थिए ‘२० वटा गैंडा मैले नै मारेको हुँ, अरू ५ वटा मेरै गोली लागेर घाइते भए, अरूले मारेका २ वटा खाग पनि मैले बेचेको छु।’
गैंडा सिकारीको गाउँ!
तत्कालीन कोराक गाविस अहिले राप्ती नगरपालिकाको वडा नम्बर १० मा पर्छ। यो गाउँको कालीखोला भन्ने स्थानमा राजकुमारको घर छ। पूर्व-पश्चिम राजमार्गको खुरखुरेबाट उत्तर लागेपछि गाडीमा आधा घन्टामा समिटार पुगिन्छ।
केही वर्षअघि यो सडक कालोपत्रे भएको छ। कालोपत्रे सडक छोडेर करिब तीन किलोमिटर भित्र लागेपछि कालीखोला पुगिन्छ। कालीखोलाको वारिसम्म सडक पुगेको छ। खोलो तरेपछि निकै व्यवस्थित तरिकाले खेती गरिएको बारी छ। बारीको सिरानमा चारवटा घर लहरै छन्। तिनै घर हुन्, राजकुमारका दाजुभाइका। २०४२ मा शक्तिखोरबाट आएर यहाँ बस्ती बसालेका थिए राजकुमारको परिवारले।
८० वर्षीया मनरूपा घरको डिलमा मास केलाउँदै थिइन्। उनी राजकुमारकी आमा हुन्। पल्लो छेउको घरमा एक महिला दुई वटा बच्चा स्याहार्दै थिइन्। उनी हुन् राजकुमारका माइला दाइ बलबहादुरकी दुलही। बलबहादुर गैंडा तस्करीको मुद्दामा कैद बसेको १२ वर्ष भयो।
जेठा दाइ दलबहादुर घाँसको भारी बोकेर फर्किए। अरबमा रोजगारी गरेर बिदामा घर आएका दलबहादुरलाई सेनाले समातेको थियो। उनलाई गैंडा तस्करीको मुद्दा चलाइयो। दश वर्ष कैदको माग गरेर मुद्दा चलाइएका दलबहादुर ७ वर्षमा पुनरावेदन अदालत हेटौंडाबाट सफाइ पाएर तीन वर्षअघि घर फर्किएका थिए।
‘आफन्त भएकै कारण त्यत्रो वर्ष जेल परियो’, उनले भने, ‘विदेशमा राम्रो हुँदै थियो, कमाइको मेसो बन्दै थियो। सबै स्थगित गरेर कारागार बस्नुपर्यो, निस्कँदा बुढो भइहालें।’
उनकी श्रीमती लीलाकुमारी र छोरालाई पनि हिरासत राखिएको थियो। विदेशको कमाइले उनले कोराककै चिप्लेटीमा केही जमिन जोडेका छन्। त्यो जमिनमा घर बनाउने उनको चाहना थियो।
‘घर बनाउने मेसो त यसै पनि हरायो’, उनी भन्छन्, ‘छोरा, छोरीलाई पढाउन पनि गाह्रो भइरहेको छ।’
राजकुमारका साइला दाइ रामकुमार पनि दश वर्ष कैद बसेर निस्किए। उनी अहिले चितवनको शक्तिखोरमा बस्छन्।
राजकुमारका छोरा र छोरी उनकै घरमा बस्छन्। छोरा १० कक्षामा पढ्दैछन्। छोरीले ९ कक्षा पढ्दा–पढ्दै छाडिन्।
आमा मनरूपाले त कान्छो छोरोको नामसमेत भुलिसकिन्।
‘गैंडा मारेर जेल परेको सुनेको हो, भेट्न जान पाएको छैन, टाढा होला जान पैसा पनि छैन’, उनले भनिन्, ‘अब त अनुहार नै बिर्सिन लाग्यो, नाम के सम्झनु।’
सानोमा गिठा, भ्याकुर खोजेर भने पनि राम्रैसँग हुर्काएको सम्झदै उनले भनिन्, ‘ठूलो भएपछि कसको संगतले बिग्रियो होला। बाबु, आमाले भनेको मान्दैनन् ठूला भएपछि।’
घरका जेठा छोरा दलबहादुरले तीनै भाइसँग जेल जीवन बिताए। जेठान, सालोलगायतका ससुराली खलकदेखि मावली सबै जेलमै थिए।
‘नातागोता सबै परे, तस्कारको नुनपानी चाख्नेदेखि केही नपाउनेसम्म सँगै बसियो’, उनले भने। कारागार छँदा ४५ जनासम्म चेपाङ भेटेका थिए, दलबहादुरले।
कालीखोलामा चेपाङबाहेक केही घर तामाङको पनि छ। यहाँका जितबहादुर थिङ पनि गैंडा मुद्दामै १५ वर्षको कैद पुरा गरेर घर फर्किएका छन्।
त्यत्रो खाग बेच्नेको पैसा खोइ त ?
