कर्णाली प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्लाका रुपमा रहेको दैलेख जिल्लालाई पछिल्लो समय सुर्खेतले उछिनेको छ। करिब दुई महिनायता कर्णाली प्रदेशमा थपिने कोरोना संक्रमितहरूमा सबैभन्दा धेरै सुर्खेतका छन्।
दैलेखमा कोरोनाबाट संक्रमण हुनेको संख्या अहिले १ हजार २८८ जना छ। सुर्खेतमा भने २०८२ जना कोरोनाबाट संक्रमित भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। सुरूमा कोरोना संक्रमित दैलेखमा धेरै देखिने गरे पनि पछिल्लो समय भने सुर्खेतले उछिनेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।
कर्णाली प्रदेशका राजधानीका रुपमा सुर्खेत भएकाले यहाँबाट आवतजावत गर्ने क्रम धेरै हुँदा कोरोना संक्रमणदर धेरै देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए। ‘सुर्खेतमा वास्तवमै संक्रमण धेरै नै फैलिएको हो,’ वाग्लेले भने, ‘पिसिआर पनि धेरै गरिएको छ, अर्को कुरा जहाँ धेरै परीक्षण हुन्छ, त्यहाँ संक्रमण धेरै देखिनु स्वभाविकै हो।’
यसका अलावा सुर्खेतमा कोरोना संक्रमणदर धेरै देखिनुमा अरु पनि कारण छन्। संक्रमणको दर बढ्दै जाँदा लकडाउन खुल्नु, धेरैजसो स्वास्थ्य संस्थाहरू सुर्खेतमै हुनु, कर्णाली प्रदेशसँगै सुदूरपश्चिमका जिल्लाहरूका मानिसको आवागमन गर्ने प्रमुख विन्दूका रुपमा सुर्खेत नै हुनुजस्ता कारणले सुर्खेतमा संक्रमणदर धेरै देखिएको वाग्लेले बताए।
‘जब देशमा थोरै केस थियो लकडाउन भयो, अहिले केस बढ्दै जाँदा लकडाउन पनि खुल्यो,’ उनले भने, ‘सुर्खेत मात्र होइन, यस्तो अवस्थामा सबै ठूला सहरमा जति प्रयास गरे पनि कोरोना संक्रमण दर बढ्छ।’
वाग्लेका अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलिएसँगै समग्रदर बढी देखिएको हो। उनले समुदायमा पनि कोरोना संक्रमणको अवस्था धेरै देखिएको पाइएको बताए। ‘राजधानी भएकाले यहीँ ठूला स्वास्थ्य संस्था छन्, त्यहाँ उपचार गराउन आउँछन्,’ उनले भने, ‘उनीहरूबाट स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा सर्छ, उनीहरूबाट अरुमा सरेको हुन सक्छ।’
कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर धेरै भएको तेस्रो जिल्लाका रुपमा सल्यान छ। सल्यानमा ४६१ जनामा कोरोना संक्रमण भएको छ। केही समय अघिसम्म दैलेख पहिलो थियो भने सल्यान दोस्रोमा थियो।
कर्णाली प्रदेशका १० वटै जिल्ला तथा केही सुदूरपश्चिमका जिल्लामा पुग्न र बाहिरिनका लागि सुर्खेत प्रवेशद्वारका रुपमा रहेको छ। कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै भएको लकडाउन यता ८२ हजार १२३ जना विभिन्न ठाउँबाट कर्णाली आएका छन्।
जसमध्ये भारतबाट ६२ हजार ६५३, तेस्रो मुलुकबाट १ हजार २७ जना र अन्य प्रदेशबाट १८ हजार ४४३ जना कर्णाली प्रदेशमा भित्रिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ९२५ रहेको छ। जसमध्ये ३ हजार ७६० पुरुष छन् भने १ हजार १६५ जना महिला छन्। उमेरका आधारमा सबैभन्दा धेरै २० देखि २९ बर्ष उमेर समुहका संक्रमित छन्।
यो उमेर समूहका १ हजार ८८६ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबारसम्म जुम्लाका २६०, कालिकोटका २१०, रुकुम पश्चिमका १५२, जाजरकोटका ८८, हुम्लाका २६, मुगुका २० र डोल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, कर्णाली प्रदेशमा गरिएको पिसिआर परीक्षणका क्रममा पोजिटिभ देखिएकामध्ये ३२४ जना अन्य प्रदेशका छन्।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशका कूल संक्रमितमध्ये ३ हजार ६७८ जना डिस्चार्ज भएका छन्। अब १ हजार २३५ जना सक्रीय संक्रमित छन्। यो कूल संक्रमितमध्ये २५.१ प्रतिशत हो। यस्तै हालसम्म १३ जना (०.२ प्रतिशत) को कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मृत्यु भएकामध्ये सुर्खेतका ६ जना, दैलेखका ५ जना, डोल्पा र बाँकेका एक-एक जना छन्। कर्णाली प्रदेशमा हालसम्म ८३ हजार ६६ जनाको पिसीआर परीक्षण गरिएको छ। जम्मा परीक्षणमध्ये ५.९ प्रतिशतमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ।
६२ आइसोलेसन, २६ भेन्टिलेटर
कर्णाली प्रदेशमा हाल ६२ वटा आइसोलेसन बेड छन् भने २६ वटा भेन्टिलेटर छन्। जसमध्ये कोभिड–१९ को संक्रमणपछि मात्र कर्णाली प्रदेशमा ४५ आइसियू र १९ वटा भेन्टिलेटर थप गरिएको छ।
सामाजिक विकास मन्त्री दल रावलका अनुसार कोरोना महाममारीका समयमा प्रदेश सरकारले प्रायः सबै जिल्लामा आइसियू र भेन्टिलेटर थप गरेको छ। उनका अनुसार चैत अघिसम्म प्रदेशभर ७ वटा भेन्टिलेटर र १७ वटा आइसियू थिए।
पछि थप गरिएकामध्ये एउटा आइसियू युएनडिपीले उपलब्ध गराएको हो। बाँकी सबै प्रदेश सरकारले बजेट दिएर अस्पतालहरुले किनेको उनले बताए।
चैतयता मुगु, जाजरकोट, रुकुम पश्चिम, सल्यानका जिल्ला अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक-एक वटा, हुम्ला, कालिकोट र दैलेखका जिल्ला अस्पतालहरूमा २-२ वटा, सुर्खेतको प्रदेश अस्पतालमा ८ वटा भेन्टिलेटर थप गरिएको मन्त्री रावलले जानकारी दिए।
यस्तै, मुगुमा २ वटा, हुम्ला र कालिकोटमा ५-५ वटा, दैलेखमा २ वटा, जाजरकोटमा २, रुकुम पश्चिममा ६, सल्यानमा २ र सुर्खेतमा २१ वटा आइसियू थप गरिएको छ।
स्वास्थ्य सामग्री खरिद्का लागि पठाइएको ७ करोड बजेटबाट अस्पतालहरू आफैंले ती सामग्री खरिद् गरेको मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए।
यस्तै, हाल प्रदेशभर ३५३ वटा क्वारेन्टाइन छन्। क्वारेन्टाइन बेड भने २२ हजार ७८६ वटा छन्। प्रदेशभर १११ वटा हेल्थ डेस्क स्थापना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।