जनकपुरका प्रज्ञा सिंह र प्रज्वल सिंह दिदीभाइ हुन्। उनीहरूका बुवा डाक्टर थिए। बुवाका पाइला पछ्याउँदै उनीहरू पनि डाक्टरी पढ्दैछन्।
प्रज्ञा अहिले एमबिबिएस पाँचौ वर्षमा छिन्, प्रज्वल दोस्रो सेमेस्टरमा। हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेश्वरप्रसाद सिंहले दुई छोराछोरीलाई डाक्टर पढ्न बंगलादेश पठाएका थिए। उनी आफू यता हाड घोट्थे, उता छोराछोरीलाई खर्च पठाउँथे।
छ/सात महिनायता भने प्रज्ञा र प्रज्वलको डाक्टर बन्ने सपनामा ठेस लागेको छ। उनीहरूको सपनामा हरहमेसा उकेरा लगाइराख्ने बुवा अब यो धरतीमा छैनन्। लकडाउनले बन्द भएको कलेज छोडेर नेपाल आएका यी दिदीभाइ अचेल आमासँगै कहिले नेपाल मेडिकल काउन्सिल (एनएमसी) धाउँछन्, कहिले सिडिओ कार्यालय, त कहिले गृह मन्त्रालय।
उनीहरूलाई लाग्छ- हाम्रा बुवाको उपचारमा लापरबाही भएको छ, हामीमाथि अन्याय भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा डाक्टरी पढाउने उनीहरूका बुबालाई त्यहाँका डाक्टरहरूले राम्ररी उपचार गरेको भए उनको ज्यान जोगिन्थ्यो।
भारतबाट एमबिबिएस, पाकिस्तानबाट अर्थोपेडिक्समा एमएस र अमेरिकामा विभिन्न तालिम गरेका डाक्टर सिंहले युनिभर्सल मेडिकल कलेजमा हाडजोर्नी विभाग प्रमुख भएर काम गरेको झन्डै १० पुगेको थियो। उनी अस्पतालमा काम गर्दा श्रीमती वीनाले काठमाडौंमा छोराछोरी पढाएकी थिइन्। दुबै छोराछोरी पढ्न विदेश गएपछि २०७६ वैशाखमा उनी पनि श्रीमानसँगै बस्न भैरहवा गइन्।
गत वर्ष भदौ १० गते। डाक्टर सिंह एउटा पार्टीमा गएका थिए। श्रीमती वीना सँगै थिइन्। खाना खाने क्रममा सिंहको घाँटीमा मासुको हड्डी अड्कियो। उनलाई अप्ठेरो भयो। वीनाले एम्बुलेन्स बोलाइन्। डाक्टर सिंहले पढाउने मेडिकल कलेजमा पुर्याइन्। अस्पतालको इमर्जेन्सीमा पुग्दा रातको झन्डै ११ बजेको थियो होला।
'उहाँ मलाई गाह्रो भइरहेको छ भन्दै हुनुहुन्थ्यो तर त्यहाँका डाक्टरसाबहरूले हड्डी निकाल्ने कुरै गर्नुभएन, रातभरि पेन किलर दिएर राख्नुभयो,' वीनाले सेतोपाटीसँग भनिन्,'उहाँले पढाउने कलेज, उहाँकै साथी डाक्टरहरूले राम्रै गर्नुहोला सोचें। शंका गरिनँ, भर परें।'
१० घन्टापछि अर्को दिन बिहान ९ बजे डाक्टर सिंहलाई अपरेशन थिएटरमा लगियो। नाक, कान, घाँटीका डाक्टर विश्व तुलाचन, एनेस्थेसियाकी लक्ष्मी पाठक र कार्डियोथोरासिक सन्तोष साहको टिमले डाक्टर सिंहको अपरेशन गर्यो।
'अपरेशन गरेपछि उहाँहरू आएर भन्नुभयो- अपरेशन सफल भयो। हामीले आधा हड्डी निकाल्यौं, आधा हड्डी तलतिर धकेलिदियौं,' वीनाले सम्झिइन्।
