महिला वैज्ञानिकः
पोखरास्थित वन विज्ञान कलेजकी सहायक प्राध्यापक हुन् डा. ज्योति भण्डारी। पढाउनुबाहेक उनको मुख्य काम अन्नपूर्ण क्षेत्रमा परम्परागत रूपमा प्रयोग हुँदै आएका औषधिजन्य वनस्पति अध्ययन गर्नु हो।
ती वनस्पति त्यहाँ औषधिका रूपमा प्रयोग त भइरहेकै छन्, तिनीहरू वैज्ञानिक हिसाबमै कत्तिको उपयोगी र प्रभावकारी छन् भनेर बुझ्न उनी अध्ययनमा लागि परेकी हुन्।
३८ वर्षीया ज्योति वैज्ञानिक हुन्। उनले गरिरहेको यही कामलाई कदर गर्दै युनेस्कोले हालै प्रतिष्ठित 'अर्ली करिअर' फेलोसिप प्रदान गरेको छ। युनेस्को अन्तर्गतको अर्गनाइजेसन अफ विमन साइन्स इन डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) ले विकासोन्मुख देशका महिला वैज्ञानिकलाई हरेक वर्ष अनुसन्धानका लागि यो फेलोसिप दिन्छ।
५० हजार अमेरिकी डलर रकमसहितको यो फेलोसिपमा यस वर्ष संसारभरका २३ महिला वैज्ञानिक छानिएका थिए। यसमध्ये नेपालबाट ज्योति पनि परेकी हुन्।
पोखरामा जन्मिएकी उनी सानैदेखि प्रकृतिसँग घुलमिल हुन रूचाउँथिन्। आफ्नो रूचिलाई नै अध्ययनको विषय बनाउँदै वनविज्ञान कलेजबाट एमएससी गरिन्। सन् २००९ मा एमएससी क्रममै उनले वर्ल्डवाइड फन्ड फर नेचर (डब्लुडब्लुएफ) ले दिने फेलोसिप पाएकी थिइन्।
यहाँको पढाइ सकेपछि उनी विद्यावारिधि गर्न चीन पुगिन्। त्यहाँ उनले चिनियाँ सरकारको छात्रवृत्तिमा मंगोलिया र तिब्बतका घाँसे मैदानबारे अध्ययन गरिन्।
'घाँस बढ्न हावा, पानी, सूर्यको किरण, माटो लगायतको सम्बन्ध कस्तो हुन्छ भन्ने नै मेरो अध्ययनको विषय थियो,' उनले सेतोपाटीसँग भनिन्, 'त्यहाँबाट फर्किएपछि मनाङ र मुस्ताङमा पनि त्यस्तै अध्ययन गरेँ।'
तिनको तुलनात्मक अध्ययनपछि रिसर्च पेपर लेखिन्। यस्ता अध्ययन र प्रतिवेदन भविष्यमा अन्य वैज्ञानिक वा विद्यार्थीले पढ्छन् जसले थप अनुसन्धान गर्न सहयोग पुग्छ।
उनको सुरूआती अध्ययनको दायरा जंगल, सामुदायिक वन, घाँसे वन लगायतमा फैलिएको थियो। विस्तारै चासो औषधिजन्य वनस्पतिमा ढल्कियो।
अहिले यही चासोलाई थप अघि बढाउन सहयोग हुने गरी ५० हजार डलरको फेलोसिप पाएकी हुन्। उनी सन् २०१० देखि नै ओडब्लुएसडीको सदस्य थिइन्। सदस्य भएयता विभिन्न ठाउँमा खुलेका भ्याकेन्सीदेखि अवसरबारे उनले जानकारी पाइरहन्थिन्।
'फेलोसिपबारे यहीँबाट जानकारी पाएपछि आवेदन भरेकी थिएँ,' ज्योतिले भनिन्। फेलोसिपबाट पाएको रकमलाई उनले दुई तरिकाले खर्च गर्ने सोचमा छिन्।
पहिलो आधा पैसा अनुसन्धानमा खर्च हुनेछ।
यसअन्तर्गत, अन्नपूर्ण क्षेत्रमा रहेका महत्वपूर्ण परम्परागत औषधिजन्य बिरूवाको अध्ययन गरिनेछ। ज्योतिले ती बिरूवाका नमूना प्रयोगशालामा परीक्षण गर्नेछिन्। वैज्ञानिक तरिकाले तिनको औषधिजन्य तत्वहरू पत्ता लगाइनेछ। प्रयोगशालामा आवश्यक सामग्री पनि यही पैसाबाट किन्ने उनको सोच छ।
बाँकी रकम, समुदायमा जनचेतना फैलाउन र बजार व्यवस्थापनमा खर्च हुनेछ। यो काममा स्थानीय पनि जोडिने भएकाले उनीहरूलाई आर्थिक हिसाबले फाइदा पनि पुग्ने ज्योतिले जानकारी दिइन्।
ज्योतिले आफ्नो अनुसन्धानका निम्ति अन्नपूर्ण क्षेत्र नै किन रोजिन् त?
