कपिलवस्तुको महाराजगञ्जका ३३ वर्षीय शेषराम बढइ गत साउन १६ गते दिउँसो घरमा सुतिरहेका थिए।
खाटमा निदाइरहेका उनको अचानक खुट्टा दुख्यो, किरासिराले टोकेजस्तो लाग्यो।
उठेर कोठा वरिपरि हेरे, खाटमुनि पनि हेरे केही देखेनन्।
खुट्टाको औंलामा केहिले टोकेजस्तो डोब देखिएको थियो, ठूलो कमिलाले टोकेहोला भन्ठानेर खासै वास्ता गरेनन्।
बिउँझिएपछि केहीबेर खाटमै बसिरहेका उनको शरीरमा छटपटी आयो। गर्मीको महिना थियो, उनी शौचालय गए। फर्किएर आएपछि पानी खाए। छटपटी हुन छोडेन। शरीरमा चिटचिट पसिना आइरहेको थियो। उनी आत्तिएर बहादुरगञ्ज अस्पताल पुगे।
अस्पतालले उनलाई सर्पले टोकेको आशंकामा केही समय निगरानीमा राख्यो।
उनी भने शौचालय जान्छु भनेर अस्पतालबाट निस्किए। गाउँनजिकै झारफुक गर्ने व्यक्ति थिए, उनी त्यहीँ पुगे।
त्यहाँ पुग्दा राति भइसकेको थियो। शेषरामको शरीरमा सर्पको विष फैलिएको लक्षण देखिइसकेको थियो। तीन घण्टा झारफुक गर्दा शेषरामको शरीर सिथिल भइसकेको थियो।
सर्पले टोकेको आशंकामा अब्जरभेसनमा राखिएको व्यक्ति अचानक गायब हुँदा अस्पतालमा उनको खोजी भइरहेको थियो।
रातको ३ बजे उनलाई केही मानिसहरूले बेहोस अवस्थामै ल्याइपुर्याए।
विष फैलिएर शरीरमा देखिएको लक्षणको आधारमा उनलाई करेत सर्पले टोकेको अस्पतालले पुष्टि गरिसकेको थियो। तर, बेहोस अवस्थामा पुगिसकेकोले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई गोरूसिङगेस्थित सर्पदंश उपचार केन्द्रमा पठाइयो।
अघिल्लो दिनको ३ बजे सर्पले टोकेको उनको भोलिपल्ट बिहान ४ बजेदेखि (१३ घण्टा पछि) बल्ल उपचार सुरू गरियो।
निगरानीमा राखिरहेका बेला विष लागेको थाहा पाउनेवित्तिकै उपचार सुरू गर्न पाएको भए छिटो निको हुने थियो।
सर्पदंश उपचार केन्द्र गोरूसिंगेका व्यवस्थापक नवीन भण्डारी करेतले टोकेको १३ घण्टापछि उपचार पाउँदा पनि ज्यान बाँच्नु भनेको उनको भाग्य नै सम्झिन्छन्।
केन्द्रले चार दिनसम्म उपचार गरी निको बनाएर उनलाई घर पठाएको थियो।
रूपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका-१४ वर्षीय कपिल पन्थी घरबाहिर खेलिरहेका बेला केहीले टोक्यो। यताउता केही नदेखेपछि बारूलाले टोक्यो होला भनेर घरमै बसिरहे।
केही समयपछि उनको शरीरमा विष चढ्दै गयो। छाती, पेट, टाउको लगायत शरीरको पूरै भाग सहन नसक्ने गरी दुख्दै जाँदा उनी बेहोस् अवस्थामा पुगेका थिए।
गम्भीर अवस्थामा घरमै पल्टिएका कपिललाई छिमेकीले देखेपछि तत्काल गोरूसिंगे सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए।
केन्द्रमा पुर्याउँदा उनलाई विषालु सर्पले टोकेको चार घण्टा भइसकेको थियो।
उनको शरीरमा देखिएको लक्षण हेर्दा गोमन सर्पले टोकेको पत्ता लाग्यो। केन्द्रले तत्काल उपचार सुरू गर्यो। केन्द्रमा २६ घण्टासम्म एन्टिभेनमको उपचार गरी स्वास्थ्य अवस्था सुधार भएपछि सर्पले टोकेको स्थानमा जमेको विषको भागलाई अप्रेशन गरी निकाल्न उनलाई बुटवल पठाइएको थियो।
उनीहरू त धन्न बाँचे। उपचार गर्न ढिलो ल्याउँदा धेरैको ज्यान जाने गरेको छ। केन्द्रका व्यवस्थापक भण्डारीका अनुसार झारफुकमा लागेर उपचारमा ढिलाइ हुँदा यस वर्षको गर्मीमा मात्र गरूसिंगे उपचार केन्द्रमा सर्पले टोकेका ११ बिरामीको मृत्यु भयो। ती सबैलाई झारफुकमा लागि स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेपछि मात्र उपचार केन्द्रमा ल्याइएको थियो।
त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा पनि गत आर्थिक वर्षमा सर्पले टोकेका ६ जनाको मृत्यु भएको थियो। अस्पतालमा १०४ जना सर्पदंशका विरामी आएकोमा ६ जनाको मृत्यु भएको थियो।
तराई क्षेत्रमा सर्पले टोके पनि नदेख्दासम्म कमिला वा सामान्य किराफट्याङग्राले टोके होला भन्ने र सर्पले टोकेको थाहा भए पनि अस्पताल जानुको सट्टा झारफुकतर्फ लाग्दा मानिसको ज्यान जाने गरेका छन्।