कोराकको चिप्लेटी गाउँमा विपन्न परिवारलाई राहत बाँड्ने कार्यक्रम थियो। त्यही भेटिइन् राजकुमारकी श्रीमती मोतीमाया। उनले २०५८ सालमा राजकुमारसँग प्रेम विवाह गरेकी थिइन्। त्यतिखेर राजकुमार स्कुल पढ्दै थिए।
‘म घरमै बस्थें, उहाँ बाहिरतिरै बढी हुनुहुन्थ्यो, के के गर्नुहुन्थ्यो पनि मेसो थिएन’, उनले भनिन्, ‘पछि पो एक्कासी थाहा भयो, उहाँ गैंडा मार्ने काममा लाग्नुभएको रहेछ।’
छोराछोरीलाई पढाउने खर्च नहुँदा साइला जेठाजुले खर्च व्योहोरिदिएको उनले बताइन्। ३५ वर्षीया मोतीमाया बिहान बेलुकाको छाक टार्न दिनभर ऐलेनी खेतबारीमा मेहनत गर्छिन्।
वीरगञ्जमा रहेका श्रीमानलाई उनले भेटेको एक वर्ष भयो। गत मंसिरमा भएको भेटमा राजकुमारले उनलाई ‘जस्तो छ त्यस्तै गरिखाऊ’ भनेका थिए।
‘गाउँतिर के छ, घरमा के कस्तो छ भन्नेर सोध्नुहुन्छ’, उनले भनिन्, ‘गल्ती गरियो, घर परिवार राम्रोसँग हेर भन्नुहुन्छ।’
राजकुमारले मलेसियाबाट चाडपर्व र खेतीको बेलामा पैसा पठाउँथे। यसबाहेक कहिले पनि राजकुमारसँग पैसा भएको थाहा नपाएको श्रीमती बताउँछिन्।
‘त्यत्रो गैंडा मारेको मान्छेको त करोडौं पैसा हुनुपर्ने, त्यत्रो खाग बेचेको पैसा खोइ त ?’, मोतीमाया भन्छिन्, ‘हाम्रो जीवन त पहिलेभन्दा पनि खराब बन्दै छ।’
राजकुमारले भने प्रशासनको नियन्त्रणमा पत्रकारहरूसँग कुरा गर्दै आफूले गैंडा मारेर ४०–४५ लाख रुपैयाँ कमाए पनि त्यो पैसा बचाउन नसकेको बताएका थिए।
कैदमुक्त भएपछि देखें गैंडा: वीरबल
कोराककै चिप्लेटीका वीरबल चेपाङ १५ वर्षको कैद भोगेर गत चैत २ गते घर फर्किए। उनीमाथिको अभियोग पनि गैंडा तस्करीकै थियो। गैंडा तस्करको मुद्दामा कैद भुक्तान गरेर फर्किएपछि वीरबलले पूर्व-पश्चिम राजमार्गको टिकौली जंगलमा एक सिंगे गैंडा चर्दै गरेको देखेका रहेछन्। ‘मैले पहिलो पटक गैंडा देखेकै त्यही हो’, वीरबल भन्छन्, ‘गैंडा तस्कर भनेर आधा जिन्दगी कारागारमा फालेर आइयो।’
वीरबलले आफन्तको आग्रहमा गैंडा तस्करीको गिरोहलाई खाना पकाउने काम गरेका थिए।
‘यसका लागि मलाई अलिअलि पैसा आउँथ्यो’, उनी भन्छन्, ‘के थाहा खाना पकाइदिँदा पनि यत्रो जेल परिन्छ भन्ने ?’
