काठमाडौंलाई देवी–देउताको सहर मान्ने हो भने हामीले यो कोरोनाकालमा आफू मात्र होइन, देवी–देउतालाई पनि 'न्यू नर्मल' तरिका सिकाउनुपर्नेछ।
जसरी हामी मास्क धारण गर्छौं, पटक–पटक हातमा स्यानिटाइजर दल्छौं, त्यसरी नै देवी–देउताले पनि केही सम्झौता गर्नुपर्छ। संस्कार थोरै तलमाथि भए पनि भक्तजनको स्वास्थ्य ख्याल राख्दै क्षमा गर्दिनुपर्छ।
देउता हुन्, क्षमा नगर्ने त कुरै छैन!
सायद यही सोचेर, पचली भैरव जात्रा व्यवस्थापन समितिले यसपालि 'न्यू नर्मल' विधि अपनायो।
घटस्थापनाबाट सुरू भएर यही बुधबार सम्पन्न यो जात्रामा पहिलेजस्तो तामझाम भएन। बाजागाजा सीमित थियो, सहभागीहरू पनि थोरै थिए। जहाँ पहिले–पहिले सबैलाई आउन आह्वान गरिन्थ्यो, यसपालि व्यवस्थापन समितिले नै नआउन आग्रह गर्यो। मन लाग्नेहरूले बरू सडक किनार उभिएर जात्राको स्वाद लिए। समय पनि फेरेर राति हुनुपर्नेमा दिउँसै सम्पन्न गरियो।
सबभन्दा ठूलो कुरा त, जो–जो सरिक भए, उनीहरूले पिसिआर टेस्ट गरेका थिए। नेगेटिभ रिजल्ट आउनेहरू बकाइदा पिपिई लगाएर आएका थिए।
कोरोनाको डरले धेरै जात्रापर्व स्थगित भइरहेका बेला पिपिई लगाएर जात्रा मनाइएको सायद यो पहिलो हो।
यो लेखलाई मैले तीन खण्डमा बाँडेको छु। पहिलो खण्डमा हामी पचली भैरवसँग जोडिएका कथा–किम्बदन्तीको कुरा गर्नेछौं भने दोस्रो खण्डमा ऐतिहासिक र सांस्कृतिक पक्षको चर्चा गर्नेछौं। अन्तिम खण्डमा यति व्यवस्थित ढंगले जात्रा कसरी मनाइयो भन्नेबारे व्यवस्थापन समितिका संयोजकसँग कुरा गर्नेछौं।
सुरू गरौं, कथा–किम्बदन्तीबाट।
जसरी काठमाडौं, इन्द्रचोकका आकाश भैरवलाई प्रथम किराँती राजा यलम्बरको प्रतिरूप मानिन्छ, त्यसरी नै टेकुका पचली भैरवलाई फर्पिङका किराँती राजाको प्रतिरूप भनिन्छ। फर्पिङमा पुरानो दरबारका केही अवशेष छन्, जसलाई स्थानीयहरू पचली भैरवको निवास मान्छन्।
कतिपयले पचली भैरव भनेका दोस्रो किराँती राजा पेलं वा पलम्बर हुन् पनि भन्छन्।
अब प्रश्न उठ्छ, फर्पिङका किराँती राजाको प्रतिरूप टेकुमा कसरी प्रतिस्थापन भयो?
के उनलाई यहाँ बन्दी बनाएर ल्याइएको थियो? वा, उनले काठमाडौंमाथि विजय प्राप्त गरेका हुन्?