उनले मनाङ–मुस्ताङ अध्ययनक्रममा त्यहाँका स्थानीय धेरै परम्परागत औषधिमा भर परेको देखिछन्। त्यही कुराले उनलाई औषधिजन्य बोटविरुवामा अध्ययन गर्ने रूचि बढ्यो।
'हाम्रो अध्ययन–अनुसन्धानको दायरा निकै फराकिलो छ। जंगलसँग सम्बन्ध भएका विविध क्षेत्रमा हामीले काम गरिरहेका छौं,' उनले भनिन्, 'औषधिजन्य बोटविरूवामा हालै मात्र चासो बढेको हो।'
अनि अन्नपूर्ण क्षेत्रमा उचाइका हिसाबले पनि विविधता छ। उनका अनुसार यहाँ एक हजारदेखि चार हजार मिटरसम्ममा पाइने बोटविरुवा छन्। सुगन्ध कोपिला, गुरुजु लगायत विभिन्न महत्वपूर्ण जडिबुटी यहाँ पाइन्छन्।
'लामो समयदेखि यहाँका मान्छेले परम्परागत औषधिका रूपमा थुप्रै खाले वनस्पति प्रयोग गर्दै आएका छन्,' उनले भनिन्, 'ती सबैको वैज्ञानिक अध्ययन भएको छैन। यही कुराले यो क्षेत्रमा काम गर्ने आइडिया फुरेको हो।'
पछिल्लो समय परम्परागत शैलीबाट उपचार गर्ने वैद्यहरूले पनि आफ्नो सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिरहेका छैनन्। नयाँ पुस्ताको चासो नरहनु र उनीहरू विदेशिनु पनि त्यसको कारण हो। यसैकारण आफ्नो अध्ययन दायरा फराकिलो गर्न उनी वैद्यहरूसँग पनि सहकार्य गर्ने सोचमा छिन्।
अहिले 'ऐलोपेथिक' औषधिले बजार ओगटे पनि परम्परागत औषधिजन्य वनस्पतिको महत्व झनै बढी भएको उनी बताउँछिन्। यसबारे सबैलाई जानकारी हुनु जरूरी रहेको पनि उनको भनाइ छ।
'दुर्गम क्षेत्रमा त परम्परागत उपचारविधि नै बढी प्रयोगमा आउँछन्। त्यहाँ आपतकालीन अवस्था नआएसम्म बजार लगेर उपचार गर्ने अवस्था हुँदैन,' उनले भनिन्, 'त्यस्तो अवस्थामा औषधिजन्य जडिबुटीकै भर बढी परिन्छ।'
ज्योतिलाई आफ्नो कामको राम्रो पक्ष घुमेर काम गर्न पाउनु हो भन्ने लाग्छ। यसैले जहाँ गएर अध्ययन–अनुसन्धान गर्ने अवसर आउँछ, उनी त्यसमा सहभागिता जनाउन पछि पर्दिनन्। आफ्नो मनले रोजेको काम भएकाले उनलाई यात्राका सकस पनि रमाइलो लाग्ने रहेछ। त्यसमाथि नेपाली समाज निकै सहयोगी भएको उनको अनुभव छ।
बरु बढ्दो आधुनिकता र सहरीकरणले भने वन क्षेत्रको स्याहार र व्यवस्थापन हुन नसकेको र विनासका गतिविधि बढेकामा उनी निराश भने छिन्।
विश्वविद्यालय अनुदान आयोगबाट २०७५ सालमा पाएको डेढ लाख उनले स्नातकोत्तर विद्यार्थीका थेसिसको फाइनल रिपोर्ट तयार गर्न खर्चिरहेकी छन्। तर बाहिरबाट पाएजस्तो नेपाल सरकारबाट वन क्षेत्रमा त्यति प्राथमिकता नदिएको उनलाई लाग्छ।
उनी हाल अनुदानमै 'ओटर' नामक मांसाहारी स्तनधारीको अनुसन्धान गरिरहेकी छन्। न्याउरी मुसाजस्तै देखिने यो जनावरको जनसंख्या अहिले संसारमै घट्दै गइरहेको छ। यो जनावर नेपालको बर्दिया, शुक्लाफाँट लगायत क्षेत्रमा पाइन्छ। त्यति प्रख्यात नभएकाले यो प्रजातिको अध्ययन पनि कम भएको ज्योतिले बताइन्।
महिला भएर वैज्ञानिकको काम गर्नुलाई धेरैले चुनौतीका रूपमा ठान्छन्। दुई सन्तानकी आमा ज्योतिलाई पनि घरायसी बन्धनले थिचेको छ। व्यस्तताले परिवारलाई समय दिन पाइँदैन।
'तर परिवारको सहयोग भएकाले त्यति समस्या भएको छैन,' उनी भन्छिन्।
ज्योतिको बिहे चीनमा आफूसँगै पढेका धुव्र विजय बिसीसँग भएको हो। धुव्र पनि यही पेसामा जोडिएकाले उनको काम बुझ्छन्। घर र कार्यालयको काम बाँडेर गर्छन्।
'कहिलेकाहीँ मेरो मिटिङ वा अन्य काम हुँदा उहाँले घर सम्हाल्नुहुन्छ। उहाँको काम हुँदा मैले,' उनले भनिन्, 'पारिवारिक सहयोग नहुने हो भने एकदम गाह्रो हुन्छ। अहिले म जे छु, त्यो परिवारको सहयोगले नै हो।'
हाम्रो देशको करिब आधा जनसंख्या महिला छ। तर हामी जस्ता विकाशोन्मुख देशमा पुरुषवादी मूल्यमान्यता अझै टसमस छैनन्। महिलाले घरको काम गर्नै पर्छ भन्ने परम्परागत मूल्यमान्यताले देश विकास र महिलाहरू अघि बढ्न बाधा पुगेको ज्योतिलाई लाग्छ।
'यी मूल्यमान्यता सामाधान गर्ने हो भने पनि धेरै महिलाले बाहिर आएर अवसर बटुल्न सक्छन्,' उनले भनिन्।