सुर्खेतमा एक जना युवकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।
गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको बिहीबार बेलुका मृत्यु भएको हो। कर्णाली प्रदेश अस्पातलमा उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
ती युवकमा कोरोना भाइरसको लक्षण समेत देखिएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए। उनका अनुसार ती युवकलाई सास फेर्न गाह्रो भएको थियो।
२८ गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षामा भर्ना भएका उनलाई सास फेर्न गाह्रो भएपछि लगत्तै सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनको मुखमा पाइप राखेर उपचार गरिएको र सुधार नभएपछि २९ गते बिहान एक्सरे गर्दा फोक्सोको बाहिरी भागमा हावा भरिएको पाइएको पौडेलले जानकारी दिए।
त्यसपछि उनलाई छातीमा पनि पाइप राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा २९ गते बिहान उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। ५ बजे मृत्यु भएका ती युवकको साँझ ७ बजे आएको पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको पौडेलले बताए।
‘उपचारका क्रममा पनि उहाँको मुटुको चाल आएको थिएन, बेलुका मृत्यु भएको हो,’ डा. पौडेलले भने, ‘उहाँलाई लक्षणसहितको कोरोना संक्रमितको मृत्युको संख्यामा हाल्न सकिन्छ।’
उनका अनुसार कर्णाली प्रदेशमा लक्षणसहितको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि पनि प्रदेश अस्पतालबाट नेपालगञ्ज पठाइएका एकजना लक्षणसहितका कोरोना संक्रमितको मृत्यु भएको थियो।
बिहीबार बेलुका मृत्यु भएका गुर्भाकोटका युवक वीरेन्द्रनगरस्थित आफ्नो ठूलो बुवाको घरमा बसेर पढिरहेका थिए। २८ गते साँझ शौचालय गएका उनी लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तले ढोका खोलका थिए। त्यसबेला उनको मुखमा फिज आएको अवस्थामा बेहोस भेटिएका थिए।
मन्त्रालयका अनुसार ती युवकमा अन्य कुनै रोग देखिएको थिएन।
उनको शव शुक्रबार जनस्वास्थ्य कार्यालयको समन्वयमा नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसहित कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या १२ पुगेकाे छ ।