यसको जवाफ पचली भैरवको किम्बदन्तीले दिन्छ। यसका विभिन्न संस्करण छन्, जुन आपसमा जेलिएका छन्।
मलाई यी कथा सुनाएका थिए, सन्दीप महर्जनले। काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर लोककथा संकलन गर्ने २२ वर्षीय सन्दीप सामाजिक सञ्जालहरूमा 'फ्रयांकी फ्रेन्ज' नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्।
उनले सुनाएको कथाको पहिलो संस्करण यस्तो छ–
फर्पिङका किराँती राजा हरेक दिन भेष बदलेर पाटन, सानेपाको राजतीर्थमा पूजा गर्न आउँथे। राजतीर्थ भनेको बागमती किनारमा पर्छ। अहिले बागमतीवारि काठमाडौंतर्फ पचली मन्दिर छ भने ठ्याक्कै पारि ललितपुरतर्फ राजतीर्थ छ।
यसरी पूजा गर्न आउँदा एकदिन उनको टेकु दोभानमा 'नै' अजिमासँग भेट भएछ।
नै अजिमा बिछट्टै राम्ररी थिइन्। पचली उनको सौन्दर्यमा कायल भएछन्। उनी हरेक दिन अजिमालाई हेर्न टेकु दोभानको चक्कर लगाउन थाले। दुवैको लुकिछिपी आँखा जुध्यो। पचली आँखा सन्काउँदा हुन्, अजिमा लजाउँदी हुन्! विस्तारै अजिमा पनि पचलीतिर आकर्षित भइन्। उनीहरू दुनियाँको आँखा छलेर बागमतीको तिरैतिर डुली हिँड्न थाले। आजको भाषामा भन्दा लुकिछिपी 'डेटिङ' जान्थे।
त्यही क्रममा एकदिन उनीहरू स्थानीयका आँखामा परे। पचली भैरवलाई अप्ठ्यारो पर्यो। स्थानीयले पक्रेर केरकार गर्न थाले आफू फर्पिङको राजा भएको भेद खुल्ला र राज्यको बेइज्जती होला भन्ने उनलाई डर भयो।
त्यही भएर उनी 'नै' अजिमालाई बाटोमै छाडेर नजिकै गुप्त स्थानमा लुक्न गए।
अहिले जहाँ पचली भैरवको मन्दिर छ, फर्पिङका किराँती राजा लुकेको ठाउँ त्यही हो भन्ने जनविश्वास छ। त्यस्तै, पचलीले टेकु दोभान जाने जुन मोडमा अजिमालाई छाडेर हिँडेका थिए, उनी त्यही मोडमा पचलीलाई पर्खेर बसेकी छन्।
अहिले पनि टेकु दोभान जाने बाटोको घुम्तीनिर 'नै' अजिमाको मन्दिर छँदैछ। मान्छेहरूले पचली लुकेको ठाउँ देख्लान् भनेर अजिमा विपरीत दिशातर्फ फर्केको पाइन्छ। अर्थात्, अजिमाले पचली मन्दिरतिर हेरेकी छैनन्, त्यसको ठ्याक्कै उल्टो दिशातिर फर्केकी छन्।
पचली र नै अजिमाको यो प्रेमकथामा एउटा उपकथा जोडिएको छ।
उनीहरू जति बेला लुकिछिपी टेकु दोभानमा घुम्न जान्थे, त्यही बेला एकदिन गणेशले फ्याट्टै दुवैलाई देखेछन्। भैरवलाई शिवजीको अवतार मानिन्छ, गणेश परे शिवजीकै छोरा। आफ्नै पितालाई अर्की केटीसँग हिँडेको देखेर गणेश आँखा सन्काउँदै मुसुक्क हाँसेछन्।
टेकु दोभानबाट काठमाडौंको भित्री सहरतिर आउँदा जसै तपाईं टेकु चोक नाघेर जैसीदेवलतिर उक्लिनुहुन्छ, उकालोको सिरानमै दाहिनेतिर गणेशको मन्दिर छ। यो यिनै 'मुसुकाः गणेश' को मन्दिर हो।
यो त भयो, कथाको पहिलो संस्करण। अब हामी दोस्रो संस्करण सुनौं।
यसमा पनि भेष बदलेर आएका फर्पिङका किराँती राजाको 'नै' अजिमासँग प्रीति बस्छ। उनीहरू उसैगरी लुकिछिपी घुम्न जान्छन्। उनीहरूकी एउटी छोरी पनि जन्मिन्छिन्। पचली परिसरबाहिर बाटोको छेउमा तपाईंहरूले 'मचली' देवीको मूर्ति देख्नुभएको होला। यी 'मचली' देवीलाई पचली र नै अजिमाकै छोरीका रूपमा लिइन्छ।
प्रेम सम्बन्धबाट छोरी जन्मिसक्दा पनि पचलीले आफ्नी प्रेमिकालाई आफू को हुँ भनेर बताएका थिएनन्। एकदिन उनलाई आफ्नो परिचय खोल्न मन लाग्यो।
भने, 'प्रिय, मैले अहिलेसम्म तिमीलाई आफ्नो बारेमा सही कुरा बताएको छैन।'
नै अजिमा छक्क परिन्।
'हजुर यो के भन्दै हुनुहन्छ?' उनले मायालु पारामा सोधिन्, 'कुन कुरा बताउनुभएको छैन मलाई?'