सर्जरीपछि उनलाई पोस्ट अपरेशन वार्डमा राखियो। अर्को दिन बिहान डाक्टरहरूको राउन्ड आयो। डाक्टरहरू राउन्डमा आउँदा सिंहलाई घाटीको अप्ठेरो कम भएको थिएन। डाइबेटिजको पनि समस्या रहेका उनले आफूलाई गाह्रो भइरहेको बताए।
'केही अरू कारणले घाँटी सुन्नियो, बिस्तारै ठिक हुन्छ,’ डाक्टरहरुले भने।
सिंहलाई झोलिलो खानेकुरा दिए हुन्छ, २-३ दिनमा उनले सामान्य खाना खान सक्छन् भनेर राउन्डमा आएका डाक्टर गए।
डाक्टरले भनेपछि वीनाले त्यही दिन दूध ल्याएर श्रीमानलाई खुवाइन्।
अर्को दिन धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर अरूणकुमार सिंह भैरहवा आए। उनी डाक्टर सिंहका भाइ हुन्। उनले भाउजुसँग दाइलाई के-कसो भएको हो भनेर सोधे।
त्यो दिन डाक्टर सिंहलाई ज्वरो आएको थियो। बान्ता पनि भएको थियो। डाक्टरहरूले भने उनलाई त्यही दिन डिस्चार्ज भएर घर गए पनि हुन्छ भनेका थिए।
'मैले घरमा जाँदा गाह्रो हुन्छ बरू अस्पतालमै ठिक छ भनेपछि त्यही बस्यौं। तर त्यही दिन भैरहवामा भएको अर्थोपेडिकसम्बन्धी एउटा सेमिनारमा उहाँलाई लिएर जानुभयो,' वीनाले भनिन्।
त्यो सेमिनारको आयोजना युनिभर्सल मेडिकल कलेज नै गरेको थियो।
'अर्थोको विभागीय प्रमुख बुवा भएकाले उनीहरूले तपाईंले केही बोल्नु पर्दैन, गएर बसिदिए मात्र पुग्छ भनेर लिएका रहेछन्,' छोरा प्रज्वलले भने,'केही मिनेट बसेपछि बुवाले छाती दुख्यो भन्नुभएछ। फेरि अस्पताल ल्याएछन्।'
दाइको यस्तो हालत देखेपछि डाक्टर अरूणलाई शंका लाग्यो। उनले हड्डी घाँटीबाट हट्यो कि हटेन भनेर एक पटक फेरि सिटी स्क्यान गर्न जोड गरे।
१४ गते डाक्टर सिंहको सिटी स्क्यान भयो। सिटी स्क्यानको रिपोर्ट हेरेपछि भने डाक्टरहरूको अनुहारको रङ बदलियो। उनीहरूले आत्तिएजस्ता देखिए। सिंहको परिवारलाई केही भनेनन्। बरू काठमाडौं जानु पर्ने बताए।
'काठमाडौंको ग्रान्डी अस्पतालसँग हाम्रो सहकार्य छ। भोलि बिहान उहाँलाई एयरलिफ्ट गरेर काठमाडौं पठाउँछौं भन्नुभयो, अरू केही भन्नुभएन,' वीनाले भनिन्, 'त्यसपछि हामी पनि आत्तियौं। रातभरि छटपटियौं।'
अर्को दिन बिहानै अस्पतालले व्यवस्था गरेको हेलिकप्टर चढेर डाक्टर सिंह, वीना र भाइ अरूण काठमाडौं आए।
हेलिकप्टर धापासीस्थित ग्रान्डी अस्पतालको हेलिप्याडमा उत्रियो। डाक्टर सिंहको उपचार भने त्यहाँ भएन। ग्रान्डीमा एम्बुलेन्स तयारी हालतमा थियो। त्यही चढेर उनीहरू त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे।
