अदर पुनावालाको परिवार भारतकै धनी घरानामध्ये एक हो।
केही वर्षअघि मात्र उनीहरूले मुम्बईस्थित पूर्वअमेरिकी कन्सुलेट भवन झन्डै साढे ११ करोड डलरमा किनेका थिए। त्यो भवन कुनै बेला महाराजाहरूको दरबार थियो। त्यहाँ उनीहरू सप्ताहन्त मनाउँछन्। उनीहरूको घरमा रोल्स रोयस र फरारी कारको लश्कर लाग्छ।
३८ वर्षीय अदर सेरम इन्स्टिच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी हुन्। यो कम्पनीको स्थापना साइरस पुनावालाले गरेका थिए। साइरसले आफ्ना एक मात्र छोरा अदरलाई सन् २०११ मा कम्पनीको दायित्व हस्तान्तरण गरे।
अहिले पुनावाला परिवार ५ अर्ब डलर सम्पत्तिको मालिक भइसकेको छ। सेरम इन्स्टिच्यूटको वार्षिक आय नै करिब ८० करोड डलर नाघेको छ।
यति हुँदाहुँदै धेरै भारतीयलाई अदर पुनावाला के गर्छन् भन्ने जानकारी छैन। महँगा कार र जेट विमानको धनीका रूपमा मात्र आफ्नो परिचय बनेको देख्दा अदरलाई पनि उदेक लाग्छ।
‘अधिकांश भारतीयलाई म के गर्छु थाहै छैन,’ उनी भन्छन्, ‘ओहो तपाईंले घोडाहरूलाई के के गरेर थुप्रै पैसा कमाइरहनुभएको छ भनेर प्रतिक्रिया दिइरहेका हुन्छन्।’
अब भने भारतभित्र मात्र होइन, संसारभरि नै उनको नयाँ परिचय बन्दैछ। त्यो हो, कोरोना भ्याक्सिन उत्पादक।
हुन त अहिले पनि सेरम इन्स्टिच्यूटले वार्षिक डेढ अर्ब डोज भ्याक्सिन उत्पादनको क्षमता राख्छ। संसारका आधा बालबालिकाले लगाउने खोप सेरमले नै उत्पादन गर्दै आएको छ। यसका उत्पादन संसारभरि र खासगरी गरिब मुलुकहरूमा खपत भइरहेका छन्।
तर, उनको नयाँ प्रयास सफल भयो भने संसारका सबैले चाहना गरेको कुरा उनको मुठ्ठीमा हुनेछ।
विश्वव्यापी कोरोना महामारी बेला सेरम इन्स्टिच्यूटले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोभिड-१९ विरूद्ध खोप उत्पादन गर्ने प्रयास थालेको हो। यसनिम्ति सेरम र अक्सफोर्ड विश्वविद्यालयबीच सम्झौता भइसकेको छ।
सेरमले गत अप्रिलमै ठूलो मात्रामा भ्याक्सिन उत्पादन गर्ने घोषणा गरेको थियो। त्यति बेला भ्याक्सिनको प्रथम परीक्षण सुरू भइसकेकै थिएन। अहिले त यो कम्पनीले संसारकै तीव्र गतिमा भ्याक्सिन तयार पार्ने उपकरण जडान गरिसकेको छ। ती उपकरणले प्रत्येक एक मिनेटमा पाँच सय डोज भ्याक्सिन उत्पादन गर्नेछ।
पछिल्लो समय अदरलाई विश्वभरिका स्वास्थ्यमन्त्री, प्रधानमन्त्री र थुप्रै राष्ट्रप्रमुखहरूको तारन्तार फोन आउँछ। उनले फोन गर्नेहरूको नाम भने खुलाएनन्। वर्षौंदेखि सम्पर्कमा नरहेका साथीहरूले पनि सम्पर्क गर्न थालेको उनी बताउँछन्।
ती सबैको अनुरोध एउटै हुन्छ, ‘भ्याक्सिन बन्न सुरू हुनेबित्तिकै हामीलाई प्राथमिकतामा राखिदिनू है!’