वीरबल राजकुमारका जेठान हुन्। उनले पैसाको लोभमा गैंडा तस्करीमा संलग्नलाई सहयोग गरेका थिए।
‘हाम्रो पैसाको स्रोत केही थिएन, अलिअलि पैसा आए केटाकेटी हुर्काउन सजिलो होला भनेर सहयोग गर्दा नराम्ररी फसियो’, उनी भन्छन्।
वीरबल कारागार बस्दै गर्दा श्रीमतीले पनि उनलाई छाडिन्। केही समयअघि उनले नयाँ विवाह गरेका छन्। अब गाउँमै केही गर्ने सोच छ उनको।
घरसँगै उनको डेढ विघा जमिन छ। केही दिनअघि मात्रै उनले खेतको धान भित्र्याए। उनले अब त्यही खेतमा रिसोर्ट खोल्ने सोच बनाएका छन्।
‘यत्रो समय विदेश बसेर आएको भए सहरमा घर बनाउन सक्थें होला, आफ्नो कारमा घुम्थें होला’, वीरबल भन्छन्, ‘जिन्दगी यसै सकिन थाल्यो।’
६ हजारका लागि जीवन फालिएछ
२०५८ सालताका अनिल घिसिङ, राजन चेपाङ र डम्बर चेपाङ एक जना नयाँ मान्छेलाई साथमा लिएर दिलबहादुर चेपाङलाई भेट्न पुगे। दिलबहादुरसँग उनीहरूको आग्रह थियो- एउटा झोला नारायणगढ पुर्याइदिनु पर्यो।
त्यो झोला नारायणगढ पुर्याउँदा ६ हजार रुपैयाँ पाउने भएपछि उनी तयार भए। उनलाई 'झोलामा महत्वपूर्ण औषधी छ तर सुरक्षाकर्मीले नदेख्ने गरी पुर्याउनुपर्छ,’ भनिएको थियो।
दिलबहादुर पूर्व-पश्चिम राजमार्गको खुरखुरेमा झोला बुझेर खगेरी खोला हुँदै जंगलतिर लागे। त्यतिखेर उनले एक हजार रुपैयाँ पाइसकेका थिए। जंगल छिचोलेर लुक्दै नारायणगढ पुगे। झोला बुझाएपछि थप ५ हजार रुपैयाँ बुझे।
‘त्यतिखेरको ६ हजार भनेको ठूलो रकम थियो, केही पैसाले खाने कुरा किनेर घरतिर लागें’, उनले सुनाए।
सामान्य काम गर्दा कमाएको त्यो पैसाले दिलबहादुरलाई असाध्यै खुसी बनाएको थियो। तर त्यो खुसी केही महिना भन्दा बढी टिक्न सकेन।
उनलाई काम दिने अनिल घिसिङ र अम्बर चेपाङ पक्राउ परे। उनीहरूको बयानकै आधारमा सेनाले उनलाई खोज्न थालिहाले। त्यसपछि बल्ल उनले मेसो पाए सजिलै कमाएको ठानेको त्यो ६ हजार रुपैयाँको झोलामा गैंडाको खाग रहेछ।
उनी गाउँबाट भागेर भारतसँग जोडिएको ठोरीमा लुकेर बस्न थाले। तर २०६१ सालको वैशाखमा उनी पक्राउ परे।
२०७५ सालमा १५ वर्षको कैद र एक लाख रुपैयाँ जरिवाना बुझाएर दिलबहादुर घर फर्किए। त्यो अवधिमा उनलाई काम लगाउने अनिल र डम्बरको मृत्यु भइसकेको थियो।
गैंडा तस्करीमो मुद्दा लागेका अनिलको सेनाको कारबाहीमा मृत्यु भयो भने डम्बर केन्द्रीय कारागारमा छँदा क्यान्सरको बिरामी भए। भरतपुर कारगार ल्याएपछि उनको मृत्यु भयो।