'हामी पुग्दा मनमोहनमा डाक्टरसाबहरू अपरेशनका लागि रेडी भएर बस्नुभएको थियो। उताबाट पहिल्यै कुरा भइसकेको रहेछ। उहाँको अवस्था निकै जटिल भइसकेको छ, जतिसक्दो छिटो अपरेशन गर्नुपर्छ भनेर पेपर साइन गर्न लगाएपछि हामी त छाँगाबाट खसेजस्तै भयौं,' वीनाले भनिन्,'भैरहवामा त डाक्टरहरूले केही हुन्न एक-दुई दिनमा ठिक हुन्छ भन्नुभएको थियो।'
त्यो दिन मनमोहनमा डाक्टर विभुषाल थापा, रञ्जन सापकोटा र आकृति शर्माको टिमले ६ घन्टा लगाएर डाक्टर सिंहको अपरेशन गर्यो।
सिंहको अपरेशन गरेका थोरासिक सर्जन सहप्राध्यापक सापकोटाले बिरामी आइपुग्नुअघि नै आफूहरूलाई खानेनलीमा गम्भीर समस्या भएको बिरामी आउँदैछ भन्ने खबर आएको बताए।
'सायद भैरहवाबाट अस्पताललाई खबर गरेको थियो होला। गम्भीर भनेपछि नलीमा प्वाल परेको हुनसक्छ ठानेर हामी अपरेशनका लागि तयारी हालतमा बसेका थियौं,' डाक्टर सापकोटाले सेतोपाटीसँग भने,'उहाँहरू आउनासाथ ढिला नगरी ओटीमा लिइहाल्यौं।'
उनका अनुसार मनमोहनमा पुर्याउँदा डाक्टर सिंहको घाँटीमा हड्डी छँदै थियो। लामो समयसम्म रहेको हड्डीले नलीमा प्वाल पारेको थियो। त्यो प्वालबाट गएको खानेकुराले छातीसम्म इन्फेक्सन भएको थियो। पीप जमिसकेको थियो।
'हामीले उहाँको खानानली काट्यौं। छातीको संक्रमण र पीप निकाल्न अर्को अपरेशन गर्यौं,' डाक्टर सापकोटाले भने,'खानानली काटेर फाल्यौं, त्यसैले मुखबाट खाना दिन मिलेन अनि पेटमा पनि अर्को अपरेशन गरेर आन्द्रामा अर्को नली जोड्यौं।'
यता डाक्टर सिंहको स्थिति बिग्रँदै गएको थियो। उता बंगलादेशमा रहेका छोराछोरीलाई यो कुरा थाहै थिएन।
'उनीहरूको जाँच चलिरहेको थियो। चिन्ता मान्लान् र जाँच बिगार्लान् भनेर बुवालाई अलिअलि घाँटीमा समस्या छ मात्र भनेकी थिएँ,' वीनाले भनिन्।
मनमोहनका डाक्टरले गरेको अपरेशनबाट डाक्टर सिंहको ज्यान त जोगियो तर उनी सामान्य अवस्थामा फर्किएनन्। उनको शरीरमा नयाँ खानानली बनाउनु पर्थ्यो। मेडिकल भाषामा त्यसलाई 'ग्यास्ट्रिक पुल अप' भनिन्छ। त्यो भनेको आमाशयलाई खानानलीमा रूपान्तरण गर्नु हो। डाक्टर सापकोटाका अनुसार हाम्रो खानानली र आमाशयको लम्बाई बराबर हुन्छ- लगभग २५ सेन्टिमिटर।
'खानानलीका कोषहरू निकै संवेदनशील हुन्छन्। खानानली काटेपछि त्यसको विकल्प आमाशयलाई नै माथि तानेर खानानली बनाउने हो,' उनले भने,'दुबैको आकार मिल्ने भएकाले यसो गरिन्छ। त्यसपछि आमाशय रहन्न। खाना सोझै मुखबाट आन्द्रामा पुग्छ।'
तीन वटा अपरेशन सँगै गरेकाले डाक्टर सिंहको 'ग्यास्ट्रिक पुल अप' तत्काल गर्न सम्भव भएन। डेढ महिनापछि बोलाउने भनेर डाक्टरहरूले उनलाई १५ दिन अस्पताल राखेर डिस्चार्ज गरिदिए।
वीनाले बिरामी श्रीमानलाई अस्पतालबाट निकालिन्। जनकपुर धेरै टाढा थियो फेरि डेढ महिनापछि त आउनु नै छ। उनी श्रीमानलाई लिएर ललितपुरस्थित माइती पुगिन्।
