नाम, थर, उमेर, ठेगाना र पेसा सुन्दा कतै यी दुई जना जुम्ल्याहा त होइनन् भन्ने तपाईंहरूलाई लाग्न सक्छ।
नाममा बीचको एउटा अक्षर फरक छ, अनि पहिलो अक्षरमा उकारको अन्तर।
एक, सुमन महर्जन, अर्को सचिन महर्जन।
दुवैको उमेर ३८ वर्ष।
दुवै काठमाडौंका रैथाने, पुर्ख्यौली घर ज्याठा।
दुवैले आर्किटेक्ट इञ्जिनियरिङ पढे।
र, अहिले दुवै 'आर्किटेक्ट्स डिजाइन एसोसिएट्स' (एडिए) मा काम गर्छन्।
यति धेरै समानता भए पनि उनीहरू जुम्ल्याहा चाहिँ होइनन् है।
यी दुवै कान्तिपथ र ठमेलबीचको ज्याठा टोलमा लगभग उही समयतिर जन्मे, उही समयतिर हुर्केबढे। तर, टोलमा भेट कहिल्यै भएन। काठमाडौंमा यसै पनि टोलहरू यति चाक्ला र बाक्ला छन्, वल्लो छेउकाले पल्लो छेउकालाई चिन्न कि एउटै गुठीको हुनुपर्छ, कि एउटै खलक। कि सँगसँगै स्कुल पढेको हुनुपर्यो। त्यसमाथि सचिन त ज्याठाबाट वनस्थली सरिसके।
सुमन र सचिनको भेट एकैचोटि इञ्जिनियरिङ लाइन समातेपछि भयो, एडिए सहकर्मीका रूपमा।
पात्रहरूको छोटो इन्ट्रोपछि अब लागौं स्टोरीतिर।
२०७२ को भुइँचालोले 'खण्डहर' बनेको रानीपोखरी साढे पाँच वर्षपछि पुरानै स्वरूपमा फर्किएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणको काम सकेर यही दसैंमा उद्घाटनको तयारी गर्दैछ।
यसै सन्दर्भमा हामीले काठमाडौंलाई माया गर्ने ती अभियन्ताहरूको कुरा गर्यौं, जसको दबाबले रानीपोखरी अहिलेको स्वरूपमा आयो। भक्तपुरका ती कालिगढ महिलाहरूका बारेमा पनि कुरा गर्यौं, जसका शिल्पी हातले रानीपोखरी रेस्क्यू गर्यो। प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीका मुखबाट भावी योजना पनि हामीले सुन्यौं।
आज चाहिँ रानीपोखरी डिजाइन गर्ने दुई जना इञ्जिनियर सुमन र सचिन महर्जनको कुरा गर्दैछौं। जसले पोखरी, पुल, मन्दिर र बगैंचाको अहिलेको स्वरूपलाई सादा कागजमा उतार्ने काम गरे।
मैले सुमन र सचिनसँग केही दिनअघि मेसेन्जर भिडिओमा लामो वार्ता गरेको थिएँ।
'रानीपोखरीमा हाम्रो प्रवेश पुनर्निर्माण प्राधिकरणले जिम्मेवारी पाएपछि भयो,' सुमनले भने, 'प्राधिकरणले मल्लकालीन शैली र सामग्री प्रयोग गर्ने निर्णय गरेको थियो। विस्तृत डिजाइन तयार पार्न प्रस्ताव आह्वान गरियो। सबैको प्रस्ताव भिडाउँदा हाम्रो छनौट भयो।'
सचिनले थपे, 'हामीलाई तीन–चारवटा जिम्मेवारी दिइएको थियो– मन्दिर, पुल र पोखरीको विस्तृत नक्सा बनाउने, त्यहाँको ल्यान्डस्केप डिजाइन गर्ने र काम सुपरीवेक्षण गर्ने।'