'मेरो परिचय।'
नै अजिमा शान्त भइन्, भनिन्, 'प्रेमको अगाडि परिचयको के मोल! हजुर जो भए पनि, जस्तो भए पनि मैले आफ्नो आत्मा सुम्पिसकेकी छु।'
उनले अगाडि भनिन्, 'मलाई हजुरको वास्तविक परिचयसँग कुनै मतलब छैन। मेरो निम्ति त हजुरको एउटै परिचय छ, त्यस्तो व्यक्ति, जसलाई मैले आफ्नो सर्वस्व सुम्पेँ। तै पनि कुरा उठाइहाल्नुभयो, भन्नुस् न त के हो हजुरको वास्तविक परिचय?'
'म सामान्य मान्छे होइन प्रिय,' पचलीले भने, 'म फर्पिङको राजा हुँ।'
यति भनेर उनले अजिमालाई एकमुठी चामल दिए, 'म तिमीलाई आफ्नो वास्तविक रूप देखाउँछु। त्यसपछि तिमी यो दिव्य चामल मलाई चढाउनू।'
पचलीले आफ्नो वास्तविक रूप देखाए।
किराँती राजाको रौद्ररूप देखेर अजिमा तर्सिइन्। उनी डराएको देखेर पचलीलाई के गरूँ, कसो गरूँ भयो। बरू अजिमा शान्त नभएसम्म लुकेर बस्छु भनेर उनी त्यहीँको एउटा नालीमा लुक्न गए। पचली लुकेको त्यो नालीलाई 'पञ्चनाली' भनिन्छ। आज पनि पचली भैरव त्यही नालीमा लुकेर बसेको विश्वास गरिन्छ।
यता डरले सातोपुत्लो गएपछि नै अजिमाले हातमा मुठी पारेको चामल आफैंले खाइछन्। भैरवले दिएको 'दिव्य' चामल खाएकीले अजिमाले पनि 'दैवी' शक्ति प्राप्त गरिन् र देवीका रूपमा स्थापित भइन् भन्ने भनाइ छ।
'कतिपयले नै अजिमासँग पहिलेदेखि दैवीशक्ति थियो पनि भन्छन्,' सन्दीपले सुनाए, जसै पचली भैरवले आफ्नो आवरण उतारेर वास्तविक रूप देखाए, त्यसलगत्तै नै अजिमा मुसुक्क हाँसिन्।
'हजुरलाई पनि मैले आफ्नो वास्तविक रूप देखाएकी छैन,' उनले भनिन्, 'म पनि सामान्य केटी होइन।'
यति भनेर नै अजिमा 'देवी' रूपमा प्रकट भइन्।
'यो कथाअनुसार पचली भैरव र नै अजिमाको मन्दिर फरक–फरक ठाउँमा रहे पनि यी प्रेमी–प्रेमिका आफ्नी छोरीसहित पचली परिसरमै बस्छन् भन्ने विश्वास गरिन्छ,' सन्दीपले भने।
सन्दीपले सुनाएको तेस्रो संस्करणको कथामा पचली भैरव, नै अजिमा र अर्की एक अजिमाको 'त्रिकोणात्मक प्रेमकथा' छ। यो कथा खोकनासँग पनि जोडिन्छ।
यसमा पचली भैरव र नै अजिमा लुकिछिपी घुम्न हिँडेका बेला गाइँगुइँ हल्ला चल्छ। स्थानीयहरू आफ्नो टोलको केटी घुमाउने अपरिचित को हुन् भनेर पचलीको खोजी गर्न थाल्छन्।
पचली नै अजिमालाई टेकु दोभानको मोडमा छाडेर गोप्य ठाउँमा लुक्न जान्छन्।
यता नै अजिमा पचलीको बाटो हेरेर बसिरहेकी हुन्छिन्, उता पचली चाहिँ त्यही बेला भद्रकालीको लुमरी अजिमातिर लहसिन्छन्।
लामो समय पचली भेट्न नआएपछि नै अजिमा उनको खोजखबर लिन थाल्छिन्। उनले थाहा पाउँछिन्, पचली त लुक्न गएको बहानामा लुमरी अजिमासँग प्रीति पो गाँस्न थालेछन्!