'उहाँलाई सबैथोक नलीबाटै खुवाउँथे। बोल्न सक्नुहुन्थेन्। फाट्टफुट्ट एक दुई शब्द बोल्नु हुन्थ्यो,' उनले भनिन्, 'बेलाबेलामा फलो अपमा पनि गइरहन्थें।'
त्यही बेला दशैं मनाउन प्रज्वल नेपाल आएका थिए। आमाले अलिअलि घाँटीको समस्या छ भनेका बुवालाई उनले ओछ्यानको ओछ्यानमै देखे।
डेढ महिना घरमा बसेपछि कात्तिक १७ गते ग्यास्ट्रिक पुल अपका लागि डाक्टर सिंहलाई मनमोहनमा फेरि भर्ना गरियो। पहिले अपरेशन गरेको डाक्टरको टिमले १९ गते उनको आमाशयलाई खानानली बनाउने अपरेशन गर्यो।
'अपरेशन गरेपछि ५०-५० चान्स छ भनेका थियौं किनकी उहाँलाई डायबेटिज, उच्च रक्तचाप र मुटुको समस्या थियो,' डाक्टर सापकोटाले भने,'ती समस्याले पनि होला उहाँको शरिरमा नयाँ खानानली राम्ररी जोडिएन।'
डाक्टर सिंहलाई भेन्टिलेटरमा राखियो। मनमोहनको भन्दा टिचिङको क्रिटिकल केयर राम्रो छ भनेर टिचिङमा सारियो।
'त्यसपछि उहाँ बोल्न नसक्ने हुनुभयो। म उहाँलाई हेर्थें, उहाँ मलाई हेर्नुहुन्थ्यो। त्यसैगरी दिन-महिना बिते,' वीनाले भनिन्।
डाक्टर सिंह यो नाजुक अवस्थामा पुग्नुका पछि उनले काम गर्ने युनिभर्सल मेडिकल कलेजका डाक्टरहरूको लापरबाही कारण थियो। सुरूदेखि नै उनीहरूले आफ्ना विभागीय प्रमुखको उपचारमा हेलचक्रयाइँ नगरेको भए आज यस्तो हालत हुने थिएन।
जुन प्राध्यापकको नाममा मेडिकल कलेजले वर्षौंसम्म सयौं विद्यार्थी भर्ना गर्यो। करोडौं रुपैयाँको व्यापार गर्यो तिनै डाक्टर अस्पतालको शैयामा बोल्न नसक्ने भएका बेला के-कस्तो छ भनेर सोध्दा पनि नसोधेको देख्दा वीनाको मन कुँडियो।
'उहाँहरूले गल्ती गर्नुभएको थियो, त्यो त हामीसँग स्वीकार्नु पनि भएन। आफ्नै मेडिकल कलेजमा नौ-दस वर्ष काम गरेको विभागीय प्रमुख त्यस्तो हालतमा हुँदा मानवीयता पनि देखाउनु भएन,' वीनाले भनिन्,'के छ, कसो छ भनेर कहिल्यै एकफेर सोध्नु पनि भएन।'
पुस ३ गते डाक्टर सिंह टिचिङको भेन्टिलेटरमै हुँदा वीनाले उनको उपचारमा संलग्न युनिभर्सलका डाक्टरहरूले लापरबाही गरको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिइन्।
उजुरीमा वीनाले युनिभर्सलका डाक्टरहरूका सिलसिलेवार गल्तीले डाक्टर सिंहको स्वास्थ्य जटिल बनाएको उल्लेख गरेकी थिइन्।
युनिभर्सलका डाक्टरहरुले पाँच मुख्य गल्ती गरेका थिए।
पहिलो, घाँटीमा हड्डी अडकिएर गम्भीर अवस्थामा अस्पताल पुर्याएको १० घन्टासम्म पनि उनको अपरेशन गरिएन। 'पेन किलर' दिएर राखियो।