सुरूमा उनीहरूले सम्पन्न भइसकेका कामको विस्तार लगाए। यसमा बालगोपालेश्वर मन्दिर सबभन्दा चुनौतीपूर्ण रह्यो।
पोखरीबीचको यो मन्दिर भुइँचालोअघि गुम्बज शैलीको थियो, जुन जंगबहादुर राणाले निर्माण गराएका थिए। यसको वास्तविक स्वरूप भने त्यस्तो थिएन। साढे तीन सय वर्षअघि राजा प्रताप मल्लले ग्रन्थकुट शैलीमा बनाएका थिए। प्राधिकरणले त्यही शैली ब्युँताउने भनेको थियो। तर, त्यति बेलाको नापनक्सा उपलब्ध थिएन। केही मसिना 'क्लू' मात्र थिए।
जस्तो– सन् १७२१ मा एक क्रिश्चियन पादरी काठमाडौं घुम्न आएका थिए। उनले रानीपोखरी मन्दिर पातलो र अग्लो छ भनेर वर्णन गरे। उनको वर्णन ग्रन्थकुट शैलीसँग मिल्थ्यो, तर बनोट यकिन हुन्थेन।
सन् १८४५ मा काठमाडौं आएका प्रुसियाका राजकुमार वाल्डेमरले भने आफ्नो यात्रा वृत्तान्तसँगै रानीपोखरीको चित्र पनि संकलन गरे। उक्त चित्रमा मन्दिरको तत्कालीन ग्रन्थकुट स्वरूप प्रस्टै देखिन्छ।
भुइँचालोपछि पोखरी उत्खनन् गर्दा फेला परेका केही पुराना वस्तुले पनि मन्दिरको नापनक्सा कोर्न सहयोग गर्यो।
त्यसमा एउटा त, मन्दिरको भग्नावशेषभित्र फेला परेको काठको फ्रेम हो। राणाहरूले गुम्बज शैलीमा बनाउँदा सबैतिर सिमेन्ट, प्लास्टर र फलामे छड प्रयोग गरेका थिए। एउटा ठाउँमा भने पुरानो काठको फ्रेम जस्ताको तस्तै राखेछन्। त्यो ग्रन्थकुट शैलीकै हिस्सा हो भन्ने सम्पदाविद् सुदर्शनराज तिवारीको ठम्याइ छ।
दोस्रो वस्तु हो, पोखरीको पिँधमा फेला परेको गजुरको हिस्सा, जुन गुम्बज शैलीसँग मेल खान्थेन। तिवारीका अनुसार, त्यो ग्रन्थकुट मन्दिरमा राखिने गजुरको हिस्सा थियो।
जसरी जीव वैज्ञानिकले हड्डीको आकार हेरेर मान्छेको उचाइ नाप्न सक्छ, जसरी भूगर्भविद्ले चट्टान र माटोको बनोट हेरेर कुनै पनि ठाउँको भौगर्भिक इतिहास भन्दिन सक्छ, त्यसरी नै इञ्जिनियरले पनि कुनै संरचनाबाट चोइटिएका भागको नापनक्सा र बनोट हेरेर त्यसको पूर्ण चित्र कोर्ने क्षमता राख्छ।
यहाँ पनि त्यस्तै भयो।
रानीपोखरीको जिम्मा पाएपछि प्राधिकरणले सम्पदाविद् तिवारी, पुरातत्वविद् विष्णुराज कार्की लगायतको विज्ञ टोली गठन गरेको थियो। यो टोलीले वाल्डेमरको डायरीमा भेटिएको चित्र र रानीपोखरीमै फेला परेका पुराना वस्तुका आधारमा बालगोपालेश्वर मन्दिरको ग्रन्थकुट बनोट आकलन गर्यो र प्रारम्भिक नक्सा तयार पार्यो।