उनलाई काम लगाउने अन्यलाई भने उनले कारागारमा भेटेका थिए। त्यसबाहेक गाउँकै साथीभाइ चन्द्रबहादुर, जितबहादुर, वीरबल, मंगलबहादुर, रामकुमार, राजन, राजकुमार, काजीमान कारगारमा सँगै भए।
‘कारागारमा हुँदा हामी बीच ठूलो गल्ती गरिएछ भन्ने कुरा हुन्थ्यो’, ५८ वर्षीय दिलबहादुर भन्छन्, ‘आफूसँगैका साथीहरू कता पुगिसके, उनीहरूको जीवनस्तर कहाँ पुग्यो, आफ्नो जीवन जेलमै सडेर गयो।’
साना छोराछोरी छाडेर जेल गएका उनी फर्कँदा छोराछोरी विहे गर्ने उमेरका भइसकेका छन्।
‘पैसाको लोभमा ठूलो गल्ती गरियो’, पश्चाताप गर्दै उनी भन्छन्, ‘गरिबीले गर्नुगर्यो, गैंडा मारी पछुतो भयो।’
गाउँका प्राय: पुरूषले गरिबीकै कारण तस्करलाई साथ दिने गरेको उनी बताउँछन्।
‘हामीले पहिले साथ दियौं, पक्राउ पर्यौं। त्यही ठाउँमा राजकुमार आए, उनीहरू समातिएपछि अरूको पालो आयो’, दिलबहादुर भन्छन्, ‘रोजगारी छैन, गाउँमा कुनै काम छैन, केही नगरी त खानै पाइँदैन।’
छोरो पढाउने सपना
चेपाङ गाउँका कुख्यात तस्कर राजकुमारकै पुस्ताका काजीराम चेपाङ भरतपुर कारागारमा कैद भोगिरहेका छन्। जसका कारण श्रीमतीदेखि धेरै आफन्त तथा साथीभाइ पनि कारागार पुगे।
गैंडा तस्करको मुद्दा लाग्दै गर्दा काजीमानको घर बन्दै थियो। घर ढलानका दिन सेनाले गाउँ घेर्यो। त्यतिखेर काजीमान काम गर्दै थिए। तर उनी सेनाको नियन्त्रणबाट फुत्किए, सेनाले घर ढलानमा आएका धेरै स्थानीय तथा काजीमानका आफन्तलाई पक्राउ गरेर लग्यो। यहीबाट राजकुमारका ठूल्दाइ दलबहादुर पक्राउ परेका थिए। दलबहादुर काजीमानका भिनाजु हुन्।
पक्राउ पर्ने कोहीलाई काजीमानको सहयोगी भन्ने आरोप थियो भने कोहीलाई गैंडा मार्न गोली बनाएर दिएको आरोप थियो। स्थानीय शिवलाल बिक काजीरामलाई गोली बनाइदिएको अभियोगमा ५ वर्ष जेल बसेर निस्किए।
काजीमान भने काठमाडौ, पोखरामा लुकेर बसेका थिए। श्रीमती भन्छिन्, ‘उनी त भागिहाले पाउनु दुःख म र छोरा छोरीले पायौं।’
भागेर लुक्दा काजीमानले दोश्रो विवाह गरिसकेका थिए। उनीहरू दुबैजना पक्राउ परे।
जेठी श्रीमती पनि ५ वर्ष जेल बसेर घर फर्किइन् तर उनले अझै पनि मुद्दा खेपिरहेकी छन्। श्रीमान र आफ्नो मुद्दाका लागि ५ लाख रुपैयाँ भन्दा बढी खर्च भएको उनी बताउँछिन्।
काजीमानका जेठा छोरा मलेसिया छन्। कान्छा छोरा १४ वर्षका भए। गाउँकै सरकारी विद्यालयमा कक्षा ७ मा पढ्छन्। काजीमानकी श्रीमतीको सबै भन्दा ठूलो चिन्ता कान्छो छोरालाई कसरी पढाउने भन्ने छ।