दोस्रो, जब डाक्टरहरुले अपरेशन गरे गम्भीर गल्ती गरे। आधा हड्डी निकाल्यौं, आधा तलतिर धकेलिदियौं भने। तर बाँकी हड्डी तल गएको थिएन, त्यहीँ अडकिएको थियो।
अपरेशनपछि हड्डी खानानलीबाट हट्यो कि हटेन, तल झर्यो भने त्यसले तल गएर कतै नलीमा घाउ वा प्वाल बनाएको छ कि भनेर सिटी स्क्यान गर्नु अनिवार्य कुरा हो। यस्ताखाले अपरेशनमा पहिला अड्किएको वस्तु पुरै गयो कि गएन र त्यो ठाउँको अवस्था कस्तो छ भनेर अपरेशनपछि सिटी स्क्यान वा अरू केही विधिबाट हेर्नु प्रोटोकल अन्तर्गत नै पर्ने डाक्टरहरू बताउँछन्। खानेनलीका कोषहरू निकै संवेदनशील हुने भएकाले केही क्षति भएको छ कि भनेर एकिन गर्नुपर्छ। डाक्टर सिंहको अपरेशनपछि प्रोटोकलअनुसार तुरून्तै सिटी स्क्यान गरिएन।
तेस्रो, डाक्टर सिंहलाई केही समयसम्म खाना खान दिइनु हुन्नथियो। तर डाक्टरहरूले उनलाई अर्को दिन नै तरल खानेकुरा खुवाउन भने। एकातिर भित्रको हड्डीले खानेनलीमा प्वाल पारेको थियो अर्कातिर बाहिरबाट खानेकुरा दिएपछि त्यही प्वालबाट निस्कियो र संक्रमण छातीसम्म फैलियो।
चौथो, डाक्टर सिंह अस्पतालको शैयामै थिए तर अपरेशनमा संलग्न डाक्टर लक्ष्मी पाठकले उनको आफूहरूले सफल अपरेशन गरेको भन्दै भिडिओ र फोटो फेसबुकको डाक्टर्स सोसाइटीको ग्रुपमा पोस्ट गरिन्। आफूहरूले केही नयाँ कुरा गरेर डाक्टर सिंहको सफल अपरेशन गरेको उनले दाबी गरिन्। आलोचना भएपछि उनले उक्त पोस्ट पछि मेटाइन्। परिवारको अनुमतिबिना कोही बिरामीबारे यसरी सार्वजनिक गर्नु 'अनइथिकल' मानिन्छ।
पाचौं, जब डाक्टर सिंहलाई गाह्रो हुँदै गयो युनिभर्सल मेडिकल कलेजले उनलाई काठमाडौं पठाउने तयारी गर्यो। तर सिंहलाई किन गाह्रो भयो, अपरेशनमा के गल्ती भयो भनिएन। केही दिनअघि सम्म डिस्चार्ज गर्ने बताइरहेका डाक्टरहरूले सिंहलाई एक्कासी काठमाडौं किन लैजानु पर्ने भयो भन्ने परिवारलाई बताएनन्।
डा सिंह मेडिकल कलेजमा उपचार गर्न बाहिरबाट आएका बिरामी थिएनन्। एउटा विभागमा प्रमुख नै थिए। उनी र उनको परिवारसँग जुन हेलचेक्याइँ गरियो, जसरी गल्ती थाहा भएपछि सूचना लुकाइयो, त्यसले आमबिरामी र उनीहरूका परिवारसँग उक्त मेडिकल कलेजले कस्तो व्यवहार गर्छ भन्ने छनक दिएको छ।
मेडिकल काउन्सिलमा वीनाको उजुरीमाथि छानबिन सुरू नै भइसकेको थिएन, त्रिवि शिक्षण अस्पतालमा डाक्टर सिंहको अवस्था दिनदिनै नाजुक हुँदै गयो। भेन्टिलेटरको सहायताले सास फेरिरहेका ५६ वर्षीय यी डाक्टरले गत माघ २ गते अन्तिम सास फेरे।
मानिसका शरिरका हड्डीबारे उनले जीवनभर पढे, पढाए र बिरामीको उपचार गरे। घाँटीमा अडकिएर एउटा हड्डीको आफ्नै मेडिकल कलेजमा सावधानीपूर्वक उपचार हुन नसक्दा उनको मृत्यु भयो।