सुमन र सचिन जोडिएपछि उनीहरूले त्यसैलाई विस्तृत स्वरूप दिए।
'हामीले वाल्डेमरको चित्रलाई मुख्य 'रिफरेन्स' मान्यौं,' सुमनले भिडिओ वार्तामा भने, 'ग्रन्थकुट शैलीका अरू मन्दिरहरूको बनोट र ढाँचा अध्ययन गर्यौं। सुदर्शन (तिवारी) सर र अरू विज्ञहरूसँग पनि सरसल्लाह लियौं।'
उनीहरूले अध्ययन गरेका मन्दिरमा स्वयम्भूको प्रतापपुर र अनन्तपुर प्रमुख छन्। यी दुवै प्रताप मल्लले ग्रन्थकुट शैलीमै बनाएका हुन्। एउटा आफ्नो नाममा, अर्को रानीका नाममा। यसअघि विज्ञ टोलीले पनि यिनै दुइटा मन्दिरलाई आधार मानेका थिए।
पशुपतिको गोरखनाथ, पाटन दरबार स्क्वायरको नरसिंह नारायण र भक्तपुरको केदारनाथ मन्दिरको बनोट पनि अध्ययन गरेको सुमन बताउँछन्।
'यी सबै ग्रन्थकुट शैलीमा बनेका छन्,' सचिनले सुमनको भनाइलाई निरन्तरता दिए, 'यसले हामीलाई ग्रन्थकुटको इञ्जिनियरिङ के हो र कसरी बनाइन्छ भन्ने बुझ्न मद्दत भयो।'
यो त भयो मन्दिरको कुरा, रानीपोखरी पुललाई अहिलेको स्वरूपमा ल्याउन पनि उत्तिकै गाह्रो भएको उनीहरू सुनाउँछन्।
भुइँचालोले पुलमा खासै ठूलो क्षति भएको थिएन। तर, प्राधिकरणको हातमा आउँदासम्म जीर्ण भइसकेको थियो। थुप्रै ठाउँ चिरा परेका थिए। यत्रतत्र पिपलको जरा फैलिएको देखिन्थ्यो। त्यसलाई मन्दिरजस्तै मल्लकालीन स्वरूप दिने प्राधिकरणको योजना थियो, सुमनले भने, 'तर, त्यसमा एउटा समस्या आयो।'
उनले समस्या विस्तार लगाए, 'त्यसलाई पुरानै स्वरूपमा लैजान हामीसँग पहिलेको रिफरेन्स केही थिएन।'
'अनि कसरी बन्यो त मल्लकालीन डिजाइन?' मैले सोधेँ।
'पानीको सतहभन्दा माथिको भाग त जम्मै नयाँ ढाँचाको थियो। सायद जंगबहादुर राणाले गुम्बज शैलीको मन्दिर बनाउँदा पुल पनि त्यस्तै बनाए। त्यसमा सिमेन्ट, कंंक्रिट प्रशस्त प्रयोग भएका थिए। धन्न पानीको तहभन्दा मुनिको भाग मल्लकालीन अवस्थामै रहेछ,' मेसेन्जर भिडिओमा सुमनका आँखा चम्के।
उनले अगाडि भने, 'त्यहाँ मल्लकालीन इँटा जस्ताको तस्तै थियो। अलिकति पनि गलेको थिएन। त्यसको स्ट्रेन्थ नाप्दा भर्खरै भट्टीमा पोलेर ल्याएको नयाँ इँटा बराबर थियो। त्योभन्दा खुसीको कुरा त अझै अर्को छ।'
म सुन्न उत्सुक थिएँ।
'पानीको तहभन्दा मुनिको खण्डमा हामीले इँटाको निश्चित 'प्याटर्न' देख्यौं।'
'प्याटर्न भन्नाले?'
