आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरी शुभारम्भ कसरी गरे होलान्?
पुत्रवियोगमा छट्पटिएकी रानी खुसी पार्न बनाएको पोखरी र मन्दिर खुला गर्दा उनले कम्ता तामझाम गरे होलान् र!
हामीले त्यो दृश्य हेर्न पाएनौं, तर त्यति बेलाको विवरण पढेर अनुमान भने लगाउन सक्छौं।
पोखरी वरिपरि हात्ती–घोडाको लश्कर लाग्यो होला। राजा–रानी र राजकुमारहरूलाई अघि लाएर दरबारका भाइभारदार र विशिष्ट व्यक्तिहरूको सवारी चल्यो होला। सेनाको एउटा टुकडी बढाइँ गर्न आएको हुनुपर्छ।
राजा–रानी र राजकुमारहरू हनुमानढोका दरबारदेखि नै हात्ती चढेर आएका थिए कि!
पोखरीको दक्षिणी किनारमा प्रताप मल्ल र उनका दुई छोरा हात्तीमा सवार शालिक त्यसै बेलाको सम्झना त होइन!
एउटा कुरा चाहिँ पक्कै हो, राजा प्रताप मल्लले पनि विभिन्न तीर्थस्थलको 'पवित्र' जल त्यसरी नै चढाए होलान्, जसरी यसपालि राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले कलशबाट जल अर्पण गरेर पुनर्निर्मित रानीपोखरी शुभारम्भ गरिन्।
२०७२ को भुइँचालोपछि 'खण्डहर' बनेको रानीपोखरी साढे पाँच वर्षपछि पुरानै स्वरूपमा फर्किएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणको काम सकेपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतले बुधबार औपचारिक शुभारम्भ गरेका हुन्।
यस अवसरमा विभिन्न ४६ तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको छ। गोसाइँकुण्ड, तिलिचो ताल, मुक्तिनाथ, बढिमालिकादेखि भारतका बनारस, गंगोत्री, यमुना, हरिद्वार, बद्रीनाथ, केदारनाथ लगायत तीर्थस्थलको जल चढाइएको प्राधिकरणले जनाएको छ। प्रताप मल्लले पनि नेपाल र भारतका ५१ तीर्थस्थलको जल हालेको इतिहास छ।
उद्घाटनसँगै एउटा प्रश्नमा सबैको चासो छ– हामी कहिले छिर्न पाउँछौं रानीपोखरी?
रानीपोखरीलाई काठमाडौंको 'मुटु' भनिन्छ। तर, हामीले यो मुटुको ढुकढुकी छाम्न पाएका छैनौं। विगतमा पनि तिहारको भाइटीकाबाहेक अरू बेला सर्वसाधारणलाई छिर्न दिइन्थेन। हामीले रानीपोखरी देखेका छौं, यसलाई आँखा र मुटुभरि बसाएका पनि छौं, तर भित्र छिरेर यसको सौन्दर्यको स्वाद लिन पाएका छैनौं।
हामीले यो मल्लकालीन सम्पदालाई 'बन्द' संग्रहालयजस्तो राख्यौं, जसलाई टाढाबाट हेर्न त सकिन्छ, नजिक गएर छुन पाइँदैन। यसलाई हामीले मन्दिर बनाएनौं, जहाँ मान्छे आउँछन्, छुन्छन्, दर्शन गर्छन् र रमाउँछन्।
अब पनि यसलाई संग्रहालयजस्तै मान्छेको पहुँचबाट अलग राख्ने कि मन्दिरजस्तै खुला गर्ने?
हामीले यिनै प्रश्न प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसहित रानीपोखरी संरक्षणमा लागेका अभियन्ताहरूलाई सोध्यौं।
सबभन्दा पहिला प्राधिकरणको कुरा सुनौं।
प्राधिकरणले सर्वसाधारणको प्रवेश कसरी खुला गर्ने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे काठमाडौं महानगरपालिकासँग मिलेर कार्यविधि बनाउँदैछ। कार्यविधि तयार नभएसम्म नियन्त्रित रूपमा सर्वसाधारणलाई जान दिने ज्ञवालीले बताए।
त्यो भनेको के?
