लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई स्थानीय युवा र केही गुठीयारहरूले बिहीबार निषेधाज्ञा तोडेर तान्ने प्रयास गरेका छन्।
कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको छ। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।
‘मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ। तर गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन्,’ रथ निर्माणका नाइके दिलकुमार बहारीले भने।
असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ।
गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।
पछिल्लाेपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाकाे आदेशका कारण राेकिएकाे थियाे।
'असोज २ देखि मलमास लाग्छ। त्यो समयमा रथ तान्न मिल्दैन। दसैंसम्म मच्छिन्द्रनाथलाई बुंगमती पुर्याउनपर्ने भएकाले हामीले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्छ,' बाराहीले भने।
केही व्यक्तिले भने कोरोनाको समयमा सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय दिएका छन्।