'हामी सबैले घरको पर्खाल बनाएको त देखेकै छौं। इँटाहरू लश्करै राखिन्छ। एकमाथि अर्को खात मिलाइन्छ। त्यसरी खात मिलाउँदा एउटा डिजाइन बन्छ। कालिगढको हातअनुसार त्यो डिजाइन फरक हुन्छ।'
'उसो भए रानीपोखरी पुलको पर्खालमा त्यस्तो प्याटर्न विशेष थियो?'
'एकदमै विशेष, सर्लक्कै छुट्टिने,' सुमनले भन्दै गए, 'तल्लो लहरमा जम्मै इँटा दाहिने ढल्केको थियो, दोस्रो लहरमा देब्रे, तेस्रोमा फेरि दाहिने, फेरि देब्रे। अनि तेर्सो, ठाडो, फेरि तेस्रो। त्यसपछि यो पूरै ढाँचा दोहोरिएको।'
'यसलाई माछा कत्ले डिजाइन भनिन्छ। पुलको त्यो प्याटर्न पोखरीको डिलसँग मिल्दोजुल्दो थियो। यति क्लू भेटेपछि हामीलाई सजिलो भइहाल्यो। पुलको तल्लो भाग सामान्य मर्मतसम्भार मात्र गर्यौं। त्यही डिजाइनका आधारमा 'दाची आपा' (परम्परागत इँटा) प्रयोग गरेर माथिल्लो भाग बनायौं।'
यो माछा कत्ले डिजाइन पत्ता लगाउन रानीपोखरीको एउटा पुरानो तस्बिरले पनि मद्दत गर्यो। उक्त तस्बिरमा प्रताप मल्ल र उनका छोराहरू हात्ती चढेको शालिक, शालिक पछाडि पुरानो फल्चा (गोलपाटी) र पोखरीको दक्षिणी डिल देखिन्छ। उक्त डिलमा सुमनले भनेजस्तै इँटाको ढाँचा छर्लंग छ।
'पुलमा मान्छे हिँड्ने बाटो पनि हामीले यही आधारमा डिजाइन गर्यौं,' उनले भने, 'छेउछेउमा पहिलेजस्तो रेलिङको सट्टा परम्परागत नेवार शैलीको पर्खाल लगाइएको छ।'
मन्दिर र पुलपछि आउँछ, पोखरी वरिपरिको बगैंचा।
यहाँ उनीहरूले मल्लकालीन स्वरूप कस्तो होला भन्ने परिकल्पना र आफ्नो सिर्जनशीलता प्रयोग गरे। रानीपोखरी नजिकैको ज्याठा टोलमा हुर्के–बढेकाले आफ्नै बाल्यकालीन सम्झना उनीहरूलाई सहायक भयो।
'हामी सानो छँदा पोखरी वरिपरि हरियाली थियो। कञ्चन, नीलो पानी देखिन्थ्यो,' सचिनले अनुभव सुनाए, 'हामीले त्यही पुरानो सम्झना र भुइँचालो अगाडिका तस्बिरहरूमा आफ्नो कल्पनाशीलता मिसायौं।'
उनीहरूको मुख्य ध्यान बगैंचाले पोखरी र मन्दिरको सौन्दर्य ओझेल नपारोस् भन्नेमा थियो। त्यसैले बगैंचा कम झकिझकाउ पारेका छन्। बाह्य चिजबिज जतिसक्दो कम प्रयोग गरिएको छ। त्यहाँ जे थियो, त्यसैलाई व्यवस्थित र सुन्दर बनाउने काम मात्र गरिएको सचिन बताउँछन्।
'सरलता नै हाम्रो डिजाइनको मुख्य मर्म हो। हामीले केही पर्खाल र मान्छे हिँड्ने बाटोहरू बनाएका छौं। कुनै पनि नयाँ निर्माण गर्दा त्यहाँ भइरहेका वनस्पति र रूख मासेका छैनौं। पर्खाल बनाउँदै जाँदा हाम्रो डिजाइनको बाटोमा रूख पर्यो भने, बरू पर्खाललाई फनक्क घुमाएका छौं, तर रूख काटेका छैनौं,' उनले भने।