ज्ञवालीले विस्तार लगाए, 'मान्छेहरू रानीपोखरी कस्तो बन्यो भनेर हेर्न उत्सुक छन्। उनीहरूलाई रोक लगाएर निराश पार्न हुन्न। त्यसैले भोलिबाटै यहाँ घुम्न आउन सकिन्छ। अहिलेलाई भीडभाड नहुने गरी थोरै मान्छे मात्र पठाउने कि भन्ने सोचेका छौं।'
थोरै मान्छे कसरी पठाउने? एकैचोटि धेरै आए भने?
'सही हो, एकैचोटि धेरै भीड पनि लाग्नसक्छ,' उनले जवाफ दिए, 'खासमा हामीलाई रानीपोखरी खुला गर्दा दिनको औसत कति मान्छे आउलान् भन्ने अनुमान नै छैन। विगतमा यसको अनुभव हामीले गरेकै छैनौं।'
उनले अगाडि भने, 'अबको एक–दुई महिना यसको अध्ययन गर्नेछौं। यसनिम्ति पनि मान्छेलाई आउन दिनुपर्छ। पोखरीले धान्नसक्ने मात्र आए कुनै समस्यै भएन। भीड लाग्न थाल्यो भने संख्या नियन्त्रण गरेर छिराउन सकिन्छ। सुरक्षागार्डहरू राख्ने र निश्चित संख्याका मान्छे छिरेपछि ढोका बन्द गर्न सकिन्छ।'
रानीपोखरी छिर्न पैसा लिने कि नलिने भन्ने पनि तय नभएको उनले बताए।
'भीडभाड नियन्त्रण गर्न निश्चित शुल्क लिनुपर्छ कि भन्ने हामीलाई लागेको छ। तर, ठ्याक्कै कति लिने वा लिने कि नलिने निर्णय भइसकेको छैन,' उनले भने, 'अहिलेलाई भने पैसा तिर्नुपर्दैन।'
ज्ञवालीको कुरा सुनेर हामीले के बुझ्यौं भने, रानीपोखरी सधैंको निम्ति खुला गर्ने कि नगर्ने वा कसरी गर्ने भन्नेबारे प्रस्ट खाका बनिसकेको छैन।
संरक्षण अभियन्ताहरू यसबारे के भन्छन् त?
महानगरपालिकाले 'स्विमिङ पुल' मा परिणत गर्न आँटेको जुन पोखरी जोगाउन अभियन्ताहरू सडकमा ओर्लेका थिए, त्यसको भविष्य निर्धारण गर्ने एक प्रमुख सरोकारवाला उनीहरू पनि हुन्।
सबभन्दा पहिला कुरा सुनौं, यस अभियानका एक प्रमुख अभियन्ता आलोकसिद्धि तुलाधरको।
उनी तत्कालै खुला गर्नुपर्छ भन्ने पक्षमा छैनन्। त्यसो गर्दा उधूम भीड लागेर व्यवस्थापन गाह्रो हुने र गहिरो पोखरी भएकाले सुरक्षा जोखिम हुनसक्ने उनको भनाइ छ।
'रानीपोखरी परिसर सानो छ। यसले ठूलो भीड धान्न सक्दैन। प्राधिकरणले दोस्रो चरणमा जमल र शान्ति वाटिका पुनर्निर्माण गर्ने भनेको छ। यी दुइटै क्षेत्र बनेपछि वरिपरि फराकिलो खुला स्थल तयार हुनेछ। रत्नपार्कको सडकमा सवारी आवागमन निषेध गर्यो भने पनि सर्वसाधारणले प्रशस्त ठाउँ पाउँछन्। यसका लागि धेरै समय कुर्नु पनि पर्दैन। यहाँ गुड्ने गाडीलाई अहिल्यै त्रिचन्द्र कलेज घुमाइदिन सकिन्छ। यसले रानीपोखरी र रत्नपार्क आपसमा जोडिन्छन्। सर्वसाधारणले बस्न र हिँडडुल गर्न ठूलो क्षेत्र पाउने छन्। त्यसपछि मात्र रानीपोखरीमा प्रवेश खुला गर्दा व्यवस्थापन गर्न सजिलो हुन्छ,' उनले भने।
उनले अगाडि भने, 'अहिले एकैचोटि खुला गर्दा भीड अनियन्त्रित भए के गर्ने? पोखरी नजिक जाँदा केटाकेटी खसे भने के गर्ने? त्यसको जिम्मेवारी कसले लिने? त्यसैले अलि समय लिएर राम्ररी तयारी गर्नु नै ठिक जस्तो लाग्छ।'