उनी रिसले चूर हुन्छिन्, अनि पचलीसँग ठुस्केर विपरीत दिशातिर फर्केकी हुन् भन्ने भनाइ छ।
यो कथा यत्तिमै टुंगिदैन।
पचलीले वास्ता गर्न छाडेपछि नै अजिमा विस्तारै विरहले व्याकुल हुन थाल्छिन्। उनी टेकु दोभानबाट रूँदै रूँदै बागमती किनारै किनार अघि बढ्छिन्।
एउटा सुनसान ठाउँमा एक जना ज्यापूसँग उनको जम्काभेट हुन्छ।
एक्लै रूँदै हिँडेकी महिला देखेपछि ज्यापू सहानुभूति प्रकट गर्न अघि सर्छन्। उनको पीर बुझ्न खोज्छन्।
ज्यापूले निकै कर गरेपछि नै अजिमाले रूँदै रूँदै आफ्नो सबै कहानी सुनाउँछिन्।
ज्यापू भन्छन्, 'हे देवी, तपाईं यसरी विलाप नगर्नू। तपाईं अबदेखि यहीँ बसे हुन्छ। यहाँ तपाईंलाई कसैले दुःख दिँदैन। तपाईं को हो, कसरी आउनुभयो भनेर कुरा पनि काट्दैन।'
यसरी नै अजिमाले रूँदै कथा सुनाएकीले त्यो सुनसान ठाउँको नाउँ 'खोया खँ कंगू थ्या' अर्थात् 'रोएर कथा भनेको ठाउँ' रहन गएको किम्बदन्ती छ। कालान्तरमा त्यही नाउँ अपभ्रंश हुँदै 'खोकना' रहेको विश्वास गरिन्छ। खोकनाको रुद्रायणी देवीलाई नै अजिमाकै प्रतिरूप मान्ने चलन छ। यता, टेकु दोभानको नै अजिमा मन्दिरलाई रुद्रायणी पिठका रूपमा पनि पूजा गरिन्छ।
पचली भैरव, नै अजिमा र लुमरी अजिमाबीचको 'त्रिकोणात्मक प्रेमकथा' को झलक सांस्कृतिक उत्सवहरूमा पनि देखिन्छ।
जस्तो– हरेक बाह्र वर्षमा मरूसत्तल (काष्ठमण्डप) अगाडि देखाइने पचली भैरवको खड्गजात्रामा रातो मुकुण्डो लगाएर नै अजिमा सरिक हुन्छिन्। त्यस्तै, मखनमा हुने अर्को बाह्र वर्षे खड्गजात्रामा भद्रकाली र पचली भैरवको प्रतिरूप नचाउने चलन छ।
दुवै अलग–अलग जात्रा हुन्, तर दुवैका गुठियार एउटै हुन्छन्। यी दुई बाह्र वर्षे जात्राबीच चार वर्षको अन्तर हुन्छ, सन्दीपले भने, 'यसले यी तीनै जना देव–देवी एकअर्कासँग जोडिएका छन् भन्ने देखिन्छ।'
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। यहाँ फर्पिङका किराँती राजा भेष बदलेर काठमाडौं आउँदा माया बसेको र स्थानीयबाट बच्न पञ्चनालीमा लुकेर बसेका घटना कथ्य हुन सक्छन्। तर, यी कथ्यमा प्राचीन काठमाडौंको एउटा तथ्य लुकेको हुन सक्छ।
यहाँ फर्पिङका किराँती राजा काठमाडौंबारे चियो गर्न साँच्चै भेष बदलेर आएका हुन सक्छन्। उनी पञ्चनालीमा लुक्नुको आसय काठमाडौंका सैनिकबाट पक्राउ परेर बन्दी बनाइएको हुनसक्छ।
आफ्ना राजालाई बन्दी बनाएर अपमान गरेको रिसमा आगो भएको फर्पिङले काठमाडौंमाथि धावा बोलेर मुक्ति दिलाएको थियो कि! त्यही युद्धमा विजयी भएपछि टेकुको जुन ठाउँमा फर्पिङे राजालाई बन्दी बनाइयो, त्यसैको सम्झनास्वरूप पचली भैरवको मूर्ति स्थापना गरिएको हो कि!
के बेर!
