बाह्रदशी गाउँपालिकामा विकास निर्माणका कामले गति लिएको छ। कोरोना कहरकाबीच पनि गाउँपालिकामा सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको छ। गाउँका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।
बाह्रदशी गाउँपालिकाको गौरवको आयोजना उज्यालो बाह्रदशीको काम सम्पन्न भएको छ भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए। नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै गाउँपालिकाले चार करोड रुपैयाँ खर्च गरी गाउँपालिकाभित्र विद्युत् सेवा विस्तार गरेको। जसका लागि बाह्रदशी गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीन वर्ष अघिदेखि उज्यालो बाह्रदशी अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत गाउँपालिका सबै नागरिक विद्युत् सेवाको पहुँचमा पुगेका छन्।
यस अघि गाउँपालिकाको ६० प्रतिशत घरधुरीले मात्रै विद्युत् सेवा उपयोग गर्दै आएका थिए। स्थानीय तह गठनको पहिलो वर्ष नै हरेक नागरिकको घर-घरमा विद्युत् सेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान घोषणा गर्दै काम शुरु गरेको थियो।
उज्यालो बाह्रदशीसहित बाह्रदशी गाउँपालिकामा अहिले ६ करोड रुपैयाँको लागतमा वडा नं. ५स्थित घाग्रा खोलामा पक्की पुल निर्माण सुरू भएको छ। बाह्रदशी-५ पाख्रीबासपूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७ सय ७५ रुपैयाँमा पक्की पुल निर्माणको काम सुरू भएको हो।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएसँगै संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले पुलको शिलान्यास गरेका छन्।
गाउँपालिकाले गौरव आयोजनाका रुपमा बाह्रदशी-६ साधुकुटीमा झण्डै १२ करोड रुपैयाँको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाइएको छ। धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको साधुकुटीको विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको काम अघि बढाइएको अध्यक्ष राजवंशीले बताए। यो वर्ष गाउँपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गर्दै भ्यू टावर निर्माणको काम अघि बढाएको छ।
त्यस्तै, २२ बिगाहा क्षेत्रफलमा फैलिएको साधुपर्ती झिललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३६ करोड रुपैयाँको लागतमा पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको अध्यक्ष राजवंशीले सेतोपाटीलाई बताए। जसका लागि गुरुयोजना निर्माण गर्दै काम अघि बढाइएको छ। साधुपर्तीमा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो पोखरी र नजिकै चारकोसे जंगल रहेकाले यस ठाउँको विकास गर्दै आन्तरिक र बाह्रय पर्यटक भित्र्याउने उद्देश्यले साधुपर्तीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो।
गाउँपालिकाको-६ कुमालगाउँ जोड्ने सडक निर्माण कार्य पनि अघि बढेको छ। दुई करोड रुपैयाँको लागतमा पुल निर्माण कार्य अघि बढेको हो। मेचेगाउँ, कोनाबारीपूर्व अन्धुवा खोलामा पक्की पुल र साधुपर्ती जोड्ने सडकको अन्धुवा खोलामा समेत ठूला पक्की पुल निर्माणको काम सुरू गर्न लागिएको अध्यक्ष राजवंशीले बताए।
राजगढ बजारलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लाने उद्देश्यले गाउँपालिकाले एक करोडको लागतमा बजार व्यवस्थापनको काम सुरू गरेको छ। दक्षिण क्षेत्रकै पुरानो बजारका रुपमा रहेको राजगढको विकाससँगै त्यहाँको मुहार फेरिने अपेक्षासहित बजारको स्तरोन्नति गर्न लागिएको हो। राजगढ बजारपूर्व इलाका स्वास्थ्य चौकीदेखि राजगढसम्म जोड्ने सडकलाई कालोपत्रे गर्ने काम सुरू भएको छ।
यता बाह्रदशी-५मा समेत ३३ लाखको लागतमा उच्चस्तरीय ग्राभेलको काम सुरू भएको अध्यक्ष राजवंशीले बताए।