महानगरपालिकालाई सहरबीचको यस्तो सार्वजनिक ठाउँ कसरी व्यवस्थापन गर्ने भनी प्रशिक्षित गराउनु पनि जरूरी भएको उनको भनाइ छ।
'रानीपोखरी सहरको मध्य भागमा रहे पनि सहरवासीलाई यहाँ निर्वाध प्रवेश गर्न दिएको अनुभव छैन। भोलि त्यसरी प्रवेश गर्न दिँदा रानीपोखरीको हालत रत्नपार्कजस्तो हुन के बेर!' उनले शंका व्यक्त गरे।
प्रवेश शुल्क लिने 'आइडिया' मा उनी सहमत छैनन्। जनताको प्रवेश खुला गर्ने हो भने निःशुल्क हुनुपर्ने उनको राय छ।
'रानीपोखरीलाई कमाइको भाँडो बनाउनुहुन्न। यो काठमाडौं सभ्यता र संस्कृतिको हिस्सा हो। यस्तो ठाउँमा राज्यले लगानी पो गर्नुपर्छ। यसबाटै कमाइ गर्छु र त्यही कमाइले संरक्षण गर्छु भन्नु गलत हो।'
सुसन वैद्य रानीपोखरी संरक्षणका अर्का सक्रिय अभियन्ता हुन्। पेसाले आर्किटेक्ट उनी रानीपोखरीलाई काठमाडौंको 'खुला स्थल' बनाउनुपर्ने पक्षमा छन्।
उनले यसलाई सहरी योजनाको अवधारणासँग जोड्दै भने, 'सहर भनेको चिल्लो सडक, झलमल्ल बिजुली र ठूल्ठूला व्यापार केन्द्रहरू भएको ठाउँ मात्र होइन। यहाँ सर्वसाधारणलाई खुला हावामा सास फेर्ने सार्वजनिक स्थलको पनि खाँचो पर्छ, जहाँ हरेक व्यक्तिले निर्वाध आउजाउ गर्न पाउँछन्। रानीपोखरीलाई त्यस्तै सार्वजनिक स्थलमा परिणत गर्नुपर्छ।'
'भौतिक सुविधाले मात्र सहरको अवधारणा पूरा हुँदैन। नगरवासीको शारीरिक र मानसिक स्वास्थ्यलाई चाहिने पूर्वाधारहरू पनि हुनुपर्छ। सार्वजनिक स्थल भनेको त्यस्तै पूर्वाधार हो। यसलाई बन्द राख्ने हो भने रानीपोखरी बन्नु र नबन्नुको के सार!'
खुला गर्दा सर्वसाधारणको भीड थेग्न सक्छ त?
मेरो यो प्रश्नमा सुसनले भने, 'मान्छेहरू सयौंको संख्यामा आए रानीपोखरीले धान्न सक्दैन कि भन्ने प्रश्न जायज हो। तर, यसलाई म अर्कै दृष्टिबाट हेर्छु।'
'रानीपोखरी खोल्नेबित्तिकै सयौंको भीड लाग्नु भनेको नै काठमाडौंमा खुला सार्वजनिक स्थलहरूको अभाव पुष्टि हुनु हो। यो अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्तजस्तै हो। जहाँ सार्वजनिक स्थल प्रशस्त हुन्छन्, त्यहाँ एकैठाउँ भीड लाग्दैन, जहाँ कम हुन्छ, त्यहाँ भीड लाग्छ। भीड लाग्छ भन्दैमा मान्छेलाई आउनै नदिने कुरा हुन्न।'
उनले अगाडि भने, 'हामीले बरू सहरभरि बढीभन्दा बढी सार्वजनिक स्थल निर्माण गर्ने पाठ सिक्नुपर्छ। रानीपोखरीजस्तो ठाउँ सहरभरि निर्माण हुने हो भने भीड एकैठाउँ केन्द्रित हुने समस्या स्वतः समाधान हुन्छ।'