इञ्जिनियरिङ हिसाबले सबभन्दा ठूलो विशेषता के भने, बगैंचा र वरिपरिको क्षेत्र हल्का पोखरीतिर ढल्केको छ, 'यसले बगैंचा वा किनारमा बस्नेलाई आफू पोखरीतिरै झुकेको अनुभूति हुन्छ,' उनले भने।
यहाँ मान्छे हिँड्ने बाटो पनि माछा कत्ले डिजाइनमै बनेको छ। शारीरिक अपांगता भएकाहरूलाई सजिलो होस् भनेर सबैतिर ह्विलचेयर गुड्ने बाटो बनाइएको छ। यो रानीपोखरीमा थपिएको नयाँ सुविधा हो, जुन पहिले थिएन।
यी त भए पहिलो चरणमा सम्पन्न भइसकेका काम। सुमन र सचिनको डिजाइन यतिमै सकिन्न।
उनीहरूले दोस्रो चरणको विस्तारका लागि जमल र शान्ति वाटिका पुनर्निर्माणको डिजाइन पनि तयार पारेका छन्, जसले यी दुवै क्षेत्रलाई रानीपोखरीमै गाभ्नेछ।
सबभन्दा पहिला जमलको कुरा गरौं।
जमलमा विश्वज्योति हलको ठ्याक्कै अगाडि जहाँ आकाशे पुलको भर्याङ छ, त्यो ठाउँबाट रानीपोखरीको नयाँ प्रवेशद्वार खुल्नेछ। अहिले सडकपेटी रहेको त्यो भागलाई रानीपोखरीमै गाभ्ने गरी डिजाइन बनेको छ।
सुमन र सचिनले यसलाई काठमाडौं उपत्यकाको परम्परागत नेवार बस्तीको आउटलुक दिएका छन्।
'त्यो भनेको कस्तो?' मैले सोधेँ।
'तपाईंहरूले परम्परागत नेवार बस्ती हेर्नुभयो भने बाटोको दायाँबायाँ पेटीजस्तो उठेको भाग हुन्छ। जहाँ मान्छेहरू घाम ताप्छन् वा आराम गर्छन्। तपाईं यस्ता पेटीहरू पाटन दरबार स्क्वायरमा पनि देख्नुहुन्छ, भक्तपुर र काठमाडौंमा पनि देख्नुहुन्छ। रानीपोखरीको जमल खण्ड यस्तै डिजाइनमा बन्नेछ,' सचिनले जवाफ दिए।
म अझै प्रस्ट हुन सकिनँ। उनले थप विस्तार लगाउँदै गए।
उनका अनुसार, जमलको आकाशेपुल जस्ताको तस्तै रहनेछ। त्यहाँबाट ओर्लनेबित्तिकै सडकपेटी आउँछ। त्यहाँबाट रानीपोखरी छिर्ने नयाँ मूलढोका खुल्नेछ। मूलढोकासम्म पुग्ने बाटोको दायाँबायाँ मान्छे बस्नलाई सिँढीजस्तो अग्लो–अग्लो पेटी उठाइनेछ। ठ्याक्कै काठमाडौंको प्राचीन बस्तीजस्तो।
ढोकाको ढाँचा पनि नेवार शैलीकै हुनेछ। दायाँ–बायाँ मान्छेहरू बस्ने फल्चा, बीचमा काठको ढोका। बुंगमती, साँखु वा खोकनाको कुनै नेवार बस्ती छिरेजस्तो।
ढोकाभित्र प्रवेश गर्नेबित्तिकै रानीपोखरीको फराकिलो आँगन सुरू हुन्छ। आँगनमा छेउछउ हरियो चउर र बीचमा मण्डप आकृति हुनेछ। त्यो मण्डपले रानीपोखरी मन्दिरको ग्रन्थकुट शैलीलाई प्रतिनिधित्व गर्ने सुमन–सचिनको भनाइ छ।