लेखको दोस्रो खण्डमा अब हामी पचली भैरवसँग जोडिएको काठमाडौं इतिहास र संस्कृतिबारे चर्चा गरौं।
यो जात्रा धर्मसँग मात्र जोडिएको छैन, यसमा हामी प्राचीन काठमाडौंको राजनीतिक अवशेष पनि पाउँछौं। यसलाई काठमाडौं सहर स्थापना र सत्ता हस्तान्तरण परम्पराको लिच्छविकालीन सम्झनाका रूपमा लिइन्छ।
लिच्छवि राजाहरूले दक्षिण कोलिग्राम (अहिले काठमाडौं भित्री सहरको दक्षिणी भाग) बसाउँदा सहरको रक्षक वा द्वारपालका रूपमा टेकु दोभाननिर पचली भैरव मन्दिर स्थापना गराएको भनाइ छ। काठमाडौंको 'खड्गाकार' आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप भएको इतिहासकारहरू बताउँछन्। त्यही भएर बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ।
यो जात्रा घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ। जात्राको सुरूआत ती गुठियारको घरबाट हुन्छ, जहाँ अघिल्लो वर्ष पचली भैरवको मूर्ति अंकित घ्याम्पो लगेर राखिएको थियो। हरेक वर्ष फरक–फरक गुठियारको घरमा घ्याम्पो राख्ने चलन छ। गत वर्ष यंगालका गुठियारको घरमा राखिएको थियो। त्यसैले, यस वर्ष यंगालबाटै जात्रा सुरू भयो।
घटस्थापनाको दिन साँझ पचली भैरवको मूर्ति अंकित घ्याम्पोलाई गुठियारको बासस्थानबाट कोहितिस्थित चित्रकारको घरमा लगेर राखिन्छ। त्यहाँ मूर्तिको साजसज्जा र विधिपूर्वक पूजा गरेर उक्त घ्याम्पोलाई अलंकृत गरिन्छ। यो भनेको 'पचली भैरवको मूर्तिलाई दृष्टि दिनु' हो।
त्यसपछि चौथीको दिन बेलुकी उक्त मूर्तिलाई भीमसेनस्थानस्थिति क्वाबहाःमा बस्ने थकु जुजुहरूकहाँ पूजा गर्न लगिन्छ। थकु जुजु भनेका वैश्य ठकुरीहरूका वंशज हुन् भन्ने भनाइ छ।
नेपालको इतिहासमा विक्रमको बाह्रौं–तेह्रौं शताब्दीतिर पालवंशी वैश्य ठकुरीहरू निकै प्रभावशाली थिए। त्यति बेला शिवदेव, इन्द्रदेव लगायत राजाहरूको शासन थियो। तर, उनीहरू शक्तिहीन भएको मौका छोपेर वैश्य ठकुरीहरू विभिन्न भागमा आफ्नो अधिकार जमाउँथे।
इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा लेखेका छन्, 'तिनै वैश्य ठकुरीहरूका सन्तानलाई हराएर रत्न मल्लले काठमाडौंमा आफ्नो अधिकार पुनर्स्थापित गरेका थिए। तिनका वंशजहरू काठमाडौंमा अद्यापि छन्, जो 'थकु जुजु' भनी प्रसिद्ध छन्।'
थकु जुजुकहाँ पूजा सकेपछि त्यसै दिन बेलुकी मूर्तिलाई टेकुस्थित पचली पिठमा ल्याइन्छ। भोलिपल्ट पञ्चमीको दिन घ्याम्पोमा वर्षदिनअघि बनाएर राखेको जाँड, रक्सीलाई जलका रूपमा पञ्चनालीमा बगाइन्छ।
पहिले–पहिले उक्त जल अलि पर पोखरीसम्म बग्ने गरेको थियो। त्यो पोखरी अहिले छैन। पोखरी भएको ठाउँमा स्कुल छ, जसले पचली भैरव गुठीबाट प्राप्त जग्गामा जथाभाबी संरचना बनाउन खोजेको भन्दै केही समयअघि हंगामा भएको थियो।