पाँच दशकअघि अदर पुनावालाका पिता साइरस पुनावालाले घोडाको फार्मबाट सेरम कम्पनीको नीब हालेका थिए।
भ्याक्सिन बनाउने विभिन्न तरिकामध्ये एउटा हो, घोडाको शरीरमा थोरै मात्रामा ‘टक्सिन’ हालेर ‘एन्टिबडी’ ले भरिएको रगतको सेरम निकाल्नु। यस्तो सेरम प्रयोगशालालाई दिँदा दिँदै साइरसले भ्याक्सिन तयार पार्ने व्यवसाय थालेका हुन्।
सन् १९६७ मा उनको कम्पनीले पहिलोपटक ‘टिटानस’ को सुइ उत्पादन गर्यो। त्यसपछि सर्पले डसेपछि प्रयोग गरिने ‘एन्टिबडी’ पनि उत्पादन गर्यो।
यो क्रम बढ्दै गएर क्रमशः क्षयरोग, हेपाटाइटिस, पोलियो हुँदै रुघाखोकीविरुद्धका भ्याक्सिनसम्म पुग्यो।
एकपछि अर्को सफलता पाउँदै अघि बढेको पुनावाला परिवार आज भारतकै सर्वाधिक धनीमानीमा गनिन थालेको छ। सेरम इन्स्टिच्यूटले राष्ट्रसंघीय बालकोष (युनिसेफ) बाट विश्वभर चलाइने खोपको पनि सम्झौता गर्दै आएको छ।
ठूलो मात्रामा भ्याक्सिन उत्पादन गर्नु नै यो कम्पनीको मुख्य विशेषता हो। संसारका थुप्रै गरिब मुलुकमा यही कम्पनीले उपलब्ध गराएको भ्याक्सिन प्रयोग भइरहेको छ। केही दिनअघि एकैपटक यो कम्पनीले ६० करोड ‘ग्लास भाइल्स’ आयात गरेको थियो। यो कोरोना भ्याक्सिन उत्पादनका लागि हो।
यहाँ उत्पादित कोरोना भ्याक्सिनमध्ये कति डोज भारतले प्राप्त गर्छ र त्यसको उत्पादन लागत कसले कसरी बेहोर्छ भन्ने छिनोफानो भइसकेको छैन। यसले अदरमाथि धेरै दबाब छ। उनले एकातिर राजनीतिक सन्तुलन मिलाउनुपरेको छ भने अर्कातिर लगानी व्यवस्थापनको चुनौती पनि झेल्नुपरेको छ।
अदर पुनावाला सेरम इन्स्टिच्यूटले तयार पार्ने भ्याक्सिनलाई ५०-५० प्रतिशत गरेर दुई भागमा विभाजन गर्ने बताउँछन्। एउटा भाग भारतको निम्ति हुनेछ भने अर्को हिस्सा बाँकी विश्वका लागि। उनका अनुसार त्यो आधा हिस्सा पनि बहुसंख्यक गरिब मुलुकहरूमा पठाइनेछ। यसमा भारत सरकारलाई कुनै आपत्ति नहुने उनी बताउँछन्।
'आपतकालीन अवस्था आइपरेको खण्डमा भने सरकारले कुनै पनि कदम चाल्नसक्ने सम्भावना छँदैछ,' उनले भने।
यो भ्याक्सिन उत्पादन गर्न अक्सफोर्ड विश्वविद्यालयले विश्वका अन्य कम्पनीहरूसँग पनि सम्झौता गरेको छ। ती कम्पनीहरू पनि ठूलो मात्रामा भ्याक्सिन तयार पार्न जुटिसकेका छन्।
भ्याक्सिन तयार पार्न अझै लामो अवधि पर्खनुपर्नेछ। यसका अनेक प्रक्रिया हुन्छन्। यसमा प्रत्येक सिसी सावधानीपूर्वक सफा गर्नेदेखि सुरक्षित किसिमले भर्ने, सिल गर्ने र पोका पार्नेसम्मका काम पर्छन्।
अहिले परीक्षणकै चरणबाट गुज्रँदा गुज्रँदै पनि उत्पादनको काम अघि बढाउने प्रयास थालनी भइसकेको छ। सकभर कम समयमै मानिसहरूसम्म भ्याक्सिन पुगोस् भन्ने चाहनाले नै यसो भइरहेको हो।
यस्तो अवस्थामा भ्याक्सिनको परीक्षण सफल भइदियो भने आगामी ६ महिनामा धेरै मानिसका लागि यो भ्याक्सिन उपलब्ध भइसक्नेछ।
भ्याक्सिन बनाउनकै लागि अमेरिकी र युरोपेली मुलुकहरूले पनि अर्बौं डलर खर्च गरिरहेका छन्। जोन्सन एन्ड जोन्सन, फाइजर, सेनोफी र अस्ट्राजेनेकाजस्ता थुप्रै कम्पनी यसमा लागिपरेका छन्। अक्सफोर्ड विश्वविद्यालयकै मुख्य साझेदार ‘अस्ट्राजेनेका’ हो। यो कम्पनीले अमेरिका, युरोप र अन्य बजारहरूका लागि एक अर्ब डोज तयार गर्ने सम्झौता गरिसकेको छ। यसै कम्पनीले सेरम इन्स्टिच्यूटलाई पनि भ्याक्सिन तयार पार्ने अनुमति दिएको हो।
