भनिन्छ- दक्षिण एसियाको स्थायी अर्थमन्त्री मनसुन हो। किनकी परम्परागत कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा ठूलो हिस्सा ओगटेको यो क्षेत्रमा मनसुनी गतिविधिको सोझो असर अर्थतन्त्रमा परिहाल्छ।
यो क्षेत्रका देशमध्ये नेपालको अर्थतन्त्रमा ३१.७, भारतमा २९.६, अफगानिस्तानमा २३ र पाकिस्तानमा २२.४ प्रतिशत योगदान कृषिले गर्छ।
त्यही भएर झन्डै साढे तीन महिनासम्म रहने मनसुन कहिले सुरू हुन्छ र कहिले सकिन्छ? अनि कति पानी पर्छ भन्ने कुराले यी देशको अर्थतन्त्रमा ठूलो अर्थ राख्छ।
नेपालमा सिँचाइ सुविधा नभएकाले बर्खामा खेत रोप्न किसानहरू निधारमा हात लगाएर आकाशतिर बादल हेर्छन्- पानी कहिले पर्छ भनेर।
यसपालि जुन १२ मा नेपाल पसेको मनसुनले औसत वर्षा भएको थियो। समयमै वर्षा भएकाले धान खेती हुने १३ लाख ७१ हजार हेक्टरमध्ये १३ लाख ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। अहिले धान पसाउने र पाक्ने बेलामा परिरहेको झरीले भने किसानलाई फाइदाभन्दा नोक्सान बढी गर्छ।
नेपालका सन्दर्भमा मनसुनको सम्बन्ध कृषिसँग मात्रै छैन कतिपयका लागि यो समय जीवन-मरणसँग जोडिएको छ। किनकी वर्षामा पहाडमा पहिरो आउँछ, तराईमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त हुन्छ। कतिले ज्यान गुमाउँछन्, कोही घरबार गुमाउँछन्। थातथलो छोडेर विस्थापित हुन बाध्य हुन्छन्।
गृह मन्त्रालयको तथ्यांकअनुसार यसपालि मनसुन सुरू भययता देशका विभिन्न भागमा खसेको पहिरोमा २७३ जनाको मृत्यु भएको छ भने ६५ बेपत्ता छन्। त्यस्तै बाढीले ३६ जनाको ज्यान लिएको छ भने ३९ जना अझै बेपत्ता छन्।
पहिरो आउने क्रम अझै रोकिएको छैन। अविरल झरीसँगै आएको बाढी पहिरोमा परी बिहीबार स्याङ्जा, धनकुटा, पाल्पा, नवलपरासी, मकवानपुर, कपिलवस्तु , ललितपुरमा दर्जन बढीले ज्यान गुमाएका छन् भने केही बेपत्ता छन्। ठाउँ-ठाउँमा राजमार्ग अवरूद्ध भएका छन्।
तीन दिनदेखि लगातार रूपमा परिरहेको झरी अझै रोकिने छाँटकाट छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउने शनिबारसम्म झरी निरन्तर परिरहने छ।
केही दिनदेखि नेपालमा झरी पर्नुको मुख्य कारण भारतको छत्तीसगढमा बनेको र पछि सर्दैसर्दै माथि आएको न्यूनचापीय क्षेत्रका कारणले हो। न्यूनचापीय क्षेत्र बन्दा कुनै ठाउँको वायुमण्डल चिसिन्छ र यताउताको तातो हावा आफूतिर तान्छ। यस्ता न्यूनचापीय क्षेत्र ठाउँ-ठाउँमा बनेर जोडिए त्यसलाई न्यूनचापीय रेखा भनिन्छ।
अहिले त्यस्तै न्यूनचापीय रेखा मध्यप्रदेश हुँदै बिहार र उत्तर प्रदेशमा आइपुगेको छ। बंगालको खाडीबाट वाष्पयुक्त मनसुनी वायु आफूतिर तानिरहेको छ। त्यही वाष्पयुक्त मनसुनी वायुका कारण यो क्षेत्रमा निरन्तर झरी परिरहेको छ।
बिहीबार बिहानसम्म पूर्वी र मध्य नेपालका विभिन्न ठाउँमा भारी वर्षा भएको छ। पछिल्लो २४ घन्टामा विराटनगरमा १२५ मिलिमिटर पानी परेको छ भने सिमरामा १०८, पोखरामा ८४ र काठमाडौंमा ७३.५ मिलिमिटर वर्षा भएको छ।
बिहीबारदेखि भने पश्चिम नेपालमा पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले बताए।
‘शनिबार साँझदेखि पश्चिम नेपालबाट बिस्तारै पानी पर्न रोकिने छ,’ मौसमविद् पौडेलले सेतोपाटीसँग भने,‘त्यसपछि नयाँ प्रणाली आएन भने यसपालिको मनसुन सकिन्छ कि।’
हिजोआज परिरहेको झरीको कारण छत्तीसगढमा बनेको न्यूनचापीय क्षेत्र भए पनि नेपालमा पछिल्ला वर्षहरूमा मनसुन सकिनु पर्ने बेला सकिएको छैन।
सामान्य हिसाबले मनसुनी गतिविधि भएको भए हिजो (बुधबार) देखि नेपालबाट मनसुनी वायु बाहिरिइसक्नु पर्ने हो।
‘नेपालमा औसतमा जुन १० मा मनसुनको आगमन हुने र सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो,’ मौसमविद् पौडेलले भने,‘तर पछिल्ला वर्षहरूमा त्यो सिलसिला बिग्रिएको छ। मनसुन ढिला आउँछ र ढिलै जान्छ।’
पौडेलका अनुसार यस्तो क्रम सन् २०१३ देखि देखिएको हो। पोहोर साल पनि अक्टोबर १२मा मात्र मनसुन नेपालबाट बाहिरिएको पौडेलले बताए।
‘पछिल्ला सात वर्षमा कहिल्यै मनसुन सेप्टेम्बरमा सकिएको छैन। प्राय: अक्टोबरको दोस्रो सातासम्म लागेको छ,’ पौडेलले भने,‘यस्तो किन भइरहेको छ भन्ने कुरा अध्ययनको विषय बनेको छ।’