पञ्चमीकै मध्यरात मुख्य जात्रा आरम्भ हुन्छ। भैरवको मूर्ति बोकेर बाजागाजासहित ब्रह्मटोल, लगन, जैसीदेवल हुँदै मरूटोलको बाटो हनुमानढोका लगिन्छ। भैरवकी पत्नी 'नै' अजिमा र पुत्र 'नाय् खिं द्य' अर्थात् रुद्रविनायकको मूर्ति पनि जात्रामा सँगसँगै लगिन्छन्। हनुमानढोका पुगेपछि अर्को विशेष विधि हुन्छ।
त्यसै रात 'जीवित देवी' कुमारीलाई हनुमानढोका ल्याइन्छ र पचली भैरवसँग आँखा जुधाउन लगाइन्छ। यसरी आँखा जुधाउँदा कुमारीले दिव्यशक्ति प्राप्त गर्ने जनविश्वास छ। कुमारीले आफैं पुग्यो नभनेसम्म फिर्ता लैजान हुँदैन। इच्छा लागुञ्जेल हेर्न पाएपछि बल्ल कुमारीलाई दिव्यशक्ति प्राप्त हुने भनाइ छ।
यसरी कुमारी र पचली भैरवलाई किन आँखा जुधाउन लगाइयो भन्नेबारे दुइटा धारणा पाइन्छ।
पहिलो, कुमारीलाई पचली भैरवको छोरीका रूपमा लिइन्छ। आँखा जुधाउनु भनेको वर्षको एकचोटि बाबु र छोरीले एकअर्कालाई हेराहेर गर्नु हो। यसरी हेर्दा कुमारीले दिव्यशक्ति प्राप्त गर्छिन् भन्नुको अर्थ छोरीप्रति बाबुको आशीर्वाद हो।
अर्को भनाइअनुसार, काठमाडौंका मुख्य जात्रापर्वमा कुमारीलाई बाहिर निकाल्नु सामान्य चलन हो। अरू जात्रामा पनि कुमारीको दर्शन गर्ने चलन छँदैछ।
अर्कातिर, कुमारी देवीलाई ३२ लक्षणले युक्त मानिन्छ। त्यसैमध्येको एउटा लक्षण कसैसँग नडराउनु हो। यहाँ आँखा जुधाउनुको अर्थ पचली भैरवको रौद्ररूप देख्दा पनि कुमारी रत्तिभर डराउँदिनन् भनेर प्रमाणित गर्नु हो।
यो विधि सकिएपछि गुठियारहरूको पालोअनुसार पचली भैरवको मूर्तिलाई उनको बासस्थानमा लगिन्छ र जात्रा सकिन्छ। अर्को वर्षको जात्रासम्म मूर्ति त्यहीँ रहन्छ। यसपालि यो मूर्ति ज्याबहालका गुठियारको घरमा लगेर राखिएको छ। अर्थात्, अर्को वर्ष यो जात्रा ज्याबहालबाट सुरू हुनेछ।
पचली भैरव जात्रा मल्लकालमा खुब लोकप्रिय थियो। तत्कालीन अभिलेख (थ्यासफु) हरूमा यसबारे धेरै उल्लेख पाइन्छ। भाषा वंशावलीअनुसार राजा शिवसिंह (विसं १६३५–१६७७) ले पचली भैरवको मूर्ति अंकित धातुको घ्याम्पो बनाइदिएका थिए। त्यसअघिसम्म घ्याम्पो माटोको थियो। राजा भाष्कर मल्ल (विसं १७५७–१७७९) को राज्यकालमा राजमाता भुवनलक्ष्मीले नयाँ घ्याम्पो फेरिदिएको इतिहास छ।
पचली भैरव जात्राकै क्रममा एउटा विशेष उत्सव पनि हुन्छ, जुन बाह्र वर्षमा एकचोटि मात्र मनाइन्छ।
काष्ठमण्डपका चार ढोकामध्ये पूर्वी ढोकाअगाडिको मण्डपमा हुने यो उत्सव लिच्छविकालीन राजनीतिसँग जोडिएको परम्परा हो।
प्रत्येक बाह्र वर्षमा विजया दशमीको दिन पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने परम्परा छ। त्यो बेला पचली भैरव मानव आकृतिमा नाच्दै काष्ठमण्डप अगाडिको मण्डपमा आउँछन्। त्यो बेला गद्दीमा जो राजा हुन्छन्, पचलीले उनलाई आफ्नो खड्ग थमाउँछन्, अनि राजाको हातको खड्ग आफू लिन्छन्। खड्ग साट्नुको उद्देश्य लिच्छवि राजाले आफ्ना उत्तराधिकारीलाई शासन सुम्पेका हुन् भन्ने इतिहासकारहरूको भनाइ छ।
