अनलाइन अर्डर लिएर उपभोक्ताका घर-घरमा तरकारी तथा खाद्यान्न आपूर्ति गर्दै आएका 'इ-कमर्स' कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई बिहीबार प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
कोही कर्मचारीलाई सामान पुर्याउँदै गरेका बेला बाटोबाटै त कोही सञ्चालकलाई कार्यालयमै घुसेर पक्राउ गरिएको हो। सामान ढुवानीमा प्रयोग भएका गाडी र मोटरसाइकल पनि जफत गरिएका छन्।
पक्राउ पर्नेमा इन्फी अनलाइन स्टोर, अर्बान गर्ल, फुडमान्डु, डल्ले, फुडमारियो, किराना लगायत कम्पनीका ६५ जना कर्मचारी तथा सञ्चालक छन्।
अर्बान गर्ल अनलाइनकी संस्थापक निकिता आचार्यले आफूलाई प्रहरीले बानेश्वरस्थित अफिसको क्याबिनबाटै पक्राउ गरेको बताइन्।
'करिब ५ बजेको थियो। निकिता आचार्य भनेको को हो भनेर केही प्रहरी मेरो अफिसमा पस्नुभयो। मैले म हो भनेँ। तपाईंले गलत काम गर्नुभएको छ, हामीसँग हिँड्नुस् भन्नुभयो। कारण सोध्दा भन्नुभएन। उहाँहरूले मलाई छुनु त भएन तर मेरो स्टाफकै अगाडि अपहरण शैलीमा तीनकुने प्रहरी चौकी ल्याउनुभयो,' निकिताले सेतोपाटीसँग भनिन्।
उनले अगाडि भनिन्, 'हामीले अघिल्लो लकडाउनमा पनि मन्त्रालयसँग समन्वय गरेर खाद्यान्न, औषधि डेलिभरी गरेका थियौं। यसपालि पनि गरेको यही हो। अहिलेसम्म केही भन्नुभएको छैन। डिएसपी आएर उहाँले नै कुरा गर्ने रे।'
अर्बान गर्लका सञ्चालकद्वय निकिता र किरण तिम्सिना फोर्ब्सको सूचीमा 'रिटेल एन्ड इ-कमर्स' विधातर्फ ३० जनामध्ये सूचीकृत भएका थिए।
यही कम्पनीका अर्का संस्थापक तिम्सिनाले पनि प्रहरी कारबाहीबारे असन्तुष्टि र आश्चर्य व्यक्त गरेका छन्।
'प्रहरीले बिनाजानकारी हाम्रो अफिसमा आएर निकितालाई पक्राउ गरे,' उनले भने, 'एक जना प्रहरी फोनमा बोल्दै हुनुहुन्थ्यो। उहाँ यहीँ हुनु हुँदो रहेछ, उठाउने हो भन्नुभयो। केही छिनमै निकितालाई भ्यानमा राखियो।'
उनका अनुसार भ्यानका प्रहरीले मास्क लगाएका थिएनन्। मास्क खोइ भनेर सोध्दा ती प्रहरीले 'तिमीहरूलाई कोरोना सर्ने डर लाग्छ भने किन काम गरिरहेका छौ' भन्ने जवाफ दिएका थिए।
'प्रहरीको जवाफ सुनेर म अवाक् भएँ,' तिम्सिनाले भने, 'हामीले निकितालाई नियन्त्रणमा लिनुको कारण सोध्दा '९ बजेपछि डेलिभरी गर्न पाइँदैन भन्ने थाहा छैन' भन्ने जवाफ फर्काए।'
उनका अनुसार अर्बान गर्लका दुई डेलिभरी कर्मचारीलाई पनि मोटरसाइकलसहित बानेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
निकितासँगै तीनकुने प्रहरी वृत्तमा बिगमार्टका केही कर्मचारी र सस्तो मेलाका सञ्चालक सन्मिता ओझा पनि छन्। त्यस्तै, फुडमारियोका धेरै डेलिभरी भ्यान र मोटरसाइकलहरू बाटामा ट्राफिक प्रहरीले रोकेको त्यसका सञ्चालक रोहित तिवारीले बताए।
इ-कमर्स 'फाइब्रो' का सिइओ सुरज पाण्डेका अनुसार इन्फी अनलाइन स्टोरका दुई जना कर्मचारीलाई बानेश्वर र त्रिपुरेश्वर प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई बानेश्वर प्रहरी कार्यालय लगिएको छ। पक्राउ पर्नेहरू पठाओ राइडर हुन्।
इन्फी स्टोरले पठाओसँग सहकार्य गरेर डेलिभरीको काम गरिरहेको पठाओका क्षेत्रीय निर्देशक अशिम मानसिंह बस्न्यातले जानकारी दिए।
