भिक्टर पौडेल एसएलसी परीक्षा दिएर बसेका थिए। खाली समयमा उनी बालाजुमा ब्रिजकोर्स पढ्न थाले। बिहान ६ बजेको कक्षा भ्याउन उनी सबेरै घरबाट निस्किन्थे।
जाँदाआउँदा भिक्टरका आँखा प्रायः बसस्टपमा गाडी पर्खिएर उभिएका मानिसको हुलमा पुग्थ्यो। ती हुलमा कोही विद्यार्थी हुन्थे, कोही कर्मचारी। सबैको खुलदुली आफ्नो रूटको गाडी आउला कि नआउला भन्ने हुन्थ्यो।
यो नौ वर्षअगाडिको कुरा हो।
त्यो बेला देशको अवस्था पनि गाडी कुरेका यात्रुको अनुहार झैं अस्थिर थियो। पार्टीहरूले अचानक बन्द-हड्ताल गरिदिन्थे। ठूला पार्टीले गरेको बन्दमा सबै ठाउँ सुनसान हुन्थ्यो, सानाको बन्दमा खुकुलो।
यो सुनसान र खुकुलो बन्दको मार तिनै बसस्टपमा गाडी कुर्ने यात्रुलाई पर्थ्यो। कर्मचारी र विद्यार्थी कुन दिन गाडी चल्ने हो, कहिले नचल्ने हो, सधैं अलमल पर्थे।
भिक्टरलाई यो कुरा चित्त बुझेको थिएन। बन्दको असरका भुक्तमान उनी पनि थिए। बेलाबखत यसविरुद्ध बोलिरहेको हुन्थे। तर समाधान थिएन।
बरू उनले उपाय लगाए- बन्दका कारण बाटोमा बिचल्ली परेकालाई केही मद्दत हुने काम गर्ने।
के गर्ने, कसरी गर्ने?
यस्तो समयमा सही सूचना दिनु हितकर हुने उनले ठाने। फेसबुकमा 'रुटिन अफ नेपाल बन्द' नामक पेज बनाए। अंग्रेजी शब्दावलीलाई नेपालीकरण गर्दै धेरैले यो पेजलाई 'रुटिने' पनि भन्छन्।
'गाडी नपाएर बस स्टेसनमा अलपत्र बसेकालाई देख्दा नरमाइलो लाग्थ्यो। उनीहरूले बन्दबारे मात्र थाहा पाएको भए त्यसरी अलमलिनु पर्थेन,' २७ वर्षीय भिक्टरले सेतोपाटीसँग भने, 'बन्द हटाउनु पर्छ भन्ने उद्देश्यले 'रुटिन अफ नेपाल बन्द' नामक पेज खोलेँ। यो नाम व्यंग्य प्रस्तुत गर्न पनि राखेको हुँ।'
उनले पेजमा 'से नो टु बन्द' भनेर नारा नै चलाए। सँगै कुन दिन बन्द हुने, नहुने र बन्दको असर कत्तिको हुनेछ भन्ने जानकारी दिन थाले। पेजमा बन्दबारे पोस्ट गर्नकै लागि उनी बिहान करिब चार बजेतिर उठ्थे रे। बाहिरको स्थिति के-कस्तो छ बुझेर ट्राफिक प्रहरीलाई पनि सोधपुछ गर्थे। अनि सक्दो सही सूचना दिन्थे।
उसो त भिक्टर पेजमा सूचना दिने काममा नयाँ थिएनन्। उनी फुटबल सम्बन्धी समाचार दिने 'गिभ मी गोल' नामक अनलाइन पत्रिकामा काम गर्थे। खेलकुदबारे जानकारी दिन फेसबुक पेज चलाइसकेका थिए। पत्रकारिता क्षेत्रका केही सहकर्मीसँग चिनजान र पेज चलाउन अभ्यस्त उनलाई काममा सजिलै भयो।
रुटिन अफ नेपाल बन्दको काम बन्दका सूचना दिनु मात्र थिएन। त्यो बेला नेपालीले अर्को समस्या पनि भोगिरहेका थिए, लोडसेडिङ। सर्वसाधारणको सहजताका लागि उनले कुन ठाउँमा कति बजे बत्ती जाने-आउनेबारे तालिका बनाएर पोस्ट गर्न थाले।
'त्यतिबेला मलाई पनि यस्तो तालिका भइदिए सहज हुन्थ्यो जस्तो लाग्थ्यो,' उनी भन्छन्, 'मेरै उमेरका युवालाई पनि खाँचो हुनसक्ने भन्दै पेजमा तिनै विषय पोस्ट गर्थेँ।'
समयसँगै भिक्टरले जुन उद्देश्यले पेज खोलेका थिए, त्यसका कारक नै बन्द भए। बन्द कम हुँदै गयो र लोडसेडिङ पनि हुन छाड्यो। अब पेजलाई कसरी निरन्तरता दिने?