'हामीले सेकेको प्रयास गरेका थियौं तर उहाँलाई बचाउन सकेनौं,' डाक्टर सापकोटाले भने,'सुरूमा उहाँलाई अस्पताल ल्याउँदा नै अवस्था जटिल भैसकेको थियो।'
के साँच्चै युनिभर्सलका डाक्टरहरूले सिंहको उपचारमा लापरबाही गरेका थिए त?
मेडिकल काउन्सिलले झन्डै ८ महिना लगाएर यो विषयमा अनुसन्धान गर्यो। उक्त अनुसन्धानबाट एकातिर सिंहको उपचारमा संलग्न चिकित्सकको हेलचक्रयाइँ देखिएको छ भने अर्कातिर उनीहरूले बिरामीका आफन्तलाई बेलैमा सही सूचना नदिएको देखिएको छ।
काउन्सिलले उपचारमा संलग्न डाक्टर विश्व तुलाचनलाई एक वर्षको प्रतिबन्ध लगाएको छ।
'तपाईंबाट व्यक्त स्पष्टिकरणमा वस्तुगत रूपमा पुष्टि हुने गरी यथेस्ट प्रमाणपत्रहरू संलग्न नभएकाले एक वर्षका लागि इसोफेजिएल इन्डोस्कोपी नगर्न निर्देशन दिने र सो विषयको तालिम लिई सोको प्रमाणपत्र काउन्सिलमा पेस गरेपछिमात्र इसोफेजियल इन्डोस्कोपी प्रोसेज्युडर गर्न दिने निर्णय भएको व्यहोरा अवगत गराउँदै सोही बमोजिम तपाईंलाई जानकारी तथा कार्यन्वयनका लागि सचेत गराइएको छ,' काउन्सिलले भदौ २२ गते तुलाचनलाई लेखेको पत्रमा भनिएको छ।
उपचारमा संलग्न अर्की चिकित्सक लक्ष्मी पाठकले भने भदौ २४ गतेमात्रै काउन्सिलमा आफ्नो स्पष्टिकरण बुझाएकी छन्। लकडाउनका कारण उनको स्पष्टिकरण आउन समय लागेकाले उनका बारे निर्णय हुन बाँकी रहेको काउन्सिल जनाएको छ।
उपचारमा संलग्न अर्का चिकित्सक सन्तोष साहलाई भने संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय काउन्सिलले गरेको छ।
युनिभर्सल मेडिकल कलेजमा आचार संहिताअनुसार काम गर्ने उपयुक्त प्रणाली नभएको पनि निष्कर्ष पनि काउन्सिलले निकालेको छ।
'अस्पतालको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्न स्वास्थ्य सेवा प्रभावकारिताको व्यवस्थित प्रोटोकल तथा निर्देशिकाहरू बनाइ लागु गर्न गराउन र बिरामी एंव स्वास्थ्यकर्मीहरूबीचको सम्बन्धलाई सुमधुर बनाइराख्न निर्देशन दिइन्छ,' काउन्सिलले भनेको छ।
वीना र डाक्टरी पढिरहेका उनका छोराछोरीलाई भने काउन्सिलको यो सजाय निकै कम भएको लाग्छ।
'उहाँहरूका गल्तीका कारण मैले श्रीमान गुमाएँ, छोराछोरीले बुवा गुमाए। त्यत्रो गल्ती गर्दा काउन्सिलले एक जना डाक्टरलाई एक वर्ष निलम्बनमात्र गर्यो। एक जनाबारे अहिलेसम्म निर्णय गरेको छैन अनि अर्का एक जनालाई संलग्नता नदेखिएको भनेर सफाइ दिएको छ,' वीनाले भनिन्,'मेरा श्रीमान पनि एनएमसीको सदस्य हुनुहुन्थ्यो। एनएमसीले बाँचेका डाक्टरलाई मात्र न्याय दिने हो? नत्र काउन्सिल गरेको यो निर्णयले उहाँलाई न्याय भयो र!’