अझै अगाडि बढेपछि रानीपोखरी उत्तरतर्फ रहेको जगतनारायण मन्दिर आउँछ। यो मन्दिर चाँगुनारायणको परम्परागत कलश जात्रासँग जोडिएको छ। यहाँ वर्षको दुईचोटि चाँगुनारायणबाट कलश ल्याउने परम्परा छ। एउटा साउन शुक्ल द्वितीयामा, अर्को पुस शुक्ल पूर्णिमा। जात्रामा नारायण, लक्ष्मी र सरस्वतीको तीनवटा कलश ल्याइन्छ। जगतनारायण मन्दिरमा पूजा गरेपछि ती कलशलाई गुर्जुपल्टनको बढाइँसहित हनुमानढोका दरबार लगिन्छ।
रानीपोखरीको सांस्कृतिक महत्व बढाउने यो मन्दिर अहिले बाहिरबाट देखिन्न। विभिन्न संरचनाले ढाकिएको छ। पुनर्निर्माणपछि ती सबै संरचना हट्नेछन् र मन्दिर बाहिरबाटै छर्लंग खुल्नेछ, सुमनले भने, 'हामी यो मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्दैछौं।'
त्यसपछि आउँछ पहिलेको कानुन पुस्तकालय, जसलाई परम्परागत नेवार शैलीको झलक दिने गरी रेट्रोफिट गरिँदैछ। प्राधिकरणले यसलाई रानीपोखरी वा प्रताप मल्लको संग्रहालयका रूपमा विकास गर्ने भनेको छ। पोखरी उत्खनन् क्रममा फेला परेका पुराना चिजबिज यही संग्रहालयमा राखिनेछन्।
अझै अगाडि त्रिचन्द्र कलेज परिसर सुरू हुन्छ, जसलाई बृहत् रानीपोखरीभित्रै गाभ्ने योजना छ।
यसका लागि घन्टाघरतर्फ रहेको त्रिचन्द्रको ऐतिहासिक भवन रेट्रोफिट गरी जस्ताको तस्तै पुनर्निर्माण गरिनेछ। त्यसपछि घन्टाघर पछाडिको खाली जग्गा र जमलमा पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको आठ रोपनी जग्गामा त्रिचन्द्र कलेजका लागि नयाँ भवनहरू निर्माण गरिनेछन्।
रानीपोखरीसँग जोडिएका संरचनाका हकमा 'सरस्वती सदन' भनिने पहेँलो घरबाहेक अरू भत्काइनेछ। अहिले त्रिचन्द्रका विद्यार्थीले प्रयोग गर्दै आएको बास्केटबल कोर्ट जस्ताको तस्तै रहनेछ।
बास्केटबल कोर्टसँगै दरबारमार्गतिर मुख फर्काएर पानीको विशाल फोहरा निर्माण गरिनेछ। यसलाई काठमाडौंको 'सिटी फाउन्टेन' का रूपमा डिजाइन गरिएको छ, सुमनले भने, 'यो सिटी फाउन्टेनले दरबारमार्ग र बृहत् रानीपोखरी क्षेत्रलाई आपसमा जोड्नेछ।'
उनले अझ प्रस्ट पारे, 'अहिले तपाईंहरूले दरबारमार्ग र रानीपोखरीबीच कुनै कनेक्सन देख्नुहुन्न। बीचमा त्रिचन्द्र कलेजको संरचनाले कनेक्सन टुटेको छ। दरबारमार्ग र पोखरी क्षेत्र जुन कर्नरमा आएर जोडिन्छन्, नयाँ डिजाइनअनुसार त्यहाँ सिटी फाउन्टेन बन्नेछ। मान्छेहरू दरबारमार्गबाट यो फाउन्टेन फन्को मार्दै सरासर रानीपोखरी छिर्न सक्छन्। अहिलेजस्तो विश्वज्योति हल वा रत्नपार्कको चक्कर काट्नुपर्दैन।'