भिक्टरले यहाँ पनि जुक्ति लगाए, देशका विभिन्न सुन्दर ठाउँका फोटो हाल्ने र त्यसबारे छोटो विवरण दिने। कसैलाई रगत चाहिएमा मद्दतका लागि आह्वान गरिदिने। महत्वपूर्ण कागजात हराएमा सूचना निकाल्ने। साथै कोहीलाई व्यक्तिगत समस्या छ भने मद्दत गर्ने र अरूलाई आग्रह गर्ने। समसामयिक जानकारी दिने।
उनले समग्रमा समाजको चासो बुझेर त्यही अनुसार आफू र पेजलाई सक्रिय बनाइरहे। यसले गर्दा पेजमा अझ बढीको सहभागिता बढ्न थाल्यो। धेरैले पेजबाट जानकारी लिने र दिने मौका पाए। प्रायः समाजका देखिएका र चासो भएका विषयमा पोस्ट गर्दा सुरूसुरूमा विश्वसनीयतामा प्रश्न नउठेको होइन।
'सुरूमा धेरैले पेजको जानकारी झुटो भन्थे। बिस्तारै सबै जानकारी सही हुन थालेपछि फलोअर्सले विश्वास गर्न थाले,' उनको भनाइ छ।
उनी थप्छन्, '२०७२ को भुइँचालोपछि भने पेजमा अलि बढी ध्यानाकर्षण भयो। त्योबेला धेरैले पत्रपत्रिका पढ्न र टिभी हर्न पाएनन्। अहिले जसरी अनलाइन मिडिया पनि सामाजिक सञ्जालमा सक्रिय थिएनन्। त्यसैले धेरै मान्छेले हाम्रो पेजबाट जानकारी लिने-दिने काम गरे।'
भिक्टर पेजमा सूचना दिनकै लागि मरिमेटेर खट्छन्। पुर्ख्यौली घर बाग्लुङ भए पनि परिवारै काठमाडौं बसाइ सरेका हुन्। यतै हुर्के-बढेर सूचना व्यवस्थापनमा स्नातक सकेर बसेका उनको मुख्य काम पेज नै हो। यही कारण स्नातकोत्तर गर्न नपाएको बताउँछन्।
सुरूका दिनमा उनी अहिलेजसरी पेजको काममा गम्भीर थिएनन् रे। प्लस-टु ताका पढाइका कारण समय दिन पनि पाएनन्। स्नातक सुरू गरेपछि फेरि सक्रिय भए। त्यो बेलादेखि नै के-कस्ता कुरा पोस्ट गर्ने भनेर सजग हुँदै गएको उनले बताए।
'पहिलेका पोस्ट अलि हावा हुन्थे। चुट्किला धेरै हाल्थेँ। कसैले नराम्रो कमेन्ट गरे, आफैं कमेन्टमा विवाद गर्न उत्रिन्थेँ,' उनले भने, 'तर अब समयले बुझ्ने बनाएको छ। जे पायो त्यही पोस्ट गर्दैनौं, आफूले प्रयोग गर्ने भाषामा बढी ध्यान दिन्छौं।'
पढाइ र आफ्नो व्यक्तिगत समय छेउमा राखेका उनलाई पेजमै बानी परेको छ। भन्छन्, 'बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म पेजकै काम हो। सँगै कहिलेकाहीँ आउने अतिआवश्यक घटनाबारे जानकारी दिन पनि चनाखो रहनुपर्छ। आफ्ना लागि समय हुँदैन।'
पेजका लागि आफूले कतिसम्म गरेको भन्ने उदाहरण दिन्छन् उनी, 'परीक्षा चलिरहेका बेला लुकाएर पेजमा पोस्ट गरेँ। बिरामी हुँदा पनि काम छाडिनँ।'
यही यात्राको नतिजा हो, अहिले रुटिन अफ नेपाल बन्दको फेसबुकमा करिब २० लाख फलोअर्स छन्। तीमध्ये कतिपय विदेशी छन्। त्यसैले पोस्टहरू अंग्रेजी र नेपाली भाषामा लेख्ने उनले बताए।
सही जानकारी जाओस् भनेर निश्चिन्त हुन उनले सुरूमा पेज एक्लै चलाए। अहिले थप तीन साथीले सहयोग गरिरहेका छन्। उनका अनुसार पेजको टिममा सबैलाई सीप अनुसार काम छुट्टाइएको छ।
'कोही डिप्रेसनका बिरामीले एक-दुई बजेतिर म्यासेज पठाउँछन्,' उनले भने, 'हाम्रो टिमका एक मनोवैज्ञानिकले कुरा सुनेर सम्झाइबुझाइ गरिदिन्छन्।'
फलोअर्सका समस्या समाधानका लागि सकेसम्म प्रयत्नरत भएको उनको भनाइ छ।
लामो समय पेजका लागि काम गरिरहे पनि भिक्टरलाई यसबाट कमाइ भएन। अहिले फिल्म र गीत प्रचारको कामवापत् पकेट खर्च पुग्ने पैसा आउँछ रे।
'पैसा नकमाएर केही छैन, कसैले रुटिन अफ नेपाल बन्द भनेर तारिफ गरेको सुन्दा रमाउँछु। घरमा पनि सबै खुसी हुनुहुन्छ,' उनी भन्छन्, '२० लाख फलोअर्सको माया र प्रशंसा कमाएका छौं। पैसा कमाउन सकिएन भन्ने चिन्ता नहुँदो रहेछ।'
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै झुटा समाचारको बिगबिगी छ। यो समयमा उनीहरूले फलोअर्सलाई त्यस्ता जानकारीको पछि नलाग्न सक्दो बुझाइरहेका हुन्छन्। फेसबुकसँगै, इन्स्टाग्राम र ट्विटरमा पनि सक्रिय हुन थालेको पेजको अब मोबाइल एप ल्याउने तयारी भएको उनले बताए।
हाल पेजबाहेक नयाँ अनलाइन स्टार्टअपमा व्यस्त भिक्टर भन्छन्, 'रुटिन अफ नेपाल बन्द सामाजिक प्लेटफर्म सदुपयोग गरी बनाइएको एउटा पेज मात्र हो। सर्वसाधारणले जानकारी लेनदेन गर्न सक्ने यो पेज मेरो मात्र होइन, सबैको हो। हामी सबै 'रूटिने' हौं। हामी रहुन्जेल यो पेज चल्ने छ।'