बज्राचार्यका अनुसार, नेपालको सांस्कृतिक इतिहासमा यो रित 'खड्गसिद्धी' नामले प्रसिद्ध छ। पचली भैरव र उनका अष्टमातृकागणको प्राचीन नाचलाई 'गथु प्याखं' भनिन्छ। यो नाच बाह्र वर्षमा एकचोटि काठमाडौंको यंगल इलाकामा र बाह्र वर्षकै एकचोटि यम्बू इलाकामा देखाइन्छ। यंगल इलाकामा नाच नचाइने वर्ष मरूसत्तल (काष्ठमण्डप) अगाडि र यम्बू इलाकामा नचाइने वर्ष मखनटोलमा पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने चलन छ।
पुरातत्वविद् साफल्य अमात्यले पनि आफ्नो किताब 'काठमाडौं नगरायण' मा पचली भैरवसँग खड्ग साट्ने जात्राबारे उल्लेख गरेका छन्।
यो प्रचलनले 'प्रत्येक बाह्र वर्षमा राजाले भैरवसँग राज्य सञ्चालन गर्न अनुमति लिनुपर्ने वा लिने परम्पराको बोध गराउने' अमात्यको भनाइ छ। 'भैरवले गद्दीनसीन राजालाई आफ्नो शक्ति प्रदान गरी देशरक्षा गर्ने जिम्मा दिएको भावनाको प्रतीक पनि हो,' उनी लेख्छन्।
वीरेन्द्रको पालासम्म प्रत्येक बाह्र वर्षमा राजा आफैं काष्ठमण्डप आएर पचली भैरवसँग खड्ग साटेका थिए। शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले आफू गद्दीबाट हटेपछि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न सहयोग गरे।
राजतन्त्र अन्त्यपछि यो खड्गसिद्धी परम्परा अब नाम मात्रको छ। पहिलो राष्ट्रपति रामवरण यादवका पालामा उनकै हातबाट खड्ग साट्ने कि भन्ने कुरा चलेको थियो। पचली भैरव मन्दिरका पुजारी तथा गुठियारहरू राजी भएनन्। त्यो प्रयास त्यत्तिकै रोकियो।
केही समयअघि मैले पचली भैरव मन्दिरका पुजारीलाई यसबारे सोधेको थिएँ। उनको भनाइ थियो, 'राजासँग खड्ग साट्ने भनेको हाम्रो प्राचीन परम्परा हो। यो सिद्धियुक्त खड्ग हो, राजाको ठाउँमा राष्ट्रपति आएर खड्ग साट्नु उनकै सुस्वास्थ्यका लागि पनि राम्रो हुँदैन।'
यसरी लिच्छविकालीन सत्ता हस्तान्तरण परम्पराको अवशेषका रूपमा रहेको पचली भैरव जात्राले यसपालि हाम्रो संस्कृतिमा 'न्यू नर्मल' विधि प्रवेश गरायो। हामीलाई कोरोनाकालमा 'न्यू नर्मल' तरिकाले कसरी जात्रा मनाउन सकिन्छ भन्ने पाठ सिकायो।
यति व्यवस्थित जात्राको चाँजो कसरी मिलाइयो त? लेखको तेस्रो खण्डमा अब हामी यसबारे चर्चा गरौं।
महिनादिन अघिसम्म जात्रा गर्ने कि नगर्ने निधो थिएन। सम्बन्धित गुठियारहरूले नगरी हुँदैन भने पनि व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जन दुबिधामै थिए। उनी केही साथीहरूलाई लिएर काठमाडौंका प्रमुख जिल्ला अधिकारीकहाँ छलफल गर्न गए। जात्रा सञ्चालन गर्न अनुमति मागे। तर, प्रमुख जिल्ला अधिकारी मानेनन्।
त्यसपछि फेरि गुठियारहरूको छलफल भयो।
उनीहरूले सुरक्षा उपाय अपनाउँदै थोरै मान्छे मात्र डाकेर जात्रा मनाउने निर्णय गरे र प्रमुख जिल्ला अधिकारीकहाँ कुरा गर्न गए।
'हामीले धेरै भीड गर्दैनौं, बाजागाजा धेरै राख्दैनौं, नित्यपूजा र अरू नगरी नहुने विधि मात्र गर्छौं भनेर सम्झायौं,' महर्जनले भने, 'बरू राति गर्दा अप्ठ्यारो हुन्छ भने दिउँसै गर्छौं।'