‘कान्छो छोरोलाई पढाएर असल मान्छे बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ’, उनी भन्छिन्, ‘तर कसरी पढाउने, सरकारलाई सुनाइदिनु न है।’
उनले चटपट बेचेर घर चलाउँदै आएकी छन्।
अभावले गलत बाटोमा हिँडायोः पूर्वलडाकु
जितबहादुर तामाङ माओवादी जनसेनाका पूर्वलडाकु हुन्। मोहन उपनामले चिनिने उनी तत्कालिन बासुस्मृति ब्रिगेडअन्तर्गतको बटालिनमा थिए। पछि उनी निर्वाचनलाई लक्षित गरेर लडाकुबाट निस्किएर वाइसिएलमा आए।
कोराक–१० चिप्लेटीस्थित घरमै रहेका बखत २०६४ सालमा अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिइयो।
निकुञ्जले उनलाई राजकुमार चेपाङसँग जोडेर गैंडा सिकारीको मुद्दा लगाएको थियो। सँगै गैंडा मारी खाग बिक्रीलगायतका ४ वटा मुद्दा उनीविरूद्ध थिए। १३ वर्ष कैदमा बिताएका उनी अहिले गाउँमा छन्।
लामो समयपछि गाउँ फिरेका उनले सडक, बिजुलीलगायतका विकास त देखे तर गाउँलेको स्तरमा कुनै भिन्नता देखेनन्। चेतनाको स्तर उस्तै, आर्थिक अवस्था उस्तै।
‘अहिले पनि यहाँ चरम बेरोजगारी छ तर जनताको जीवनस्तर उकास्ने कुनै कार्यक्रम छैन’, उनी भन्छन्, ‘दसैं आयो घरमा एउटा गेडो चामल छैन। यो अवस्थासँग कसरी जुध्ने?’
जितबहादुर सरकारले गैंडा तस्कार, काठ तस्कर भन्दै पुरै गाउँलाई कारागार पुर्याइसक्दा पनि के कारणले पुरै गाउँ तस्कारीमा लाग्यो भन्ने पत्ता लगाउने चेष्टा नगरेको बताउँछन्।
‘जंगलको काठ बचेर छोराछोरीलाई खाना खुवाउनेहरू प्रशस्त छन्, उनीहरूलाई कसरी यसो नगर्न अभिप्रेरित गर्ने भन्ने विषयमा सरकारले सोचेन’, उनी भन्छन्, ‘तस्कर भन्दै थुन्दै गरेर सरकार मुख्य जिम्मेवारीबाट पन्छिदै आएको छ।’
तत्कालिन अवस्थामा निकुञ्जले पनि पूर्वाग्रही ढंगले अनुसन्धान गर्यो भन्ने लाग्छ उनलाई। कोराकका केही मान्छे तस्कारीमा संलग्न रहेको भेटेपछि सबैलाई लगेर दुःख दिइएको बुझाइ उनको छ।
‘त्यही लहरमा म पनि परें’, उनले भने।
राजकुमार चेपाङजस्ता धेरै स्थानीय पनि यस्तै परिस्थितिको सिकार बनेर अपराधमा होमिएको हुनसक्ने उनको बुझाइ छ। भोको पेटले कसैको उपदेश सुन्न नसक्ने भन्दै उनी सबैले आफ्नो भागमा परेको जिम्मेवारी निभाउनु पर्ने बताउँछन्।
कसैप्रति कुनै गुनासो नरहेको उनले बताए। समय र परिस्थितिले गर्दा दुःख पाएको बताउने उनी विगतबाट पाठ सिकेर नयाँ सृजना लाग्नुको विकल्प नरहेको बताउँछन्। गाउँका बासिन्दाहरु श्रम गर्न तयार छन्।