अदरका अनुसार भ्याक्सिन उत्पादनको सम्पूर्ण खर्च उनको कम्पनीले एक्लै वहन गरिरहेको छ।
संसारका अन्य भ्याक्सिन बनाउने कम्पनीहरूभन्दा सेरम बिल्कुल अलग छ। भारतका अधिकांश कम्पनीजस्तै यो एउटा परिवारले चलाएको व्यवसाय हो। त्यसैले तत्काल कुनै निर्णय लिइहाल्न सक्ने वा जोखिम मोल्ने सुविधा सेरमजस्तो कम्पनीसँगै हुन्छ।
यस्तो जोखिमपूर्ण काममा हात हाले पनि अक्सफोर्डको भ्याक्सिन सफल भएरै छाड्नेमा आफू ७० देखि ८० प्रतिशतसम्म ढुक्क भएको उनी बताउँछन्।
सेरमले अहिलेसम्म अनुसन्धानको कामलाई पर्याप्त हुने गरी भ्याक्सिनको लाखौं डोज तयार पारिसकेको छ। अहिले भइरहेको परीक्षणमा पनि त्यसैको प्रयोग भइरहेको छ। परीक्षणको यो चरण नोभेम्बर महिनासम्म समाप्त भइसक्ने अपेक्षा गरिएको छ। सोचेजस्तै सफलता मिल्दै गयो भने त्यतिन्जेल सेरम कम्पनीसँग व्यावसायिक प्रयोजनकै निम्ति पनि बजारमा पठाउन करिब ३० करोड भ्याक्सिनको डोज उपलब्ध भइसक्नेछ।
कसैगरी भ्याक्सिनको यो परीक्षण असफल भइदिए के होला?
अक्सफोर्ड विश्वविद्यालयको यो प्रयास असफल भइदियो भने पनि सेरम इन्स्टिच्यूटको हात खाली हुने छैन। किनभने यो कम्पनीले भ्याक्सिनका लागि प्रयासरत अन्य समूहसँग पनि सम्झौता गरेको छ। ती समूह अहिले सुरूआती चरणमै छन्। पछि जसको प्रयास सफल भए पनि सेरमले भ्याक्सिनको औद्योगिक उत्पादन तुरून्तै सुरू गर्न सक्छ।
सबभन्दा मुख्य पक्ष भनेको, सेरमले जस्तो कम मूल्यमा ठूलो मात्रामा भ्याक्सिन तयार पार्ने काम कमैले मात्र गर्न सक्छन्।
‘अस्ट्राजेनेका’ को साथमा गरिएको सम्झौताअनुसार भारत र मध्य आय भएका मुलुकहरूको निम्ति सेरमले एक अर्ब डोज तयार पार्न सक्छ। त्यो मात्राको भ्याक्सिनका लागि कम्पनीले उसको लागतभन्दा बढी मूल्य तोक्ने छैन। अहिलेको महामारी समाप्त भएपछि भने कम्पनीले त्यही भ्याक्सिन मुनाफा आर्जन गर्ने गरी बेचबिखन गर्न सक्नेछ।
यो सबको निम्ति मुख्य सर्त भनेको भ्याक्सिनको परीक्षण सफल हुनु नै हो। भएन भने त डुब्नु अवश्य छ। त्यसैले पनि कम्पनीमाथि आर्थिक लगानीको चुनौती छ।
यो भ्याक्सिन तयार पार्न कम्पनीले करिब ४५ करोड डलर खर्च गरिरहेको छ। यो लागतमध्ये कतिपय खर्च पछि पनि उठ्न सक्दैन। जस्तो, भ्याक्सिन रखनधरनका लागि ‘भाइल’ माथि गरिने खर्च, यो पूरा प्रक्रियामा प्रयोग हुने रसायनको खर्च इत्यादि।
यस्तो अवस्थामा पुनावालाले ‘सोभरेन वेल्थ फन्ड’ वा ‘प्राइभेट इक्विटी फन्ड’ जस्ता श्रोतबाट रकम जुटाउने विचार गरिरहेका छन्।
गरिब मुलुकका बालबालिकालाई खोप कार्यक्रम चलाउने ‘ग्लोबल इम्युनाइजेसन प्रोग्राम’ सञ्चालन गर्दै आएको ‘बिल एन्डा मेलिन्डा गेट्स फाउन्डेसन’ वा भारत सरकारबाटै पनि सेरम इन्स्टिच्यूटले केही मद्दत पाउन सक्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन्। यस विषयमा दुवै पक्षले कुनै प्रतिक्रिया भने दिएको छैन।