गुठियारहरूको प्रस्तावमा प्रमुख जिल्ला अधिकारी राजी भए। उनले जनसेवा र कालिमाटी प्रहरीलाई सुरक्षा प्रबन्ध मिलाउनू भनेर फोन गरिदिए।
'हामीले यति सामान्य ढंगमा त कहिल्यै जात्रा गरेका थिएनौं,' महर्जनले भने, 'यसपालि जति मान्छे आए, योभन्दा बीस गुना बढी भीड हुन्थ्यो।'
उनले अगाडि भने, 'पहिले विभिन्न टोलका विभिन्न संघ–संस्थालाई जात्रामा सरिक हुन आह्वान गरिन्थ्यो। यसपालि मैले नै नआउनुस् है भनेर आग्रह गरेँ। बरू हेर्न मन लागे सडककै किनारमा उभिएर हेर्नुस्, तर भीडभाड चाहिँ नगरिदिनुस् भनेर सम्झाएँ।'
गुठियारहरूले सामूहिक रूपमा यस्तो पहल गरेपछि जात्रामा सहभागीहरू स्वतः कम भए। पचली भैरवको खट बोक्न तोकिएका व्यक्तिबाहेक अरू झुम्मिएनन्। ज–जसले खट बोक्ने हो, उनीहरूमध्ये धेरैलाई पहिले नै पिसिआर गराएर कोरोना संक्रमण छ कि छैन जाँचिएको थियो। तीमध्ये नेगेटिभ रिजल्ट आएका १५–२० जनालाई मात्र खट बोक्न र अरू चाँजो मिलाउन तोकिएको महर्जनले जानकारी दिए।
'तिनलाई पनि सुरक्षानिम्ति 'पिपिई' लगाउन अनिवार्य गरेका थियौं,' उनले भने, 'हामीलाई विभिन्न दाताले ४० वटाभन्दा बढी 'पिपिई' दिएका थिए। यसबाहेक पन्जा, मास्क, स्यानिटाइजरजस्ता आवश्यक वस्तु हामी आफैंले किन्यौं।'
'जात्रामा बजाइने बाजागाजा चाहिँ कसरी कम भयो?'
'पहिले टोल–टोलबाट धिमे बजाउने समूहहरू आउँथे। एउटै समूहमा २०–२५ जना हुन्थे,' महर्जनले भने, यसपालि धिमे बजाउन रोक लगाइयो। जात्रालाई नभई नहुने नायखीं र गथू बाजा मात्र बजाउने अनुमति दिइयो।
नायखीं बाजा गणेश भगवानको निम्ति बजाइन्छ भने गथू बाजा भैरवलाई एकदमै मनपर्छ भन्ने कहावत छ।
अर्को दुबिधा 'जीवित देवी' कुमारीलाई हनुमानढोका ल्याउने कि नल्याउने भन्ने थियो। कोरोना महामारीका कारण पछिल्लो समय कुमारीलाई उनको बासस्थानबाट बाहिर निकालिएको छैन। यो जात्रामा भने कुमारीलाई पचली भैरवसँग आँखा जुधाजुध गराउनुपर्छ।
'हामीले यसमा पनि थोरै संशोधन गर्यौं,' महर्जनले भने, 'कुमारीलाई हनुमानढोकासम्म ल्याइएन, बरू कुमारी घरकै तल राखेर पचली भैरवलाई हेर्ने विधि सम्पन्न गरियो।'
यसरी कोरोना महामारीमा पनि सुरक्षित ढंगले जात्रा गरेर प्राचीन संस्कृतिलाई निरन्तरता दिन सकेकोमा व्यवस्थापन समितिका संयोजक महर्जन खुसी देखिन्छन्।
'यसपालि जात्रा मनाउन नपाएको भए वर्षौं वर्षदेखिको हाम्रो अटुट परम्परा तोडिन्थ्यो। कुनै चलन एकचोटि टुट्न गाह्रो हो, त्यसपछि त सबैले बहाना पाइहाल्छन्,' उनले भने, 'अहिलेको परिस्थितिसँग मिल्ने गरी जात्रालाई निरन्तरता दिन सकेकामा हामीलाई खुसी छ।'
यही 'न्यू नर्मल' विधिबाट जात्रा मनाउने हो भने कोरोनाकालमा पनि काठमाडौं उपत्यकाको संस्कृति र परम्परालाई निरन्तरता दिन सकिनेमा उनी आशावादी छन्।
बरू यसलाई व्यवस्थित गर्न समुदाय स्तरबाटै कार्यविधि पो बनाउने हो कि!