युनिभर्सल मेडिकल कलेजले क्षतिपुर्ति दिनुपर्ने डा सिंहका परिवारको माग छ।
काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला यो मुद्दामा विज्ञहरूको टिम बनाएर अनुसन्धान गरिएको र त्यसपछि इथिकल कमिटीको पूर्ण बैठकले निर्णय गरेको बताउँछन्।
'काउन्सिलले सबै प्रक्रिया पुरा गरी गरेको निर्णय यही हो। उहाँहरूलाई चित्त नबुझे पुनरावेदनमा जान सक्नुहुन्छ,' डाक्टर कोइरालाले भने,'क्षतिपूर्तिका लागिचाहिँ उहाँहरूले अर्कै कानुनी बाटो समात्नुपर्छ।'
युनिभर्सलका प्रबन्ध निर्देशक खुमा अर्याल भने यो घटनामा आफूहरूले कुनै क्षतिपूर्ति नै दिन नसक्ने बताउँछन्।
'गल्ती संसारभरिका डाक्टरहरूबाट हुन्छ। हाम्रोबाट पनि भयो होला, गल्तीअनुसार मेडिकल काउन्सिलले एकजनालाई कारबाही गरेको छ अरूलाई पनि गर्ला,' अर्यालले भने,'तर मैले कलेजको तर्फबाट उहाँको ज्यान बचाउन सकेसम्म सहयोग गरेको हुँ। भैरहवामा उहाँको उपचारको पैसा लागेन। एयरलिफ्ट गरेर काठमाडौं पठाएँ। मनमोहन अस्पतालमा पहिलो अपरेशन गरेको खर्च ब्यहोरें। त्यसपछि सधैँभरि त उहाँको जिम्मा कलेजले लिन सक्दैन नि!'
अर्यालले मनमोहनसम्मको खर्च व्यहोरेको बताए पनि परिवारले काठमाडौं आइसकेपछि एक पटक एक लाख रुपैयाँ दिनुबाहेक अरू केही सहयोग नगरेको बताएको छ।
'उहाँको उपचारमा हाम्रो ६० लाखजति खर्च भयो होला। बैंकमा मात्रै अहिले ३० लाख रुपैयाँ ऋण छ,' वीनाले भनिन्, 'घरमा कमाउने मान्छे रहनुभएन। उता छोरीको एमबिबिसएको फाइनल किस्ता बुझाउन बाँकी छ।'
छात्रवृतिमा एमबिबिएस पढिरहेका प्रज्वल भने आफ्ना बुवाको मृत्यु प्रकरणले बेलाबेला समाचारमा आइरहने डाक्टरमाथि हातपात भएका घटना सम्झिन्छन्।
'डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भयो भनेर मान्छेहरूले हुलहुज्जत गरेको सुन्दा मलाई अचम्म लाग्थ्यो किन त्यस्तो गरेका होलान् भनेर,’ प्रज्वलले भने,‘तर अचेल लाग्छ- मेडिकल कलेजको डिपार्टमेन्ट चिफले त यस्तोसम्म भोग्नु पर्दो रहेछ। अरू सामान्य बिरामी र उनीहरूका परिवारले कतिसम्म भोग्नुपर्ला!’