कोरोना माहामारीका बीचमा गृह जिल्ला झापा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाटी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार फरक शैलीले फूलपातीको दिन बिताएका छन्।
बिहीबार गृह जिल्ला झापा आएका पार्टी प्रवक्ता शर्माले कनकाई नदीको बाढीले बगाएर घरबारविहीन भएकी शिवसताक्षी-१० की तारा शेर्माको घरमा एक दिन श्रमदान गरेका हुन्।
‘दुर्गा भवानीको मन्दिरबाट फूलपाती घरमा भित्र्याउँदा पनि यति सुख कहाँ मिल्छ र,’ प्रवक्ता शर्माले भने, ‘कात्तिकको पहिलो साताको टन्टलापुर घाममा अनुहार र कुहिनाबाट तप्तपी पसिना चुहाउँदै शेर्मा बहिनीको घर बनाउँदाको सुख नै फरक छ। यसले मलाई फरक ढंगले सितलता दियो।’
चप्पल, हाफ्पाइन्ट, टि-सर्ट र मास्क लगाएर बिहान ९ बजे शिवसताक्षी नगरले तारा शेर्माको घर निर्माणका लागि दिएको जग्गा (जनता आवास) क्षेत्रमा आइपुगेका शर्मा दिउँसो २ बजेसम्म काममा खटेका थिए।
शर्माले स्थानीय डकर्मीसँग सेफ्टी ट्यांकी निर्माणको काम पनि गरे। ढलाइको लागि रड बुनेर जाली बनाउने काम जीवनमा पहिलो अनुभव भएको उनले सुनाए।
शर्मा भन्छन्, ‘गत वर्ष पनि धुलाबारीमा अति विपन्न टुडु थरकी एकल महिलाको घर निर्माण गरिदिएको मेची अभियानसँग आजैका दिन श्रमदान गरेको थिएँ। शिवसताक्षीमा पनि यस्तै अवसर नवदुर्गा भवानीले जुराइदिनुभयो।’
गएको असार २८ गते कनकाई नदीमा आएको बाढीले १० घर परिवारको उठिबास गरेको थियो। त्यसमध्ये तारा शेर्माको घर पनि बाढीले बगाएको थियो।
आफ्ना तीन छोराछोरीसहित शेर्माले ज्यान भागेर जोगाएकी थिइन्। उनका श्रीमानको दुई वर्षअघि निमोनियाका कारण ज्यान गएपछि छोराछोरीलाई पढाउने हुर्काउने जिम्मा शेर्माको काँधमा आयो।
गरिबीकै कारण श्रीमानको उपचार गर्ने पैसा नहुँदा छोराछोरी काखैमा हुँदा टुहुरा हुनुपरेको उनले सुनाइन्। शेर्माले भनिन्, ‘गरिबी सबैभन्दा ठूलो आफन्त हुँदो रहेछ। जसले बाँचुञ्जेल साथ दिँदोरहेछ।’
शेर्मालाई आफन्तले पनि साथ नदिएको उनका छिमेकीले बताएका छन्। नेपाल रेडक्रस सोसाइटी झापाले दिएको त्रिपालले छोपेको छाप्रोमा उनको दिनरात बित्ने गरेको छ।
झापाको मेची अभियानले उनलाई घर बनाइदिने बचन दिएको थियो। शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा लगायत कार्यपालिका बोर्डबाट विपन्न एकल महिलाको घर निर्माणका लागि जग्गा पाएपछि शेर्माको घर धमाधम निर्माण हुन थालेको हो।
मेची अभियानका संयोजक विजय डालमियाका अनुसार सात लाखको लागतमा निर्माणाधीन घर तिहारअगाडि शेर्मा परिवारलाई जिम्मा दिने तयारी छ।