रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार बिहान निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको छ।
कोरोना महामारीको जोखिमबीच सयौं संख्यामा आएका स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास हानेको हो। यसको जवाफमा रथ तान्न आएकाहरूले प्रहरीमाथि ढुंगा हानेका थिए। केही प्रहरी घाइते भएका छन् भने केही स्थानीयलाई पनि चोट लागेको छ।
झडप क्रममा एउटा मोटरसाइकलमा आगो लागेको थियो, जसलाई प्रहरीले पानीको फोहोरा छ्यापेर निभाएका छन्।
प्रहरी र रथ तान्नेहरूबीच भएको झडप क्रममा केही बेर पुल्चोक तनावपूर्ण भएको थियो। अहिले पुल्चोक सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ छ। उनीहरूले मूल सडकबाट भीड पन्छाएर रथलाई घेरेर राखेका छन्। रथ तान्न आएकाहरू पुल्चोकबाट मंगलबजार जाने बाटोतर्फ मदन स्मारक स्कुलनिर नाराबाजी गर्दै छन्। प्रहरीले उनीहरूलाई त्यहाँबाट अगाडि आउन नदिन बाटो छेकेका छन्।
महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले सुरूमा सम्झाइबुझाइ गरेर हटाउन खोज्दा पनि नमानेपछि बल प्रयोग गर्नुपरेको बताए।
'अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ। हामीले बुझाउन खोजेका थियौं, नमानेपछि आवश्यक बल प्रयोग गरेका हौं,' उनले सेतोपाटीसँग भने, 'अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी त्यहाँ खटिएका छन्। स्थिति नियन्त्रणमा छ। अहिलेसम्म कोही पक्राउ परेका छैनन्।'
लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई केही स्थानीय र गुठियारहरूले निषेधाज्ञाकै बीच चलाउन खोजेका थिए। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनका कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए।
‘मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ। गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन्,’ रथ निर्माणका नाइके दिलकुमार बहारीले भने।
आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथि सरकारी दमनका रूपमा लिएको छ। उनीहरू यो जात्रासँग आफूहरूको भावनात्मक सम्बन्ध जोडिएको बताउँछन्। सदियौंदेखि चल्दै आएको परम्परा निर्वाह गर्न कसैले नबोलाए पनि स्वतस्फुर्त रथ तान्न आएको एक सहभागीले सेतोपाटीलाई बताए।
कतिपयले भने कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढिरहेका बेला यति ठूलो संख्यामा मान्छे भेला हुनुले संक्रमण फैलिने जोखिम बढ्ने बताएका छन्। यही जोखिम हेरेर यस वर्ष काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको बिस्का: जात्रा पनि रोकियो।
देशभरमा काठमाडौं उपत्यका कोरोनाको 'हटस्पट' बनेको छ। सबभन्दा बढी नयाँ संक्रमित यहीँ देखिने गरेका छन्। यसबीच रथ तान्न र हेर्न आएको भीडमध्ये कतिपयले मास्क लगाएका थिए भने मास्क नलगाउने पनि थुप्रै थिए। मास्क नलगाई भीडभाड गर्दा कोरोना महामारी अझ फैलिने डर हुन्छ।
यसको समाधाननिम्ति स्थानीय सरकार र प्रहरी-प्रशासनले जात्रा व्यवस्थापन समितिसँग बसेर छलफल गर्नुपर्ने स्थानीयको भनाइ छ। सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय केही स्थानीयले दिएका छन्।
हामीले यसबारे ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग कुरा गर्दा उनले ठूलो भीड जम्मा भएर रथ तान्दा कोरोना नियन्त्रणमा चुनौती थपिने बताएका छन्।
महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका बेला भीड जम्मा हुँदा समस्या पर्ने उनले बताए। यसबारे अब के गर्ने भन्ने निर्णय ज्यापु समाजले गर्ने उनको भनाइ छ।
'महानगरको काम लजिस्टिक सपोर्ट गर्ने हो। रथ कहिले तान्ने वा नतान्ने भन्ने निर्णय गर्ने अधिकार महानगरलाई छैन,' उनले सेतोपाटीसँग भने, 'ज्यापु समाजको आकस्मिक बैठक बस्दैछ। त्यसले गरेको निर्णयलाई महानगरले समर्थन गर्छ।'
मच्छिन्द्रनाथको रथ तान्ने कामको जिम्मेवार र संगठित संस्था गुठी संस्थान र ज्यापु समाज रहेको उनको भनाइ छ। सम्पदाप्रेमीहरूको पहलमा रथ तान्ने काम भएको भन्दै उनले यस्तो अवस्थामा के गर्ने भन्ने निर्णय ज्यापु समाजले गर्ने बताए।
'सम्पदाप्रेमीहरूको उद्देश्य राम्रो होला। तर यस्तो बेला होसियारी अपनाइएन भने ठूलो जोखिम मोल्नुपर्छ,' उनले भने, 'परम्पराको निरन्तरता होस् भन्ने हाम्रो पनि चाहना हो। आजको घटनाले हामीलाई थप चुनौती बनाएको छ।'
असार १० गतेबाट रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ। गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन।
लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।
पछिल्लाेपटक भदौ १ गतेबाट तानिने भनिए पनि गुठी संस्थाकाे आदेशका कारण राेकिएकाे थियाे।
'असोज २ देखि मलमास लाग्छ। त्यो समयमा रथ तान्न मिल्दैन। दसैंसम्म मच्छिन्द्रनाथलाई बुंगमती पुर्याउनुपर्ने भएकाले हामीले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्छ,' बाराहीले भने।
सबै तस्बिर: नारायण महर्जन/निशा भण्डारी/ सेतोपाटी