उनले महाशाखाले यसबारे अहिले अध्ययन गरिरहेको जानकारी दिए।
‘संसारभरिनै जलवायु परिवर्तनको असर परेको छ। हाम्रो मनसुनमा पनि त्यसैको असरले ढिला आउने र ढिलासम्म बस्ने भएको हुन सक्छ। त्यसको हामी अध्ययन गरिरहेका छौं,’ पौडेलले भने।
यस्तो हुन्छ मनसुनको चक्र
धेरैले भन्छन्- मनसुन बंगालको खाडीबाट आउँछ।
तर यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।
त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।
पूर्वीअफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ।
भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ। दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक-फरक भइरहन्छ।
दुबै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ।
चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।
जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ।
‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’
नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ।
केरलाबाट पनि मनसुन सिधै नेपाल आउँदैन।
केरलाबाट यो दुईतिर बाँडिन्छ।
एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।
बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।
नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।
‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मानन्धरले भनिन्,‘अप्रिल र मेमा नेपालमा यी दुई वायूको झगडा नै पर्छ।’
हावाको झगडा!, किन नि?
‘दुबैका विशेषता फरक-फरक छन्। एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ। अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ,’ मानन्धरले भनिन्,‘यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ। नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन।’
पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ।
गर्मी सुरू भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ। यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ। कुनै ठाउँमा सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यून चापीय प्रणाली भनिन्छ।
‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन्। तिब्बतमा जति छिटो न्यून चापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारि जान सक्दैन। यतै झर्छ।’
कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ।
प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम असर पार्छ। महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई लालिनो र एललिनो भनिन्छ।
स्पेनिस भाषामा लालिनो भनेको सानी केटी हो। प्रशान्त महासागरको ‘ट्रेड विन्ड’ बहने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर लालिनो हुन्छ। लालिनो हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ।
स्पेनिसमा एललिनोको अर्थचाहिँ सानो केटो हो। एललिनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ। एललिनो हुन्छ भने सन् १६००मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए।
‘प्रशान्त महासागरमा लालिनो र एललिनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रो मनसुनका लागि भने एसियातिर लालिनो भएको राम्रो। किनकी त्यसले मनुसनलाई सहयोग पुग्छ।’
यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ।
संसारमा दुई दर्जनभन्दा बढी मनसुन छन्। बाह्रै महिना संसारभर कहिँ न कहिँ मनसुन चलिरहेको हुन्छ। ब्राजिललगायत देशमा पानी पार्ने साउथ अमेरिकन मनसुन सेप्टेम्बरमा सुरू हुन्छ भने दक्षिण पूर्वी अफ्रिकाको मनसुन जनवरीमा सुरू भएर मार्चमा सकिन्छ।
‘तर यी कुनै पनि मनसुन सोमालियाबाट आउने मनसुनजस्ता भर पर्दा हुँदैनन्, कहिले आउँछन्, कहिले सकिन्छन्, टुंगो हुँदैन,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रोमा आउने मनसुन यति ज्ञानी छ कि हजारौं वर्षदेखि भनेकै बेला आउँछ र फर्केर जान्छ।’
तर पछिल्ला वर्षहरूमा भने मनसुनले समय फेर्न थालेको जस्तो देखिन्छ। यो भनेको बेलाभन्दा अलि पछि आउँछ र पछिसम्म रहिरहन्छ।