अब हामी लागौं, रानीपोखरी दक्षिणको शान्ति वाटिकातिर। हेरौं यहाँ सुमन र सचिनले कस्तो डिजाइन गरेका छन्।
शान्ति वाटिकाको अहिलेको क्षेत्रफल करिब साढे ६ रोपनी छ। यसलाई अझै फराकिलो पारेर सोह्रहाते गणेशस्थानदेखि प्रहरी कार्यालयसम्म विस्तार गर्ने प्राधिकरणको योजना हो। यसलाई प्राधिकरणले बृहत् रानीपोखरी र बृहत् टुँडिखेलको हिस्सा भन्दै आएको छ।
शान्ति वाटिकाको बीचमा अहिले जहाँ गणेशमान सिंहको शालिक छ, त्यहाँ पहिले मल्लकालीन 'फल्चा' थियो, जसलाई 'गोलपाटी' भनिन्थ्यो। उक्त फल्चा मासिएको धेरै भयो। केही पुराना तस्बिरमा त्यसको झलक पाइन्छ, जसका बारेमा हामीले माथि चर्चा गरिसक्यौं।
प्राधिकरणले त्यही तस्बिरका आधारमा गोलपाटी ब्युँताउने योजना लिएको छ। सुमन र सचिनले तयार पारेको डिजाइनअनुसार प्रताप मल्लको शालिकभन्दा ठ्याक्कै पछाडि गोलपाटी पुनर्निर्माण गरिनेछ। यसका लागि गणेशमानको शालिकलाई नजिकै अर्को ठाउँ सारिनेछ।
यसबारे जानकारी दिँदै सचिनले भने, 'हामीले मण्डल आकारको प्लेटफर्म डिजाइन गरेका छौं। त्यही प्लेटफर्ममाथि गणेशमानको शालिक प्रतिस्थापन गरिनेछ।'
'त्यो प्लेटफर्मको के फाइदा?'
'प्लेटफर्ममाथि राख्दा शालिकको शोभा बढ्छ। यसले शालिक वरिपरि जमघट गर्ने सानो ठाउँ पनि बन्छ। त्यहाँ सार्वजनिक कार्यक्रमहरू गर्न सकिन्छ। शालिक नजिक आएर फोटो खिच्न सकिन्छ।'
यति मात्र होइन, मान्छेलाई आराम गर्न स–साना फल्चा र शौचालयहरू पनि बनाइने छन्। यसले त्यो ठाउँ नयाँ पार्कका रूपमा विकास हुनेछ।
सचिनले यहाँको नयाँ डिजाइनबारे अर्को महत्वपूर्ण कुरा पनि बताए।
'अहिले शान्ति वाटिका सडक सतहभन्दा करिब दुई फिट माथि उठेको छ। भन्नुको मतलब, यो प्रताप मल्लको शालिकभन्दा माथिल्लो तहमा छ। यसले रत्नपार्कतिरबाट हेर्दा पोखरीको पूरै क्षेत्र ओझेल पर्छ।'
'कुनै पनि सम्पदालाई वरिपरिका संरचनाले छेक्यो भने त्यो सम्पदाको के महत्व!' सचिनले खुलस्त पारे, 'अब पुनर्निर्माण गर्दा शान्ति वाटिका क्षेत्र अहिलेको सतहभन्दा तल रहने गरी बनाइनेछ।'
अर्थात्, प्रताप मल्लको शालिक र गोलपाटीको दाँजोमा शान्ति वाटिका दुई फिट तल हुनेछ। ताकि, शान्ति वाटिकामा उभिएर हेर्दा रानीपोखरीका यी संरचनाहरू झन् भव्य देखियोस्।