‘तर केमा श्रम गर्ने, कसरी गर्ने भन्ने विषयमा सरकारको सहयोगको अपेक्षा गरेर बसेका छन्’, उनी भन्छन्।
३५ वर्षीय दिलबहादुर गाउँमा कृषि र पशुपालनको क्षेत्रमा सामुहिक श्रम गर्ने सोचमा छन्। यसका लागि स्थानीय युवाहरूलाई एक ठाउँमा ल्याउने प्रयासमा उनी छन्।
‘अब गाउँलाई रूपान्तरण गरेर लैजानुपर्छ’, उनी भन्छन्, ‘तीनै तहको सरकारलाई घच्घच्याएर ग्रामीण क्षेत्रको गरिबी हटाउने अभियान सुरु गर्नुपर्छ।’
गैंडा मुद्दामा ५० प्रतिशतसम्म चेपाङ
चितवन जिल्ला कारागारमा अहिले पनि गैंडा मुद्दामा १ जना महिलासहित ६८ जनाले सजाय भोगिरहेका छन्।
उनीहरूमध्ये २१ जना चेपाङ समुदायका छन्। २०७६ सालको चैतमा लकडाउन हुनुअघि ७६ जना थिए।
कारागार प्रमुख कमलप्रसाद काफ्लेकाअनुसार २०६९ सालताका यहाँ १६० जनासम्म गैंडा मुद्दाका कैदी थिए। उनीहरूमध्ये करिब ५० प्रतिशत चेपाङ समुदायका थिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँचितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको बिना, हिउँचितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्नेे व्यक्तिलाई पाँचदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
पछिल्ला वर्ष गैंडासम्बन्धी मुद्दामा नयाँ कैदी थपिने क्रम निकै घटेको छ। चितवन राष्ट्रिय निकुञ्जमा केही वर्ष त गैंडाको चोरी सिकारी नियन्त्रणमै आएको थियो। तर यस वर्ष निकुञ्जमा गैंडाको मृत्यु हुने क्रम बढेको छ। यस वर्ष मरेका आधा दर्जन बढी गैंडामध्ये एउटा गैंडा सिकारीले मारेको आशंका निकुञ्जको छ।
यसअघि २०७३ को चैतमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा गोली लागेर एउटा गैंडा मरेको थियो। सन् २०१५ को गणनामा चितवन निकुञ्जमा ६०५ सहित देशभरमा ६४५ वटा एकसिंगे गैंडा थिए। पछिल्ला दुई वर्षमा प्राकृतिक कारणबाट चितवन निकुञ्जमा ७० भन्दा बढी गैंडा मरेका छन्।
सरसर्ती हेर्दा वन्यजन्तुको तस्करी घटाउनमा त प्रशासनको भूमिका देखिएको छ। तर परिस्थितिले गैंडा सिकारीको मतियार बन्न पुगेकाका सन्ततिको अवस्था पनि अघिल्लो पुस्ताको भन्दा फरक छैन।
उनीहरु अहिले पनि जानेर-नजानेर राज्यले अवैधानिक भनेका गतिविधिमा संलग्न भइरहेका छन्। चितवनको पहाडी क्षेत्रमा बढ्दो क्रममा रहेको गाँजा खेती देखि सामुदायिक वन क्षेत्रहरुमा बढ्दो काठ तस्करी यसैका उदाहरण हुन्।