मेची प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनमा आजदेखि कोभिड १९ संक्रमित बिरामीको उपचार हुने भएको छ।
आज अपरान्ह ४ बजेदेखि पुरानो भवनमा रहेका संक्रमितलाई नयाँ भवनमा लगेर उपचार गरिने अस्पतालले जनाएको हो।
अन्य बिरामी र कोभिड १९ का बिरामीको उपचार एउटै भवनमा हुँदा अस्पतालमा अन्य रोगका बिरामी उपचारका लागि आउन छोडेपछि नयाँ भवनमा कोभिडका बिरामीको उपचार सुरू हुने भएको हो।
अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सोमबारदेखि नयाँ भवनमा कोरोना संक्रमितलाई राखेर उपचार सुरू गरिने जानकारी दिए।
उनका अनुसार एमबिबिएस सहितको १२ सदस्यीय चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछ भने बाहिरको सुरक्षा नेपाली सेनाको श्रीनाथ गण चारालीले उपचार केन्द्र सहितको सुरक्षाको जिम्मेवारी लिएको पोर्तेलले सेतोपाटीलाई बताए।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा झापासहित इलाम र पाँचथरका २२ जनाको उपचार भइरहेको छ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङका कोभिडका बिरामीलाई मेची प्रादेशिक अस्पतालले नयाँ भवनमा लगेर उपचार गर्ने भएपछि यहाँका स्थानीयले राहत महशुस गरेका छन्।
एउटै भवनमा कोरोनाका संक्रमित र गैर संक्रमित बिरामी राख्दा सर्वसाधारण अस्पताल आउन डराएको भन्दै स्थानीयले कोभिडको उपचार अन्यत्र सार्न अस्पताल प्रशासनलाई दबाव दिँदै आएको थियो।
अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले नयाँ भवन हालको पुरानो भवनबाट सय मिटरको दूरीमा रहेको बताए।
कोभिडको उपचारका लागि ७५ बेड तयार गरिएको छ। पोर्तेलका अनुसार अस्पतालको पुरानो भवनमा रहेको १२ बेडको आइसोलेसन कक्ष भने नहटाइने भएको छ।
पोर्तेलले भने, ‘शंकास्पद बिरामीलाई त्यो आइसोलेसन कक्षमा राखिने छ।’
मेची प्रादेशिक अस्पताल भद्रपुरमा संक्रमितको उपचारका लागि अस्पतालका डा.गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
साउन १९ गतेदेखि अस्पतालको पुरानो भवनको आइसोलेसन वार्डमा कोभिडका संक्रमितलाई राखेर उपचार थालिएको थियो।