रानीपोखरीदेखि रंगशालासम्म फैलिएको बृहत् टुँडिखेल मास्टरप्लान यसमा सहायक हुनसक्छ। मास्टरप्लानअनुसार रानीपोखरी, रत्नपार्क, खुलामञ्च र टुँडिखेल गाभ्ने हो भने काठमाडौंभरिका जनतालाई विशाल खुला स्थल उपलब्ध हुनेछ, उनले भने, 'हाम्रो अकुपाई टुँडिखेलको उद्देश्य यही हो। सरकारले अब रानीपोखरीसँगै रत्नपार्क र टुँडिखेल पनि खुला स्थलमा परिणत गर्नुपर्छ, ताकि मान्छेको भीड सबैतिर बराबर छरियोस्।'
सार्वजनिक स्थलमा हुनसक्ने भीड व्यवस्थापन, सरसफाइ लगायत चुनौती समाधान गर्न सजिलो होस् भनेरै तीन तहको सरकार बनाइएको उनले बताए।
'जनताको दैनिक जीवन, स्थानीय व्यवहार, सम्पदा र संस्कृतिसँग जोडिएको मुद्दा सम्बोधन गर्न तल्लो तहको सरकारले काम गर्नुपर्छ। यो काठमाडौं महानगरको चुनौती हो। ऊ बहाना बनाएर जिम्मेवारीबाट पन्छिन पाउँदैन,' उनले भने।
'संग्रहालयमा राखेको भगवान र मन्दिरको भगवानबीच के अन्तर छ?' उनले उदाहरण दिए, 'संग्रहालयमा भगवानको मूर्ति हेर्दै हामी आहा भन्छौं, तर पूजा गर्दैनौं। मन्दिरको भगवानसँग हाम्रो आस्था जोडिएको हुन्छ। रानीपोखरीलाई संग्रहालय बनाउने कि मन्दिर? हामीले निर्णय गर्दा यही प्रश्न विचार गर्नुपर्छ।'
उनले यसैमा जोडे, 'सवाल रानीपोखरी खुला गर्ने कि नगर्ने भन्ने होइन। सवाल खुला भएपछि व्यवस्थापन कसरी गर्ने भन्ने हो। फोहोरमैला हुन नदिने, यहाँ आउने मान्छेको सुरक्षा गर्ने र सौन्दर्य बिग्रन नदिने हो। यसका लागि के गर्नुपर्छ, हाम्रो बहस त्यतातिर केन्द्रित हुनुपर्छ।'
हामीले पोर्चुगलबाट सम्पदा संरक्षणमा विद्यावारिधि गरेकी मोनालिसा महर्जनसँग पनि कुरा गर्यौं।
उनी सुसनले भनेजस्तै 'खुला सार्वजनिक स्थल' कै अवधारणामा जानुपर्ने बताउँछिन्। तर, यसबाट उत्पन्न हुनसक्ने बेथिति रोक्न चरणबद्ध खुला गर्दै मान्छेलाई बानी पार्नुपर्ने उनको राय छ।
'विदेशतिर सहरको बीचमा ठूल्ठूला पार्क र सम्पदा स्थलहरू राम्ररी स्याहारेर राखिएको हुन्छ। त्यहाँ प्रवेश गर्न रोकतोक हुँदैन। बगैंचाबाट फूल चोर्ने, गमला उठाएर लैजाने, बदाम खाएर यत्रतत्र फोहोर गर्ने समस्या पनि छैन,' उनले भनिन्।
'हामीसँग मध्य–सहरमा सार्वजनिक स्थल सञ्चालन गरेको अनुभव छैन। यस्तो ठाउँमा नागरिकले निर्वाह गर्नुपर्ने कर्तव्य के हो? नगरपालिकाकाले कसरी व्यवस्थापन गर्नुपर्ने हो? यी दुवै पक्षलाई बराबर प्रशिक्षित गर्नु जरूरी छ।'
'रानीपोखरी भनेको पोखरी र मन्दिर मात्र होइन। यहाँ अरू थुप्रै सम्पदा छन्। प्रताप मल्ल हात्ती चढेको विशाल शालिक छ। विष्णु भगवानको पाँच फिट अग्लो मूर्ति छ। अरू पनि थुप्रै धरोहर छन्। खुला गर्दा त्यसको संरक्षण कसरी गर्ने भनेर सोच्नुपर्छ।'
आलोक, सुसन र मोनालिसाका तीनथरी विचार सुन्दा रानीपोखरीलाई 'खुला स्थल' बनाउनुपर्नेमा एकमत देखिन्छ। सँगसँगै सम्पदा र सर्वसाधारण दुवैको सुरक्षामा ध्यान दिँदै कार्यविधि बन्नुपर्ने उनीहरू बताउँछन्।
तपाईंहरू के ठान्नुहुन्छ?
यी पनि हेर्नुहोस्: