नोबेल अस्पताल, विराटनगरमा पुगेकी झापाकी एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शिवसताक्षी-५ सालमाराकी २३ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
उनी पाँच दिनअघि सुत्केरी गराउन नोबेल अस्पताल गएकी थिइन्। संक्रमण देखिए पनि उनले स्वस्थ शिशुलाई जन्म दिएकी शिवसताक्षी नगरपालिकाका स्वास्थ्य प्रमुख रोशन अधिकारीले जानकारी दिए।
उनका अनुसार अहिले आमा र शिशुको स्वास्थ्य सामान्य छ। ती महिला २३ गते दमकको आम्दा अस्पताल गएकी थिइन्। अस्पतालले पिसिआर रिपोर्ट खोजेपछि उनी नोबेल अस्पताल गएकी थिइन्।
२४ गते नोबेल जाँदा उनलाई सुत्केरी व्यथाले च्यापिसकेको थियो। २७ गते नोबेलले पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।
तर, नोबेलले सुत्केरीपछि आमा र शिशु दुवैलाई अहिले आफ्नै घर पठाएको छ। शिवसताक्षी-५ का वडाध्यक्ष सत्यनारायण राजवंशीका अनुसार चिकित्सकले आमाको स्वास्थ्य ठीक भएकाले आमा र शिशुलाई सँगै राख्दा फरक नपर्ने बताएपछि उनीहरू घर आएका हुन्।