भदौ ३० गते सर्पले डसे पनि झारफुकमा लाग्दा दाङको घोराही उपमहानगरपालिका-१२ रतनपुरकी चित्रकला पुन मगरको मृत्यु भयो। कपिलवस्तु शिवराज-९ बिजगौरीमा रहेको माइतीमा आएकी चित्रकलालाई ३० गते दिउँसो १ बजे सर्पले टोकेको थियो।
माइतीदेखि आधा घण्टाकै समयमा पुगिने सर्पदंश उपचार केन्द्रमा नलगी झारफुकतर्फ लाग्दा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि साँझ ५ बजेपछि केन्द्रमा पुर्याउँदै गर्दा उनको मृत्यु भयो।
केन्द्रका व्यवस्थापक भण्डारी विषालु सर्पले टोके पनि तत्काल उपचार केन्द्रमा ल्याएर उपचार सुरू गर्न सके ज्यान जोगाउन सकिने बताउँछन्।
‘तर झारफुकमा लाग्दा मानिसहरूको मृत्यु भइरहेको छ,’ उनले भने।
सर्पदंश उपचार केन्द्रले सर्पले टोकेका बिरामीको उपचार गर्नुको साथै टोकाइबाट बच्न र झारफुकमा नजान सचेतना दिने काम गर्छ। तर, अझै पनि झारफुकको अन्धविश्वास हटेको छैन।
उनका अनुसार सर्वसाधारणलाई मात्र होइन, झारफुक गर्नेहरूलाई समेत सम्झाइ बुझाइ गरिने गरिएको छ।
‘गोमन र करेत सर्पको टोकाइपछि उपचारपछि पनि लामो समयसम्म शरीरमा विषको प्रभाव रहन सक्ने भएकोले विरामीहरु अस्पतालबाट गएपछि फेरि झारफुकमै लाग्छन्, उनीहरूलाई अस्पताल वा उपचार केन्द्रले नभई झारफुकबाट आफूलाई सन्चो भएको भ्रम हुन्छ,’ उनले भने।
गत वर्ष भदौ महिनाको गोरूसिंगेकी चमेली थारूलाई सर्पले टोक्यो। टाटीले बारेको कच्ची घरमा सुतेकी उनलाई राति २ बजे गोमन सर्पले टोकेको थियो। सर्पले टोके पनि सर्प नदेखेपछि उनलाई १० मिनेटको दुरीमा रहेको सर्पदंश उपचार केन्द्रमा बिहान ४ बजेमात्र पुर्याइएको थियो।
उनको शरीरमा विष फैलिसकेको थियो। सास फेर्न गाह्रो भइरहेको थियो, मुखबाट फिँज निस्किएको थियो। अस्पताल लगेपछि पनि २४ घण्टा उनको होस खुलेन। दोस्रो दिन मात्रै उनको होस् खुल्यो।
तीन दिनसम्म एन्टिभेनम दिएपछि उनलाई चौथो दिन घर पठाइएको थियो। गोमन सर्पले टोकेको र दुई घण्टापछि उपचार गरिएकोले उनको शरीरमा विषको पूरै असर हटिसकेको थिएन।
उनी घर आएपछि झारफुकतर्फ लागिन्। एक हप्तापछि उनको शरीरमा विषको असर पनि हट्दै गयो।
चमेलीलाई अहिले पनि झारफुक गरेर मात्र शरीरको विष झरेको जस्तो लाग्छ।
त्यसैले, उनी गर्मी र वर्षा लाग्नेवित्तिकै घर वरिपरि गाईको दुध चढाउने गर्छिन्।
असारमा दुई लिटर दुध घर वरिपरि छर्किएकी चमेलीले साउन र भदौ महिनामा पनि एक-एक लिटर दुध छर्किईन्। सर्पले नटोकोस् भनी नांगपञ्चमीमा यस वर्ष विशेष पूजा गरिन्। अघिल्ला वर्षभन्दा धेरै दुध चढाइन्।
चमेलीलाई मात्र होइन झारफुक र गुरूबालाई हेराएर सर्प घर वरिपरि नआउने र सर्पले टोकेको निको हुने अन्धविश्वास शिक्षित परिवारमा समेत कायम रहेको भण्डारी बताउँछन्।
झारफुकका कारण अस्पताल ल्याउन ढिलो भएर मृत्यु भएका र अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकाहरूको तथ्यांक बाहिर आएको छ। तर, तराईका दुर्गम र विपन्न बस्तीमा सर्पले टोकेको थाहा नपाई मृत्यु हुनेहरूको संख्या अझै ठूलो हुन सक्ने उनी बताउँछन्।
सर्पदंश उपचार केन्द्र गोरूसिंगेमा १० वर्षदेखि व्यवस्थापकको रूपमा काम गर्दै आएका भण्डारी सर्प नदेखिए पनि केहीले टोकेपछि सर्पले टोकेको हो कि भन्ने आशंका गरेर तत्काल सर्पदंश उपचार केन्द्रमा आउनुपर्ने बताउँछन्।
‘त्यसो गर्ने हो भने मृत्यु हुने सम्भावना अत्यन्त न्यून हुन्छ,’ उनले भने।
नेपाली सेना र बुद्धभूमि नगरपालिकाले सञ्चालन गरिरहेको सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको प्राविधिक टिमले सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ। केन्द्रको अरू व्यवस्थापनको जिम्मेवारी भने नगरपालिकाले लिँदै आएको छ।
यो केन्द्रमा कपिलवस्तुबाहेक गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ तथा छिमेकी देश भारतबाट समेत सर्पदंशका बिरामी आउने गर्छन्। वार्षिक ६ देखि ७ सयसम्म बिरामीले सेवा लिने यो केन्द्र सर्पदंशका बिरामीको राम्रो उपचार हुने केन्द्रको रूपमा मानिन्छ।