'काठमाडौंको पुरानो सहरमा मान्छे बस्ने घर र हिँड्ने बाटोभन्दा मन्दिरहरू अग्लो स्थानमा बनाइएको हुन्छ। त्यो भनेको मन्दिरलाई हाम्रा पुर्खाहरूले आफूभन्दा उचाइमा महत्वका साथ राखेका हुन्। यहाँ पनि त्यसैगरी बनाउँदा रानीपोखरीका सम्पूर्ण संरचनाको महत्व हाइलाइट हुन्छ,' सचिनले भने।
सुमन र सचिन यति बेला रानीपोखरी मन्दिर, पर्खाल र वरिपरि बगैंचामा बत्ती हाल्ने काम गर्दै छन्। हामीले भिडिओ वार्ता सुरू गर्दा उनीहरू भर्खरै निरीक्षणबाट फर्केका थिए।
बत्ती हाल्दा पनि मल्लकालीन शैलीको झल्को दिने उनीहरूको कोशिस छ।
'रानीपोखरीलाई झल्झलाकार पार्ने हाम्रो उद्देश्य छैन। यसो गर्दा सम्पदाको सौन्दर्य बढ्दैन, बरू झन् कुरुप देखिन्छ। त्यसैले, हामी मधुरो बत्ती प्रयोग गर्दैछौं,' सुमन र सचिनले एकै आसयमा भने।
त्यसको झलक अहिले नै देखिन्छ। सडकबाट हेर्दा मधुरो प्रकाशमा मन्दिर यस्तरी चम्किरहेको हुन्छ, मानौं त्यहाँ बिजुलीबत्ती होइन, दियो बलिरहेको छ। धिपधिप धिपधिप।
अझ टाढाबाट हेर्ने हो भने त यस्तो देखिन्छ, मानौं आकाशमा जून चम्किरहेको छ। टिलपिल टिलपिल।
तपाईंहरूले काठमाडौंका पुराना घर वा मन्दिरका पर्खालमा स–साना प्वालहरू देख्नुभएको छ? त्यसलाई 'ग्वाखं प्वा' भनिन्छ। मल्लकालीन शैलीका ती ग्वाखं प्वा दियो राख्न बनाइएका हुन्। रानीपोखरी वरिपरिका पर्खालमा पनि त्यस्तै ग्वाखं प्वाहरू छन्। बत्ती जडानको काम सकिएपछि चारैतिर मन्द रोशनी छरिनेछ, मानौं पुच्छरमा बत्ती बोकेका जूनकीरी रानीपोखरीको भित्तामा टाँसिएका छन्। टिमटिम टिमटिम।
भिडिओ वार्ता 'साइन–अफ' गर्नुअघि रानीपोखरीका दुई डिजाइनरले भने, 'आफू जन्मे–हुर्केको ठाउँको सम्पदालाई आफैंले डिजाइन गर्दा पाउँदा हामीलाई थोरै भए पनि केही गर्न सक्यौं भन्ने लाग्दैछ।'
उनीहरूले अगाडि भने, 'यसले हामीलाई नयाँ कुरा सिकाएको छ– सबै एकजुट भएर एउटै उद्देश्यमा लाग्ने हो भने रानीपोखरी मात्र होइन, सिंगो काठमाडौंलाई मौलिक स्वरूपमा फर्काउन सकिन्छ।'
यसरी नै रानीपोखरीदेखि रंगशालासम्म फैलिएको बृहत टुँडिखेलको मास्टरप्लान पनि कार्यान्वयन हुनेमा यी दुवै आशावादी छन्, जसका डिजाइनर पनि उनीहरू नै हुन्।
साइन–अफ गर्नुअघि मैले सोधेँ, 'तपाईंहरू साँच्चिकै जुम्ल्याहा दाजुभाइ होइन है?'
उनीहरू हाँसे मात्र।
(सुदीप श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)