'हामी डेलिभरीका लागि राइडर उपलब्ध गराउँछौं। हाम्रा डेलिभरी राइडरलाई पनि समातेछन्। निषेधाज्ञाको अघिल्लो दिन काठमाडौंका सिडिओ साबले अत्यावश्यक ढुवानी गर्नेलाई केही समस्या पर्दैन भन्नुभएको थियो। खोइ आज किन यस्तो भयो,' उनले दुखेसो गरे।
फुडमान्डुका कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पाण्डेका अनुसार सञ्चालक मनोहर अधिकारीले मालिगाउँ प्रहरी कार्यालय पुगेर आफूलाई राखेर कर्मचारी छाडिदिन आग्रह गरेका थिए।
मालिगाउँ प्रहरीले भोजडिल्सका कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ। डल्ले, फुडमारियोका तीन-चार जना कर्मचारीलाई पनि प्रहरीले बाटोबाटै पक्राउ गरेको छ।
'हामीले थाहा पाएअनुसार अफरिङ ह्यापिनेसलाई पनि रोकेर प्रहरीले सोधपुछ गरेको छ,' पाण्डेले भने, 'तरकारी बोकेको किराना ग्रोसरीको भ्यान महाराजगन्जमा रोकिएको छ।' अझ नेपएक्सप्रेसको कार्यालय अगाडि त प्रहरी कुरेरै बसेको उनले बताए।
निषेधाज्ञा सुरू भएको सातौं दिनसम्म कुनै रोकतोक नगरेको प्रहरीले आज एकाएक यसरी धरपकड किन गर्यो?
हामीले यसबारे महानगरीय प्रहरी परिसर, काठमाडौं प्रमुख प्रहरी एसएसपी श्याम ज्ञवालीलाई सोध्यौं। उनले सरकारको आदेशअनुसार पक्राउ गरेको बताए।
'हामीले सरकारको नियम नमान्ने अनलाइन सपिङ र फुड डेलिभरी गर्नेहरूलाई नियन्त्रणमा लिएका छौं। सरकारले हामीलाई होटल, रेस्टुरेन्ट, फुड डेलिभरीहरू सबै बन्द गर्न आदेश दिएको छ। हामीले आदेश पालना गरेका हौं,' उनले भने।
लकडाउन भएका विदेशी मुलुकमा त अनलाइन किनमेल सुविधा छ त भन्दा उनले थपे, 'हामीकहाँ विदेशमा जस्तो हेल्थ प्रोटोकल छ र? के कुरा गर्नुहुन्छ तपाईं?'
धेरै व्यवसायीले प्रमुख जिल्ला अधिकारीसँग सोधेका रहेछन् भन्दा एसएसपी ज्ञवालीले भने, 'हामीलाई सिडिओको आदेश किन पर्खिनुपर्यो। सरकारले नै स्पष्ट आदेश दिएको छ त।'
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले पनि यसअघि धेरैलाई डेलिभरी नगर्न सम्झाएको तर नमानेपछि पक्राउ गरिएको बताए।
यसबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई सोध्दा उनले खाद्यान्न र खाना डेलिभरी गर्ने अनुमति नदिएको बताएका छन्।
'हामीले खाद्यान्न र खाना डेलिभरीको अनुमति दिएका छैनौं। त्यही भएर प्रहरीले पक्राउ गर्यो होला,' उनले भने, 'डेलिभरी गर्नेहरू घरघर जान्छन्। झनै रोग सर्न सक्छ। सामान चाहिनेले प्रशासनले तोकेको समयमा पसलमा गएर किन्नुपर्छ।'
भदौ १० गते निषेधाज्ञा थप्दा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी विज्ञप्तिमा भने खाद्यवस्तु, तरकारी, फलफूल, दूधजन्य पदार्थ लगायत अन्य अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारीसाधन नरोकिने उल्लेख थियो।
यही सूचनाका आधारमा आफूहरूले खाद्यान्न तथा तरकारी डेलिभरी गरिरहेको इ-कमर्स व्यवसायीहरूको भनाइ छ।
नेपाल इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूको साझा फोरमले पक्राउ परेकाहरूलाई तत्कालै रिहा गर्न माग गरेको छ।
फोरमले विज्ञप्ति जारी गर्दै कठिन समयमा आफूहरूले ग्राहकलाई पुर्याइरहेको सेवा निर्वाध चल्न दिने वातावरण बनाइदिन पनि आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशः
नेपाल इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूको साझा फोरमको विज्ञप्तिः